को हुन्– ब्राह्मण ?

बिनु पोखरेल

झापाको माथिल्लो भाग चुरे क्षेत्रमा त्यसबेला पूर्वी पहाडबाट बसाइँ सरेर आएकाहरूले झोडा फाँडेर बसालेको बाक्लो बस्ती थियो । त्यो मलिलो भूभागमा राई, लिम्बु, दमाई, सार्की, बाहुन, क्षत्री सबै जात छ्यासमिस थिए । पहिल्यै आएकाहरूले जग्गा ओगटिसकेका थिए ।

पछि आएकाहरू पहिले आउनेका जग्गा कमाएर जीविकोपार्जन गर्थे । पहिल्यै आएर दसौँ बिघा जमिन ओगटेर बसेका एकजना सार्की बाको अढाई बिघा जग्गा अधियाँ गर्नुहुथ्यो, मेरो बा पनि ।


सार्की बाको जग्गामा फलेको कुरा लिएर उहाँका घरमा पुर्‍याउन आमाले प्रायः मलाई पठाउनुहुन्थ्यो । एक पटक नौरथा लागेको बेला बिहानै आमाले मलाई फलेका सब्जी बोकाएर पठाउनुभो । उनीहरूले म पुग्नासाथ देवी पुज्ने दिन बिहानै बाहुनी आइपुगिन् भनेर अग्लो ठाउँमा राखेर टीका लगाए, पूजा गरे, अनि उनीहरूकोमा फलेका कुरा दिएर पठाए ।


मैले सार्की बासँग हजुरकी नातिनीलाई पूजा नगरी मलाई किन गरेको भनेर सोधेँ । उनले तिमी बाहुनकी छोरी हौ, त्यसैले भने । मैले सोधेँ– तपाईँ किन बाहुन नभएको त ? उनले लामो जुँगा मुसार्दै मुसुमुसु हाँस्दै भने ब्राह्मण हुन धेरै कुरा पूरा गर्नुपर्छ । धेरै पढेको हुनुपर्छ, जाँडरक्सी खान हुँदैन, अरुलाई मार्ने राक्षस मन भएको हुनुहुँदैन, मेरोजस्तो धेरै सम्पत्ति राख्ने मन भएको हुनुहुँदैन, मैलेजस्तो मेरो परिवार भन्दै बसेको हुनुहुँदैन, सबैको भलो चाहने, सबैलाई बराबर बाँडेर आफू कुटी बनाएर बस्ने, तपस्या गर्ने, दान गर्ने हुनुपर्छ । अनि म त दिनैपिच्छे सुँगुर काटेर खानुपर्ने मान्छे कसरी ब्राह्मण हुनु भन्दै मेरो हातमा पैसा थमाइदिए, त्यसपछि खुट्टा समाएर ढोगे । त्यो दिन म बाहुनी भनेको के हो पत्तो नपाई बाहुनी बनेर संसारकै ठूलो मान्छे भएको महसुस गर्दै फर्किएँ ।


म त्यसबेला बाहुन भनेको नै के होला भन्ने सोच्थेँ । अहिले सोच्दैछु, हामीले जसलाई ब्राह्मण भन्छौँ, ती सबैमा ब्राह्मणमा हुने गुण छ ? मादक पदार्थ नखाने, कुटी बनाएर बस्ने, दान गर्ने, केही कुरामा आशक्ति नभएका छन्, निरामिश, ज्ञान बाँड्दै हिँड्ने खालका छन् ? उसो भए बाहुन अर्थात् ब्राह्मण को हुन्, को होइनन् र कसरी भए ? अहिले वर्ण, जात वा थरका आधारमा समाजको विभाजन नै समाज अविकासको कारण हो भन्ने व्याख्या भैरहेका बेला यस्तो व्यवस्था कसरी आएको थियो, हेर्न जरुरी हुन्छ । यसलाई बुझ्न समाजको सुरुवाती अवस्थामा जाऔं है त एकैछिन् ।


