युद्धप्रसाद मिश्र : प्रकृति र आन्दोलनका कवि

पुस २६, २०७९

नन्दप्रसाद उप्रेती

काठमाडौँ — जब २०४६ को आन्दोलनले देशव्यापी फैलावट लिँदै गयो प्रत्येक कार्यक्रम र सभा, जुलुस एवं सांस्कृतिक कार्यक्रमहरूमा एउटा जोसिलो गीत मूल आकर्षण भएर बज्न थाल्यो । त्याे गीत कतै प्रत्यक्ष गायकहरूकै स्वरमा घन्किन्थ्यो त कतै क्यासेटहरूमा ।

वरिष्ठ गायकहरूदेखि कनिष्ठ गायकहरूले जनमानसमा आन्दोलनका लागि ऊर्जा बढाउन, आन्दोलनलाई ज्वालामुखीझैं दन्काउनका लागि मञ्चहरूबाट हजारौंले त्यो गीत गाएका छन् । जुलुसमा आन्दोलनकारीहरूले स्वयं त्यो गीत गाउँदै आफैँभित्र जोस बढाउन थाले । कति ठाउँमा त यो गीत परेड गीतजस्तै भयो । नेपाली जनजनमा पुगेको, नेपाली मनमनभित्र पसेको त्यो गीत थियो :

रक्तक्रान्तिको ज्वालामुखीमा

आज उठेको यो स्वाभिमान

श्री नढलेका युवायुवतीको

हृदय हृदयको स्वाभिमान !

थोरै मानिसहरूलाई मात्र थाहा थियो त्यो ज्वालामुखीजस्तो गीत कसले लेखेको भन्ने कुरा । थोरै मानिसहरूलाई मात्र थाहा थियो त्यो गीतलाई हिमालजस्तो अग्ल्याउने र आकाशजस्तै फैल्याउने संगीत कसले दिएको थियो भन्ने कुरा ।  थाहै नपाई मानिसहरूले त्यो गीतलाई आफ्नो गीत बनाएका थिए । त्यो गीत आन्दोलनप्रेमी, परिवर्तनप्रेमी सारा नेपालीहरूको गीत भएको थियो । त्यो गीतका रचनाकार थिए वरिष्ठ प्रगतिवादी, कवि युद्धप्रसाद मिश्र र त्यो गीतका संगीतकार थिए वरिष्ठ जनगायक रामेश श्रेष्ठ । तिनै गणतन्त्रवादी कवि युद्धप्रसाद मिश्रको ११६ औँ जन्मदिवसको परिप्रेक्ष्यमा उनकै जीवन र काव्यसाधनाबारे यो लेख केन्द्रित हुनेछ ।

मिश्रको बाल्यकाल, शिक्षा र जागिरे जीवनको थालनी

कवि युद्धप्रसाद मिश्रको जन्म वि.स. १९६४ साल पुस २७ गते शनिबार भक्तपुरको सिरुटारस्थित सोमलिङटारमा भएको थियो । उनी बुबा रुद्रप्रसाद मिश्र र आमा गीताकुमारी मिश्रका एक्ला पुत्र थिए । ठानाका राइटर रुद्रप्रसाद मिश्रको तत्कालीन दरबारीया शासक प्रशासकसँग राम्रो सम्पर्क थियो । उनका मामा गुरुप्रसाद आचार्य पनि तत्कालीन राणा प्रधानमन्त्री भीमशमशेरको अड्‌डाको सुब्बा पदमा बहाल थिए । प्रशस्त जग्गाजमिन र सरकारी जागिरका कारण रुद्रप्रसाद मिश्र र  गुरुप्रसाद आचार्य दुवैको परिवार सम्पन्न परिवारमा गनिन्थे । सम्पन्न परिवारमा जन्मिएका युद्धप्रसाद मिश्रको जीवनले भने नाबालक अवस्थादेखि नै अप्ठ्यारा र असजिला समस्यासँग जुझ्नुपर्ने भयो । उनी डेढ वर्षकै हुँदाखेरि बुबाको मृत्यु भयो । परिवारमा आमा, दुई दिदी र उनीमात्र रहे  ।

