अस्ट्रेलियामा एनआरएनको चुनाव र समाजसेवा

गैरआवासीय नेपाली संघको चुनावमा होस् कि अरु कुनै संस्थाको नेतृत्व छान्ने प्रक्रियामा, के सबै ठिकठाक तरिकाले काम भइरहेको छ ?

श्रावण ५, २०८२

विकास पौडेल ‘उदास’

NRN elections and community service in Australia

What you should know

अस्ट्रेलिया — हामी किन समाजसेवामा लाग्छौं ? यो प्रश्न सामान्य लाग्न सक्छ, तर यसको उत्तर सधैं गहिरो हुन्छ— आत्मीय, भावनात्मक र कहिलेकाहीँ बलिदानीपूर्ण पनि । विदेशको व्यस्त जीवनशैली, घर–परिवारको सीमित समय, निजी जीवनका चाहनाहरूलाई थाती राखेर हामी किन समुदायको लागि खटिन्छौं ?

यसको मूल जड हो — सम्पर्कको आवश्यकता, सघनताप्रतिको चाहना, र सामूहिक उत्तरदायित्वको बोध । तर यति बेला, जब हामी समाजसेवा गर्ने कुरा गर्छौं, त्यसै सेवाको भावना गाली, आरोप–प्रत्यारोप, र व्यक्तिगत ध्रुवीकरणको खेतीमा गुम्सिएको देखिन्छ । 

अझै दुःखलाग्दो त के छ भने, हामी जुन संस्थाको छवि सुधार्न, विश्वास पुनःस्थापना गर्न र समाजमा सकारात्मक परिवर्तन ल्याउन लाग्छौं, त्यसै संस्थालाई हामी आफैं असक्षमता र असहिष्णुताको प्रतीक बनाउने काम गरिरहेका छौं । हामीमध्ये धेरैले अस्ट्रेलियाको व्यस्त जीवनको बीचमा समाज र समुदायका लागि केही गर्न चाहेका छौं । यो आफैंमा सम्मानको कुरा हो । तर आफ्नो पदका लागि मात्रै समाजसेवाका काम गर्ने वा पद नपाउने वा पद गएपछि व्यक्तिगत आक्रोश र गालीको भाषा बोल्ने, अघिल्लो नेतृत्वको गल्ती खोजीमात्रै बस्ने ।  के यस्तो शैली अब सच्याउने बेला भएन ?

समाजसेवा के हो ? यो सामान्य व्यक्तिगत कर्म मात्रै हो कि कुनै पद वा अभिप्साले भरिएपछि गर्ने काम हो ? समाजसेवा गर्न कुनै पदको खाँचो पर्छ कि पर्दैन ? अनि केही समय समाजसेवा गरेजस्तो गर्ने अनि यही कर्मलाइ भर्‍याङ बनाएर कुनै पदमा उक्लिने शैली ठिक हो कि बेठिक ? यी र यस्ता विषयमा बहस र गम्भीर छलफलको खाँचो छ ।

पूर्वीय परम्परामा एक हातले दिएको अर्को हातले थाह नपाओस् भन्ने भनाइ छ । कैयौं मानिस यस्ता पनि छन्, जो चुपचाप समाजसेवा गरिरहेका छन् । मनमनै खुसी भइरहेका छन् तर त्यसलाई भजाएर आफ्ना अनेक उद्देश्य पूरा गर्ने कामभन्दा धेरै दुर छन् । तर के अस्ट्रेलियाको नेपाली समुदायमा यस्ता मान्छे पनि छन् ?

अस्ट्रेलियामा रहेका प्रवासी नेपाली आफ्नो अस्तित्व, पहिचान र संस्कृति जोगाउँदै, एक–अर्कालाई समेट्दै अगाडि बढ्ने यात्रामा छन् । तर नेपालीभीत्रै देखिएको दलगत राजनीति, गुट–उपगुटको व्यवहार र अरूको कमजोरी खोजेर आफू अगाडि देखिन खोज्ने प्रवृत्तिले यही यात्रामा प्रश्न उठाइरहेको छ । गैरआवासीय नेपाली संघको चुनावमा होस् कि अरु कुनै सामुदायिक संघसंस्थाको नेतृत्व छान्ने प्रक्रियामा, के सबै ठिकठाक तरिकाले काम भइरहेको छ ? चुनावी प्रक्रिया होस् वा अन्य माध्यमबाट नेतृत्व छान्ने प्रक्रियामा अस्ट्रेलियामा कस्तो अभ्यास चलिरहेको छ ? हामीले नयाँ पुस्तालाई के सिकाइरहेका छौ ? यसबारे घोत्लिने बेला भएन र ?

