कोरोना र कोभिडबारे सात भ्रम- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना र कोभिडबारे सात भ्रम

नारायण कोजु

काठमाडौँ — विश्वव्यापी महामारी कोभिड–१९ को कुन चरणमा अहिले हामी छौं भन्ने अनुमान कसैले गर्न सकेको छैन । तथापि सार्स–कोभ–२ भाइरसका कारण सिर्जित यो महामारीले हामीलाई मानव समाज, विज्ञान र प्रविधिमा हुने थुप्रै परिवर्तनको साक्षी बनाउँनेछ ।

यो कठिन परिस्थितिले हामीलाई जीवन सुरक्षित राख्ने नयाँ विधिहरू खोज्न बाध्य बनाएको छ । लकडाउन, पीसीआर परिक्षण, मास्क, स्यानिटाइजर, भेन्टिलेटर, भौतिक दूरीजस्ता यसअघि खासै प्रचलनमा नआएका शब्दहरू अहिले जिब्रोमै झुन्डिन थालेका छन् । अर्कोतर्फ महामारीकै कारण स्वतन्त्र आवागमन, व्यापार–व्यवसाय ठप्प हुँदा धेरै मानिसमा निराशा बढेको छ । सँगै संक्रमण र निधनको संख्या बढ्दै गइरहेको विषम परिस्थितिमा पनि सरकारी तहबाट भ्रष्टाचार र अनियमितता भइरहेको समाचार आइरहेको छ ।

राज्य सञ्चालकहरूले समयमै महामारी र यसका पार्श्वप्रभावसँग जुध्ने संयन्त्र निर्माणलाई प्रभावकारी बनाउनुको साटो ‘हिमाली हावाले रोगप्रतिरोधात्मक क्षमता बढाएको छ’, ‘बेसार नै अचुक उपचार हो’ जस्ता भ्रमपूर्ण र गैर–जिम्मेवारपूर्ण अभिव्यक्ति दिँदा मानिसहरूमा अन्यौल र आक्रोश उब्जेको छ । निराशा, आक्रोश, हतास र अन्यौल मानसिकताले मानिसलाई वैज्ञानिक तथ्य र आधार बुझ्ने चासो जगाउँदैन । र, विज्ञानलाई आम मानिससम्म पुग्न रोक्छ ।

त्यसैले नै यो महामारीबारे वैज्ञानिक तथ्य–प्रमाणको साटो अन्जानवश, नियोजित वा संगठित रुपमा अनेकन भ्रम फैलाउने अभ्यास पनि बढिरहेको छ । विगतमा विज्ञानबारे व्यापक सचेतना नहुँदा धामी–झाँक्री र भूतप्रेत, बोक्सीमा विश्वास गर्ने गर्थे । अहिले पनि त्यसको अवशेष हाम्रो समाजमा विद्यमान छ । त्यसमाथि राजनीतिक नेताहरूको गैर–जिम्मेवार अभिव्यक्ति र क्रियाकलापले वैज्ञानिक खोज, अनुसन्धानप्रति अविश्वास जगाउने प्रवृत्ति विकसित भएको छ । तथापि, राजनीतिक अराजकता र असफलताको दोषी विज्ञान होइन ।

अज्ञान वा भ्रमको अन्धकारलाई ज्ञानको उज्यालोले हटाउने कर्तव्य भने विज्ञानकै हो । यो लेखमा कोरोना भाइरस, कोभिड–१९ र यसबारे उठेका अन्य भ्रम खण्डन गर्ने वैज्ञानिक निष्कर्षहरू प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

भ्रम १ : कोरोना भाइरस मानवनिर्मित हो

सार्स–कोभ–२ भाइरस वैज्ञानिक जगतकै लागि पनि नयाँ हो । यो कोरोना भाइरस परिवारको नयाँ सदस्य हो, त्यसैले यसलाई नोबल कोरोना भाइरस भनिएको हो । यो भाइरसको वरिपरि ताज अर्थात् कोरोनाजस्तो संरचना भएकाले त्यस्तो नाम दिइएको हो । कोरोना भाइरस आफैं भाइरस जगतको ठूलो परिवार हो जसले श्वासप्रश्वास सम्बन्धी अनेकन् रोग निम्त्याउँछ । हालसम्म यस परिवारका ६ सयभन्दा बढी प्रजाति रहेको विज्ञानले फेला पारेको छ ।

