मानवजाति जस्तै माटो पनि जीवित प्रणाली हो । हामी जस्तै सास फेर्छ । माटोलाई पनि पोषण तत्त्वको आवश्यकता पर्छ । सन्तुलित रूपमा हावा, पानी र पोषण तत्त्वको उपलब्धता भएमा माटो स्वस्थ अनि उर्वर हुन्छ । माटोबाट नै हामीलाई खाना प्राप्त हुन्छ ।
माटोले पानीको शुद्धीकरण, कार्बन तत्त्वको सञ्चितीकरण तथा जैविक विविधताको संरक्षण गर्छ । साथै पशुपक्षीलाई आवश्यक वनस्पतिजन्य आहाराले समेत माटोबाट नै पोषण तत्त्व लिने गर्छन् ।
यतिका धेरै महत्त्व बोकेको माटोलाई नीतिगत तथा कार्यक्रमगत स्तरमा बेवास्ता गरिँदै आइएको छ, जसले गर्दा दिनानुदिन क्षयीकरण, प्रदूषण र असन्तुलित खेती प्रणालीको जोखिममा परिरहेको छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अनुसार विश्वको करिब ३३ प्रतिशत माटो बिग्रिसकेको छ, जसले खाद्य सुरक्षा तथा वातावरणीय सन्तुलनमा नकारात्मक परिणाम निम्त्याउने प्रक्षेपण गरिएको छ ।
नेपालको सन्दर्भमा तराई क्षेत्रमा केही घण्टाको मात्र भारी वर्षा (झन्डै ५० मिलिमिटर) भएमा खुला माटोबाट एकै पटकमा प्रतिकट्ठा करिब ३०० ग्राम माटो बगेर जान्छ । यस्तो क्षतिलाई अति विनाशकारी रूपमा लिनुपर्छ । किनभने सोही क्षति बराबरको माटोको उर्वर तहलाई पुनःस्थापित गर्नका लागि प्रकृतिलाई सयौं वर्ष लाग्छ । २०२४ को विश्व माटो दिवसको नारा ‘माटोको सुधार ः परीक्षण, रेखदेख र उपचार’ ले पनि दिगो भविष्यका लागि माटो स्वस्थ हुनुपर्ने सन्देश दिएको छ । यो संक्षिप्त लेखमा नेपालमा माटोसम्बन्धी वर्तमान चुनौती तथा यो जीवित प्रणालीलाई पुनःस्थापना र संरक्षण गर्न आवश्यक समाधानका उपायबारे उल्लेख गरिएको छ ।
स्वास्थ्यका दृष्टिकोणमा माटो
जब तपाईं स्वास्थ्य जाँचका लागि अस्पताल जानुहुन्छ, तापक्रम, रक्तचाप र नाडीको दरजस्ता विभिन्न सूचक मापन गरिन्छ । यी मापनले तपाईंको समग्र स्वास्थ्य अवस्थाबारे जानकार हुन मद्दत गर्छन् । त्यसरी नै माटोको स्वास्थ्य पनि विभिन्न सूचकबाट मापन गरिन्छ । जसरी स्वास्थ्य समस्यालाई चाँडै निराकरण गर्नु स्वस्थ रहनका लागि महत्त्वपूर्ण छ, त्यसैगरी माटोको स्वास्थ्यका लागि पनि ‘उपचारभन्दा रोकथाम राम्रो’ भन्ने सिद्धान्त लागू हुन्छ । माटोलाई थप क्षयीकरण हुनबाट रोक्न पहलकदमी उपायको आवश्यकता छ । उदाहरणका लागि नेपालमा माटोमा क्षयीकरण, पोषण असन्तुलन र प्रदूषणजस्ता चुनौती तीव्र रूपमा बढिरहेका छन्, जसले माटोको स्वास्थ्य संरक्षण र पुनःस्थापनाका लागि तत्काल कदम चाल्न आवश्यक रहेको देखाउँछ ।
माटोको उर्वराशक्ति वा जमिनको उत्पादनशीलता घटाउने प्रमुख कारणका रूपमा माटोको क्षयीकरणलाई लिन सकिन्छ । यो क्षयीकरण प्रक्रियालाई ढलान भत्किने, पहिरो, किनार कटान, तथा वन फँडानी जस्ता क्रियाकलापले थप गम्भीर बनाइरहेका छन् । क्षयीकरणले माटोको माथिल्लो तह (जसलाई उर्वर माटो भनिन्छ) एक ठाउँबाट हटाएर अर्को ठाउँमा स्थानान्तरण गर्छ । यो उर्वर माटोको माथिल्लो तह पुनः स्थापित हुन झन्डै ३० वर्ष लाग्छ । कृषियोग्य जमिनबाट यसरी माटोको क्षयीकरण हुँदा बाली उत्पादनमा ह्रास आउनुका साथै निकास प्रणालीमा क्षति पुर्याउने, पानीको गुणस्तर बिगार्ने तथा पानीका स्रोतमा युट्रोफिकेसन (जलाशयमा फस्फोरस, नाइट्रोजन र अन्य बिरुवाका पोषक तत्त्वहरूको मात्रा क्रमिक रूपमा बढ्दै जाने) जस्ता समस्या उत्पन्न हुन्छन् ।