बुबाको अभिभावकत्व र मार्गदर्शन के कस्तो हुन्छ युद्धप्र‌सादले जान्न/भोग्न पाएनन् । आमा, दिदीहरू र मावलीको रेखदेखमा हुर्किएका मिश्रले बालककालमा आर्थिक अभावको महुसुस त गर्नु परेन तर बुबाको अभिभावकत्व र मार्गनिर्देशनको अभावमा अनुशासन र व्यावहारिक कुशलताको निर्माणमा भने उनी कमजोर नै देखिन्थे । आमा र दिदीहरूको पुल्पुल्याहट र मावलीको सम्पन्नताको रवाफले मिश्रमा भविष्य  सोच्नेभन्दा वर्तमानमा रमाउने, साथीहरू जम्मा गर्ने, घुमफिर गर्ने बानीको विकास गरायो । सुरक्षार्थ खटिएका सैनिकहरूलाई छक्याएर उनी राणाका दरबारभित्र पसी फलफूल बगैँचामा पुग्ने, नसोधी फलहरू टिपेर खाइदिने, त्यहाँका तलाउमा नाङ्गै पौडी खेल्नेजस्ता नपत्याउने क्रियाकलाप समेत गर्ने गर्थे । यस्ता कुराले मिश्र कुनै पनि वर्गका मानिसहरूसँग डर नमान्ने आँटिला स्वभावका थिए भन्ने बुझिन्छ । गाउँघरदेखि राणा दरबारका केटाकेटीहरूसँग उनको मित्रता थियो । साथी भनेपछि उनी हुरुक्कै हुन्थे । साथीहरूका लागि उनी जस्तोसुकै त्यागसमेत गर्न उत्सुक भइहाल्थे । साथीहरूलाई खुवाउँदा पैसा सकिएर उनले चुरोट राख्ने चाँदीको बट्टासमेत बेचेका थिए । उनी आफूलाई गुमाउन सहज मान्थे तर साथी गुमाउन चाहँदैनथे ।

हजुरबुबा, बुबाकै पालादेखि सरकारी जागिरे, पढेलेखेको परिवारको भएकाले आमा गीताकुमारी स्वयंले छोरा युद्धप्रसादलाई कखरा पढाएकी थिइन् । लेख्न पढ्न सक्ने बनेपछि मावली हजुरबुबा गणेशबल्लभ आचार्य र फुपाजू नाताका अङ्‌गीरसको सहयोग र सल्लाहमा गीताकुमारीले युद्धप्रसादलाई घरमै पढ्नका लागि शिक्षकको व्यवस्था गरिदिएकी थिइन् । यसैक्रममा उनले संस्कृत भाषाका महाभारत, रामायण, पञ्चतन्त्र, कथा सरित सागर, चण्डी, रुद्री, लघुसिद्धान्त कौमुदी, शाकुन्तलम्, रघुवंश, मेघदूत, चाणक्यनीति आदि ग्रन्थहरूको अध्ययन गरेका थिए । यही अध्ययनले मिश्रलाई साहित्यतर्फको रुची बढाए‌को थियो । परिणामस्वरूप मावलीहरूकै सहयोगमा उनी भारतको बनारसमा संस्कृत साहित्यको अध्ययन गर्न पुगेका थिए । त्यहाँ उनले हिन्दी र अङ्ग्रेजी भाषा साहित्यको पनि अध्ययन गर्ने अवसर पाए । हिन्दी साहित्यका ग्रन्थहरूको अध्ययन चाहिँ मिश्रले आफ्ना दरबारिया मित्र मियर शमशेरकी आमा बुना महारानीको निजी पुस्तकालयमा गरेका थिए । बनारस जानुअघि मिश्रलाई आमा गीताकुमारीले औपचारिक शिक्षाका लागि दरबार हाइस्कुलमा भर्ना गराएकी थिइन् । तर‚ बनारस जाने भएपछि उनको सो अध्ययनको क्रम टुटेको थियो । पछि वि. सं. १९८० तिर पुन: दरबार स्कुलमा भर्ना भएर उनले वेद र निजामती शिक्षा अध्ययन गरे । राम्रो नतिजा ल्याएर १९८७ मा  निजामती शिक्षा पहिलो तह उत्तीर्ण गरेकै कारण उनले पछि नायव सुब्बा तहसम्मको जागिर पाएका थिए । जागिर खान थाल्नुभन्दा अगाडि नै बुबा, आमा, परिवार सबैको माया, ममता, अभिभावकत्व प्रदान गर्ने आमा गीताकुमारीको मृत्यु भइसकेको थियो ।

