अनगिन्ती क्षमता भएको सानो मान्छे । आज मैले पाएको अवसरले मस्तिष्कमा प्रशस्त सिकाइका क्षमता बढाइदिन्छ । जसले भोलि मलाई सक्षम र क्षमतावान् नागरिक बन्न सहयोग गर्छ । यसैका लागि मेरा इन्द्रियहरू सधैं सक्रिय हुन्छन् ।
मेरा लागि सबै सिकाइ उत्तिकै महत्त्वपूर्ण छन् । मलाई आमाबाबाले बुझिदिए पुग्छ । प्लिज, मेरा कुरा सुनिदिनुहोस् न है !
मेरो सिकाइ र विकासको स्थान भान्सा पनि हो । मेरा लागि प्रत्येक क्षण नौला र अचम्मलाग्दा हुन्छन् । भान्सामा मलाई धेरै सिक्ने अवसर छ । तरकारी, चामल, पिठो, भाँडाकुँडा सबै मेरा खेलौना हुन् । सबै वस्तु मलाई चाख्न मन लाग्छ । त्यो हरियो केराउ, सिमी छोडाएर दानाहरू भुइँमा गुडेको कस्तो रमाइलो हगि आमा ! अनि त्यो प्याज कस्तो पिरो, अदुवा पनि पिरो छ । तर अर्के स्वादको । बास्ना त झन् कति हो कति । काँचोको छुट्टै, पाकेको छुट्टै । ग्यासको, धूवाँको, दाउराको गन्ध सबै मेरा लागि सिकाइको अवसर हो । भाँडाकुँडा बजाएर संगीतको महसुस गर्न पनि कस्तो मज्जा लाग्छ मलाई त । मलाई यहींबाटै सिकाउनुहोस् न कसरी तापले काँचो वस्तु पकाइदिन्छ ? मैले पनि त सिक्नुपर्छ होइन र ? अहिले मेरो मस्तिष्कले नसिके, पछि मलाई गर्ने इच्छा नै हुन्न । त्यसैले आजैबाट मलाई सहभागी गराउनुहोस् न । मैले प्रशस्त विकास र सिकाइको अवसर भान्साबाट पाउँछु ।
मलाई साह्रै घुम्न मन लाग्छ । छिमेकी र नातेदारको घरमा पनि लैजानुहोस् । म त्यहाँबाट नयाँ मान्छेका अनुहार, व्यवहार, आफ्नो घरमा भएका र नभएका वस्तु अन्दाज गर्न, फरक छुट्याउन सक्छु । तर जानुभन्दा अगाडि कसको घरमा जाने, कतिबेर बस्ने, के के गर्ने, के के नगर्ने पनि भनिदिनुहोस् न है । मेरा आँखा नयाँ वस्तु हेर्न, कान नयाँ आवाज सुन्न, जिब्रो चाख्न र हात छुन असाध्यै मन पराउँछन् । के गर्न हुन्छ र हुन्न भनेका कुरा म भुसुक्कै बिर्सन्छु । म आफूलाई रोक्नै सक्दिनँ । त्यसैले बेलाबेलामा सम्झाउनुहोस् ल ।
मलाई दुर्घटनाबाट पनि बचाउनुस् न है । तपाईंहरूले मलाई एक्लै नछाड्नुहोस् ल । मलाई कहाँबाट लडिन्छ, कस्तो चोट लाग्छ, केले पोल्छ भन्ने अन्दाजै हुँदैन । म त सिक्न र खोज्न तल्लीन हुन्छु । अनि म खेल्दै जाँदा भित्तामा भएका प्वालमा के रहेछ जस्तो लाग्छ र हातका औंला छिराउन खोज्छु । तपाईंले करेन्ट लाग्छ भनेको बिर्सिहाल्छु । अस्ति पनि मलाई करेन्ट लाग्दा तपाईं कत्ति रुनुभयो, बरु त्यो करेन्ट लाग्ने प्वाललाई बन्दै परिदिनुहोस् न बाबा । कुन वस्तुको स्वाद कस्तो ? आवाज कस्तो ? रङ कस्तो ? भन्ने सधैं जान्न मन लाग्छ । त्यसैले मलाई खतरा हुने वस्तु लुकाएर राख्नुहोस् न है । अनि त्यो भर्याङमा पनि बार हालिदिनुस् न । मलाई उक्लिन–ओर्लन कस्तो रमाइलो लाग्छ । तर म लडें भने ? अनि झ्यालमा र कौसीमा पनि बार हालिदिनुस् है ।
बस, रिक्सा चढ्दा डर लाग्छ । तर तपाईंको काखमा बसेपछि मलाई आनन्द र ढुक्क हुन्छ । धेरै मान्छे देखेर म आत्तिन्छु, रुन मन लाग्छ । अरूको काखमा बस्न नपठाउनुस् न है । मलाई पनि छुट्टै सिटमा राख्नुस् न । बाटोमा देखिने ठाउँ र वस्तुका बारेमा मलाई बुझाइदिनुस् न बाबा । बजारमा धेरै गाडी र मान्छे देख्दा मलाई अचम्म लाग्छ । बाटोमा हिँड्दा मलाई गाडी नआउने साइडमा हात समातेर लैजानुस् न है ।
कहिलेकाहीं किनमेल गर्न पनि जाऔं न । मलाई बाबाआमासँगै किनमेल गर्न जान असाध्यै मन पर्छ । बजारका सबै सामान किनौंझैं लाग्छ । झन् खेलौना त मेरो सबैभन्दा मन पर्ने हो । तर मलाई तपाईंहरूसँग खर्च गर्ने पैसा कति छ, थाहै हुन्न । किनमेल गर्न जाँदा के–के किन्ने ? कति पैसा लाने भन्ने सँगै बसेर योजना बनाऔं न ल । अनि मलाई के किनिदिने, यो पनि पहिले नै बताइदिनुहोस् । यसो गर्दा म मेरा इच्छा नियन्त्रण गर्न सक्छु । सामान किन्दा गुणस्तर, गणितीय ज्ञान, मूल्य निर्धारणको तरिका पनि सिक्न सक्छु ।
– घिमिरे प्रारम्भिक बाल विकास विज्ञ हुन् ।