जब माटोको क्षयीकरण बढ्दै जान्छ, त्यो बेला माटो बन्ने प्रक्रियाभन्दा छिटो यसको क्षयीकरण हुन्छ । नेपालमा वार्षिक ३६९ मिलियन मेट्रिक टन माटो बगेर जाने तथ्यांक छ, जसमा ३४ प्रतिशत कृषियोग्य जमिनको क्षयीकरण पानीबाट प्रभावित छ । उदाहरणका लागि कोशी बेसिनको बाँझो जमिनमा वार्षिक २२ टन प्रतिहेक्टरसम्म माटो बग्ने गरेको पाइएको छ ।
नेपालमा रासायनिक मलको औसत प्रयोगदर सन् २००२ मा १६.७ किलोग्राम प्रतिहेक्टरबाट २०२१ सम्ममा ९७.८ किलोग्राम प्रतिहेक्टरमा वृद्धि भए पनि मलको उचित व्यवस्थापनमा कृषकले अझै चुनौतीको सामना गरिरहेका छन् । यी चुनौती खासगरी खाद्यतत्त्व व्यवस्थापनका चार आधारभूत सिद्धान्त (उचित स्रोत, सही मात्रा, सही समय, सही स्थान) सँग सम्बन्धित छन् । यी सिद्धान्त अपनाउन नसक्नुको मुख्य कारण चेतनाको अभाव र परम्परागत खेती प्रणालीमा निर्भर रहनु हो । यसका साथै परम्परागत रूपमा प्रयोग गरिने प्रांगारिक मलका विभिन्न स्रोतलाई बेवास्ता गरिँदै जानु पनि कृषि प्रणालीमा पोषणचक्रलाई असन्तुलिततर्फ लैजाने अर्को ठूलो कारकतत्त्व हो ।
नाइट्रोजनयुक्त मलजस्तै युरियाको अत्यधिक प्रयोग गर्नाले माटोमा अम्लीयपना बढ्दै गएको छ । अम्लीयपनाको कारणले मात्र नेपालको लगभग ४० प्रतिशत कृषियोग्य जमिनमा असर पुर्याउनुका साथै बालीको उत्पादकत्वमा ह्रास आएको छ । यससँगै नेपालको मल सिफारिस गरिने प्रणालीमा कृषिसम्बन्धी विविध पक्ष नसमेटिएका कारण सन्तुलित खाद्यतत्त्वको प्रयोग र व्यवस्थापन हुन सकेको छैन । माटो परीक्षणमा आधारित स्थान विशेष सन्तुलित मलखाद प्रयोगको आवश्यकता महसुस गरिए तापनि कृषि प्रसार तथा सम्बन्धित सार्वजनिक निकायमा माटोसम्बन्धी स्वास्थ्य कार्ड प्रणालीको स्थापना तथा व्यवस्थापनको अभाव खड्किएको छ ।
सूक्ष्म प्लास्टिकको प्रभाव
सूक्ष्म प्लास्टिक भनेका प्लास्टिकका ससाना टुक्रा हुन्, जसको आकार ५ मिलिमिटरभन्दा कम अथवा करिब पेन्सिलको मेटाउने भाग जत्रो हुन्छ । सूक्ष्म प्लास्टिकले पनि माटो प्रदूषणमा ठूलो भूमिका खेलेको हुन्छ । विगतका अध्ययनका अनुसार प्रतिकठ्ठा उर्वर माटोमा करिब २.१ किलोग्रामसम्म सूक्ष्म प्लास्टिक पाइन्छ । सूक्ष्म प्लास्टिकका प्रमुख स्रोतमा टुक्रिएका प्लास्टिक मल्च, ढलको फोहोर र सिञ्चित पानी हुन् । यी प्लास्टिकले माटोमा रहने गड्यौला र सूक्ष्मजीवको गतिविधिलाई ३० देखि ५० प्रतिशतसम्म कम गर्छन् र हानिकारक रसायनसँग मिसिएर थप विषाक्त बनाउँछन् ।
सन् २०२१ मा फेवातालमा गरिएको एक अध्ययनअनुसार जाडोयाममा सतही पानीमा सूक्ष्म प्लास्टिकको मात्रा करिब ३ कण प्रतिलिटर र वर्षायाममा यो मात्रा करिब १.५ कण प्रतिलिटर पाइएको थियो । सूक्ष्म प्लास्टिकले विषादी र धातुको प्रभावलाई समेत वृद्धि गर्छ, जसको प्रत्यक्ष असर बाली उत्पादन तथा खाद्य सुरक्षामा पर्छ । अझै डरलाग्दो कुरा के हो भने यस्ता प्लास्टिकबाट प्रदूषित खाना खाँदा मानिसले वार्षिक करिब ५० हजार कण उपभोग गरिरहेका हुन्छन् । यी सबै कारणले संयुक्त राष्ट्रसंघको वातावरण कार्यक्रमले सूक्ष्म प्लास्टिक प्रदूषणलाई विश्वका १० प्रमुख वातावरणीय जोखिमहरूको सूचीमा राखेको छ ।