जेल, जागिर र राजनीति

बुबाको अभावमा परिवारको आर्थिक सम्पन्नताका आधारहरू भत्किन थालेका थिए । युद्धप्रसादले परिवारको आर्थिक सम्पन्नताको संरक्षण गर्नुपर्छ भन्ने कहिल्यै ठानेनन् । उनी आफू होइन अरुलाई खुसी बनाउनुपर्छ भन्ने मान्यता लिएर आफ्नो सम्पतिको बेहिसाब प्रयोग गर्न रुचाउँथे । परिणामस्वरूप उनले पनि जागिर खानुपर्ने परिस्थिति आयो । वि.सं. १९८४ मा मिश्रले कुमारी चोकमा नौसिन्दाको सरकारी खाए । १९८६ तिर भीम शमशेरकी कान्छी रानी सीता महारानीको ढुकुटी विभागमा बहिदार पदमा काम गर्न थाले । काठमाडौंकी लोककुमारी देवकोटासँग विवाह पनि गरे । त्यसै समयमा उनले लेखेको 'अहिंसा प्रार्थना' खण्डकाव्यमा राणा खानदानविरुद्धको भावना छ भनेर राणा प्रधानमन्त्री भीमशमशेरले डढाइदिए । त्यसले मिश्रको भावनामा चोट लगायो । अपमान महसुस भयो तर घरायसी आर्थिक अवस्थाका कारण उनले तुरुन्त जागिर भने छाड्न सकेनन् । जुद्धशमशेरको कठोर शासन, आफूभित्रको राणाहरूप्रतिको बढ्दो घृणाभावका कारण उनले १९९० मा राणा दरबारको जागिर त्यागे । उनी आफ्नै जन्मथलो भक्तपुरको सिरुटारस्थित सोमलिङ‌टारमा गएर पैतृक थातथलोमा बसोबास गर्न थाले ।

पैतृक सम्पति स्या‍हारेर बस्दा उनको आर्थिक अवस्थामा कुनै सुधार आएन । आर्थिक आम्दानीको कुनै स्रोत नभएका कारण जीवन झन् जटिल भयो । साना साना छोराछोरीको पालनपोषणमा समेत अप्ठ्‌यारो हुन थालेपछि मिश्रले वि.सं. २००० सालमा  विरगञ्जस्थित सर्कल अफिसमा वनजाँचको सुबेदार पदको जागर सुरु गरे । बनारस बस्दा उनीभित्र अङ्कुरण भएको राजनीतिक चेतनाको बिज विरगञ्जमा विकसित हुन थाल्यो । वि.सं.  १९९७ देखि नै  राणाविरोधी आन्दोलनमा लाग्न थालेका मिश्र जागिर खाँदै नेपाली राष्ट्रिय कांग्रेसको सम्पर्कमा आएर संघर्षमा सहभागी हुन थाले । २००४ सालमा त उनी पूरै राजनीतिक कार्यकर्ताको जस्तै सक्रियताका साथ आन्दोलनमा लागेपछि राणा शासनमा उनको जागिर रहेन । उनको जागिरमात्र गएन‚ जेल जीवन पनि सुरु भयो । जेल जीवनले उनलाई कत्ति पनि गलाएन । राणाविरोधी उनको चेतना अझ सशक्त बन्यो । हुन त उनी किशोर उमेरमै आफ्ना साथीहरू लिएर राणाको थापाथलीको दरबारको बगैँचामा पसी बिनाअनुमति फलफूल टिपेर खाँदा, राणा परिवारले पौडी खेल्ने पोखरीमा पौडी खेल्दा पाएको केही अपमान र केही घण्टा थुनिएको पीडाले अन्तरचेतनामा राणाहरूप्रति घृणा भावको भावना जगाइसकेको थियो ।

विरगञ्ज जेलमा २ वर्षभन्दा बढी समय कठोर यातनासहित थुनिएपछि मिश्र स्वयं  कैदीलाई खान देऊ, औषधिको व्यवस्था गर, राजबन्दी मुक्त गर, प्रजातन्त्रको घोष‌णा गर लगायत माग राखेर २४ दिन आमरण अनसनमा बसे । उनको अनसनले विरगञ्जमा ठूलो प्रभाव पार्‍यो । मिश्रको रिहाइ‌का लागि त्यहाँ जनप्रदर्शन समेत भयो । दबाबक‍ो परिणामस्वरूप २ वर्ष ४ महिनापछि मिश्र जेलबाट रिहा भएका थिए ।

