महिला यौनकर्मीले भोगेको डिजिटल हिंसा

मंसिर २६, २०८१

कविता बाहिग

Digital violence experienced by female sex workers

इन्टरनेट प्रविधिको अतुलनीय विकास र फाइदा यसको पहुँचमा रहेका सबैले प्रशस्तै उपभोग गर्न पाएका छन् । आजको असन्तुलित शक्ति संरचनाका बीचमा इन्टरनेट मूलतः सीमान्तकृत समुदायका लागि उच्चतम विकल्प बन्न सक्छ ।

तर, नकार्न नसकिने तथ्यचाहिँ महिला, दलित, आदिवासी, यौनिक तथा लैंगिक रूपमा विविध पहिचान गर्ने व्यक्ति र यौनकर्मी व्यक्तिले भोग्ने थप हिंसा र दुर्व्यवहारको थलो इन्टरनेटका प्लेटफर्म (सामाजिक सञ्जाल) बन्न पुगेका छन् ।

यौनकर्मी समुदायको अधिकारमा क्रियाशील आभाका अनुसार अधिकांश यौनकर्मीले आफ्नो पेसाकै कारण इन्टरनेटमा यौनजन्य हिंसा, चारित्रिक टिप्पणी र धम्कीपूर्ण आक्रमण धेरै भोग्नुपरेको छ । विभिन्न अनुसन्धानअनुसार ४५ देखि ७५ प्रतिशत यौनकर्मी महिलाले आफ्नो कार्यस्थलमा यौन हिंसा भोग्छन् । वास्तविक जीवनमा भोग्ने यौनिक तथा लैंगिक हिंसा, दुर्व्यवहार र भेदभाव सामाजिक सञ्जालमा पनि उस्तै छ । 

पितृसत्तात्मक विचारधारा र शक्ति संरचनाले गाँजेको सामाजिक, राजनीतिक, कानुनी र व्यावहारिक वस्तुस्थितिमा निश्चित समुदाय, लिंग, पेसा सधैं अस्वीकृत र बहिष्कृत रहन्छन् । उनीहरूको उपस्थिति, अभिव्यक्ति र छनोटलाई गैर ठहराइन्छ । मूलतः यौन, यौनिक अभिव्यक्ति तथा यौनिक अभ्यासलाई सामाजिक अनुशासनको नाममा सीमित तथा बन्देज गरिन्छ । महिलाको शरीर र यौनिकतालाई शुद्धता र पारिवारिक प्रतिष्ठाको कडी लगाएर उनीहरूको व्यक्तिगत स्वतन्त्रतालाई निस्तेज बनाइन्छ । यस्तो अवस्थामा यौनकर्मी र यौनकार्य सम्बन्धित अधिकारको कुरा झनै जटिल बन्न पुग्छ । यौनकर्मी समुदायको वर्गीय, जातीय, यौनिक तथा लैंगिक, भौगोलिक, अपांगतालगायत बहुल पहिचानसँगै उनीहरूले भोग्ने हिंसा झन् परिष्कृत हुँदै जान्छ । 

यौनकर्मीमाथि गोपनीयता भंग गर्ने र यौन फाइदा लिने नियतले धम्की दिने घटना अधिक छ । यौन सेवा प्रदान गर्ने क्रममा ग्राहकबाट धेरै हिंसा हुने गर्छ । ग्राहकले अनुमतिबेगर फोटो, भिडियो खिच्ने गर्छन् । तिनै भिडियो सामग्री सार्वजनिक गर्ने वा गर्ने धम्की दिएर यौनदास बनाउने, आर्थिक ठगी गर्ने जस्ता घटना बढिरहेका छन् । साथै, ग्राहकमार्फत आफ्ना साथीसर्कल तथा सामाजिक सञ्जालका ग्रुप च्याटमा यौनकर्मीको अनुमतिबिना उनीहरूको विवरण, प्रोफाइल तथा सम्पर्क नम्बर सार्वजनिक गर्ने, साटासाट गर्ने पनि देखिन्छ । पछि तिनै जानकारी पाउनेहरूले यौनकर्मी महिलालाई विविध रूपमा सताउने गर्छन् । 

दमयन्ती यौनकर्मी महिला हुन् । आफ्नो मोबाइलमा नयाँनयाँ नम्बरबाट फोन आउने, आफू सहमत नहुँदा नहुँदै पनि फेसबुक मेसेन्जरमा नयाँ खाताबाट यौन सम्बन्धको प्रस्ताव राख्ने र नमाने धम्की दिने गरेको सुनाउँछिन् । यस्तो भोगाइले धेरैजसो यौनकर्मीमा मानसिक तनाव र असुरक्षाको अनुभूतिसमेत हुने उनको अनुभव छ ।

