अम्बरलाई शंकरको पत्र– ‘मैले झन्डै जीवन समाप्त गर्ने सोचेको थिएँ’- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अम्बरलाई शंकरको पत्र– ‘मैले झन्डै जीवन समाप्त गर्ने सोचेको थिएँ’

किशोर गुरुङ

यतिखेर हामी कोरोनाको विषमता भोगिरहेका छौं । निषेधाज्ञाको निस्तब्ध समयमा छौं । हामीमाझबाट अनेक आफन्त बिछोडिइरहेका छन् । समस्याले झन् समस्या निम्त्याइरहेको छ । रोग न्यूनीकरण गर्ने प्रयास त जारी छ तर कहिले उन्मूलन हुन्छ, किटान गर्न सकिने अवस्था छैन । 

साहित्यकार शंकर लामिछाने र संगीतकार अम्बर गुरुङ

मानव संघर्षको यो कथा नौलो भने होइन । इस्वी संवत् १३४७ देखि १३५२ सम्म पाँच वर्षको अवधि युरोप प्लेग रोगबाट आक्रान्त थियो । यो रोगले युरोपको कुल जनसंख्याको एक तिहाइभन्दा बढी, करोडौं मानिसको ज्यान लिएको थियो । ‘ब्ल्याक डेथ’ कहलिएको त्यो विषम परिस्थितिबाट ज्यान गुमाउनेहरूमा बडेबडे संगीतकार, गायक–गायिका, चित्रकार आदि पनि थिए । ‘ब्ल्याक डेथपछि’ प्लेग लहरकै रूपमा देखिएको र एसिया–अफ्रिकामा समेत फैलिएको विज्ञहरू बताउँछन् । ‘ब्ल्याक डेथ’ले युरोपको कलासंस्कृतिमा कस्तो प्रभाव पारेको थियो भन्ने विषयमा लेख, किताब लेखिने क्रम आजसम्म पनि जारी छ ।

०००

एक–दुई महिनाअघि एउटा हराएको पत्र फेला पर्‍यो, साहित्यकार शंकर लामिछानेले अम्बर गुरुङलाई लेखेको (पत्रको सबै पृष्ठ फेला परेन) । चाैधौं शताब्दीको प्लेग महामारी र यो पत्रबीच कुनै सम्बन्ध छैन । तर यो पत्र मानव संघर्षको एउटा कथा भने हाे । कला र अभिव्यक्तिसँग गाँसिएको यो पत्र मार्मिक छ, प्रेरणादायक पनि । साह्रै इमानदारीपूर्वक लेखिएको पत्र अहिलेको यो परिस्थितिमा पनि उत्तिकै सान्दर्भिक छ–

गएको दुई–तीन वर्ष मेरो जीवनमा साह्रै कष्टपूर्ण रह्यो । एक–दुई पटक मैले झन्डै जीवन समाप्त गर्ने सुद्ध सोचेको थिएँ । तपाईं यहाँ आउनुहुँदा म मेरो जीवनको मानसिक चिन्ताहरूको चरम सामनामा पुगेको थिएँ । त्यही अवस्था अर्को एक महिना रहन गएको भए कि त बहुला हुन्थेँ कि त सायद मर्ने थिएँ । मैले एउटा ठूलो समस्याको समाधान पाउनुपरेको थियो र त्यही नपाएर म साह्रै विचलित भइराखेको थिएँ । यिनै कारणले गर्दा म साधारण परिस्थितिमा थिइनँ र मैले तपाईंहरूको उचित सम्मान र सत्कार गर्न सकिनँ । तथापि, आज त्यो खाडल पार गरेर पछाडि हेर्दा म एउटा कुरा पाइरहेछु । यस अवधिले मलाई ठूलो ज्ञान र गहिरो यस्तो अनुभव प्रदान गर्‍यो जसलाई म आफ्नो जीवनको ठूलो सम्पत्ति ठान्दछु । यिनलाई सहित्यमा कुनै दिन उपयोग गर्न पाएँ भने ती निश्चय पनि सुन्दर हुनेछन् । कारण, ती मेरो मुटुमा पग्लेर खारिएका छन् ।

कलात्मक अभिव्यक्तिमा तिम्रो र मेरो प्रेमभन्दा परतिर संघर्षका कथाले पनि ठाउँ खोजिरहेका हुन्छन् भन्ने कुरो नौलो नभए पनि शंकर लमिछानेको पत्रमा एउटा कलाकारले कलाप्रति अपनाएको, आफूनजिक लाग्ने, जीवित यथार्थ पाउँछौ ।

प्रसिद्ध क्लासिकल गितारवादक जुलियन ब्रिम– उसको म असाधारण अनुयायी– भन्छन्, पहिले जीवन जिउने र जिउनुपरेको जीवनको पल कलामा उत्तार्ने । कलाकै विषयमा सोच्ने हो भने व्यक्तिगत संघर्ष र सामूहिक संघर्ष कहाँ छुट्टिन्छ, मैले त्यो भन्न सकिरहेको छैन । संवेदनशील अनुभूति र कलात्मक अभिव्यक्ति कुनै परिधिमा निहित पनि हुुन हुँदैन ।

