राजधानी घोषणा गरेपछि कस्ता पूर्वाधार थप्नुपर्छ ? के के कुरामा लगानी बढाउनुपर्छ ? खै हामीसँग योजना ? नागरिकले गर्ने के हो ? निजी क्षेत्रले के गर्नुपर्छ ? राज्यले के गर्ने हो ? स्पष्ट खाका अझै बन्न सकेको छैन ।
पोखरा भन्ने वित्तिकै झ्वाट्ट स्मृतिमा आउँछन्, कवि मुकुन्दशरण उपाध्यायका कविताका हरफ ।सम्पूर्ण दिव्य शोभाले पूर्ण छैनन् कहीँ धरातर सम्पूर्ण शोभाले परिपूर्ण छ पोखरा ।
उनले कवितामा लेखेजत्तिकै पूर्ण सहर हो पोखरा । यहाँको प्राकृतिक सुन्दरतासँगै मानव निर्मित संरचनाले पनि पोखरालाई उत्तिकै सुन्दर बनाएको छ ।
पोखरेली सुन्दरताको बखान जापानी भिक्षु कावागुचीले झन् सुन्दर हिसावले उतारेका छन् । उनले सन् १८९९ मा पोखरा हुँदै तिब्बत यात्रा गरेपछि लेखेको पुस्तक ‘थ्री इयर्स इन टिबेट’ मा पोखरालाई स्वर्गसँग तुलना गरेका छन् । उनी भन्छन्, ‘मेरो यात्रामा पोखरामा मलाई लोभ्याउने दृश्य देखेँ, त्यस्तो स्वर्ग जस्तो दृश्य अन्यत्र मैले कतै पनि देखिनँ ।’
पोखराको औपचारिक पर्यटन खास पूरानो छैन । जुन समयदेखि पर्यटक पोखरामा आए, निस्फिक्री रमाए र त्यो निरन्तरता आजसम्म पनि छ । सन् १९५५ तिर आकलझुकल हिप्पीको घुमघामबाट सुरु भएको पोखराको पर्यटन आज विश्वभर झाँगिएको छ ।
पोखरालाई विश्वप्रख्यात बनाउन सबैभन्दा महत्वपूर्ण भूमिका खेले फ्रान्सका नागरिक मौरिस हर्जोगले । सन् १९५० मा हर्जोगले अन्नपूर्ण हिमालको सफल आरोहण गरेपछि लेखेको पुस्तक ‘द अन्नपूर्ण’ नामको पुस्तक पछ्याएर पोखरामा तेस्रो विश्वका पर्यटकहरु ओइरिएका हुन् ।
पोखराको पर्यटनको ‘गेट वे’ नै द अन्नपूर्ण नामक पुस्तक हो भन्दा अत्युक्ति नहोला । पोखरा घुम्ने पर्यटकको बेग्लै तथ्यांक अहिलेसम्म कतै भेटिँदैन । सन् १९९५ मा ३ लाख ६३ हजार ३९५ पर्यटकले नेपाल भ्रमण गरेको औपचारिक तथ्यांक छ ।
३० वर्षपछि सन् २०२४ मा उक्त संख्या बढेर ११ लाख ४६ हजार २४ पुगेको छ । नेपाल आइपुग्ने पर्यटकमध्ये ४० प्रतिशतले पोखरा घुम्ने गरेको अनौपचारिक अनुमान छ । त्यही तथ्यांकमा विश्वास राख्ने हो भने सन् २०२४ मा करिब ५ लाख विदेशी पर्यटकले पोखरा घुमेका छन् ।
साँघुरिँदो पदयात्रा
मौरिस हर्जोगको हिमाल आरोहणबाट बाक्लिएको पदयात्रा पर्यटन हाम्रो असावधानीका साथ थपिएको पूर्वाधारले खुम्चिएको छ । कम्तिमा २१ दिन हिँडेर छिचोलिने राउण्ड अन्नपूर्ण पदयात्रा हतार गर्ने हो भने ३–४ दिनमै सिध्याउन सकिन्छ । यसको प्रमुख कारण हो, पदमार्गमा डोहोरिएको सडक । पदमार्गको वैकल्पिक ठाउँबाट सडक निर्माण गर्न सकेको भए यो अवस्था आउने थिएन ।
अन्नपूर्णसँगै मनास्लु क्षेत्रमा पनि अहिले हिमालको जरासम्मै अझै भनौं हिमालका काखसम्म मोटरबाटो पुगिसकेको छ । जसले गर्दा पदयात्रा साँघुरिँदै गएको मात्रै छैन पर्यटकको दरमा पनि ह्रास आइरहेको छ । पदयात्राका लागि भनेर आउने पर्यटकलाई वैकल्पिक पदमार्गबाट जोड्न सकेनौं भने छिट्टै हाम्रो पर्यटन क्र्यास हुनेवाला छ ।