वि. सं. २००७ मा प्रजातन्त्र आएपछि मिश्रले जागिरमा पुनर्वहाली हुने अवसर पाए । केही समयपछि नायव सुब्बाको पद‌मा बढुवा पनि भए । केही समयका लागि उनको पारिवारिक आर्थिक पक्ष केही सबल पनि भयो । यो राजनीतिक परिवर्तन‌ले नेपाली जनतामा सुखानुभूति दिन सक्दैन; राज्यको नेतृत्व गरिरहेको पार्टी जनहित, देशको हितको पक्षमा छैन भने उनलाई लागेपछि आफूसम्बद्ध भएको नेपाली कांग्रेस पार्टीसँगको उनको सम्बन्ध बिग्रन थाल्यो र उनीमाथि भ्रष्टाचारको मुद्दासमेत लाग्यो । उनको सम्पूर्ण तलब रोक्का भयो । लामो समय मुद्दामा झेलिए पनि २०१६ सालको अन्त्यतिर उनले मुद्दाबाट सफाइ पाउँछन् र रोक्का तलबसमेत एकमुष्ठ प्राप्त गर्छन् । सिंहदरबारभित्र कर विभागमा नायव सुब्बाको पदमा पुनर्बहाली भएपछि आर्थिक स्थिति पनि सहज बन्छ । तर‚ राज्यले मिश्रलाई सजिलो बाटोमा हिँड्न दिँदैन । २०१७ सालमा बर्दिया मालपोत र २०१८ सालमा कैलाली र कञ्चनपुरको मालपोतमा सरुवा गरेर परिवारबाट धेरै टाढा पठाइदिन्छ । २०१७ सालको राजनीतिक परिवर्तन मिश्रलाई पटक्कै सह्य भएन र जागिरे जीवनमै उनले त्यो परिवर्तनविरुद्ध पर्चासमेत निकाले । परिणामस्वरूप उनलाई काठमाडौँ बाहिर जान निषेध गरी नजरबन्दजस्तो अवस्थामा राखिएपछि मिश्रले सोही समयमा जागिरबाट अवकाश लिए ।  हेटौँडामा आवाद गरिएको केही जमिन सम्हालेर त्यतै बसोबास गर्ने योजना लिएर हटौँडा पुगेका मिश्रलाई पञ्चायती व्यवस्थाविरुद्ध कांग्रेसको विद्रोहलाई सघाएको भनी पक्रिएर ७ दिन थुनामा राखिएको थियो । त्यसपछि स्वदेशमा बस्न धेरै असजिलो महसुस गरी सम्पूर्ण जायजेथा त्यागेर उनी परिवारसहित निर्वासित जीवन ज्युनका लागि भारतको बनारसतिर लागे । बनारसमै बसेर मिश्रले नेपालको निरङ्कुश शासन व्यवस्थाको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि सशक्त रूपमा कलम चलाए ।

दुई दशकभन्दा लामो समय बनारसमा साहित्यिक एवं  राजनीतिक जीवन बिताएर स्पष्ट राजनीति दृष्टिकोणसहित २०४० सालका नेपाल फर्किएपछि मिश्र नेपाली प्रजातन्त्रवादी, लोकतन्त्रवादी, गणतन्त्रवादी  साहित्यिक क्षेत्रको शीर्षस्थ व्यक्तिका रूपमा स्थापित भए । मार्क्सवादी साहित्यिक चिन्तकका रूपमा समेत चिनिएका मिश्र २०४६ सालको जनआन्दोलनको साहित्यिक मोर्चाको मियो व्यक्तित्वका रूपमा रहेका थिए । उनी साझा आन्दोलन भन्थे; सहकार्य भन्थे; प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्थे; पञ्चायती तानाशाहीको अनिवार्य अन्त्य भन्थे ।

त्यसैले उनी निरङ्कुशताविरोधी साहित्यकारहरूका लागि साझा व्यक्तित्व थिए । कुनै पनि राजनीतिक पार्टीको सदस्यता नलिएका साझा व्यक्तित्व थिए । ८३ वर्षको वृद्ध अवस्थामा २०४६ साल चैत्र ३ गते पञ्चायती व्यवस्थाविरुद्ध लेखक कलाकारहरूद्वारा मुखमा पट्टी बाँधेर गरिएको विरोध कार्यक्रमको नेतृत्व गरेका मिश्रलाई उनको जीवनको अन्तिमपटक गिरफ्तार गरिएको थियो । प्रहरीले मिश्रलाई गिरफ्तार गरिरहेका बखत एउटा हातले लठ्ठी टेकेर अर्को हातले उपस्थित लेखक, कलाकार र जनमानसलाई अभिवादन गर्दा अग्रनायक कविलाई लेखक, कलाकार एवं जनसमुदायले नारा र तालीका साथ सम्मान अभिवादन गरेको थियो ।