समाज भर्खर बन्दै थियो । परिवार, परिवार बन्न सुरुमात्र हुँदै थियो । अहिलेको जस्तो फलानो वैज्ञानिक, फलानो अर्थविद्, फलानो कृषिविज्ञ भन्ने हुँदैनथ्यो । जुन विधामा राम्रो गरे पनि त्यसलाई सम्मानस्वरुप विद्वानको नाम दिइन्थ्यो । समाजको त्यही सुरुवाती अवस्थामा बनेको थियो– ब्राह्मण, क्षत्रीय, वैश्य अनि शूद्रको विभाजन पनि । समाज विकासको सुरुवाती अवस्थामा कुनै जात जनाउनलाई नभएर त्यसबेलाका मान्छेले गर्ने कामका आधारमा समाजले दिएको पद थिए, अहिलेका जात र थर । जस्तो— ब्राह्मण संस्कृत शब्द हो । ब्राह्मणको अर्थ हो, ब्रह्म बुझेको मान्छे । अर्थात् विद्वान् । क्षत्रीयको अर्थ हो क्षत (नोक्सानी) बाट बचाउने । अर्थात् बलियोबाङ्गो, गोलीगठ्ठा बोक्ने, घरपरिवारदेखि देशलाई बाहिरी आक्रमणदेखि बचाउने शक्तिशाली मान्छे । त्यस्तै संस्कृत शब्द वैश्यको अर्थ हुन्छ, व्यापारी । समाजमा जीविकाका लागि चाहिने वस्तु टाढा–टाढाबाट ल्याई उपलब्ध गराउने, पैँचो दिएर खाँचो टार्ने वैश्य भए । त्यस्तै शूद्रको अर्थ कुनै खास काममा शिल्प भएको मान्छे भन्ने जनाउँछ । दिएको या अह्राएको काम गर्ने, सेवामा सधैँ उपस्थित हुनेहरूलाई शूद्र पद दिइन्थ्यो । काम र गुणका आधारमा छुट्याइएका यस्ता पद उनीहरूको कर्मको आधारमा फेरबदल पनि हुन्थ्यो । यसरी विद्वान– ब्राह्मण, क्षतबाट बचाउने– क्षत्री, व्यापारी– वैश्य र छुट्टै सीप भएको– शूद्र, यी समाजका पदवी हुन्, जुन कालान्तरमा जन्मना–जातमा परिणत भएर अहिलेको यो अवस्थामा आइपुग्यो ।


को हो ब्राह्मण भन्नेबारे जोकोहीको मुखाग्र शास्त्रीय वचन छ– जन्मना जायते शूद्र कर्मणा द्विज उच्यते । जसको अर्थ हो— जन्मदाँ मान्छे शूद्र हुन्छ, कर्म या संस्कारले उसले आफ्नो स्थान तय गर्छ ।वर्ण कसरी तय भयो भन्ने कुरा भागवत गीतामा भनिएको छ—

चातुर्वर्ण्यं मया सृष्टं गुणकर्म विभागशः ।

यसको अर्थ हो, गुण र कर्मको आधारमा मैले चार वर्ण सृष्टि गरेको हुँ । अब सोही गुण र कर्म नभएपछिअर्थात् ब्राह्मणको कुलमा जन्मेर ब्रह्म बुझेन भने ऊब्राह्मण रहँदैन ।


यता चाणक्यले भनेका छन्— जो मान्छे एक पटकको भोजनबाट सन्तुष्ट हुन्छ–छ, कर्ममा (यज्ञ गर्नु–गराउनु, पढ्नु–पढाउनु, दानमा पाएको खाने, आफूसँग केही नभएको, बाँकी दान दिने) लागिरहन्छ र आफ्नी स्त्रीसँग ऋतुकाल (मासिक धर्म) पछि मात्र संसर्ग गर्छ, उही नै सच्चा ब्राह्मण कहलाउँछ । देशको सुरक्षाका लागि तयार, देश, जनता र परिवारलाई क्षतबाट बचाउने क्षत्रीय हुन्छ । त्यस्तै जो मनुष्य पशुपालन, व्यापारी तथा खेती गर्छ र कमाउँछ ऊ वैश्य अर्थात् वणिक कहलाउँछ । साथै उनले तेल, नुन, फूल, मह, घिउ, मदिरा र मासु आदिको व्यापार गर्ने अन्य कुरामा चासो नदिने, अह्राएको काम गर्ने ब्राह्मण कुलमा जन्मे पनि शूद्र हुन्छन् भनेका छन् ।

