गत वर्ष चैत ४ मा उत्साहसाथ गण्डकी प्रदेशलाई पर्यटनको हब र पोखरालाई पर्यटनको राजधानी सहर घोषणा गरेका थियौँ । म निर्वाचित भएर आएपछि पहिलो निर्णय नै पर्यटनको राजधानी बनाउने भन्ने थियो । त्यसका लागि हाम्रो योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा समूह बनाएर त्यो घोषणा गर्न के-के प्रक्रिया पूरा गर्नुपर्छ वा त्यसो गर्नु उपयुक्त हो कि होइन भन्ने विषयमा अध्ययन र लामो छलफलपछि घोषणा गरिएको थियो ।
त्यसलाई नीतिमा पनि समावेश गर्यौँ । पोखरा मात्रै होइन, गण्डकी प्रदेशका सबै स्थानीय तह र पर्यटन क्षेत्रसँग सम्बन्धित सबै संस्थाहरूले सर्वसम्मत निर्णय गरेर ‘हाम्रो मूल बाटो पर्यटन नै हो’ भन्ने आत्मसात् गरेका छन् ।
विज्ञहरूले पनि नेपालको विकासका लागि त्यसको साँचो पर्यटन नै हो भनेका छन् । हाम्रा सारा साधान-स्रोतमध्ये पहिलो प्राथमिकता के हुनुपर्छ भन्ने कुरामा विगतको राजनीतिले त्यसलाई ठम्याउन ढिलो गर्यो । पोखरा महानगर र गण्डकी प्रदेशको वर्तमान राजनीतिले हाम्रो मुख्य फोकस पर्यटन हो भन्ने बुझेको छ । हाम्रो सम्पूर्ण गतिविधि यसअन्तर्गत अघि बढाएका छौं ।
विश्वव्यापी जलवायू परिवर्तनका कारण अहिले माछापुच्छ्रे कालो भएको छ। यसपाली साउनदेखि यता पानी नपरेकाले पनि लामो समयसम्म अलि बढी नै कालो देखिएको हो । तथापि माछापुच्छ्रेमा तपाईंले जे हेर्नुहुन्छ, त्यही आकृति देखिन्छ भने झैँ पोखरालाई पनि जुन आँखाबाट हेरिन्छ, यो त्यही हो भने जस्तो लाग्छ । शिक्षाको आँखाबाट हेर्दा शैक्षिक केन्द्र, स्वास्थ्यका आँखाबाट हेर्दा स्वास्थ्यको हब, पर्यटनको त राजधानी नै भयो, खेलकुदका दृष्टिबाट पनि पोखरा अब्बल लाग्छ । नेचर, कल्चर र एड्भेन्चर तीनवटै विधामा सदियौँदेखि पोखरा अब्बल छ ।
पूर्खाले दिएको विरासत हामीले आउने पुस्तालाई जस्ताको त्यस्तै हस्तान्तरण गर्नुपर्छ भन्ने दायित्व मनन गर्दै हामीले हाम्रो नीति र राजनीतिमा पर्यटनको प्रचुर सम्भावनालाई भोली, पर्सीसम्म जोगाएर राख्न योजनाबद्ध तरिकाले काम गर्न चाहेका छौँ । यसका लागि हाम्रो शहरी योजना आयोगले पञ्चवर्षीय योजनामा पर्यटन विकासको नीति निर्माण गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा महानगरले पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ । हाम्रो समूह आउनुभन्दा अघि पर्यटन प्राथमिकतामा थिएन ।
अहिले हामीले ठूलो बजेट पर्यटन विकासमा राखेका छौँ । अन्य पूर्वाधार होस् वा दिगो पर्यटन विकासको सन्दर्भमा होस्, ठूला परियोजनाहरू शुरुवात भएका छन् । हाम्रो आफ्नै बजेटले मात्रै पूरा गर्न सक्ने अवस्थामा छैनौँ । गण्डकी प्रदेशको राजधानी नै पोखरा भएकाले प्रदेश सरकारले पनि यसमा के-कति गर्न सकिन्छ, ध्यान देनुपर्छ । तर गण्डकी प्रदेशभित्र पोखरा छ भन्ने कुरा यहाँ बेलाबखत बिर्सिइने गरिएको छ । आउने बजेटमा यसलाई ध्यान दिन म प्रदेश सरकारलाई सुझाव दिन्छु ।