मिश्रको प्रकृतिप्रेम र स्वच्छन्दतावादी लेखन

नेपाली कविता साहित्यमा सातदशक साधना गरेका कविप्रसाद मिश्रले आधुनिक नेपाली कविताको प्रारम्भकालदेखि चालिसको दशकको आलोचनात्मक यथार्थवादी तथा समाजावादी लेखनमा कलम चलाए । उनले कविता लेख्न आरम्भ गर्दा आध्यात्मिक सांस्कृतिक पुनर्जागरणको अभियानसहितको परिष्कारवादी लेखन‚ नेपाली कविता लेखनको मूल धारा बनेको थियो । लेखनाथ पौडेल, चक्रपाणि चालिसे, सोमनाथ सिग्द्याल, बालकृष्ण सम, धरणीधर कोइराला, महानन्द सापकोटाले यस किसिम‌को लेखनलाई स्थापित गरिरहेका थिए । युद्धप्रसाद मिश्र पनि यसै समयमा कविका रूपमा देखा परेका हुन् । उनका कवितामा पनि उल्लेखित कविहरूकै दृष्टिकोणको प्रभाव नपरिरहन सकेन । उनले १९७७ मा भाङ्‌सेवीका लागि ‘पागल, १९८६ मा 'अहिंसा प्रार्थना', १९८८ मा विद्यार्थी शिक्षा' आदि  रचना गरे । मिश्रका यी कविताहरूमा तत्कालीन समयको सामाजिक विसङ्गति र विकृतिविरुद्ध चेतना प्रकट भएको छ भने विचारका दृष्टिकोणले हिन्दू अध्यात्मवादी आदर्शवादको नजिक देखिन्छन् । यी कविताहरूलाई युद्धप्रसाद मिश्रका अभ्यासकालीन रचनाहरू मानिन्छन् ।

युद्धप्रसाद मिश्रले १९९० सालमा जब दरबारीया जागिर छाडेपछि उन‌ले आफूलाई स्वतन्त्रता प्राप्त भएको महसुस गरे‚ जसको परिणाम उनको काव्य साधनामा देखा पर्न थालिहाल्यो । उनका कवितामा स्वच्छन्द अभिव्यक्ति प्रकट हुन थाले ।

राणा शासकहरूको दमनकारी नीति, भारतमा चलेका विभिन्न राजनीतिक क्रियाकलापहरू, सामाजिक एवं साहित्यिक गतिविधिहरू र नेपालभित्र हुन थालेका सामाजिक एवं राजनीतिक  क्रियाकलाप र घटनाहरूक‍ो कविहरूमा प्रभाव परिरहेको थियो । कविहरूमा अङ्ग्रेजी स्वच्छन्दतावादी लेखनको प्रभाव पनि आउन थाल्यो । प्रकृति, प्रेम, राष्ट्रभक्ति, व्यंग्य, स्वतन्त्रता आदि विविध विषय‌मा कविहरूका कलम चल्न थाले । मिश्रको कलमले पनि प्रकृतिप्रेम, अतितको मोह, वर्तमानप्रतिको असन्तुष्टि, सुन्दर भविष्यको कल्पना, विद्रोही भावना, सामाजिक यचार्थ, व्यङ्‌ग्यात्मक अभिव्यक्ति, करुणा, वेदना, प्रकृतिको मानवीकरण गर्नेजस्ता स्वच्छन्दतावादी शैलीमा कविताहरू रचना गर्न थाले । उनी लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरण श्रेष्ठकै पंक्तिमा स्वच्छन्दतावादी कविको अग्रभागमा उभिए । वि.सं. १९९२ देखि १० वर्षभन्दा बढीको समय उनले स्वच्छन्दतावादी धारका कविताहरूको रचना गरेका छन् । यस समय‌का उनका अभिन्न कविमित्र सिद्धिचरण श्रेष्ठको मित्रता, स्वयंले आफ्नो प्रकृति र स्वतन्त्रताप्रेमी स्वभाव आदिले मिश्रलाई स्वच्छन्दतावादी कविका रूपमा कलम चलाउन सहयोग पुर्‍याएको थियो ।