तीमध्ये अधिकांश प्रजाति चमेरामा फेला परेका छन् । यी सबैले मानिसलाई हानी पुर्‍याउन सक्दैनन् । कोरोना भाइरस परिवारका ७ प्रजातिमात्रै मानिसबाट मानिसमा सर्ने थाहा भएको छ । यी भाइरस पशुपंक्षीबाट मानिसमा आएका हुन् । यसरी पशुपंक्षीबाट मानिसमा आउने रोगलाई ‘जुनोटिक रोग’ भनिन्छ । पहिलोपटक जनावरबाट मानिसमा भाइरस सर्ने प्रक्रियालाई ‘स्पिल ओभर’ भनिन्छ । पशुपंक्षीबाट कोरोना भाइरस मानिसमा सरेर महामारी सिर्जना भएको यो पहिलोपटक भने होइन । सन् २००३ र २०१२ मा महामारी निम्त्याउने सार्स र मर्स भाइरस पनि यही परिवारका सदस्य थिए ।

संसारमा नयाँ भाइरस पत्ता लाग्नासाथ त्यसको उत्पत्ति र प्रसारबारे गहिरो अध्ययन बिना यसबाट हुने संक्रमण रोक्न र रोगको निदान गर्न सकिँदैन । भाइरसको उत्पत्तिबारे थाहा पाउने सबैभन्दा भरपर्दो विधि यसको आनुवंशिक (जेनेटिक) अध्ययन हो । यस्तो अध्ययनले भाइरसको उत्पत्ति कुन जीव र कहाँबाट भएको हो भन्ने जानकारी दिन्छ । सार्स–कोभ–२ को आनुवंशिक अध्ययनले यो भाइरस २००२ मा चीनमा फैलिएको सार्ससँग निकै नजिक र २०१२ मा मध्यपूर्वमा फैलिएको मर्ससँग निकै कम सम्बन्ध रहेको देखाएको छ । सार्ससँग यसको ९६ प्रतिशत समानता छ ।

अन्य कोरोना भाइरस जस्तै यसको स्रोत पनि चमेरा हुनसक्ने अनुमान गरिएको छ । तर, चमेरामा भएको कोरोना भाइरस सिधै मान्छेमा सर्दैन । त्यसका लागि अर्को कुनै जीवित जनावरको माध्यम चाहिन्छ । त्यस्तै मानिसमा आइसकेको भाइरस जतिसुकै महामारी भए पनि उत्परिवर्तन नहुँदासम्म अर्को जीवमा सर्दैन । कुनै पनि सजिवको वंशाणुमा आउने हठात् परिवर्तन उत्परिवर्तन हो जसले नयाँ प्रजाति निर्माण गर्छ ।

अहिलेसम्मको खोजबाट चमेरामा रहेको सार्स–कोभ–२ सुरुमा सालकमा सरेको विश्वास गरिएको छ । सालकमा पुगेको यो भाइरसमा उत्परिवर्तन भएपछि मात्र मानिसमा सर्ने क्षमता विकास भएको हो । भाइरस कसरी मानिससम्म आइपुग्यो भन्ने पूर्ण निष्कर्षमा वैज्ञानिकहरू पुगिसकेक छैनन् । तर अहिलेसम्मको अनुसन्धानको आधारमा यसको प्राकृतिक स्रोत चमेरा नै भएको र कसैले पनि आनुवंशिक इन्जिनियरिङ गरेर प्रयोगशालामा नबनाएको तथ्यमा भने विज्ञान जगत टुंगोमा पुगेको छ ।