महानगरको बजेट चालु खर्चसँगै अरू विषयमा जाने र साना-तिना काम मात्रै गर्न सकिने हुँदा हामी हिजो कालो सूचीमा थियौँ । पछिल्लो समय थुप्रै विकास साझेदारमार्फत २८ सय करोडभन्दा बढीका ठूला विकासका कार्यक्रम भएका छन् । यीमध्ये पर्यटन क्षेत्रसँगै सम्बन्धित भएर एसियाली विकास बैँकमार्फत केही परियोजना अघि बढेका छन् । उदहारणका लागि- विमानस्थलदेखि लेकसाइडसम्म आउने फास्ट ट्र्याक बनाउने कुरा अघि बढेको छ । पोखराको पर्यटनका लागि जलवायु परिवर्तनको कुरा उठिरहेका बेला जडीबुटीलगायतमा चर्चित पञ्चासे क्षेत्रसम्म पुग्ने बाटोको गुणस्तर सुधार गर्ने विषय छ । पोखराको फिर्के करिडर बनाउने र सातवटै ताल जोड्ने ११७ किमिको साइकल ट्रेक लगायतका ठूला परियोजनाहरूको सुरुवात भएको छ । साँढे ७ अर्ब रुपैयाँका यी परियोजनाले पर्यटनका नयाँ पूर्वाधार बनाउन सहयोग गर्नेछन् ।
विद्यालयका शैक्षिक पाठ्यक्रममा हामीले हस्पिटालिटि र एग्रो-टुरिजम समावेश गरेका छौँ । ग्रेटर पोखराको कुरामा, पोखरासँग जोडिएका सबै पालिकासँग सहकार्य गरेका छौँ । जोडिएका पालिकाहरूलाई पनि हाम्रो बुँताले भ्याएसम्म बजेट छुट्याएका छौँ । बेलायती राजा चार्ल्स तृतीय युवराज छँदा हिँडेको मार्ग जसलाई हामीले रोयल ट्रेक नाम दिएका छौँ, त्यसलाई रिभाइभ गरिरहेका छौँ । पर्यटन बोर्डले पनि यसमा सहयोग गरेको छ ।
पोखरा भन्नेबित्तिकै उठिहाल्ने फेवातालको सम्बन्धमा हजारौँ अनुत्तरित प्रश्नको जवाफ केही दिनभित्र दिनेछौँ । महानगरपालिकाले ३० मिटरको मापदण्ड बनाएर पठाएको थियो । सर्वोच्च अदालतले खारेज गरिदियो । अहिले हरेक महिना हामी हाम्रो प्रगति विवरण पठाइरहेका छौँ, फैसला कार्यान्वयनका सन्दर्भमा अन्तिम चरणमा पुगेको छ । कहाँ,कति मुआब्जा दिने भन्नेबारे आवश्यक छलफल गरेर अघि बढ्नेछौँ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सन्दर्भमा पनि हामीले हाम्रो तहबाट गर्नुपर्ने सम्पूर्ण कामकुरा सम्पन्न गरेका छौँ । ल्यान्डफिल साइट सार्ने पहल पोखरा महानगरले नगरेको भए २०२३ जनवरी १ मा यहाँको अन्तर्राष्ट्रिय विमानस्थल शुरु हुने थिएन । पुरानो विमानस्थलको क्षमता दैनिक ११ सय यात्रु ओहोर-दोहोर गर्ने थियो भने नयाँ विमानस्थलबाट अहिले दिनको ५५ सयको हाराहारीमा यात्रुहरूले आऊ-जाऊ गर्न पाएका छन् । यत्तिको त हामीलाई डोमेस्टिक एयरपोर्ट नै चाहिएको थियो । विमानस्थलसँगको भूराजनीतिमा कहाँ-कहाँ के-के समस्या छ, त्यसको गाँठो संघ सरकारले छिटो फुकाउनु पर्छ । अन्तर्राष्ट्रिय उडान छिटो हुनुपर्छ ।