नेपालको माटोमा सूक्ष्म प्लास्टिक मात्र नभई खाद्यतत्त्वको बहाव, प्रांगारिक पदार्थको ह्रास र माटोको संकुचनजस्ता अन्य समस्या पनि छन्, जुन समस्या क्षेत्रीय वा विश्वव्यापी रूपमा परिचित छन् । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनअन्तर्गतको अन्तरसरकारी प्राविधिक माटो प्यानलले माटोसम्बन्धी विश्वव्यापी रूपमा दस प्रमुख चुनौती पहिचान गरेको छ । यसका माटो क्षयीकरण, माटोको प्रांगारिक कार्बनमा ह्रास र पोषण असन्तुलनजस्ता चुनौती समावेश गरिएका छन् । यी समस्यालाई निरन्तर बेवास्ता गर्दै जानाले खाद्य सुरक्षा र वातावरण सन्तुलनमा नकारात्मक असर पुग्छ । सकारात्मक पक्ष के छ भने माटोमा भएको ह्रासलाई उल्ट्याउन सम्भव छ । माटोको निरन्तर जाँच, रेखदेख र उचित व्यवस्थापनका सिद्धान्त अवलम्बन गरेमा माटोलाई पुनः स्वस्थ रूपमा फर्काउन सकिन्छ ।
अबको बाटो
माटोको क्षयीकरण पर्यावरणीय संसाधनको सन्तुलनलाई मात्र नभई मानव अस्तित्वलाई समेत चुनौती दिने समस्या हो । नेपालजस्तो अधिकांश जनसंख्या कृषिमा निर्भर भएको देशमा माटो क्षयीकरण सम्बन्धमा दीर्घकालीन समाधान खोज्नका लागि वैज्ञानिक, नीतिगत र सामाजिक तहमा एकीकृत प्रयास आवश्यक छ ।
आधारभूत तथा तत्कालीन प्रयासमा माटोको ह्रास नियन्त्रण, सन्तुलित मलखाद प्रयोग, माटोमा जैविक तथा प्रांगारिक तत्त्वमा सुधार, सार्वजनिक सचेतना अभियान तथा कृषकका लागि माटो व्यवस्थापनसम्बन्धी साक्षरता कार्यक्रम समावेश गर्न सकिन्छ । यी प्रयासको दिगोपना सुनिश्चित गर्न मानव स्वास्थ्य मापनमा सूचक प्रयोग गरिएजस्तै माटो स्वास्थ्यसम्बन्धी सूचकलाई मार्गदर्शनका रूपमा प्रयोग गर्न जरुरी छ ।
आ–आफ्नो खेतबारीको माटो परीक्षण गराई वास्तविक खाद्यतत्त्वको अवस्था बुझ्ने र सोहीअनुसार सिफारिस मलखाद प्रयोग गर्न तत्पर हुने अवस्थामा कृषकलाई पुर्याउनु आजको आवश्यकता तथा दिगो समस्या समाधानको उपाय हो । मलखाद सिफारिस प्रणालीलाई स्थानविशेष र समयसापेक्ष बनाउन अनुसन्धान र प्रसार सेवालाई विस्तार गर्न जरुरी छ । प्रांगारिक तथा अप्रांगारिक स्रोतको सन्तुलित प्रयोगमार्फत माटोको उर्वराशक्तिको एकीकृत व्यवस्थापन गरी पोषण चक्रलाई कार्यात्मक/चलायमान अवस्थामा राख्न अपरिहार्य छ ।
नीति निर्माताले आवश्यक मात्रामा गुणस्तरीय मल समयमै उपलब्ध गराउन र माटोको अम्लीयता तथा प्रदूषणलाई सम्बोधन गर्नका लागि विज्ञको राय लिई कार्यक्रम सञ्चालन गर्नुपर्छ । साथै खाद्य सुरक्षा र वातावरणीय दिगोपनका लागि माटोको महत्त्वबारे जनचेतना अभियानले माटो संरक्षणतर्फको संस्कृति विकास गर्न सहयोग गर्न सक्छ । हामीले हाम्रो माटोलाई आवश्यक स्याहार दिनुपर्छ । नेपालको माटो, कृषि र पर्यावरणीय प्रणालीलाई स्वस्थ र दिगो बनाउनका लागि हाम्रा सामूहिक प्रयास महत्त्वपूर्ण छन् ।
– माटो वैज्ञानिक पाण्डे कृषि प्रणालीमा कार्बन र नाइट्रोजन चक्रसम्बन्धी विषयका विशेषज्ञ हुन् ।