भ्रम २ : पीसीआर परीक्षण झुटो हो

सार्स–कोभ–२ बारे सामान्य जानकारीपछि यसको अध्ययन कसरी गरिन्छ र पीसीआरको भूमिका के हो भन्नेबारे छलफल गरौं । हरेक सजीवको कोषमा उसको सबै जानकारी राख्ने दुईथरी न्युक्लिक अम्ल हुन्छन् – डिएनए (डिअक्सिराइबोन्युक्लिक एसिड) र आरएनए (राइबोन्युक्लिक एसिड) । यिनै अम्लबाट नै वंशाणु तयार हुन्छ । कुनै पनि जीवको सन्तानमा उसको गुण यिनै वंशाणुमार्फत् प्रसारण हुन्छ । भाइरसमा भने डिएनए वा आरएनए मध्ये कुनै एकमात्र न्युक्लिक अम्ल हुन्छ । यही आधारमा भाइरसलाई आरएन वा डिएनए गरी दुई समूहमा वर्गीकरण गरिन्छ । कोरोना भाइरस आरएनए भाइरस हो ।

कुनै प्रजाति अर्कोसँग कति समान र कति फरक छ भन्ने जान्न उनीहरूको जिनोम सिक्वेन्स (वंशाणु प्रवृत्ति) को अध्ययन गरिन्छ । यस्तो अध्ययनका लागि त्यसरी अध्ययन गरिन लागेको जीव, वनस्पति, ब्याक्टेरिया वा भाइरसको नजिकका प्रजातिको आधारमा प्राईमर र अन्य आवश्यक रसायन प्रयोग गरी पोलिमरेज चेन रियाक्सन (पीसीआर) गरिन्छ । सरल भाषामा भन्दा, पीसीआर फोटोकपी मसिन जस्तै हो । यसले प्राइमरले निश्चित गरेको डिएनए वा आरएनको सानो अंशलाई कम समयमा नै लाखौं संख्यामा तयार पारिदिन्छ । यसरी ठूलो संख्यामा विस्तार (अम्लिफाइ) गरेपछि उनीहरूको वंशाणु क्रम (जेनिटिक सिक्वेन्सिङ) गर्न सजिलो हुन्छ । त्यसैले पीसीआर कुनै पनि आनुवंशीक अध्ययनको निम्ति आवश्यक पद्धति हो ।

पीसीआरको यही सिद्धान्त र विधिको आधारमा मानिसको नाकबाट निकालिएको रस (स्वाब)मा सार्स–कोभ–२ छ, छैन भन्ने परिक्षण गरिन्छ । संक्रमित व्यक्तिको स्वाबमा भाइरस अत्यन्त कम मात्रामा हुन्छ । पीसीआरले त्यसलाई ठूलो संख्यामा विस्तार गरिदिन्छ जसबाट जिनोम सिक्वेन्सिङको जानकारी लिन सकिन्छ । हालसम्म संसारमा आठ हजार भन्दा धेरै सार्स–कोभ–२ भाइरसको पूर्ण जिनोम सिक्वेन्सिङ प्रकाशित भइसकेका छन् । यसरी तयार भएका जिनोम सिक्वेन्सको अध्ययन गर्दा यो भाइरस नियन्त्रणमा आइसकेको सार्ससँग चार प्रतिशतले मात्र फरक छ । तर यी दुई भाइरसबीच १६ प्रतिशत क्षेत्र (न्युट्रल साइट्स)मा विविधता छ । यही विविधताले नै यो भाइरसको संक्रमण तीव्र बनाइदिएको छ ।

यदि संकलित स्वाबमा सार्स–कोभ–२ को कुनै अंश छैन भने त्यसको फोटोकपी नै हुँदैन । अर्थात् पीसीआर भनिने रासायनिक प्रतिक्रिया हुँदैन । त्यसैलाई पीसीआर नेगेटिभ भनिन्छ । त्यसैले सामाजिक सञ्जालहरूमा एकथरीले प्रचार गरेको अफ्रिकी मुलुक तान्जानियाका राष्ट्रपतिले फर्सी, मेवा, डिजेल, बाख्राको पीसीआर गर्दा कोरोना देखिएको भन्ने भनाई अफवाह हो । त्यो सतप्रतिशत झुट हो । फर्सी, मेवा वा बाख्राको डिएनए सार्स–कोभ–२ भाइरससँग नमिल्ने भएकाले तिनीहरूमा पीसीआर सफल नै हुँदैन । सार्स–कोभ–२ सँग पीसीआर गर्न प्रयोग गरिने प्राइमर र अन्य रसायनले फर्सी, मेवा, बाख्राको डिएनए नै चिन्दैन । डिजेलको त डिएनए नै हुँदैन त्यसैले त्यसको पीसीआर सम्भव छैन ।

