पोखराको पर्यटन सुधारका सुत्र

राजधानी घोषणा गरेपछि कस्ता पूर्वाधार थप्नुपर्छ ? के के कुरामा लगानी बढाउनुपर्छ ? खै हामीसँग योजना ? नागरिकले गर्ने के हो ? निजी क्षेत्रले के गर्नुपर्छ ? राज्यले के गर्ने हो ? स्पष्ट खाका अझै बन्न सकेको छैन ।

पुस २४, २०८१

ठाकुर बराल

Sources of Pokhara's tourism improvement

पोखरा भन्ने वित्तिकै झ्वाट्ट स्मृतिमा आउँछन्, कवि मुकुन्दशरण उपाध्यायका कविताका हरफ ।सम्पूर्ण दिव्य शोभाले पूर्ण छैनन् कहीँ धरातर सम्पूर्ण शोभाले परिपूर्ण छ पोखरा ।

उनले कवितामा लेखेजत्तिकै पूर्ण सहर हो पोखरा । यहाँको प्राकृतिक सुन्दरतासँगै मानव निर्मित संरचनाले पनि पोखरालाई उत्तिकै सुन्दर बनाएको छ ।

पोखरेली सुन्दरताको बखान जापानी भिक्षु कावागुचीले झन् सुन्दर हिसावले उतारेका छन् । उनले सन् १८९९ मा पोखरा हुँदै तिब्बत यात्रा गरेपछि लेखेको पुस्तक ‘थ्री इयर्स इन टिबेट’ मा पोखरालाई स्वर्गसँग तुलना गरेका छन् । उनी भन्छन्, ‘मेरो यात्रामा पोखरामा मलाई लोभ्याउने दृश्य देखेँ, त्यस्तो स्वर्ग जस्तो दृश्य अन्यत्र मैले कतै पनि देखिनँ ।’

पोखराको औपचारिक पर्यटन खास पूरानो छैन । जुन समयदेखि पर्यटक पोखरामा आए, निस्फिक्री रमाए र त्यो निरन्तरता आजसम्म पनि छ । सन् १९५५ तिर आकलझुकल हिप्पीको घुमघामबाट सुरु भएको पोखराको पर्यटन आज विश्वभर झाँगिएको छ ।

पोखरालाई विश्वप्रख्यात बनाउन सबैभन्दा महत्वपूर्ण भूमिका खेले फ्रान्सका नागरिक मौरिस हर्जोगले । सन् १९५० मा हर्जोगले अन्नपूर्ण हिमालको सफल आरोहण गरेपछि लेखेको पुस्तक ‘द अन्नपूर्ण’ नामको पुस्तक पछ्याएर पोखरामा तेस्रो विश्वका पर्यटकहरु ओइरिएका हुन् ।Sources of Pokhara's tourism improvement

पोखराको पर्यटनको ‘गेट वे’ नै द अन्नपूर्ण नामक पुस्तक हो भन्दा अत्युक्ति नहोला । पोखरा घुम्ने पर्यटकको बेग्लै तथ्यांक अहिलेसम्म कतै भेटिँदैन । सन् १९९५ मा ३ लाख ६३ हजार ३९५ पर्यटकले नेपाल भ्रमण गरेको औपचारिक तथ्यांक छ ।

३० वर्षपछि सन् २०२४ मा उक्त संख्या बढेर ११ लाख ४६ हजार २४ पुगेको छ । नेपाल आइपुग्ने पर्यटकमध्ये ४० प्रतिशतले पोखरा घुम्ने गरेको अनौपचारिक अनुमान छ । त्यही तथ्यांकमा विश्वास राख्ने हो भने सन् २०२४ मा करिब ५ लाख विदेशी पर्यटकले पोखरा घुमेका छन् ।

साँघुरिँदो पदयात्रा

मौरिस हर्जोगको हिमाल आरोहणबाट बाक्लिएको पदयात्रा पर्यटन हाम्रो असावधानीका साथ थपिएको पूर्वाधारले खुम्चिएको छ । कम्तिमा २१ दिन हिँडेर छिचोलिने राउण्ड अन्नपूर्ण पदयात्रा हतार गर्ने हो भने ३–४ दिनमै सिध्याउन सकिन्छ । यसको प्रमुख कारण हो, पदमार्गमा डोहोरिएको सडक । पदमार्गको वैकल्पिक ठाउँबाट सडक निर्माण गर्न सकेको भए यो अवस्था आउने थिएन ।