व्यास स्मृतिमा भएको अर्को श्लोकमा भनिएको छ—

ब्रह्मजीवसमुत्पन्नो मन्त्रसंस्कारवर्जितः ।

जातिमात्रोपजीवी च भवेदब्राह्मणः स तु ।।

अर्थात् ब्राह्मणको कोखमा जन्मिएर पनि मन्त्र संस्कार नभएको र जातिले मात्र चिनिने अ–ब्राह्मण हुन्छ ।महाभारतमा पनि ब्राह्मण सम्बन्धी यस्ता थुप्रै श्लोक छन् । वेदमा, गीतामा मात्र हैन, धम्मपद अनुसार कुनैब्राह्मण कहलिएको मान्छे आएर बुद्धलाई गाली गरेपछि बुद्धले भनेका छन्— यस्तो बोल्ने तिमी ब्राह्मण हुनै सक्दैनौ, तिमी त शूद्र हो । ब्राह्मण त त्यो हो, जो अग्लो ठाउँमा शान्तिसँग बस्छ, आफ्नो कर्तव्य गर्छ, उत्तेजनामा आउँदैन, दिउँसो सूर्य, रातमा चन्द्रजस्तै उच्च पदमा आसिन ब्राह्मण राजसी वस्तुले चम्कन्छ । जन्मँदा सबै शूद्र हुन्छन् । कर्मले तिम्रो स्थान तय हुनेछ (धम्मपद, २६ परिच्छेद) यसको मतलव भौतिक कुराबाट टाढै रहेको समदृष्टि राख्ने ज्ञानी मान्छे जोकोही ब्राह्मण हो ।


प्रा.डा. जगदीशचन्द्र रेग्मीले आफ्नो पुस्तकमा व्यास स्मृतिको श्लोक उल्लेख गर्दै लेख्नुभएको छ— जो मान्छेब्राह्मणको कोखमा जन्म लिएर उपनयन आदि गरेर पनि ब्राह्मणको कर्म जान्दैन र अध्ययन पनि गर्दैन, उसलाई नाममात्रको ब्राह्मण भनिन्छ । साथै तीन पुस्तासम्म वेद र यज्ञसँग सम्बन्ध टुटेको ब्राह्मण दुर्ब्राह्मण हुन्छ । (नेपालमा ब्राह्मणहरूको संक्षिप्त इतिहास पृष्ठ १११)

रजनीकान्त शास्त्रीले ‘हिन्दु जातिका उत्थान और पतन’ पुस्तकमा विलियम क्रुकको ‘ट्राइब्स एन्ड कास्ट’ (कुल अनि जात) र ‘द ब्राह्मण’मा उल्लेख भएको भन्दै सवालाखेब्राह्मणको सिलसिलेवार व्याख्या गरेका छन् । उत्तर प्रदेशका राजा मानिकचन्दले सवा लाख ब्राह्मणलाई यज्ञ गरेर खुवाउने प्रतिज्ञा गरे । तर आफूले कबुल गरेजतिब्राह्मण नपुगेपछि अरु बोलाएका सबैलाई जनै लगाएर

ब्राह्मण बनाई यज्ञमा राखेर खुवाइएको थियो (हिन्दु जातिका उत्थान और पतन, पृ १२०) । यसले पनि समाजका सम्मानित व्यक्ति ब्राह्मण हुन्थे भन्ने स्पष्ट गरेको छ । पहिले–पहिले शूद्र ब्राह्मण भएका र ब्राह्मण शूद्र भएका उदाहरण हाम्रा पुराना पुस्तकमा प्रशस्त छन् । नाम चलेका प्रायः ऋषिहरू नै शूद्रबाट ब्राह्मण भएका कुरा वेद र उपनिषद्मा सुरक्षित छन् । हाम्रा ब्राह्मण अर्थात् ऋषिमुनीहरू जन्मिएको समयलाई एकपटक नियालौं है ।बज्रसूचीमा जात के हो भन्ने बारेमा गरिएकोप्रश्नोत्तर छ ।

शिष्य सोध्छन्–

कि जात्या ब्राह्मणः ? अर्थात् के जातले ब्राह्मण हुन्छ ?