स्वच्छन्द भावका कविता लेखनमा कवि मित्र अत्यन्तै सक्षम देखिएका छन् । १९९२ जेठ ३२ मा प्रकाशित उनको कविता मेघमालाले उनको स्वच्छन्दतावादी लेखनको सुन्दर नमुना प्रस्तुत गरेको छ । यद्यपि यो कविता उनको यस प्रवृतिको लेखनको थालनी थियो । यसै महिनामा शारदा पत्रिकामा उनका अन्य दुई कविताहरू 'अनित्यमा नित्य' र 'चञ्चल मन' पनि प्रकाशित भए । प्रकृतिवादी 'प्रकृतितर्फ फर्क' भन्ने रूसोको प्रकृतिवादी र स्वछन्दतावादी चिन्तनको गहिरो प्रभाव कवि मिश्रका यो चरणमा लेखिएका कविताहरूमा देखिन्छ । उनका कविताहरूमा व्यक्तिगत जीवनका असफलता, निराशा, कुण्ठा, पलायनवादी स्वर, प्रकृतिप्रेम, यथार्थभन्दा परको अलौकिक आनन्द, शान्ति, आफूले भोगेका युगका पीडा र वेदनालाई प्रतिकात्मक शैलीमा प्रस्तुति दिने; प्रकृतिलाई मानवीकरण गर्ने; विद्रोही भाव प्रकट गर्ने प्रवृत्ति देखिन्छ । कवि मिश्रको 'चरा' कविता संग्रह प्रकाशित हुनुअगाडि नै कवि मित्रका मेघमाला, सन्ध्या, चरखण्डीको खोचे, पागल (२), जावीको चरा, हाम्रो जीवनजस्ता थुप्रै कविताहरू प्रकाशित भइसकेका थिए । चरा कविता संग्रहमा चरासम्बन्धी नै कविताहरू संगृहीत छन् । 'फूलदानी' कविता १९९५ मा प्रकाशित भयो ।

युद्धप्रसाद मिश्रका कविताहरू लेखिनेबित्तिकै छापिने गर्दथे । यसले कविको कवित्व क्षमता उच्चकोटीको थियो र सम्पादकहरूलाई आकर्षित गरिहाल्थ्यो भन्ने देखाउँछ ।

स्वच्छन्दतावादी कविहरूले कल्पना शक्तिलाई अत्यन्त मजबुतीका साथ आफ्ना कवितामा प्रयोग गर्दछन् । युद्धप्रसाद मिश्रले पनि आफ्ना कवितामा कल्पनाशीलताका पङ्‌खहरू फैलाएका छन् । कल्पनाका माध्यमबाट प्राकृतिक जीवनको स्वर्गीय आनन्दको अनुभव गरेका छन् । प्रकृतिको आत्मासम्म चिहाएर त्यहाँको सुन्दरताको बयान गरेका छन् :

निर्मल जलको पतला सारी

टलपल टलपल सर्र लतारी

कोमल झ्याउ, पथ्थर हरिला

सज्जित जलको चोली हीला (चरखण्डीको खोँच)

स्वच्छन्दतावादी कविहरू प्रकृतिमा शान्ति र मुक्ति खोज्छन्

राष्ट्रिय भावना पोख्छन्, दुनियाँको सबैभन्दा अलौकिक सौंदर्य पनि प्रकृतिमै भेट्छन्, निराशा, कुण्ठा र पलायनका पीडालाई प्रकृतिसँग रमाएर बिर्सन्छन् । उनीहरू प्रेमको मरमानन्द पनि प्रकृतिमै भेट्छन् । युद्धप्रसाद मिश्रका कविताहरूमा यी सबै भावहरू प्रकट भएका छन् । यिनै गुणका कविताले उनलाई  नेपाली स्वच्छन्दतावादी कविहरूको अग्रपंक्तिमा उभ्याउन सफल भए ।