पछिल्लो चरणमा भ्लगका नाममा जथाभाबी भिडियो खिच्ने र युट्युबमा राख्ने गर्दा कतिपय यौनकर्मीको पहिचान सार्वजनिक भएका छन्, जो खुल्न चाहँदैनन् । अर्कोतर्फ युट्युबरहरूले यौनकर्मीलाई अन्तर्वार्ता लिन बाध्य बनाउने, असहज प्रश्न गर्ने अभ्यासले उनीहरूको असंवेदनशीलताको व्याख्या गर्छ । भिडियो भाइरल बनाउने र पैसा कमाउने उनीहरूको उद्देश्यमा यौनकर्मीहरूले आफूलाई जोखिममा राख्नुपरेको छ ।

यौनकार्यको अपराधीकरण

डिजिटल कम्युनिटी गाइडलाइन तथा राज्यका विविध कानुनले निम्त्याएको निगरानी र बन्देजीकरण उस्तै चर्को छ । कानुनी सिद्धान्तअनुसार हिंसाको साबिती दुवै पक्षको सहमति वा मञ्जुरी छ कि छैन भन्ने तथ्यले निर्धारण गर्छ । तर, नेपालको विद्युतीय कारोबार ऐन–२०६३, मुलुकी अपराध संहिता–२०७४, वैयक्तिक गोपनीयतासम्बन्धी ऐन–२०७५ जस्ता कानुनले इन्टरनेट प्रविधिमा हुने हरेक यौनिक कार्य (यौन आसयले गरिएका सबै यौनिक कुराकानी, यौन सामग्रीको आदानप्रदान, बिक्रीवितरण आदि) लाई हिंसा र अपराध व्याख्या गर्छ । उनीहरूलाई कानुनी दायरामा ल्याउन छुट दिन्छ । तसर्थ सहमतिमा गरिएका डिजिटल यौनकार्य, यौनकर्मी र तिनका ग्राहकलाई समेत यस्ता कानुनले ठाडै अपराध करार गर्छन् । उनीहरूको सहमति र आपसी मञ्जुरीको सुनुवाइ हुँदैन । फलस्वरूप उनीहरूको पेसा धराशायी बन्छ । यसले यौनकर्मीको अधिकारका लागि जारी अभियानलाई पनि खुम्चाउँछ । यस्ता कानुनले इन्टरनेटका यौनिक अभिव्यक्ति, आनन्द र सहमतिका विषयमा परिकल्पनासमेत गरेका छैनन् भन्ने छर्लंग हुन्छ ।

यौनकार्यलाई अपराधीकरण गर्ने समाजमा यौनकर्मी समुदाय र अभियन्ताका लागि गोपनीयता ठूलो शक्ति र साधन हो । आफ्नो वास्तविक पहिचान तथा जानकारी गोप्य राखी अनलाइन वा अफलाइन स्थानमा उपस्थित हुन पाउनु व्यक्तिगत र पेसागत सुरक्षाका लागि महत्त्वपूर्ण पाटो हो । फेसबुक, एक्स, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालका प्रयोगकर्ताको वास्तविक पहिचान खुलाउनुपर्ने नीति (रियल नेम पोलिसी) यस्ता संवेदनशील समुदायको गोपनीयताको दृष्टिकोणबाट एकदम हानिकारक छ । यिनै नीतिमा टेकेर यौनकर्मीहरूको खाता बन्द गर्ने, पोस्ट हटाउने तथा वास्ताविक पहिचान खुलाउने कागजात माग्ने गरिन्छ । सुरक्षाका नाममा यस्ता नीति लाद्नुको सट्टा हिंसात्मक सोच परिवर्तन र सबैको सम्मानलाई पूर्वसर्तका रूपमा स्थापना गर्ने तहमा कहिल्यै काम हुँदैन । नियन्त्रण र निगरानीलाई मात्रै महत्त्वपूर्ण ठानिन्छ ।