लामो उत्तर दिँदै गुरु भन्छन्— जातबाट ब्राह्मण हुन्थ्यो भने प्रायः सबै महर्षि (जो अहिले एक–एक गोत्रका ऋषिको नाम लिइन्छ) ती सबै अर्को जातिमा जन्म भएका थिए । कौशिक ऋषि जो कुशको गुच्छाबाट, गौतम ऋषि निगालोबाट, वाल्मीकि ऋषि धमिराको ढिस्कोबाट, अनुचर ढोईबाट, अगस्त्य घडाबाट, माण्डव्य माण्डुकीबाट, मातङ्ग मातंगीबाट, व्यास माझीकी छोरीबाट, पराशर ऋषि चण्डालबाट, वसिष्ठ वेश्याबाट, विश्वामित्र क्षत्रीबाट, भारद्वज शूद्रीबाट र नारद दासीबाट जन्मिएका हुन् ।यी हरेकले जुनसुकै कुलमा जन्मिए पनि जन्मकोजातिविना नै उत्तम ज्ञान हासिल गरेका कारणब्राह्मणत्व प्राप्त गरेका थिए । त्यसैले ब्राह्मण जातले

हुने कुरा होइन भनेर गुरुले जवाफ दिएका छन् ।


अहिले समाजमा ब्राह्मणले अर्को जातकासँग विहेबारी गर्न हुँदैन भनिन्छ । हाम्रो प्राचीन सभ्यताका आधारमा यो सर्वथा गलत मान्यता हो । जात होइन, कर्मको पूजा हुने हाम्रो प्राचीन सभ्यता हो । मनुस्मृतिको एक श्लोकमा शूद्र अक्षमालाले वशिष्ठ ऋषिसँग, शृङ्गीले मन्दपालसँग विवाह गरेर पुज्यता पाएका छन् भनिएको छ । (मनुस्मृति ९।२३ )


अर्को उदाहरण महामुनी वशिष्ठ वेश्याको गर्भबाट जन्मिएका थिए । तर उनी तपस्या गरेर ध्यान र दानबाट ब्रह्म बुझेर ब्राह्मण अर्थात विद्वान् भए, ब्राह्मणत्व प्राप्त गरे । शुकदेव पनि शुकी नामकी अनार्य स्त्रीसँग व्यासको संसर्गबाट जन्मिएका हुन् । अरु त अरु शिवले पनि अनार्य कुलमा जन्मिएकी पार्वतीसँग नै बिहे गरे । अनार्य कन्या पार्वतीलाई हामी देवीको रूपमा पूजा गर्छौँ ।हामीले अहिले गोत्रका माथिल्लो जरोको रूपमा पुज्ने अधिकांश ऋषिहरूको जन्म शूद्र भनिएका माझी, वेश्याबाट भएको थियो । हामीले अहिले ब्राह्मण भनेर पुज्ने भारद्वाजदेखि अनिरुद्ध, व्यास सबै ऋषिहरू कोही पनिब्राह्मण कुलमा जन्मिएका थिएनन् । जहाँ जन्मिए पनि ब्रह्म बुझेर या विद्वत्ता प्राप्त गरेर ब्राह्मण कहलिएका हुन् । हिजो स्वामी प्रपन्नचार्य र अहिले जगमान गुरुङ पनि कर्मका आधारमा ब्राह्मण नै हुन् । तर ब्राह्मणका कुलमा जन्मिएर पनि मादक पदार्थ खाने, भ्रष्टाचारी, बलात्कारी, समाज, राजनीति, सभ्यता आदि विषयमा एकपक्षीय र छूद्र टिप्पणीमात्र गर्ने र सबैजसो बेला मदिराको नशामा रहने शूद्र नै हुन् ।


थर कसरी रहेको थियो भनेर जान्दा पनि समाजमा कर्मका आधारमा जात तय थियो भनेर स्पष्ट हुन्छ । थर नै स्थानबाट बनेका छन् । स्थान अर्थात् स्थल या थल कुन हो भन्दाभन्दै थलको ल अपभ्रंश भएर थर भएको हो । यही थर पनि दुई प्रकारले बनेका छन् । एउटा ठाउँबाट र अर्को पदबाट । स्थलबाट बनेका थर हेरौं ।


पोखरी नजिक बस्ने पोखरियाल भए । तिनीहरू अहिले पोखरेल लेख्छन् । दुल्लु दैले भन्ने ठाउँकाहरू दुलाल, गमौडी भन्ने ठाउँका गौड्याल, भुर्तिकाहरू भुर्त्याल, लमजीकाहरू लम्ज्याल पछि गएर लम्साल त्यस्तै गरेर अधिकांश थर ठाउँले तय भएको कुरा योगी नरहरिनाथले लेख्नुभएको छ (नरहरिनाथ, हाम्रो देश–दर्शन पृष्ट ४६, २०३२) ।