भ्रम ३ : संक्रमण नै रोग हो

स्वाबमा सार्स–कोभ–२ छ भने पीसीआरले त्यसको उपस्थिति पुष्टि गर्छ । तर, शरीरमा यो भाइरस हुँदैमा कोभिड–१९ भइसकेको हुँदैन । कोभिड–१९ रोग हो । संक्रमण र रोगमा फरक छ । संक्रमण भनेको शरीरमा भाइरसको उपस्थिति हुनु हो । भाइरसले शरीरका निश्चित कोष वा प्रणालीलाई नष्ट पुर्‍याएको अवस्था रोग हो । संक्रमण रोग नभए पनि यो रोगको प्रारम्भिक चरण हो ।

अहिलेसम्म सार्स–कोभ–२ ले मानव शरीरको कुन अंगमा कसरी हानी पुर्‍याउँछ भन्ने पूर्ण ज्ञान विज्ञानले प्राप्त गरिसकेको छैन । यसले फोक्सो, श्वासनली, मृगौला, पाचनप्रणाली, मुटु र मस्तिष्कमा क्षति पुर्‍याएको अध्ययनहरूले देखाएका छन् । तर तान्जानियाको आंशिक उदाहरण दिएर पीसीआर परिक्षण नगरे संक्रमण नै देखिँदैन वा परीक्षण नै झुटो हो भन्नेहरू नभएका होइनन् । त्यस्तो दावी गर्नु सुतुर्मुगले टाउको लुकाएजस्तो हो । त्यस्ता अफवाहले भएको संक्रमण लुकाउन सक्दैन । संक्रमित सबै कोभिड–१९ का रोगी हुन्छन् भन्ने हुँदैन तर सबै संक्रमितले अरुलाई संक्रमण गराउन भने सक्छन् । त्यसरी संक्रमित भएकाहरु रोगी पनि हुनसक्छन् । त्यसैले संक्रमणबाट जोगिनु नै उपयुक्त विकल्प हो ।

भ्रम ४ : मास्कले कोरोना भाइरसलाई रोक्दैन

सार्स–कोभ–२ नौलो भाइरस भएको हुँदा यसको असरबारे मात्र होइन संक्रमण प्रक्रियाबारे पनि पूर्ण ज्ञान निर्माण भइसकेको छैन । अहिलेसम्मको अनुभव र ज्ञानले यो भाइरस मूलतः संक्रमित व्यक्तिको थुक, सिंगान र उसले खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने पानीका छिटाबाट सर्छ भन्ने निष्कर्ष दिएको छ । केही अनुसन्धानले संक्रमित व्यक्तिको दिसामा पनि यो भाइरस रहेको देखाएको छ । काठमाडौंकै ढलमा पनि यो भाइरस भएको पाइएको थियो । तर दिसा वा ढलमा भेटिएको भाइरस सक्रिय वा निस्क्रिय अवस्थामा भएको जानकारी हामीसँग छैन ।

सार्स–कोभ–२ बाट संक्रमित व्यक्तिको मुख वा नाकबाट निस्कने पानीका छिटा परेको पैसा, गहना, तरकारी, ढोकाको हृयान्डल, चुकुल आदिमा स्वस्थ मानिसले छोएर त्यहीँ हातले आँखा, नाक, मुख छुँदा भाइरस सर्न सक्छ । यसरी भाइरस नफैलियोस् भनेर नै निश्चित मापदण्डको मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र साबुन पानी वा स्यानिटाइजरले हात धुनुपर्ने प्रचार गरिएको हो । यी अभ्यासले संक्रमितबाट प्रसार हुने भाइरस र स्वस्थ मानिसबीचमा अवरोधको काम गर्छ । यो संक्रमणबाट जोगिने उपाय हो, रोगको उपचार होइन ।