हामीले सन् २०२५ लाई पोखरा भ्रमण वर्षका रूपमा मनाउँदै छौँ । यो वर्षभरि गर्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय सभा, सम्मेलन र सबै खालका कार्यक्रम पोखरामा गर्न आह्वान गरिरहेका छौँ । आउने वर्षको ५२ हप्तामध्ये ठूला कार्यक्रमका लागि अधिकांश शुक्रबार र शनिबार बुक्ड भइसकेका छन् । पोखरा पर्यटनको गन्तव्य हो, नआई नहुने ठाउँ हो । एकचोटि होइन, पटक-पटक आउने ठाउँ हो भन्ने कुरा पुष्टि गर्ने गरी हामी काम गरिरहेका छौँ ।
पीपीपी मोडलमा काम गर्न नेपाल सरकारभन्दा पहिला पोखरा महानगरले नीति र ऐन बनाएको थियो । पछि ६ अर्बभन्दा तलका परियोजना पीपीपी ऐनअन्तगर्त बन्न सक्ने, त्योभन्दा माथि लगानी बोर्डले गर्ने भन्ने भयो । यसअनुरुप पोखराले कार्यक्रमहरू तयार गरे पनि कार्यान्वयन गर्न सकिरहेका छैनौँ । अहिले पनि हाम्रो डेभिड फलमा ताला लागेको छ । त्यो पीपीपी परियोजनाको अंश हो । यसमा पब्लिक र प्राइभेट सेक्टरबीच सहकार्य हुन्छ । तर ‘निजी क्षेत्रले लुटेर लग्छ’ भन्ने बुझाइ छ । यो गलत हो । पोखरामा लगानी गर्न आहवान गर्ने तर ढोकैमा साँचो लगाइदियो भने लगानीकर्ता कसरी आउँछन् !
पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भएन भन्ने गुनासो धेरै आउँछन् । तर कम्तिमा सातै प्रदेशमा वा नेसनल कनेक्टिभिटिमा जोडिन सक्दा पनि पहिलो चरणमा काफी नै हुन्छ भन्ने लाग्छ । पूर्वको बागडोगरा वा सिक्किमबाट आउनेलाई चन्द्रगढी-पोखरा, जनकपुर-पोखरा र पश्चिममा धनगढी-पोखरा उडान गरियो भने राम्रो हुन्छ । यसका लागि हाम्रा वायुयान कम्पनीहरूले पहल गर्नुपर्छ, यो उहाँहरूको सामाजिक उत्तरदायित्वभित्र पर्छ । सुरुवातमा कुनै पनि बिजनेस नाफामा हुँदैनन् । कम्पनीहरूले जोखिम मोल्नुपर्छ । बुद्ध एयरको बजारमा एकाधिर नै छ तर उहाँहरूले यी रुटमा उडाउनु हुन्न। उहाँहरूले पोखरालाई हब बनाउन सकिन्छ भनेर गफ त दिनुभएछ तर हब बनाउन कसले रोकेको छ ? उहाँहरू आउनुहुन्छ भने हामी बुद्ध एयर र नेपालका सबै वायुयान कम्पनीलाई रातो कार्पेट बिछ्याएर स्वागत गर्न तयार छौं ।
तथापि, हामीले सहयोग गर्छौँ भनिरहँदा पनि उहाँहरू नआएपछि हामी त हार खाएर अब विदेशमा चार्टर फ्लाइट भए पनि गरौं भनेर लागिपरेका छौं । पोखरासँग इयर र रोड दुवै कनेक्टिभिटी होस् भन्ने हुटहुटी छ । सिद्धार्थ राजमार्गमा केही समस्या छन् । पृथ्वी राजमार्गमा एकातर्फी क्लियर हुँदै छ । ५० वर्षपछि यो राजमार्गको पुननिर्माण भएकाले केही समय लाग्नु स्वभाविक हो । सबै अवरोध हटाएर द्रुत गतिमा काम गरिरहेका छौँ ।