त्यस्तै काम उपाधि या पदको आधारमा बनेका थर पनि छन् । जस्तो– तीनवटा वेद पाठ गर्न सक्ने भएर त्रिपाठी । पण्डित्याइँ गर्ने –पण्डित या पाँडे, राजाको गुरु– राजोपाध्याय । त्यस्तै चारै वेद जानेको चतुर्वेदी भयो । अर्को थर सुवेदी अर्थात राम्रोसँग वेद पढ्ने । त्यस्तै आचार्य, अहिले कुनै विषयमा विद्यावारिधि गरेको मान्छेलाई डाक्टर भनेजस्तै विषयको माथिल्लो अवस्थासम्म अध्ययन गरेकोले आचार्य पद पाउँथ्यो । यसरी तय भएको थियो, थर । तर त्यही आचार्यको मठ्ठुराम सन्तान कसरी आचार्य भन्ने प्रश्न अहिले उठ्न सक्दैन ? तीनवटा वेद पाठ गर्न सक्ने भएर बाबुले पाएको पद त्रिपाठी लिएर अहिले उनीहरूका जडिया सन्तान त्रिपाठी भन्ने ? भ्रष्टाचारी, बलात्कारी भए पनि, वेद पाठ गर्न नसके पनि अहिले ती सबैलाई त्रिपाठी भन्नुपरेको छ । किनभने जात र थरलाई हामीले जन्म र कुलका आधारमा बनाइसक्यौं । पहिले भए त्यस्तो हुँदैनथ्यो । वेद पढ्नसके त शूद्र पनि सुवेदी हुन्थ्यो । तर अहिले खै समाजमा त्यस्ता विद्वान सिपाही, व्यापारी, सीप भएका मान्छे छुट्टिएको ? अहिले हामीले भन्ने आचार्य, सुवेदी या त्रिवेदीका सन्तान एक प्रतिशत होलान्, तर अधिकांश सुवेदी छैनन् । त्यतिमात्र हैन, ब्राह्मणमा हुने गुण नभएका पनि ब्राह्मण होइनन्, तर ब्राह्मण भनिएर हिँडिरहेका छन् ।


जहिलेदेखि बाबुबाजेको पदलाई जात मानेर पक्रेर बस्ने चलन आयो, त्यसपछि समाज भाँडिएको छ । हामीले जात र थर कसरी रहन गयो सोचेनौँ । खासमा गोत्रबाट सम्बोधन गर्दा तल्लो र माथिल्लो जात भन्ने नै नामेट हुन्छ । अक्षमाला शूद्र हुन्छिन् । उनी पछि अरुन्धती नामबाट प्रख्यात भइन् । अक्षमाला र वशिष्ठ ऋषिबाट छोरा शक्ति जन्मन्छन् । उनको कुकुरको मासु खाने जातकी कन्यासँग उनको बिहे भयो । तिनीहरूबाट पराशर ऋषिको जन्म भयो । अनि पराशर ऋषि र माझीकी छोरी सत्यवतीको सहवासबाट व्यासको जन्म । अहिलेको जातको कुरा गर्ने हो भने भारतवर्षको दीपक मानिएका व्यास लगायत ऋषिहरू सबै शूद्र परिवारमा जन्मिएका शूद्र हुनुपर्ने हो । तर उनीहरू सबै हामीले पुज्ने समाजकै सबैभन्दा अग्ला ब्राह्मण भए । त्यसैले जातले होइन, कर्मले ब्राह्मण हुने हो । गुण र कर्मका आधारमा विकास भएको वर्ण व्यवस्था रहुन्जेल उत्कृष्ट रहेको हिन्दु समाज वृत्तिशंकार्य अर्थात् काम बाँडफाँडको आधार टुटेर जन्मना जातिमा वर्ण व्यवस्था परिणत भएपछि हिन्दु समाजमा फाटो आएको स्पष्ट देखिन्छ ।


हवल्दारको छोरो हवल्दार या सीडीओको सन्तान सीडीओ नभए जस्तै सुवेदीको छोरो या छोरी सुवेदी नै हुन्छन् भन्ने हुँदैन । हिजो ब्रह्म बुझेकाहरूले पाएको पद ब्राह्मण तर आज भ्रष्ट आचार भएकाहरू पनि ब्राह्मण भइरहन सक्दैनन् । हिजो गुण र कर्मको आधारमा राखेका थरमा पुनःव्याख्या कहिले ? हाम्रा सभ्यताका पण्डितहरूले आचार्य, पोखरेल, पौडेल हुँदैमा ब्राह्मण भइन्छ भन्ने भ्रम चिर्ने बेला भएन र ?


