काठमाडौँ — सामाजिक संजालमा एक घण्टा बिताउँदा देशको सामूहिक असन्तोषको तस्बिर स्पष्ट देखिन्छ । शिक्षा, प्रशासन, राजनीतिक दलहरू, सञ्चार माध्यम, आर्थिक प्रणाली र शासनको कमजोरीप्रति सबै तहमा असन्तोष व्याप्त छ । यससँगै, ‘गैरपारम्परिक’ राजनीतिज्ञहरू र उनीहरूले प्रतिनिधित्व गर्ने ‘लोकप्रिय कथाहरू’ प्रति आकर्षण बढ्दै गएको छ ।
यस लेखमा म नेपालको वैकल्पिक राजनीति र यसले लिएको मार्गको विषयमा चार उपशीर्षकमा चर्चा गर्नेछु :
वैकल्पिक राजनीतिका प्रारम्भिक लहरहरू
वैकल्पिक राजनीतिको माग नेपालका लागि नयाँ थिएन । सन् २०१३ को संविधानसभा निर्वाचनमा विवेकशील नेपालीका स्वतन्त्र उम्मेदवारहरूले विशेष गरी युवा पुस्तालाई आकर्षित गरे । पार्टीको चुनाव चिह्न कुकुर सामाजिक मिडियामा निकै लोकप्रिय बन्यो । ती उम्मेदवारहरूले पारदर्शिता र नयाँ दृष्टिकोणको वाचा गरे । कुकुरले घरको रक्षा वा हेरचाह गरेझैँ हाम्रो पार्टीले पनि समग्र देशको रक्षा वा हेरचाह गर्नेछ भन्ने नारा नै बनाइयो ।
तर विवेकशील नेपाली र त्यसको पछिल्लो स्वरूप विवेकशील साझा दीर्घकालीन योजनाको अभाव, आन्तरिक विभाजन र कमजोर रणनीतिका कारण गम्भीर रूपमा पछि परे । उनीहरूको असफलताले नेपालमा अन्य तथाकथित विकल्पहरूको मार्गलाई प्रतिविम्बित गर्यो । बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी नेपाली राजनीतिमा ‘नयाँ शक्ति’ को प्रतिनिधित्व गर्ने दाबी गरे पनि कमजोर संगठन र असफल वाचाहरूले गर्दा विचलित भयो ।
माओवादी पहिलो संविधान सभाको चुनावमा ‘सबैलाई हेर्यौं पटक–पटक, माओवादीलाई हेरौं यसपटक’ जस्ता नारासहित अगाडि आएको थियो । त्यसैगरी, १९९० पछिको पुँजीवादी राजनीतिको बढ्दो प्रभावलाई चुनौती दिने वाचा गर्दै एमाले विकल्प बन्ने प्रयासमा थियो, जबकि राप्रपा आफूलाई रूढीवादी विकल्पका रूपमा स्थापित गर्न खोजिरहेको थियो ।
यद्यपि, यी सबैले वास्तविक परिवर्तनको आशा पूरा गर्न असफल भए । विश्वसनीय वैकल्पिक शक्ति बन्नुको सट्टा ती प्रायः मुख्यधारको राजनीतिको पुनर्रंग्याइएको संस्करणजस्तो देखिए, जसको मूल उद्देश्य अभिजात वर्गको स्वार्थ संरक्षण मात्र थियो । ‘वैकल्पिक’ शब्दले वास्तविक विकल्पभन्दा पनि अस्थायी प्रचार रणनीतिझैँ महसुस गरायो ।
नयाँ पुस्ताका वैकल्पिक नेताहरू र लोकप्रियतावादको रणनीति