एउटा गीतको अन्तरा मनमा तरंगित हुन्छ –

तिम्रो देश यहाँ नहोला धर्ती एउटै हाम्रो

तिम्रो मुहार बेग्लै होला आँसु हाम्रो एउटै

त्यसैले भुइँचालो तिमीकहाँ चल्दा मेरा घरहरू गिर्छन् ।

–अम्बर गुरुङ

गत शताब्दीकै अग्रपंक्तिको पियानिस्ट आर्थर रुबिन्स्टाइन भन्छन्, ‘संवेदनशीलता नपनाएको भावुकता मात्र अर्थहीन हुन्छ । रुबिन्स्टाइनको जन्म पोल्यान्डमा भएको थियो । यिनी मज्जाक गर्दै भन्छन्, यिनले अर्का पोल्यान्डवासी महान् सोपेनको कृतिहरू पियानो बजाउँदा यिनको कार्यक्रम सुन्न आएका देशवासीहरू भावावेशमा वाइनको गिलास समातेर रुन्थे तर उनीहरूलाई के थाहा थिएन भने बजाउन कठिन परेका सरदर बीस प्रतिशत स्वरहरू रुबिन्स्टाइनले नबजाई छोडिदिएका हुन्थे ।

मैलो, झुत्रो, उदास देखिने भएर कलाका निम्ति यो मेरो जीवन भन्ने र तिम्रो मायामा एक बाल्टिन आँसु झारेँ वा झार्छु भन्ने प्रेमगीत, कविताको सीमाभन्दा परतिर पनि अभिव्यक्तिका निम्ति सागरहरू छन् र ती निश्चय पनि गहिरा छन् ।

विषम परिस्थितिमा पनि प्रेरणाको उज्यालो देख्ने कलाकार र हृदयहरूलाई मेरो अन्तस्करणदेखिको नमन छ ।

नोट : यो पत्र उद्धृत गर्न अनुमति दिने अभिन्न मित्र दीप लामिछानेलाई आन्तरिक हृदयबाट धन्यवाद । प्रतिलिपि हक–अधिकारको इज्जत गर्नु त पर्छ नि फेरि !

(सन्दर्भ : राष्ट्रगानका संगीतकार संगीतज्ञ अम्बर गुरुङ (१९९४–२०७३) को स्मृति दिवस)

प्रकाशित : जेष्ठ २४, २०७८ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्

सुदूरपश्चिम एमाले संसदीय दलको प्रमुख सचेतकमा दुर्गाकुमारी कामी

अर्जुन शाह

धनगढी — मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभाबाट विश्वासको मत लिन निर्णय गरेको बेला  नेकपा एमाले संसदीय दलले प्रमुख सचेतकको जिम्मेवारी हेरफेर गरेको छ ।

एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतकको जिम्मेवारीमा यसअघि सचेतक रहेकी दुर्गाकुमारी कामीलाई नियुक्त गरेका प्रदेशसभा सचिवालयले जनाएको छ ।

त्यसअघि प्रमुख सचेतक तारा लामा तामाङलाई पदमुक्त गरेर लालबहादुर खड्कालाई ल्याइएको थियो । खड्का मन्त्री भएका छन् । उनी मन्त्री नियुक्त भएपछि सचेत तोकिएकी कामीलाई प्रमुख सचेतक बनाइएको हो ।

एमालेभित्र ओली र नेपाल दुवैतर्फबाट कारबाहीका शृंखला चलिरहेका बेला प्रदेशसभामा प्रमुख सचेतक निकै महत्त्वपूर्ण पद मानिन्छ । नेपाल पक्षको बहुमतमा रहेको संसदीय दलले आफ्नो पक्षका विश्वास पात्रलाई प्रमुख सचेतकको जिम्मेवारीमा ल्याएको हो ।

एमालेभित्र अध्यक्ष ओली र नेपाल पक्षबीच विवाद पेचिलो बनिरहेका बेला नेपाल पक्षमा बहुमत रहेको संसदीय दलले आफ्नो पक्षका विश्वास पात्रहरुलाई विभिन्न जिम्मेवारीमा ल्याइरहेको छ । सांसद कामी पनि नेपाल पक्षधर सांसद हुन् ।

त्यसअघि प्रमुख सचेतक तारा लामा तामाङ थिए । एमालेभित्र ओली र नेपाल पक्षबीच विवाद चर्किदै गएपछि दलका नेता शाहले तामाङलाई हटाएर प्रदेशसभा सदस्य लालबहादुर खड्कालाई नियुक्त गरेका थिए ।

एक साताअघि खड्का सामाजिक विकास मन्त्री बनेपछि सचेतक रहेकी कामीलाई प्रमुख सचेतक बनाइएको हो । त्यससँगै एमाले संसदीय दलले तत्कालीन प्रमुख सचेतक तामाङलाई प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको सदस्यबाट समेत हटाएको छ ।

उनको स्थानमा प्रदेशसभा सदस्य अमरबहादुर साउदलाई नियुक्त गरिएको पत्र प्राप्त भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जोशीले बताए ।

प्रकाशित : जेष्ठ २४, २०७८ १२:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×