गन्तव्य थपौं
राष्ट्र बैंकको पोखरा कार्यालयले गरेको एउटा अध्ययन अनुसार गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरूको औसत बसाइ अवधि १२ दिनकाे छ । उनीहरूले दैनिक ८ हजार ३५५ रुपैयाँ २९ पैसा (अमेरिकी डलर ६२.८९) खर्च गर्छन् । गत आर्थिक वर्ष विश्वका विभिन्न ४१ देशबाट गण्डकी प्रदेशमा पर्यटक आएका छन् । तीमध्ये सबैभन्दा धेरै भारत, फ्रान्स, अमेरिका, बेलायत र अस्ट्रेलियाका पर्यटक आएका छन् । यो सुखद् कुरा हो ।
अर्को सुखद् कुरा के हो भने, गण्डकी आउने विदेशी पर्यटकमा ३१ देखि ४५ वर्ष उमेर समूहका सबैभन्दा धेरै अर्थात् ३३ प्रतिशत छन् । जसले धेरै पैसा खर्च गर्ने सामर्थ्य राख्छन् । उनीहरुले रुचाउने क्षेत्र साहसिक क्रियाकलाप छ । अब हामीले के थाहा पाउनुपर्यो भने साहसिक गतिविधिहरु थप्नुपर्यो, पर्यटक लक्षित नयाँ प्रडक्टहरु लञ्च गर्नुपर्यो ।
सबैभन्दा पछि निर्माण गरिएको पुम्दीकोट महादेव मुर्ति पोखराको पछिल्लो पर्यटकीय गन्तव्य हो । दैनिक यहाँ हजारौं आन्तरिक बाह्य पर्यटक पुग्छन् । पर्वतको बञ्जी जम्प अर्को यस्तै नमुना गन्तव्य हो । उदाहरण किन दिएको भने पर्यटकहरु नयाँ गन्तव्य रुचाउँछन् ।
गत वर्ष प्रदेश सरकारले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्यो, खुसीको कुरा हो । तर राजधानी घोषणा गर्दैमा पर्यटक बढ्ने होइनन् भन्ने पुष्टि गत वर्ष र अहिलेको पर्यटकको तथ्यांकले गर्छ । हामी घोषणा गर्न हतारिन्छौं, आवश्यक तयारी गर्दैनौं ।
राजधानी घोषणा गरेपछि कस्ता पूर्वाधार थप्नुपर्छ ? के के कुरामा लगानी बढाउनुपर्छ ? खै हामीसँग योजना ? नागरिकले गर्ने के हो ? निजी क्षेत्रले के गर्नुपर्छ ? राज्यले के गर्ने हो ? स्पष्ट खाका अझै बन्न सकेको छैन । पोखरा सुन्दर छ भन्ने शब्दजालमा रमाउने मात्रै होइन, साँच्चै सुन्दर हो भने प्रमाण पेश गर्न सक्नुपर्छ ।
जलवायुमा संवेदनशील बनौं
पर्यटकले पोखरा र खासगरी गण्डकीमा हेर्ने भनेकै वातावरण हो । हिमाल हो, ताल हो । प्राकृतिक सम्पदाहरु हो । तर जलवायु परिवर्तनको असरले हाम्रा हिमाल कालापत्थर बन्ने चरणमा छन् । यो दुखको कुरा हो । जलवायु परिवर्तनलाई न्यूनिकरण गर्ने सामथ्र्य हामीसँग मात्रै छैन ।
विश्व समुदायको ध्यान हिउँ पग्लिएर कालै बनेको कुमारी हिमाल माछापुच्छ्रे खिच्ने हो भने सम्भवतः पर्यटक खोज्न भौतारिनुपर्दैन । उदाहरणमा मात्रै माछापुच्छ्रे जोडिएको हो, हाम्रो आँखाले देख्ने सबै हिमालहरुमा अहिले सेतोभन्दा कालो भाग बढी छ । जलवायु परिवर्तन अनुकुलित हुँदै हामीले हाम्रा व्यवहारहरुमा परिवर्तन ल्याउनुपर्ने अपरिहार्य छ । घरदेखि संसदसम्म यसबारे पैरवी जरुरी छ ।