केही मानिसहरूले सामाजिक सञ्जालहरूमा मास्क लगाउँदा अक्सिजनको मात्रा कम हुन्छ र शरीरबाट फाल्नुपर्ने कार्बनडाइअक्साइड निस्कन पाउँदैन भनेर दुस्प्रचार गर्ने गरेका छन् । यो अफवाह पूर्णतः झुट भएको विज्ञानले पुष्टि गरिसकेको छ । संयुक्त राज्य अमेरिकादेखि नेपालसम्मै मास्क नलगाउँ भनेर अभियान चलाउने केही समूह पनि छन् । उनीहरू, मास्कको प्वाल तीन सय न्यानोमिटर हुन्छ त्यसले एक सय वा एक सय २५ न्यानोमिटरको भाइरस कसरी रोक्छ भन्ने तर्क पनि गर्छन् । के बुझ्न जरुरी छ भने संक्रमित व्यक्तिबाट भाइरस बिना माध्यम बाहिर आउने होइन । उसले खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने पानीका छिटाको माध्यमबाट भाइरस आउने हो । ती पानीका स–साना छिटालाई रोक्ने काम मास्कले गर्ने हो । छिटाहरूमा मिसिएर आएको भाइरस मास्कको प्वाल खोज्दै नाक र मुखमा जाँदैन । उसँग चलायमान हुने स्वतन्त्र संरचना केही पनि छैन ।

त्यस्तै साबुन पानी वा स्यानिटाइजरले भाइरसको बाहिरी सतहमा भएको लिपिड (एक प्रकारको बोसो) पग्लिने भएकाले भाइरसलाई निस्क्रिय बनाउँछ । त्यसैले हात धुन वा स्यानिटाइजर लगाउन जरुरी छ ।

भ्रम ५ : भौतिक दूरी वा लकडाउनको काम छैन

अहिले संसारभरी नै नोबल कोरोना भाइरसको संक्रमणबाट जोगिन भौतिक दूरी कायम गर्ने र निषेधाज्ञा वा लकडाउनको अभ्यास भइरहेछ । केही मानिसले लकडाउनको विरोध गरिरहेका छन् । अवश्य पनि, लकडाउन दीर्घकालीन समाधान होइन । तर यो महामारी व्यवस्थापनको निम्ति तयारी गर्ने समय हो । लकडाउनमा व्यापक परिक्षण र कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्छ । हुन सक्ने महामारीको लागि थप ब्यवस्थापन गर्नुपर्छ ।

लकडाउन गरेर त्यो समयमा महामारीलाई रोक्न सरकारले कुनै तयारी गर्दैन भने त्यो सरकार र राज्य संयन्त्रको दोष हो । त्यस्तो सरकार गैर–जिम्मेवार हो । त्यस्तो सरकार र राज्य संयन्त्रको विरोध वा आलोचना हुनु आवश्यक छ । तर सरकारप्रतिको आक्रोशकै कारण मास्क नलगाउनु, संक्रमणबाट जोगिने उपाय नअपनाउनु, भीड जम्मा गर्नु र सर्वसाधारण नागरिकलाई उत्तेजित गराइ संक्रमणको जोखिम बढाउनु मानवीय र सामाजिक अपराध हो ।

भ्रम ६ : बेसार, तातोपानी, गुर्जो ओखती हुन्

हालसम्म कोभिड–१९ रोगको औषधि बनिसकेको छैन । अस्पतालहरूले संक्रमणको क्रममा देखिने लक्षणको उपचार गर्ने हो । तर लाखौं संक्रमित कसरी निको भए त ? अहिलेसम्मको तथ्यांक हेर्दा यसबाट संक्रमित मध्ये २० प्रतिशतभन्दा पनि कमलाई कोभिड–१९ भएको छ । त्यसैले संक्रमितमध्ये अधिकांश स्वस्थ भई घर फर्किएका हुन् । त्यसमा उनीहरूलाई आफ्नै रोग प्रतिरोधात्मक प्रणालीले सघाएको हो । रोग प्रतिरोधात्मक प्रणाली हाम्रो शरीरमा हुने जटिल प्रणालीमध्येको एक हो । रोग प्रतिरोधात्मक प्रणालीले व्यक्तिलाई कुनै पनि रोगका भाइरस वा किटाणुसँग लड्ने क्षमता विकास गरिदिन्छ । यो क्षमतालाई विभिन्न बाहिरी र भित्री पक्षहरूले प्रभाव पार्छन् । फेरि एक रोगसँग लड्ने प्रतिरोधात्मक क्षमताले अर्कोमा पनि त्यही भूमिका खेल्छ भन्ने हुँदैन ।