गैरआवासीय नेपाली संघ होस् या कुनै पनि सामुदायिक संस्था— यी सबै खुला मञ्च हुन्, जहाँ सहभागिता, योगदान र सहकार्यका अवसर सधैं रहन्छन् । पदमा नभए पनि काम गर्न चाहने जो–कोहीका लागि ठाउँ सधैं खुला छ। तर व्यवहारमा यस्तो देखिँदैन । कसैले अवरोध गर्छ भन्ने तर्क गर्नु, आफैं असहज भएर बाहिर बस्ने अनि संस्थामै दोष देखाउने प्रवृत्तिले समाधान होइन, झनै दुरी बढाउँछ ।

हो, संस्थाहरूमा गल्ती हुन्छन् । नेतृत्व चुक्न सक्छ । तर ती कमजोरीलाई आत्मसुधारको अवसर बनाउने कि त्यो कमजोरीकै आडमा संस्थालाई नै बदनाम गर्ने ? यो जिम्मेवारी हामी सबैको हो ।

कसैले अस्ट्रेलियामा समाजसेवामा पनि ‘तँछाडमछाड’ छ भन्यो भने गलत होला कि सही होला ? सहकार्यको, सहभागिताको र संयमित व्यवहारको अभ्यास हामीले देखाउन नसक्ने हो भने अस्ट्रेलियामा हुर्किरहेका नयाँ पुस्ताका नेपालीहरुले के सिक्लान् ? 

अस्ट्रेलियामा एनआरएनको चुनाव नजिकिँदो छ । तर यो चुनावमा निम्ति उम्मेदवारले के गरिरहेका छन् र के गरिरहेका छैनन् भनेर विमर्शको खाँचो छ । अनि चुनाव केवल उम्मेदवार चयनको प्रक्रिया मात्र होइन, प्रवासी नेपाली समाजको मूल चेत र संस्कारलाई कुन दिशा दिने भन्ने निर्णायक मोड हो भनेर बुझ्न बुझाउन जरुरी छ । खासमा यो एउटाले अर्कोलाई पछार्ने होइन, सबै मिलेर समाज उठाउने समय हो । यो गाली होइन, गल्तीमा सुझाव दिने अनि ‘म गर्छु, तिमी पनि गर’ भन्ने साहसी आवाजहरूलाई अगाडि ल्याउने समय हो । तर के यस्तै भइरहेको छ कि अरु नै केही भइरहेको छ ?

हामी प्रवासी नेपाली प्रवासमा जति एकताबद्ध देखिन्छौं, त्यति नै शक्तिशाली र प्रेरणादायी बन्न सक्छौं । तर त्यो एकता गालीबाट होइन, गहिरो सहमतिबाट; गुनासोबाट होइन, योगदानबाट; गम्भीर आरोपबाट होइन, साझा समाधानबाट आउँछ । विचार फरक हुन सक्छ, तर तिनलाई बुझ्ने र सम्मान गर्ने संस्कार हामी निर्माण गर्न सक्छौं । समाजसेवा भनेको आजको चुनावको मुद्दा मात्र होइन । यो त हाम्रो दीर्घकालीन सोच, सामूहिक मूल्य र भावी पुस्तालाई देखाउनुपर्ने उदाहरण हो । त्यसैले, पदका लागि होइन, मनका लागि लागौं— जति सक्छौं, उति गरौं । सकेको गरौं, नसकेकामा साथ दिऔं । गुनासोभन्दा अगाडि, योगदानमा विश्वास गरौं । र सधैं सम्झौं — समाजसेवा पदको होइन, मनको कुरा हो ।

प्रवासी नेपाली समुदायको सामाजिक सञ्जाल चुनावका बेला विशेष गरी राजनीतिक मैदानजस्तो बन्ने गर्छ । देश छोडेर परदेशमा पुगेका हामीले आफ्नै घरको छायाजस्तो बनाएका यिनै सञ्जालहरूमा दलगत कटाक्ष, गालीगलौज, गुटबन्दी र पात्रको होइन, पार्टीको अनुकरण गर्ने प्रवृत्ति हाबी देखिन्छ । नेपालको फोहोरी राजनीतिक अभ्यासबाट टाढा हुने अपेक्षा गरिएको प्रवासी समुदायले त्यसै अभ्यासलाई प्रवासमा दोहोर्‍याउँदा चिन्ताजनक स्थिति सिर्जना भएको छ । 

एनआरएनए चुनावजस्तो गैरराजनीतिक संस्थागत प्रक्रियामा समेत ‘कसको साथमा कति शक्ति’ भन्ने कुरा प्राथमिक बन्नु समाजसेवाको भावनामा आघात हो । अझ चिन्ताको कुरा के भने, यी सबै गतिविधि नयाँ पुस्ताले चुपचाप हेरिरहेको छ । उनीहरूलाई नेतृत्वभन्दा संस्कृति महत्त्वपूर्ण लागिरहेको छ— र अहिलेको प्रवृत्तिले उनीहरूमा ‘नेतृत्व भनेको विवाद, द्वेष र गुटबन्दी’ हो भन्ने गलत पाठ स्थापित गर्न सक्ने खतरा छ । त्यसैले, एनआरएनए जस्तो संस्था राजनीतिक प्रतिस्पर्धा होइन, सेवा र सहकार्यको संस्कार सृजना गर्ने थलो होस् भन्ने अपेक्षा अब केवल आदर्श होइन, आवश्यकताको विषय बन्न थालेको छ ।

विकास एक दशकभन्दा धेरै पत्रकारितामा संग्लन रहेका विकास हाल अष्ट्रेलियामा बस्छन् ।

Link copied successfully