नेपालमा गरी खाने शिक्षा प्रणाली छैन

‘विद्यार्थीलाई शिक्षासँगै सीप पनि सिकाऔं’

चैत्र १०, २०७८

नारायणप्रसाद सिग्देल

व्यवस्था फेर्नका लागि देशको शिक्षा प्रयोग गरियो; अवस्था फेर्नका लागि प्रयोग गरिएन । अहिले पनि रत्नपार्कमा पूर्वमन्त्रीहरूले आह्वान गरे भने एक लाख मान्छे सजिलै आउँछन् । तर‚ २० लाख बिघा जग्गा बाँझो छ । देश बनाउने हो भने काठमाडौँको बजारलाई २० जनाको टोली मिलेर बजारभरिका सामान हेरौं ।

त्यो खाद्यवस्तु होस् वा प्रयोग गर्ने वस्तु होस्;  ती वस्तुहरूलाई कति दिनभित्र हाम्रा विद्यार्थीलाई प्रयोग गरेर बजारमा ल्याउन सकिन्छ । हामी सधैँ अरुले उत्पादन गरेको वस्तु खाइरहेका छौं । बच्चालाई काम लगाउन पाइएन भनिरहेका छौं । यसको अन्त्य गर्नुपर्छ भन्ने हो । १४ वर्षभन्दा मुनिका बालबालिकालाई काम गराउन पाइँदैन ।

कलमले लेख्ने काम हो कि होइन ? फुटबल खेल्ने काम हो कि होइन ? त्यो बच्चालाई कुटो हातमा राखेर फर्सीको बिरुवा दिएर रोप्न लगाए त्यो काम हो कि होइन ? हामी नेपाली युवाहरूलाई २२ वर्षको भएपछि फुटबल दिएर ओलम्पिक जित भन्ने गर्छौं । त्यही युवा बच्चालाई कक्षा १ मा पढ्दै गर्दा फुटबल दिएर सिक्दै गर भनेको भए उसलाई ओलम्पिक जित्न सजिलो हुन्थ्यो । आज २२ वर्षका युवा श्रमबजारमा जान चाहँदैनन् । श्रम बजारमा जाँदा नेपाली श्रमिक भेटिँदैनन् । वस्तु बजारमा गए वस्तु भेटिँदैन । ९२ लाख विद्यार्थीलाई पढ मात्र भनिएको छ । मेरो स्कुलमा ७ कक्षामा पढ्ने शेरबहादुर पौडेलले विद्यालयबाट साढे २२ लाख रुपैयाँ ऋण लिएर बाख्रा, कुखुरा पालन र च्याउ खेती गरिरहेका छन् । उनको पढाइ राम्रो छ । उनले १० हजार फिर्ता पनि गरिसकेका छन् । खुमन शर्माले ८० हजार ऋण लिएर बंगुर पालिरहेका छन् । आईएससी पढ्दै गर्दा उनी टपर पनि भए । योगेशसिंह ठकुरीले आइएससी पढ्दै गर्दा ९८ क्विन्टल मासु बिक्री गरे । आज १ हजार ९५ जना बीएससीएजीहरू विदेशी श्रमबजारमा जानुहुन्छ ।

१ हजार ९५ किलो उत्पादन किन बढ्दैन । तथ्यांक हेर्दा दुई खर्ब कृषिजन्य वस्तु किनेर खान्छौं । त्यो विषाक्त छ । एक अर्ब रुपैयाँको खुर्सानी किन्छौं । आज जनै, गुन्द्री र गुन्द्रुक चीनबाट आइरहेको छ । हजुरबा र हजुरआमाका सीपहरू पुस्तान्तरण गर्न सकेनौं । त्यसैले जनज्योतिले हजुरबा-हजुरआमा भन्ने कार्यक्रम ल्याएको छ । विद्यार्थीलाई पढ्नका लागि ऋण दिने गरी ३० लाख रुपैयाँको कोष जम्मा गरेका छौं । हामीले आमाबालाई आह्वान गरेका छौं-तपाईंहरू पनि आउनूस् । बच्चाबच्ची पढाउने गाईभैंसी‚ बाख्रा, बंगुर, किन्ने ऋण दिन्छौं । पढ्ने त विद्यालयमा ६ घण्टामात्र हो । ९२ लाख विद्यार्थीलाई गृहकार्यका रुपमा एक/एकवटा केरा, स्याउ, मेवा, तरकारीका बिरुवा दिऔं । ९२ लाख बेर्ना एकैचोटी हुर्किन्छन् । सहर वा गाउँमा बस्ने आमा-बुबाले अंग्रेजीको गृहकार्य गराउन सक्नुहुन्छ भने अम्बा, मेवाको रुखको पनि गृहकार्य गराउन सक्नु हुन्छ । सुन्तला फल्ने बारी बाँझो राखेर जिल्लाका जनशक्ति सुन खोज्न बिदेसिएका छन् । हामी अर्काका लागि जनशक्ति उत्पादन गरिरहेका छौं । 

पहिला जनशक्ति उत्पादन गरौं । हेडमास्टरको हिसाब सफा भए पैसाको खाँचो हुँदैन । गतवर्ष मात्रै विद्यालयले नमूना विद्यालयका रुपमा डेढ करोड रुपैयाँ, सिप्रेड संस्थाको ५० लाख रुपैयाँ, प्रदेश सरकारको २७ लाख रुपैयाँ बस किन्न, १४ लाख रुपैयाँ डिपबोरिङ गर्नेलगायत काममा विद्यालयले पैसा खर्च गर्‍यो । पहिला दुई रुपैयाँ नहुँदा बलमा हावा हाल्न सक्ने अवस्था थिएन । शिक्षकलाई तलब खुवाउन नसकिएका दिन पनि थिए । समुदायसँग राम्रो सम्बन्ध बनाउन सकियो भने हरेक कुरा गर्न सम्भव छ । यसका लागि हिसाब, पिसाब र निसाफ सफा हुनुपर्छ । सर्च गर्ने‚ रिसर्च गर्ने अनि मात्र खर्च गर्ने सूत्र बनाएका छौं । शिक्षकलाई चक र डस्टर‚ अहिले आएर मार्कर र ह्वाइट बोर्ड बाहेक सरकारले के दिएको छ ? वस्तु र श्रम बजारमा चाहिने जनशक्तिका लागि सर्च, रिसर्च र मजाले खर्च गर्ने पैसा दिनूस् । नेपाली शिक्षक कमजोर छैनन्; उसले गर्न सक्छ । एउटा विद्यार्थीलाई आज न बाआमाले पत्याउँछन्‚ न सरकार वा बैंकले पत्याउँछ । यस्तो अवस्थामा ऊ कसरी उद्यमी बन्न सक्छ ? निजामति कर्मचारीलाई भर्ती गर्नेबेला तालिम दिएर राखिन्छ, बेलाबेलामा फेरि तालिम दिइन्छ । तर‚ शिक्षकलाई बिनाप्रतिस्पर्धा, बिनातालिम कक्षाकोठामा पठाइन्छ । हामीसँग धेरै सीप छन्; त्यसलाई प्रयोगमा ल्याउन सके धेरै कुराको अभाव हुने छैन । 

जनज्योति माध्यमिक विद्यालय, सुर्खेतका प्रधानाध्यापक नारायणप्रसाद सिग्देलले कान्तिपुर एजुकेसन समिटमा राखेको विचारको सम्पादित अंश

नारायणप्रसाद

Link copied successfully