परम्पराबाट माथि उठौं
सन् १९९६ मा जर्मन उद्योग वाणिज्य संघ र पोखरा उद्योग वाणिज्य संघले गरेको एक अध्ययनले पोखरा घुमेर फर्किएका पर्यटकको वर्णनका आधारमा सबैभन्दा धेरै पर्यटक पोखरा आएका देखाएको छ । सन् २०१७ मा पोखराको पर्यटनबारे गरिएको एक शोधपत्रमा मौखिक रुपमा गरिएको वर्णनका आधारमा ५२ प्रतिशत पर्यटक आउने गरेको उल्लेख छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पनि यसको अध्ययन गरेको थियो । अध्ययनअनुसार साथीहरूले गरेको मौखिक वर्णन नै पर्यटन प्रवर्द्धनको प्रभावकारी माध्यम बनेको देखाएको छ ।
सुरुमा मुखामुखबाट प्रचार भएको पर्यटनमा सन् १९९० पछि मात्रै सञ्चार क्षेत्र र इन्टरनेटका माध्यम जोडिएका छन् । एउटा अध्ययन के भन्छन् भने, घुमफिर र मनोरञ्जनको लागि सन् १९५७ मा पोखरामा पदयात्रा गर्न १ सय ६२ पर्यटक आएका थिए । उनीहरुले गरेको वर्णन पनि पोखरा भित्रिने पर्यटकका लागि अचुक माध्यम बन्यो । तर यसरी मात्रै अब पोखराको पर्यटन थेगिनेवाला छैन । हामीले प्रवर्द्धन र प्रचारका नयाँ माध्यमहरुको खोजी गर्नुपर्दछ ।
लगानीको सुरक्षा
पोखरा र गण्डकीमा ७ खर्बभन्दा बढी पर्यटन क्षेत्रको लगानी छ । करिब ७५ हजार व्यक्तिले पर्यटनबाट प्रत्यक्ष रोजगारी पाएका छन् भनिन्छ । अहिले पर्यटनको राजधानी पोखरा र त्यसको पनि प्रमुख ठाउँ लेकसाइडका होटलहरुमा सटर लागेका छन् । ‘भाडामा’, ‘बिक्रीमा’ जस्ता बोर्डहरु सटरमा प्रशस्तै देख्न पाइन्छ ।
यी दृष्यहरुले पर्यटनमा गरिएको लगानी सुरक्षा नहुने सन्देश गएको छ । लगानीकर्ताले आफ्नो लगानीको सुरक्षासँगै प्रतिफल पाउने गरी राज्य जिम्मेवार हुनुपर्छ । पर्यटन भनेको लेकसाइड र लेकसाइड भनेकै पर्यटन भन्ने मान्यताबाट माथी उठेर फेवा किनारमा मात्रै केन्द्रित पर्यटकलाई स्वः स्फूर्त रुपमा अन्यत्र पनि विस्तार गर्न सकियो भने समृद्धि सम्भव छ । अन्यथा केही वर्षभित्र प्रमुख पर्यटकीय गन्तव्यहरुमै ताला लाग्नेमा दुईमत छैन ।
अब सोच्ने बेला भयो, नागरिक र समग्र नेतृत्वले । ढिलो नगरौं ।अन्त्यमा पोखराको पर्यटनको विकासका लागि सबैभन्दा महत्वपूर्ण पक्ष कनेक्टिभीटी हो । पृथ्वी राजमार्ग, सिद्दार्थ राजमार्ग, कालिगण्डकी कोरिडोर जस्ता मार्गहरुको शीघ्र स्तरोन्नति गर्नुपर्छ । पोखराबाट सबै प्रदेशका राजधानी र प्रमुख सहरहरूसँगै अन्तर्रार्ष्ट्रिय उडानमा राज्यको पहल पुग्नुपर्छ । सुरक्षित हवाई यात्राको ज्ञारेन्टी राज्यले गर्नुपर्छ ।
पर्यटक घरबाट निस्केदेखि घर नपुग्दासम्म म सुरक्षित छु भन्ने महसुश गर्न सके पर्यटन विकास र विस्तार तिब्रतर हुनेमा दुईमत छैन । पोखराको प्रमुख क्षेत्र पर्यटन हो, गण्डकी प्रदेशको पनि । पोखरा जसरी पर्यटकको राजधानी हो, उसैगरी गण्डकी प्रदेश पर्यटनको हब हो । यसको समुचित व्यवस्थापनमा जुटौं, जय पर्यटन ।