गोत्र एउटा समाज जातका आधारमा नभई कर्मका आधारमा समाज विभाजन थियो भन्ने अर्को उदाहरण हो । कौशिक गोत्रमा रेग्मी, गौडेल, खपतरी, रसाइली, लामिछाने, ढुङ्गाना, धिताल, फुयाल, तिवारी, माझी, रघुवंशी, भण्डारी, बस्ताकोटी आदिजस्ता सबै जातका थर पर्छन् । यसरी एक गोत्रको आधारमा एकसाथ रहने हो भने पनि समाज रहेको विभाजन हटेर जानेछ ।


समाजमा विभेद हाम्रा सभ्यताका कारण नभएर ती सभ्यतालाई आफू अनुकूल बनाएर तोडमोड गरेर पस्कनेहरूका कारण भएको छ । हरेक धर्मका नामका सभ्यताहरूलाई हामीतिर तान्ने हाम्रा सभ्यताको जरोमा के थियो भन्ने जानकारी दिनुको सट्टा ब्राह्मण भन्नेहरू आफू अनुकूल बनाएर चुपचाप बसिरहे । अर्काथरी जानेर वा नजानेर हाम्रो सभ्यतालाई गलत अर्थ दिन लागिरहे । एकको मौनता र अर्काको उद्दण्डताले बनेको धाँजामाहम्बर बजारेर बाहिरियाहरू भने ताली पिट्दै रमाइलो मानी–मानी नाचिरहेछ । जुन हिजो पनि गलत थियो, आज पनि गलत हुँदैछ ।

पुराना र नयाँ शास्त्रका वचन र सामाजिक परिवेश अध्ययनपछि एकातिर सबै सम्मै हुन् भन्ने र अर्कोतिर जन्मदै ब्राह्मण हौं भन्ने दुई कट्टरपन्थीहरूको बीचमा उभिएर भन्दा मागेर पाइने या जन्मसिद्ध प्राप्त गर्न सकिने दुबै चिज होइन ब्राह्मण । सार्की बाले भनेझैं ज्ञानले ओतप्रोत, फाटेको समाजलाई जोड्ने, सबैलाई प्रेमले झुकाउन सक्ने सर्वमान्य व्यक्ति हो– ब्राह्मण । प्रकाशित : माघ २५, २०७६ ०८:१९

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

विरोधीलाई तह लगाउने सरकारको योजनामा अख्तियारको प्रयोग : कांग्रेस

ऋषिराम पौड्याल

काठमाडौँ — ललिता निवासको जग्गा प्रकरणमा कसुरदारलाई उन्मुक्ति दिएर पार्टी उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई षड्यन्त्रपूर्वक तरिकाले भ्रष्टाचारको मुद्दा लगाइएको भन्दै कांग्रेसले शुक्रबार प्रतिनिधिसभा चल्न दिएन ।

कांग्रेसले विरोधीलाई तह लगाउने सरकारको योजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लाग्न खोजेको भन्दै टिप्पणीसमेत गरेको छ । अख्तियारले गच्छदारविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेपछि कांग्रेसले बिहीबार पनि संसद् अवरुद्ध गरेको थियो ।

प्रतिनिधिसभाका कांग्रेस सांसद मीन विश्वकर्माले फरक विचारलाई निस्तेज पार्ने खेलमा सरकारले अख्तियारलाई प्रयोग गरेको बताए । ललिता निवास जग्गा प्रकरणमा निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालय विस्तारका लागि गुरुयोजना प्रस्तुत गर्ने तत्कालीन मुख्यसचिवलाई उन्मुक्ति दिइएको उनको भनाइ थियो । ‘तत्कालीन प्रधानमन्त्री र मुख्यसचिवलाई जोगाएर गच्छदारलाई मात्र मुद्दा चलाइएको छ,’ उनले भने, ‘जग्गा लिनेले लालपुर्जा फिर्ता गर्छु भनेर स्विकारोक्ति गर्दा कारबाही नगर्ने अचम्मको थिति अख्तियारले बसालेको छ,’ उनले भने, ‘चार वर्षअघि कुनै डाक्टरले चोरेको मिर्गौला फिर्ता गर्‍यो भने कारबाही हुन्छ कि हुँदैन ?’

नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई जग्गा फिर्ता गर्ने सर्तमा कागज गराएर मुद्दा नचलाइएपछि विश्वकर्माले आक्रोश पोखेका हुन् । निर्णय प्रक्रियामा जोडिएका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र मुख्यसचिव लीलामणि पौडेललाई पनि अख्तियारले मुद्दा नचलाउने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अख्तियारले मुद्दा चलाउँदा सरकारको उपलब्धि भन्नु विरोधीलाई थुन्ने प्रपञ्चमा अख्तियारलाई प्रयोग गरेको प्रमाणित हुनु हो,×’ विश्वकर्माले भने, ‘कांग्रेसलाई ठोक्ने र आफ्नालाई रोक्ने रणनीतिमा नियोजित रूपमा लागेको देखिएको छ ।’
अख्तियारले अधिकार दुरुपयोग गरेको विश्वकर्माको टिप्पणी थियो । ‘एउटै मन्त्रिपरिषद्बाट भएको निर्णयमा सहभागीलाई फरक–फरक व्यवहार कसरी हुन्छ ? कांग्रेस कानुनी राज्यको अवधारणालाई विश्वास गर्दै आएको छ । कांग्रेसले नै अख्तियार गठनको कानुन ल्याएको हो । यसलाई संवैधानिक आयोग बनाइयो । पदमा बसेकाले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने हो तर यहाँ कानुनको उपहास भएको छ,’ उनले भने ।

संसद् बैठकको अध्यक्षता गरिरहेका सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई पटक–पटक बस्न आग्रह गरेका थिए । कांग्रेस सांसदहरू बस्न नमानेपछि सभामुख सापकोटाले संसद्को क्षेत्राधिकारको विषय स्मरण गराए । उनले प्रतिपक्षले उठाएका विषयमा सम्बन्धित निकायको ध्यान गइसकेको बताए । छलफलबाटै सबै विषयको निकास आउने भन्दै उनले सदन सञ्चालनमा सहयोग गर्न अनुरोध गरे । प्रमुख प्रतिपक्ष दलका सांसदहरू बस्न नमानेपछि आधा घण्टाका लागि बैठक स्थगित गरिएको थियो । पछि संसद् सचिवालयले सूचना टाँस गरेर आइतबारसम्म बैठक स्थागित गरेको जानकारी दिएको छ ।

कांग्रेस सांसद विजयकुमार गच्छदारको पद निलम्बन भएको छ । संघीय संसद् सचिवालयले शुक्रबार सूचना प्रकाशन गरेर उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार निलम्बन गरिएको जनाएको छ । अख्तियारले संसद् सचिवालयलाई गच्छदारविरुद्ध भ्रष्टाचार मुदा दायर गरेको जानकारी दिएपछि निलम्बनको सूचना जारी गरिएको हो । सूचनाअनुसार उनी मुद्दा दायर भएको दिनदेखि नै निलम्बनमा परेका छन् ।

मन्त्रीले अख्तियारको वकालत गरे: महत
उदयपुर– कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वकालत सरकारका मन्त्रीले गरेको टिप्पणी गरेका छन् । उनले ललिता निवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा चलाएकामा आपत्ति जनाए ।

‘मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गरेका कारण गच्छदारलाई दोषी देखाएर मुद्दा चलाइयो,’ उदयपुरको चौदण्डीगढी, बेल्टारमा शुक्रबार उनले भने, ‘निर्णय कार्यान्वयन गर्ने मन्त्रीलाई मुद्दा चलाउने अख्तियारको सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले वकालत गरेकाले बदनियत देखिएको छ ।’ उनले सरकारको सल्लाहबमोजिमै अख्तियारले गच्छदारमाथि मुद्दा चलाएको आरोप लगाए ।

प्रकाशित : माघ २५, २०७६ ०८:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×