मिश्रको प्रगतिशील/ प्रगतिवादी लेखन

राणा शाषकहरूप्रतिको घृणाभाव, जागिरे जीवनमा पाएको सास्ती, राजनीतिक पार्टीसँगको सामीप्यता, राणाविरोधी आन्दोलनमा सहभागिता, राष्ट्रप्रेम, जनप्रेम, आफ्नो सहयोगी भावना र विद्रोही स्वभाव आदिका कारण राणा शासनको अन्तिम अन्तिम समयदेखि युद्धप्रसाद मिश्रका कविताले स्वच्छन्दतावादी प्रवृत्तिलाई क्रमश: छाड्दै प्रगतिशील ययार्थवादी प्रवृतिउन्मुख हुन थालेको देखिन्छ । २००४ सालको राणाशासन विरोधी आन्दोलनमा सक्रिय हुन थालेपछि मिश्रमा प्रकृतिवादी स्वच्छन्दवादी लेखनभन्दा सामाजिक वास्तविकता महसुस गरी मानव जीवनका विविध पक्षलाई हेर्ने प्रगतिशील मूल्य र मान्यतायुक्त लेखन प्रिय बन्न सुरु भएको पाइन्छ । कवितामा वस्तुवादी दृष्टिकोण उजागर हुन थालेको देखिन्छ ।

नेपाली राजनीतिमा २०१७ को घटना भएपछि बनारसको निर्वासन जीवन बिताउँदै गर्दा उनले लगभग एकदशकको समयावधिमा लेखेका कविताहरूको संग्रह 'बाढी' प्रकाशित भयो । बाढीमा संगृहीत कविताहरूमा पञ्चायती व्यवस्थाविरुद्ध बुलन्द आवाज मुखरित हुने कविताहरू छन् । मजदुर, किसानका पक्षमा आवाज भरिएका कविताहरू छन्, युग परिवर्तनको आवश्यकताका चाहनाहरू छन् । यस संग्रहभित्रका कविताहरूमा भविष्यप्रतिको स्पष्ट दृष्टिकोण, क्रान्तिकारी शक्तिहरूको पहिचान र परिवर्तनको आवश्यकता बोध गरिएको छ । सामाजिक-राजनीतिक विसङ्गत र विकृत अवस्थाप्रति तीव्र असन्तुष्टि, चर्को आलोचना र विद्रोहात्मक स्वर मुखरित गर्नु मिश्रका यस अवधिका कविताका मूल प्रवृत्ति हुन् । उदाहरणका लागि यो अंश प्रस्तुत गर्न सकिन्छ :

आओस् सन्देश यस्तो, घरघर सबको दुःख दारिद्र्य छुट्ने

हारेको जन्ममाथि मनुज मनुजमा न्यायको बाँध फुट्ने ।

पाओस् तातो नसाको रगत रगतले शक्ति जञ्जीर टुट्ने

आगो सल्कोस् दबेको उथल-पुथल भै च्यानमा ज्यान उठ्ने ।

                                             (युग-महोत्सवको गीत)

प्रवासकै बसाइमा मिश्रले मुक्तिरामायण : अरण्यकाण्ड (२०२७) खण्डकाव्य लेखे । पौराणिक रामायणको कथावस्तु लिएर मौलिकता दिने प्रयास गरे । उनी बनारसमा रहँदा पुष्पलालको नेतृत्वको नेकपाको सम्पर्कमा आए । उनी विभिन्न साहित्यिक एवं सांस्कृतिक संगठनहरूसँग पनि निकट भए । तिनीहरूसँगको सम्पर्क र सम्बन्धले उनमा मार्क्सवादी राजनीतिक चेतनाको विकासमा सहयोग पुर्‍यायो भने मार्क्सवादी साहित्य सृजनाका लागि ऊर्जा बढ्यो । कवितामार्फत क्रान्तिकारी चेतना र सामाजिक परिवर्तनको आकाङ्क्षाको अभिव्यक्ति दिनुपर्छ भन्ने दृष्टिकोण बलियो भयो । बनारसमा बसेर नेपाल मातृभूमिलाई निरङ्‌कुश शासनबाट मुक्त गर्न, नेपाली जनतालाई मुक्ति दिलाउन आह्वान गर्दै कविता लेखिरहे । नेपालमा हुने गरेको अन्याय, अत्याचार, दमन, उत्पीडनविरुद्ध एवं देश र जनताको स्वतन्त्रता र मुक्तिको पक्षका आवाज उनका कवितामा ज्वालामुखी झैँ विष्फोट हुन थाले । क्रान्तिको अनिवार्यताको शंखघोष गर्दै लेख्ने गर्थे कवि मिश्रले क्रान्तिकारी कविता । परिवर्तनका लागि जनता जुट्नैपर्छ, जनता उठ्नै पर्छ भन्ने  उनको कविताक‍ो मुख्य बोल हुने गर्थ्यो । उनका कविता जनताका आवाजले अर्जापिएका धारिला तरवारजस्ता हुन्थे ।

