काठमाडौँ — हामीले दिने सेवा हरेक किसिमको हुनुपर्छ । त्यसका लागि धेरै पैसा एकैचोटि लिनुपर्छ भन्ने होइन । हामीले धेरै किसिमको सेवा दिएका छौं । जसले गर्दा सबै खालका पर्यटकलाई आकर्षित गर्न सकिएको छ । जुन हामीले गरेका छौं । पैसा तिरिसकेपछि पर्यटकहरूलाई राम्रो सेवासुविधा दिनुपर्छ ।
हामीले दिने सेवा गुणस्तरीय हुनुपर्छ । हाम्रै कुरा गर्ने हो, ५ सय रुपैयाँबाट सेवा दिन सुरु गर्छौं । यसरी आउने पर्यटकले एक दिनमा ५० देखि ६० हजार रुपैयाँसम्म खर्च गरेर जानुहुन्छ । सबै किसिमका सेवाहरूलाई समेट्न सके राम्रो हुन्छ । क्लिफ अहिले जति भव्य र सहज देखिएको छ । तर हामी धेरै नै चुनौती पार गरेर यो अवस्था आइपुगेका हौं ।
यो काम सुरु गर्न पक्कै सजिलो थिएन । पहिला पनि नेपालमा साहसिक पर्यटन थिए । नभएको होइन । हामीले अरुले गरेको भन्दा भिन्न र ठूलो रुपमा गर्नुपर्छ भनेर त्यहीअनुसार साहसिक पर्यटनको काम अघि बढाएका हौं । नयाँ काम गर्दा नयाँ चुनौतीहरूको सामना गर्नुपर्यो । हामीले ३ वर्षमा आयोजना सक्छौं भनेर काम थालेका थियौं । तर सक्न ६ वर्ष लाग्यो । यसको निर्माण गर्दैगर्दा सरकारसँग खासै अपेक्षा गरेनौं ।
सरकारले हेरिदेला, गरिदेला भन्ने लागेन । मलगायत मेरो टिमले एउटा सपना देख्यौं । त्यसपछि त्यो सपनालाई कसरी पुरा गर्ने भनेर त्यसतर्फ केन्द्रित भयौं । सरकारको नीति नियमभित्र रहेर काम गर्यौं । पर्यटक आकर्षित गर्न नयाँ तरिकाले यसको निर्माण गर्नुपर्छ भनेर लाग्यौं । साहसिक पर्यटनमा नयाँ केही भयो भने मात्र पर्यटक तान्न सकिन्छ भन्ने लाग्यो । अहिले एसियाकै नमुना पुल बनाएका छौं ।
हामीसँग जुन प्राकृतिक सौन्दर्य छ, त्यसलाई प्रयोगमा ल्याउनुपर्छ भन्ने भयो । त्यसपछि नयाँ सोचका साथ हामी आयौं । एसियाको नमुना पुल बनाएर विभिन्न साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरेका हौं । यो काम गरेर व्यवसाय सुरु गर्नै लाग्दा हामीले मध्य कोभिडको सामना गरिरहेका थियौं । जुन बेला हामी एकदमै डराएका थियौं । अब बर्बाद हुने भयो । नयाँ व्यवसाय गर्ने भनेको उल्टै घरखेत सकिने भयो भन्ने लाग्यो । ठूलो जोखिम मोलेर व्यवसाय सञ्चालन गरेका थियौं । तर त्यो बेला पर्वतको कुश्मा बजारमा आन्तरिक पर्यटकको भिडभाड थियो । त्यसैले क्लिफमा आउनेको उत्साह देखेर हामी दंग पर्यौं ।
राम्रो सोच बोकेर हिड्यो भने सफल भइन्छ भन्ने लाग्यो । हामीले बन्जी जम्प, स्विइङबाट सेवा सुरु गरेका थियौं । अहिले थप सेवा विस्तार गरेका छौं । विश्वको सबैभन्दा ठूलो स्विइङ, विश्वको दोस्रो ठूलो बन्जी, विश्वको सबैभन्दा ठूलो र लामो साइक्लिङ, विश्वको सबैभन्दा ठूलो र लामो स्काई क्याफे बनाएका छौं । विश्वको सबैभन्दा अग्लो र लामो मेगा ट्रोल सुरु गर्दै छौं । अझै नयाँ र राम्रो केही गरौं भन्नेमै छौं । साहसिक गन्तव्यमा नेपाललाई विश्वमा चिनाऔं भनेर लागिरहेका छौं ।
६० प्रतिशत विदेशी र ४० प्रतिशत आन्तरिक पर्यटक आउँछन् भनेर क्लिफ निर्माण थालेका थियौं । सुरुको अवस्थामा हाम्रा लागि आन्तरिक पर्यटक नै ठूलो टेवा बन्न पुग्यो । भविष्यमा विदेशी पर्यटकको आवागमन पनि बढ्दै जाने छ । अहिले ३० प्रतिशत विदेशी पर्यटकले बन्जी गर्छन् । भविष्यमा ६० प्रतिशत पुर्याउने लक्ष्य छ । त्यसैले अब बन्ने सरकारी नीति नियम पर्यटनमैत्री हुनुपर्छ ।
(कान्तिपुरले पोखरामा आयोजना गरेको ‘गन्तव्य गण्डकी’ कार्यक्रमको ‘साहसिक यात्रा, स्वप्निल गन्तव्य’ विषयक सत्रमा कार्कीले राखेको विचारको सम्पादित अंश)