नेपालमा अहिले नयाँ राजनीतिक नेताहरूको उदय देखिएको छ, विशेष गरी सहरी क्षेत्रमा । यी नेताहरूले निर्वाचन जितेर अभूतपूर्व जनमत प्राप्त गरे । तर, उनीहरूमा पनि समस्याहरू देखिन थालेका छन् । जनताले परम्परागत राजनीतिक दलहरूप्रति निराश भएर नयाँ अनुहारहरूलाई अवसर दिएका हुन् । यद्यपि, यी नयाँ नेताहरूको व्यवहार र नीति समयसँगै विवादास्पद बन्न थालेका छन्।
आज, नयाँ पुस्ताका नेताहरूले सार्वजनिक निराशालाई आफ्नो पक्षमा उपयोग गरी परम्परागत संरचनाहरूलाई कमजोर बनाउन खोजिरहेका छन् । उदाहरणका लागि, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वले प्रारम्भदेखि नै लोकप्रियताको रणनीति अपनाएको संकेत देखियो । उनीहरूले प्रदेशसभाका लागि उम्मेदवारी नदिएर प्रादेशिक संरचनामा समस्या भएको दाबी गरे । यस्तै, उनीहरूले आफ्नो चुनावी अभियानका क्रममा मुख्य धारका राजनीतिज्ञहरूलाई खुला रूपमा आक्रमण गरे ।
रास्वपाका पार्टी अध्यक्षको व्यक्तित्व र आमजनताको निराशालाई आधार बनाएर पार्टीले निर्वाचनमा सफलता त पायो । तर, निर्वाचनपछिको २ वर्ष हेर्दा पार्टीको रणनीति प्रायः वैकल्पिकभन्दा बढी अल्पकालीन लोकप्रियतामा केन्द्रित थियो भन्ने देखिन्छ ।
पार्टी अध्यक्षको नागरिकतासम्बन्धी विवादमा उनीहरूले परम्परागत सञ्चार माध्यमलाई निशाना बनाए । हालै, रास्वपाको नेतृत्वले आफ्नो अध्यक्षको गिरफ्तारीको विरोधमा प्रदर्शन आयोजना गर्यो । उनीहरूले यो मुद्दालाई सहकारी ठगी प्रकरणमा कानुनी प्रक्रिया पालना गरिएको भन्दा पनि आफ्नो राजनीतिक पार्टीमाथि आक्रमणको रूपमा व्याख्या गरे । पार्टीका शीर्ष नेतृत्वका केही नेताहरूले वर्तमान प्रणालीलाई नाम लिएर आलोचना गरे र स्थापित संस्थाहरूलाई बदनाम गर्न उग्र भाषण गरे ।
यस्तै रणनीति अन्य नयाँ राजनीतिज्ञहरूले पनि अपनाएका छन् । धेरैजसो ‘स्वतन्त्र’ नेताहरूले वर्तमान राजनीतिक निराशालाई आफ्नो पक्षमा उपयोग गर्न खोज्छन् । उनीहरूमा महत्त्वपूर्ण नीतिगत मुद्दाहरूमा अस्पष्टता कायम छ र लोकप्रिय विमर्शलाई आफ्नो समर्थनमा प्रयोग गर्ने गर्छन् । यस्ता नेताहरू प्रायः आफ्नो आलोचना गर्नेसँग शत्रुतापूर्ण व्यवहार देखाउँछन् र जनतालाई आफ्नो उद्देश्यका लागि जुटाउन खोज्छन् ।
यस शत्रुतापूर्ण दृष्टिकोणले सामाजिक सञ्जालसम्म पुगेर, त्यहाँको वातावरणलाई झनै असहिष्णु बनाएको छ । यी समूहका समर्थकहरूले कुनै पनि असहमति पूर्ण रूपमा अस्वीकार गर्छन् । जनताको निराशालाई जानाजानी बढाएर प्रचार गर्ने यस्तो प्रवृत्तिले समाधान दिनुको सट्टा नेपालको राजनीतिक प्रणालीप्रतिको अविश्वासलाई झन् गहिरो बनाउँछ । जसले गर्दा ती आन्दोलनहरूले समाधान दिन आएको भनी दाबी गरेका समस्या झन् बिगारिन्छन् ।