स्वस्थ खानपान, व्यायाम लगायतले मानिसलाई स्वस्थ रहन र आत्मबल प्रदान गर्छ । तर बेसार, तातोपानी, गुर्जो वा अन्य घरेलु र आयुर्वेदिक औषधिले कोभिड-१९ विरुद्ध रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने पुष्टि भएको छैन । यी पदार्थप्रतिको विश्वासले मानिसलाई आत्मविश्वास बढाउला तर यिनले नै कोभिड–१९ लाई निको बनाउँछ भनेर पुष्टि भइसकेको छैन । यी पदार्थ नै उपचार गर्ने ओखती सरह हुन् भनेर प्रचार गर्नु घोडा पछाडि राखेर रथ कुदाउन खोजेसरह हो ।

भ्रम ७ : कोरोना संक्रमणले मानिस मरेको होइन

अहिले सामाजिक सञ्जालमा एकथरी मानिसहरू कोरोना संक्रमणले मानिस मर्दैन भनिरहेका छन् । संक्रमितमा भएका पूर्व रोगले उनीहरू मरेको ती व्यक्तिको दावी छ । यो निकै हास्यास्पद कुतर्क हो । माथि नै उल्लेख गरियो, कोभिड–१९ बारे पूर्ण जानकारी निर्माण भइसकेको छैन । तर, यसले दीर्घरोग भएका र ज्येष्ठ नागरिकमा छिटो र बढी असर पुर्‍याउँछ भन्ने पुष्टि भएको छ । त्यसैले उनीहरूलाई जोखिमयुक्त समूहमा राखिएको छ । जहाँसम्म मृत्युको प्रसंग छ, हरेक रोगमा मानिस शरीरका कुनै न कुनै अंग असफल भएर मर्ने हो ।

मानौं, कोही व्यक्ति हृदयरोगी छ र उसले औषधि सेवन गरिरहेको छ । यही अवस्थामा ऊ एक, दुई वर्षमै मर्ने सम्भावना छैन । तर, कोरोना संक्रमण भएकैले उसको हृदयरोग जटिल भयो । र, अन्ततः उसको निधन भयो । अब मानवीय विवेक प्रयोग गरेर सोचौं, एक, दुई वर्षमै मर्ने सम्भावना नभएको व्यक्ति कोरोना संक्रमणका कारण आज मृत्युवरण गर्न विवश भयो । यो निधनको कारक के कोरोना भाइरस संक्रमण होइन ? कोभिड–१९ होइन ?

निष्कर्षमा

कुनै पनि महामारीसँग भ्रमले होइन ज्ञानले मात्र लड्न सकिन्छ । त्यसैले समाजका पठित, जानकार र टाठाबाठाहरूले विज्ञानसम्मत ज्ञान प्रचार गर्नुपर्छ । भ्रमको प्रचारले केवल आफूलाई मात्र नभई समाजलाई नै जोखिममा पार्छ । त्यो अपराध हो । ती भ्रमको खण्डन गरिनुपर्छ । नियतवश संगठित रुपमा भ्रम प्रसार गर्नेलाई कानुनी कारवाही गर्नुपर्छ । सरकार, द्रव्यपिचास व्यापारी, भ्रष्ट कर्मचारी र राज्य संयन्त्रले गरेका कमजोरी र गल्तीको दोषी विज्ञानलाई बनाइनुहुन्न । उनीहरूको कुकर्मको परिणाम आम नागरिकलाई संक्रमणको अग्निकुण्डमा धकेल्ने विकल्प क्षम्य हुँदैन ।

(जीवविज्ञानमा विद्यावारिधी गरेका कोजु आनुवंशिक उद्विकासका अध्येता हुन् ।)