इन्टरनेटको पहुँच यौनकर्मी र तिनका ग्राहकका लागि सुरक्षित स्थान हो भन्छिन्, अभियन्ता शोभा डंगोल । ‘हामीले यौनकर्मी साथी र तिनका ग्राहकलाई इन्टरनेटमार्फत नै सम्पर्क गर्छौं,’ उनी भन्छिन्, ‘उनीहरूलाई सुरक्षित यौन, यौनजन्य रोग तथा संक्रमण, स्वास्थ्य सेवा प्रदायकबारे जानकारी दिन्छौं र मनोसामाजिक परामर्श पनि प्रदान गर्छौं ।’ अन्य सीमान्तकृत समुदायजस्तै यौनकर्मीले पनि आफ्नो स्वास्थ्य सेवा, यौनरोग आदिबारे जानकारी लिन इन्टरनेटको अधिक प्रयोग गर्ने विभिन्न अनुसन्धानले देखाउँछन् । तर, ‘कन्टेन्ट मोडरेसन’ का नाममा इन्टरनेट सामग्रीमा अन्धाधुन्धा गरिने रोकले उनीहरू पीडित बन्न पुग्छन् । सामाजिक सञ्जालका खाता बन्द गर्दा र इन्टरनेटका यौनिक कुराकानीलाई अपराधीकरण गर्दा उनीहरूले आफ्नो सहयोगी सञ्जाल, सुरक्षा संयन्त्र र अभियानसमेत गुमाउन पुग्छन् । व्यक्तिगत र पेसागत रूपमा यौनकर्मीलाई परेको चुनौती तथा जोखिमका बारेमा साटासाट गर्ने समुदाय गुमाउँछन् । इन्टरनेटबाट सिक्ने, सशक्त हुने र सुरक्षित महसुस गर्ने थलोबाट टाढिन पुग्छन् । फेरि पनि, महिलाहरू नियन्त्रणकारी र नियमनकारी प्रणालीको प्रमुख सिकार बन्दै जान्छन् ।

नेपालमा २०१८ मा इन्टरनेटबाट यौनजन्य सामग्रीको आदानप्रदान र प्रसारणमा रोक लगायो । के त्यसपछि ‘पोर्न साइट’ पूर्णतः बन्द भए ? के महिला हिंसा, बलात्कार रोकिए ? घोत्लिएर विश्लेषण गर्ने हो भने नियन्त्रणले कहिल्यै कम गर्दैन । त्यसैले, पोर्न साइट बन्द गर्दैमा यौनिक तथा लैंगिक हिंसा निर्मूल हुन्छ भन्नु मूर्खता हो । 

यौनकर्मीको अधिकार 

यौनकार्यको अस्तित्वलाई स्वीकार नगर्दा र यौनकार्यलाई अपराधीकरण गर्दा समाजमा हिंसा झनै बढ्ने अभियन्ता आभा बताउँछिन् । माथि उल्लेख गरिएझैं कानुनी संयन्त्रको जटिलताका कारण यौनकर्मीमाथि अनलाइन वा अफलाइन हिंसा भए पनि उनीहरू कानुनी उपचारमा जान सक्दैनन्, बरु हिंसा सहेरै बस्छन् । कतिपय त मानसिक समस्यामा गएका उदाहरण पनि छन् । यौनकर्मीको सुरक्षासम्बन्धी एक कार्यशालामा लगभग सबै सहभागीले साझा आवाज बोलेका थिए– हामीमाथि हिंसा नै भयो भने पनि प्रहरी प्रशासनमा जान सक्दैनौं । किनकि, प्रहरी प्रशासनले उनीहरूलाई उल्टो थुनामा राख्छन् । अनावश्यक प्रश्न सोधेर हैरान पार्छन् । 

इन्टरनेटमा छ्याप्छ्याप्ती भेटिने यौनकर्मीद्वेषी मिम, जोक तथा ठट्यौली, रिल, कमेडी शोमा प्रस्तुत गरिने सामग्रीले पनि प्रत्यक्ष वा अप्रत्यक्ष हिंसा गरिरहेको छ । स्थानीय र विश्वव्यापी रूपमा यौन पेसाको अस्तित्व स्वीकार, सम्मानित यौन पेसा, यौनकर्मीको मानवअधिकार संरक्षण र यौनकार्यको गैरअपराधीकरणका लागि लामो समयदेखि बहस चलिरहेका छन् । तर अझै पनि मानिसमा यौनकर्मलाई हेर्ने दृष्टिकोणमा विकास भएको छैन । अझै पनि उनीहरूले परिवार र समाजबाट बहिष्करण, हिंसा, सुरक्षा संयन्त्रबाट प्रताडना भोगी नै रहनुपरेको छ । 

लैंगिक तथा यौनिक हिंसा अन्त्यको कुरा गर्दा यौनकर्मी समुदायको मर्यादित पेसा र सम्मानपूर्ण जीवनको विषय छुट्नु हुँदैन । हरेक किसिमका हिंसा, दमन र दासत्वको आन्दोलनको एउटा मुख्य उद्देश्य शरीर र यौनिकतामाथिको स्वायत्तता र स्वतन्त्रता हो । त्यसैले त ‘मेरो शरीर, मेरो अधिकार’ को बहस जारी छ । यौनकार्य र यौनकर्मीहरूको निरापराधीकरण र मर्यादापूर्ण अस्तित्व स्थापनाले यो उद्देश्य प्राप्तिमा एउटा महत्त्वपूर्ण इँटा थप्न ठूलो योगदान गर्छ । यसर्थ यौनकार्यलाई सम्मानित श्रमका रूपमा स्थापित गर्नु, यौनकर्मीको अधिकार निःसर्तपूर्ण मानवअधिकारका रूपमा सुनिश्चित गर्नु र यौनकर्मी समुदायविरुद्ध हरेक हिंसा, भेदभाव र दासत्वको अन्त्य सम्पूर्ण सामाजिक न्याय अभियानले साझा मुद्दा हुनुपर्छ ।