यसले विशेष गरी पश्चिमा लोकतन्त्रमा उदाएका दक्षिणपन्थी लोकप्रियतावाद नेताहरूको कुनै समूहलाई खलनायक बनाउने, विद्यमान प्रणालीप्रति निराशा सिर्जना गर्ने र आफूलाई ‘रक्षक’को रूपमा प्रस्तुत गर्न अपनाउने रणनीतिको झल्को दिन्छ ।
सामाजिक प्रभावकर्ता र लोकप्रियतावादी नेताहरूको गठजोड
सामाजिक मिडियाको प्रचलनले परम्परागत संस्था र तिनको विश्वसनीयतामाथि प्रश्न उठाएको छ । ‘नागरिक–नेतृत्व’ गर्ने र ‘स्वतन्त्र’ ठानिने प्रभावकर्ताहरूले तथ्य–जाँच, उत्तरदायित्व र विश्वसनीयतामा जोड दिने संस्थाहरूलाई चुनौती दिइरहेका छन् ।
यी प्रभावकर्ताहरू लोकप्रियतावादी नेताहरूसँग मिलेर प्रणालीलाई आक्रमण गर्दै आफ्ना समर्थकहरूको भावनालाई उक्साउँछन् । यसले वैचारिक विभाजनलाई बढावा दिने, जनताबीच अविश्वास फैलाउने र गम्भीर बहसको ठाउँलाई कमजोर बनाउने खतरनाक चक्र सिर्जना गरेको छ ।
नेपालमा परम्परागत संस्थाहरू जस्तै मूलधारका मिडिया, थिंक ट्यांक, राज्य संयन्त्रप्रति विश्वास बिस्तारै घट्दै गएको छ । विस्तृत सम्पादकीय प्रक्रिया, गहन अनुसन्धान, र जिम्मेवारीको तहगत संरचनामा निर्भर यस्ता संस्थाहरूप्रति जनताको भरोसा कमजोर बन्दै गएको देखिन्छ । यसको विपरीत ‘नागरिक–नेतृत्व’ र ‘स्वतन्त्र’ विकल्पहरूतर्फ झुकाव बढ्दो छ । यी समूहहरूले सामाजिक सञ्जालको अपरिष्कृत र ‘एजेण्डारहित’ सूचना प्रवाहको अवधारणालाई उपयोग गर्दै विश्वव्यापी प्रवृत्तिबाट फाइदा लिन्छन् ।
यी ‘नागरिक–नेतृत्व’का रूपमा प्रस्तुत हुने समूहहरू प्रायः परम्परागत नैतिक र नियामक संरचनाबाट बाहिर रहेर कार्य गर्न सक्षम हुन्छन् किनभने उनीहरू यस्ता मापदण्डहरू पालना गर्न बाध्य हुँदैनन् । परम्परागत संस्थाहरू विपरीत, यी समूहले सत्यको प्रमाणीकरण, उत्तरदायित्व वा विश्वसनीयताका संस्थागत मापदण्डहरूको अनुशरण गर्ने आवश्यकता महसुस गर्दैनन् । तिनीहरूको लोकप्रियता प्रायः भावनात्मक अपिल, सनसनी र त्यस्ता सामग्रीको भाइरल हुने क्षमतामा निर्भर रहन्छ । यो प्रवृत्तिले सामाजिक सञ्जालको एल्गोरिदमसँग गाँसिएर समुदायमा ध्रुवीकरण बढाउँछ, आक्रोशलाई प्रोत्साहन दिन्छ र प्रतिध्वनि कक्ष (इको च्याम्बर)हरू निर्माण गर्छ ।
लोकप्रियतावादी नेताहरूले यी प्रभावशाली व्यक्तिहरूसँग सम्बन्ध विकास गर्न वा तिनीहरूको विचारलाई समर्थन गर्न सक्रिय भएर काम गर्छन् । तिनीहरूले ध्रुवीकरणयुक्त न्यारेटिभलाई आफ्नो लोकप्रियताका लागि उपयोग गर्छन् । यसले ध्रुवीकरण बढाउने चक्र सिर्जना गर्छ र फलतः सामाजिक सञ्जाल विभाजनकारी बहसको प्रतिध्वनि कक्ष (इको च्याम्बर) बन्छ । यी प्रभावशाली व्यक्तिहरूले प्रायः विद्यमान संरचनाहरूलाई आक्रमण गर्छन् र लोकप्रियतावादी नेताहरूलाई राष्ट्रको एकमात्र ‘उद्धारकर्ता’ का रूपमा प्रस्तुत गर्छन् ।