काव्य साधनाका अथक साधकका रूपमा स्थापित भइसकेका कवि मिश्रले मुक्तिरामायण : अरण्य काण्डजस्तै पौराणिक विषयवस्तुलाई मौलिकता दिएर 'मुक्त सुदामा' र 'बेनवध' काव्यहरू पनि लेखे । पारिवारिक आर्थिक सङ्कटको ठूलो पीडा सहँदै कवि मिश्रले बनारसमा लगभग २२ वर्षको निर्वासित जीवन बिताएर २०४० सालमा स्वदेश फर्किँदा उमेरका दृष्टिले निकै वृद्ध भइसकेका थिए । चेतना, सृजना, क्रान्तिकारी जोस र विद्रोही स्वर भने झन् झन् जवान बनिरहेको थियो । उनी कवितामा जोसिला युवा भएर प्रकट हुन रुचाउने भएका थिए । स्वदेश फर्किएपछि प्रजातन्त्रका हिमायती कवि लेखकहरूका अग्रजका रूपमा मान्य भए मिश्र । निरङ्‌कुशता विरोधी अभिव्यक्तिका लागि आयोजित कार्यक्रममा उनको उपस्थिति अरूका लागि ऊर्जाको स्रोत बन्न थाल्यो । उनले बढ्दै जाओ बढ्‌दै जाओ, भोका नाङ्‌गा उठ, बुद्धिजीवीहरूसँग, भोका नाङ्‌गा भाइभाइ, बलिदान उठ्‌यो, नारी घोषणा, सही बाटोजस्ता जनताका चाहना, मुक्तिका आह्वान गरिएका धेरै कविताहरू लेखे । ८३ वर्षको वृद्ध उमेरमा स्वतन्त्रताप्रेमी नेपाली लेखक कलाकारहरूको आन्दोलनको नेतृत्व गर्दै २०४६ चैत्र ३ गते आन्दोलन स्थलबाटै गिरफ्तारीसमेत दिए । उनी विचार र भावनाले कहिल्यै वृद्ध भएनन्, उनले त ८० वर्षको उमेरमा समेत बालबालिकाको साथी बनेर बाल कविताहरू समेत लेखे । सबै वर्ग, पेशा, धर्म जाति लिङ्ग, उमेरका मानिसहरूको पक्षमा आवाज दिने; अत्याचार, अन्याय र निरङ्‌कुशताविरुद्ध विद्रोहको स्वर उराल्ने कवि मिश्रको निधन २०४७ साल फागुन ६ गते काठमाडौँ  अस्पतालमा भयो ।

जीवनभर नेपाली साहित्यको सेवा गरेका कवि मिश्रले नेपालको प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिका निमित्त आफ्नो कलमलाई तरबारजस्तै धारिलो बनाएर चलाए । उनकै आवजसमेतको आवाजले, उनकै आन्दोलनसमेतको आन्दोलनले, उनकै आह्वानसमेतको आह्वानले नेपालमा प्रजातन्त्र आयो, लोकतन्त्र आयो र गणतन्त्र आयो तर कुनै पनि परिवर्तन पछिका सरकारहरूले कवि युद्धप्रसाद मिश्रलाई सम्झनामा राख्न सकेका छैनन्, उनलाई जीवित छँदा प्रेम गर्न सकेनन्, सहयोग गर्न सकेनन् । यिनै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिको आवाज बनेका एक नायक स्रष्टा युद्धप्रसाद मिश्रलाई उनको ११६औँ जन्मदिवसको अवसरमा सम्मान एवं श्रदाञ्जली व्यक्त गर्दछु‚ उनैले २०४७ पुसमा लेखेको उनको जीवनको अन्तिमा कविता 'सही बाटो' को एउटा अंशको सम्झना गर्दै :

प्रगति भो व्यापक जाज्वल

परिसके प्रतिगामीहरू तल

उठिसक्यो उई व्यापक जागृति

उदित भै जनमानसको स्थिति ।

(लेखक नन्दप्रसाद उप्रेती स्मृति प्रतिष्ठानका महासचिव हुन् ।)

नन्दप्रसाद

Link copied successfully