पछिल्ला १०-१५ वर्षमा नेपालको पर्यटनको अवस्था अघिल्लो २०/२५ वर्षको भन्दा कमजोर भएको देखिन्छ । हाम्रो बुझाइ र अभ्यासले पनि पर्यटनलाई सही दिशामा अगाडि बढाउन नसकेको हो । खासमा पर्यटन भनेको विशुद्ध प्राविधिक र व्यावसायिक क्षेत्र हो ।
तर, हामीले यसलाई शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्र झैँ घर-घर, गाउँ-गाउँसम्म पुर्याउनुपर्छ भन्ने धारणा बनाएका छौं । नेपाल सीमित स्रोत-साधन भएको देश भएकाले थोरै स्रोतलाई धेरै अनुत्पादक ठाउँमा छर्दा यसले सकारात्मक नतिजा ल्याइरहेको छैन ।
हाल नेपालको पर्यटकीय पूर्वाधारलाई हेर्दा करिब १२ लाखजति अन्तर्राष्ट्रिय पर्यटकहरू वार्षिक रूपमा नेपाल भ्रमणमा आउँछन् । सन् २०१८ को सर्वेक्षण अनुसार १२/१३ लाखजति पर्यटक सडक मार्गबाट आउँछन् । यति पर्यटकका लागि नेपालमा पर्याप्त गन्तव्यहरू छन्, ती गन्तव्यहरूको स्तरोन्नति गर्न सकियो भने पर्यटकहरूको संख्या अझ वृद्धि गर्न सकिन्छ । तर, अहिलेको सोचाइ र बुझाइले पर्यटकलाई घर-घर, गाउँ-गाउँसम्म पुर्याउने कुरा व्यावहारिक छैन । फ्रान्स, स्पेन, एसियामा थाइल्यान्ड, मलेसिया लगायत विश्वका सफल पर्यटन मोडेलहरू हेर्दा पनि सीमित क्षेत्रमै पर्यटन गतिविधिहरू केन्द्रित गर्ने र त्यसबाट प्राप्त हुने लाभलाई चाहिँ गाउँ-गाउँसम्म पुर्याउने गरेको पाइन्छ ।
नेपालको पर्यटन बोर्ड तथा अन्य सरकारी निकायहरूले तत्काल गर्नुपर्ने काममा सक्रियता देखाए पनि दीर्घकालीन योजना तथा गृहकार्यमा भने कमी देखिएको छ । यसले परिणाममुखी कामहरूमा अवरोध पुर्याएको छ। हाल प्रदेश स्तरमा पर्यटन परिषद् तथा बोर्डहरू स्थापनाका कुरा भइरहेका छन् । तर, मोडालिटीको स्पष्ट अभावले स्रोतको उचित विनियोजन र प्रयोग हुन सकेको छैन। स्कटल्यान्डजस्ता देशहरूमा स्रोत र कार्यक्रम प्रदेश स्तरको हुन्छ तर कार्यान्वयन संघीय तहले गर्छ । भारतमा प्रदेशले नै कार्यक्रम बनाउँछन् र कार्यान्वयन गर्छन् । नेपालमा कुनै मोडालिटि छैन । यसले गर्दा स्रोत विनियोजन गरिएको छ तर खर्च भइरहेको छैन । खर्च भए नै पनि उत्पादक ढंगबाट भइरहेको छैन ।