अन्नपूर्णसँगै मनास्लु क्षेत्रमा पनि अहिले हिमालको जरासम्मै अझै भनौं हिमालका काखसम्म मोटरबाटो पुगिसकेको छ । जसले गर्दा पदयात्रा साँघुरिँदै गएको मात्रै छैन पर्यटकको दरमा पनि ह्रास आइरहेको छ । पदयात्राका लागि भनेर आउने पर्यटकलाई वैकल्पिक पदमार्गबाट जोड्न सकेनौं भने छिट्टै हाम्रो पर्यटन क्र्यास हुनेवाला छ ।

गन्तव्य थपौं

राष्ट्र बैंकको पोखरा कार्यालयले गरेको एउटा अध्ययन अनुसार गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरूको औसत बसाइ अवधि १२ दिनकाे छ । उनीहरूले दैनिक ८ हजार ३५५ रुपैयाँ २९ पैसा (अमेरिकी डलर ६२.८९) खर्च गर्छन् । गत आर्थिक वर्ष विश्वका विभिन्न ४१ देशबाट गण्डकी प्रदेशमा पर्यटक आएका छन् । तीमध्ये सबैभन्दा धेरै भारत, फ्रान्स, अमेरिका, बेलायत र अस्ट्रेलियाका पर्यटक आएका छन् । यो सुखद् कुरा हो ।

अर्को सुखद् कुरा के हो भने, गण्डकी आउने विदेशी पर्यटकमा ३१ देखि ४५ वर्ष उमेर समूहका सबैभन्दा धेरै अर्थात् ३३ प्रतिशत छन् । जसले धेरै पैसा खर्च गर्ने सामर्थ्य राख्छन् । उनीहरुले रुचाउने क्षेत्र साहसिक क्रियाकलाप छ । अब हामीले के थाहा पाउनुपर्‍यो भने साहसिक गतिविधिहरु थप्नुपर्‍यो, पर्यटक लक्षित नयाँ प्रडक्टहरु लञ्च गर्नुपर्‍यो ।

सबैभन्दा पछि निर्माण गरिएको पुम्दीकोट महादेव मुर्ति पोखराको पछिल्लो पर्यटकीय गन्तव्य हो । दैनिक यहाँ हजारौं आन्तरिक बाह्य पर्यटक पुग्छन् । पर्वतको बञ्जी जम्प अर्को यस्तै नमुना गन्तव्य हो । उदाहरण किन दिएको भने पर्यटकहरु नयाँ गन्तव्य रुचाउँछन् ।

गत वर्ष प्रदेश सरकारले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्‍यो, खुसीको कुरा हो । तर राजधानी घोषणा गर्दैमा पर्यटक बढ्ने होइनन् भन्ने पुष्टि गत वर्ष र अहिलेको पर्यटकको तथ्यांकले गर्छ । हामी घोषणा गर्न हतारिन्छौं, आवश्यक तयारी गर्दैनौं ।

राजधानी घोषणा गरेपछि कस्ता पूर्वाधार थप्नुपर्छ ? के के कुरामा लगानी बढाउनुपर्छ ? खै हामीसँग योजना ? नागरिकले गर्ने के हो ? निजी क्षेत्रले के गर्नुपर्छ ? राज्यले के गर्ने हो ? स्पष्ट खाका अझै बन्न सकेको छैन । पोखरा सुन्दर छ भन्ने शब्दजालमा रमाउने मात्रै होइन, साँच्चै सुन्दर हो भने प्रमाण पेश गर्न सक्नुपर्छ ।

जलवायुमा संवेदनशील बनौं

पर्यटकले पोखरा र खासगरी गण्डकीमा हेर्ने भनेकै वातावरण हो । हिमाल हो, ताल हो । प्राकृतिक सम्पदाहरु हो । तर जलवायु परिवर्तनको असरले हाम्रा हिमाल कालापत्थर बन्ने चरणमा छन् । यो दुखको कुरा हो । जलवायु परिवर्तनलाई न्यूनिकरण गर्ने सामथ्र्य हामीसँग मात्रै छैन ।

विश्व समुदायको ध्यान हिउँ पग्लिएर कालै बनेको कुमारी हिमाल माछापुच्छ्रे खिच्ने हो भने सम्भवतः पर्यटक खोज्न भौतारिनुपर्दैन । उदाहरणमा मात्रै माछापुच्छ्रे जोडिएको हो, हाम्रो आँखाले देख्ने सबै हिमालहरुमा अहिले सेतोभन्दा कालो भाग बढी छ । जलवायु परिवर्तन अनुकुलित हुँदै हामीले हाम्रा व्यवहारहरुमा परिवर्तन ल्याउनुपर्ने अपरिहार्य छ । घरदेखि संसदसम्म यसबारे पैरवी जरुरी छ ।