यौनकर्मीको अधिकारका लागि सक्रिय शान्ति तिवारी अझै पनि इन्टरनेट र प्रविधिमार्फत यौनकर्मीको मुद्दाका बारेमा संवाद पर्याप्त मात्रामा ल्याउन नसकिएको बताउँछिन् । ‘हिजोआज धेरैजसो अधिकारकर्मी, राज्य र सरोकारवाला बेइजिङ डिक्लारेसन एन्ड प्लेटफर्म फर एक्सन (बीपीएफए), महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलनसम्बन्धी महासन्धि (सिड) लगायत महिला अधिकारका दस्ताबेजको आवधिक समीक्षा र प्रतिवेदन तयारमा व्यस्त छन् । आफ्ना मुद्दा यी संयन्त्रहरूमा सुरक्षित गर्न सबै लागिपरेका छन्,’ उनी भन्छिन् । 

यौनकर्मी समुदायको अधिकारप्रति सम्पूर्ण सामाजिक न्यायको अभियानका हरेक तहले अपनत्व लिनुको विकल्प छैन । यो अपरिहार्यता र बुझाइ महिला, मानवअधिकार र सामाजिक न्यायको अभियान र राज्य संरचनाले पनि अनुभूत गर्नुपर्छ । यौनकर्मीहरू भन्छन्, ‘यौनकार्यलाई अपराधीकरण होइन, आफ्नो विचारमा विकास गर्न सके कुनै खालको हिंसा हुँदैन । यौनकर्मी समुदायको डिजिटल साक्षरता र सुरक्षा रणनीति विकास सीप बढाउन सके हिंसाकै कारण यौनकर्मी साथीहरूले इन्टरनेट प्लेटफर्म छाड्ने अवस्थामा पुग्दैनन् ।’ 

अनलाइनमा सुरक्षित सञ्चारको स्थान निर्माण गर्न जरुरी छ । हाम्रो बुझाइलाई बृहत् बनाउन यौनकर्मी समुदायका लागि पनि सामाजिक, प्राविधिक, कानुनी र व्यावहारिक सुरक्षा सुनिश्चित गर्नुपर्छ । साथै, डर लाजभन्दा पर गएर जति यौनको बारेमा खुलेर कुरा हुन्छ, व्यक्तिको जिम्मेवारीको कुरा गरिन्छ, उति नै अरूलाई सम्मान गर्न सक्ने भइन्छ । समुदायविरुद्धको हिंसाप्रति व्यक्तिगत र संस्थागत जवाफदेही बढ्छ । ‘सुरुवातबाटै सहमति, गोपनीयता, सम्मान र सुरक्षित इन्टरनेट व्यवहारको सिकाइ यौनकर्मी समुदाय, उसका ग्राहक मात्र नभएर सबैका लागि फाइदाजनक छ’ भन्छिन् अभियन्ता आभा । 

लैंगिक हिंसाविरुद्धको १६ दिने विश्वव्यापी अभियान भर्खरै सकिएको छ । अभियानका दौरान विविध संस्था, सरोकारवाला तथा न्याय मन पराउने व्यक्तिले सामाजिक सञ्जालमा प्रतिबद्धता र ऐक्यबद्धता जनाएका छन् । खासमा हामीले कल्पना गरेको डिजिटल प्लेटफर्म यस्तै अभियान निरन्तर गर्न, स्वअभिव्यक्तिलाई अभ्यास गर्न र आफू भएर बाँच्न समाजका हरेक व्यक्तिका लागि सुरक्षित स्थान होस् भन्ने हो । इन्टरनेटको असीमित अवसर र प्रगतिशील सम्भावना सबैका लागि पहुँचमा रहनुपर्छ । सीमान्तकृत समुदाय– यौनकर्मीका लागि पनि इन्टरनेट र प्रविधिको अनुभव सुरक्षित बनोस् भन्ने नै हो । किनकि यी स्थान सबै व्यक्ति, समुदाय र सवालको साझा थलो हो । तसर्थ, सीमान्तकृत र असन्तुलित शक्ति संरचनामा पिल्सिएका समुदायका लागि आफ्नो मुद्दा बुलन्द बनाउन इन्टरनेट झनै ठूलो अवसर हो । 

– बाहिग अधिवक्ता हुन् ।

कविता बाहिग अधिवक्ता हुन् ।

Link copied successfully