प्रकाशित : भाद्र १४, २०७७ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्

दुर्गा ट्रेडर्सका केराउ, चामल र भटमास बिक्रीमा रोक

कान्तिपुर संवाददाता

काठमाडौँ — कुलेश्वर क्षेत्रमा सञ्चालित जय माँ दुर्गा ट्रेडर्सबाट बिक्री गरेर ढुवानी तयार गरिएको ५ बोरा हरियो केराउसहित २ सय बोरा केराउ, १ सय बोरा चालम र २० बोरा भटमास बिक्रीका लागि रोक लगाइएको छ । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको नेतृत्वमा गएको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले उक्त खाद्य सामाग्री बिक्री गर्न रोक लगाएको हो ।

उत्पादकको नाम, उत्पादन मिति, मूल्यलगायत आधारभूत विवरणसमेत नराखी २ सय सादा पहेँलो बोरामा बिक्रीका लागि राखिएको केराउ, उत्पादन मिति मेटिएका बालाजी प्याकेजिङका करिब १ सय बोरा आजतक ब्राण्डका चामल र क्यानडाबाट आयात गरिएको २० बोरा भटमासलगायतका सामानको गुणस्तर, व्यापार मापदण्ड, कर भुक्तानी, व्यवसाय दर्ता र नविकरण भएको प्रमाणसहितका कागजात पेस नगरुञ्जेलका लागि बिक्रीमा प्रतिबन्ध लगाइएको हो ।

ट्रेडर्सले पिकअप गाडीमा राखेर यस्तै सामान बनेपाको एबीसी खाद्य स्टोरमा पठाउन लागेको थियो । खाद्य सामाग्रीमा हुनु पर्ने आधारभूत मापदण्ड नभएकोले अनुगमनकै क्रममा ती सामान ट्रेडर्सको गोदाममा फिर्ता गराइएको थियो ।

ट्रेडर्ससँगै आइतबार कुलेश्वर क्षेत्रका खाद्य थोक पसलहरुको अनुगमन गरिएको छ । त्यस क्रममा दाल, चामल, गेडागुडीको भण्डारण, खरिद बिक्री बिल, तौल, मूल्य, गोदामको अवस्था हेरिएको थियो । त्यस क्षेत्रका अधिकांश पसल बन्द अवस्थामा थिए । सम्पर्क गरेर आउने ग्राहकका लागि खोलिएका पसल आधा खोलिएका थिए । अनुगमन टोलीले खाद्यान्न ढुवानी गरेर आएका सवारीमा राखिएको सामानको गुणस्तर र सम्भावित चुवाहटको पनि अवलोकन गरेको थियो ।

अनुगमनपछि उपमेयर खड्गी श्रेष्ठले खाद्य गुणस्तरमा ध्यान पुर्‍याउन सकिएन भने रोगसँग लड्ने क्षमता घट्ने बताइन् । ‘हुन त गुणस्तरमा कहिल्यै पनि समस्या आउन दिनु हुँदैन,’ उनले भनिन्, ‘विषम परिस्थितिमा त झन् चनाखो हुनुपर्छ ।’ जटिल अवस्थामा जोखिम मोलेरै भएपनि सामाग्री ढुवानी गरेका कारण सहरी जीवन सरल भएको उनले थपिन् ।

महानगरका कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले लेबल नटाँसिएका, टाँसे पनि अक्षर मेटिएका र नबुझिने, ढक–तराजु, पसलको दर्ता नविकरण अद्यावधिक नगरिएका, कर चुक्तालाई नियमति गर्न बाँकी भएको जस्ता समस्या धेरै जसोमा देखिएका बताउँदै यी सबैलाई कारबाहीको दायरामा ल्याउने दाबी गरे ।

सामानको लागत मूल्य एकिन नहुँदा अधिकतम मूल्यसम्ममा आइपुग्दा उपभोक्ताभन्दा बीचको तहले फाइदा उठाएको उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले बताए । ‘उपभोक्ता अधिकारका कोणबाट यही प्रणालीमा समस्या छ,’ उनले भने, ‘बिल नै जारी नगरी खरिद बिक्री गर्दा व्यापारमा विकृति मौलायो ।’

प्रकाशित : भाद्र १४, २०७७ १२:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×