प्रभावशाली व्यक्ति र लोकप्रियतावादी नेताहरूको गठबन्धनले सार्वजनिक निराशा झन् बढाउँछ र सूक्ष्म बहस हुन सक्ने ठाउँलाई संकुचित र कमजोर बनाउँछ । फलतः ‘असली’ वैकल्पिकहरूको विश्वसनीयता कमजोर बन्छ र जनतामा निराशा व्याप्त हुन्छ । यस्तो वातावरणले परिवर्तनको सम्भावनालाई कठिन बनाउँछ र परम्परागत प्रणालीप्रति जनताको विश्वास पनि घटाउँदै लैजान्छ ।
नेपालको वैकल्पिक राजनीतिमा लोकप्रियतावादी प्रभाव : संकटको दुष्चक्र
नेपालको वैकल्पिक राजनीतिमा बढ्दो लोकप्रियतावादी प्रभावले यसको मूल उद्देश्यलाई विचलित गराएको छ । व्यवस्थागत परिवर्तन ल्याउने लक्ष्य राख्नुको सट्टा लोकप्रियतावादी नेता र तिनका सहयोगीहरूले बारम्बार जनताको असन्तोषलाई छोटो समयको फाइदाका लागि प्रयोग गर्दै आएका छन् । परिवर्तनको आश्वासन दिने यी शक्तिले संस्थालाई बलियो बनाउनुको सट्टा कमजोर बनाउँदै छन् । यसले एक यस्तो चक्र सिर्जना गर्दैछ, जसले वैकल्पिक प्रयासलाई असफल बनाउँदै जनतामा निराशा थप्छ र वास्तविक सुधारलाई संस्थागत गराउन असम्भवजस्तै बनाउँछ ।
वैकल्पिक राजनीतिमा भएको असफलताले अन्ततः गहिरो असर पुर्याउँछ । जब वैकल्पिक शक्ति असफल हुन्छन्, मुख्य धारका राजनीतिक दल थप बलियो हुन्छन् । जनताको असन्तोषलाई समाधान गर्नेभन्दा पनि त्यसलाई उपयोग गर्नेमा केन्द्रित हुने लोकप्रियतावादी प्रवृत्तिले सुधारको अवधारणालाई नै बदनाम बनाउँछ । यसले भ्रष्टाचारमा आधारित ‘क्लेप्टोक्रेटिक नेटवर्क’लाई झनै सुदृढ बनाउँछ र भ्रष्टाचारलाई संस्थागत गर्ने अवसर प्रदान गर्दछ । कमजोर जग र लोकरिझ्याइँको अवस्था कायम रहन्छ, प्रणालीमा विश्वास घट्छ र नेपाल असफल राजनीतिक संरचनामा फसिरहन्छ ।
निष्कर्ष
नेपाली जनताले चाहेको वैकल्पिक राजनीति पारदर्शिता, ‘स्वच्छता’, सहिष्णुता र निर्वाचनभन्दा परको दृष्टिकोणमा आधारित हुनुपर्छ । निर्वाचनमा मात्र केन्द्रित हुने र लोकप्रियताका लागि आफ्ना मूल्यहरू बदल्ने शक्तिहरूले जनताको हितलाई प्रतिनिधित्व गर्न सक्दैनन् ।
विगतका ‘वैकल्पिक शक्तिहरू’ले जनताको मूल्यलाई प्रतिनिधित्व गर्न नसक्नु, नयाँ शक्तिहरूले पुरानै शैली अँगाल्नु, लोकप्रियतावादी राजनीति, आदर्शीकृत विगतको रमणीयता र अवसरवादले नेपालको वैकल्पिक राजनीतिलाई कमजोर पार्दै पतनतर्फ लैजाँदैछ ।