परम्पराबाट माथि उठौं

सन् १९९६ मा जर्मन उद्योग वाणिज्य संघ र पोखरा उद्योग वाणिज्य संघले गरेको एक अध्ययनले पोखरा घुमेर फर्किएका पर्यटकको वर्णनका आधारमा सबैभन्दा धेरै पर्यटक पोखरा आएका देखाएको छ । सन् २०१७ मा पोखराको पर्यटनबारे गरिएको एक शोधपत्रमा मौखिक रुपमा गरिएको वर्णनका आधारमा ५२ प्रतिशत पर्यटक आउने गरेको उल्लेख छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पनि यसको अध्ययन गरेको थियो । अध्ययनअनुसार साथीहरूले गरेको मौखिक वर्णन नै पर्यटन प्रवर्द्धनको प्रभावकारी माध्यम बनेको देखाएको छ ।

सुरुमा मुखामुखबाट प्रचार भएको पर्यटनमा सन् १९९० पछि मात्रै सञ्चार क्षेत्र र इन्टरनेटका माध्यम जोडिएका छन् । एउटा अध्ययन के भन्छन् भने, घुमफिर र मनोरञ्जनको लागि सन् १९५७ मा पोखरामा पदयात्रा गर्न १ सय ६२ पर्यटक आएका थिए । उनीहरुले गरेको वर्णन पनि पोखरा भित्रिने पर्यटकका लागि अचुक माध्यम बन्यो । तर यसरी मात्रै अब पोखराको पर्यटन थेगिनेवाला छैन । हामीले प्रवर्द्धन र प्रचारका नयाँ माध्यमहरुको खोजी गर्नुपर्दछ ।

लगानीको सुरक्षा

पोखरा र गण्डकीमा ७ खर्बभन्दा बढी पर्यटन क्षेत्रको लगानी छ । करिब ७५ हजार व्यक्तिले पर्यटनबाट प्रत्यक्ष रोजगारी पाएका छन् भनिन्छ । अहिले पर्यटनको राजधानी पोखरा र त्यसको पनि प्रमुख ठाउँ लेकसाइडका होटलहरुमा सटर लागेका छन् । ‘भाडामा’, ‘बिक्रीमा’ जस्ता बोर्डहरु सटरमा प्रशस्तै देख्न पाइन्छ । 

यी दृष्यहरुले पर्यटनमा गरिएको लगानी सुरक्षा नहुने सन्देश गएको छ । लगानीकर्ताले आफ्नो लगानीको सुरक्षासँगै प्रतिफल पाउने गरी राज्य जिम्मेवार हुनुपर्छ । पर्यटन भनेको लेकसाइड र लेकसाइड भनेकै पर्यटन भन्ने मान्यताबाट माथी उठेर फेवा किनारमा मात्रै केन्द्रित पर्यटकलाई स्वः स्फूर्त रुपमा अन्यत्र पनि विस्तार गर्न सकियो भने समृद्धि सम्भव छ । अन्यथा केही वर्षभित्र प्रमुख पर्यटकीय गन्तव्यहरुमै ताला लाग्नेमा दुईमत छैन ।

अब सोच्ने बेला भयो, नागरिक र समग्र नेतृत्वले । ढिलो नगरौं ।अन्त्यमा पोखराको पर्यटनको विकासका लागि सबैभन्दा महत्वपूर्ण पक्ष कनेक्टिभीटी हो । पृथ्वी राजमार्ग, सिद्दार्थ राजमार्ग, कालिगण्डकी कोरिडोर जस्ता मार्गहरुको शीघ्र स्तरोन्नति गर्नुपर्छ । पोखराबाट सबै प्रदेशका राजधानी र प्रमुख सहरहरूसँगै अन्तर्रार्ष्ट्रिय उडानमा राज्यको पहल पुग्नुपर्छ । सुरक्षित हवाई यात्राको ज्ञारेन्टी राज्यले गर्नुपर्छ ।

पर्यटक घरबाट निस्केदेखि घर नपुग्दासम्म म सुरक्षित छु भन्ने महसुश गर्न सके पर्यटन विकास र विस्तार तिब्रतर हुनेमा दुईमत छैन । पोखराको प्रमुख क्षेत्र पर्यटन हो, गण्डकी प्रदेशको पनि । पोखरा जसरी पर्यटकको राजधानी हो, उसैगरी गण्डकी प्रदेश पर्यटनको हब हो । यसको समुचित व्यवस्थापनमा जुटौं, जय पर्यटन ।

ठाकुर

Link copied successfully