कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

के हो डलरवादी ?

हुलाकी
उज्ज्वल प्रसाईं

विशेषणका रूपमा ‘डलरवादी’ शब्दको प्रयोग अधिक हुन थालेको छ । सामाजिक भनिने विद्युतीय सञ्जालमा खोजे यो विशेषण कसले, केका लागि र कसका विरुद्ध प्रयोग गर्छन् भन्ने थाहा हुन्छ । राजनीतिक दलका नेता, बुद्धिजीवी, नेताका वैतनिक एवं अवैतनिक समर्थकदेखि विद्युतीय सञ्जालमा समय कटनी गरेर बस्नेका लागि ‘डलरवादी’ प्रिय शब्द भएको छ ।

खास गरी विदेशी मुद्राको प्रभावमा बोल्ने वा लेख्ने काम गरेको भनेर कसैलाई लाञ्छना लगाउनका लागि यो शब्दको प्रयोग गर्ने चलन छ । समाज विज्ञानमा प्रयोग हुने अन्य धेरै ‘वाद’ को जसरी व्याख्या गरिन्छ, ‘डलरवाद’ को त्यस्तो सैद्धान्तिक व्याख्या भने सुनिएको छैन ।


करिब पाँच वर्षअघि नेपाली छापामा ‘हिमाल साउथ एसिया’ पत्रिका प्रकाशन गर्ने साउथ एसिया ट्रस्ट विवादमा तानियो । तत्कालीन माओवादीले ट्रस्टले नर्वेजियन दूतावासको सहयोगमा पत्रिका प्रकाशन गरेको विषय संसदमा उठायो । विदेशी सहयोगमा सञ्चार माध्यम सञ्चालन गर्न नहुने एवं त्यसो गरेर नेपालमा द्वन्द्व चर्काउने षड्यन्त्र भएको जिकिर माओवादी पक्षको थियो । तिनताक सत्यनिरूपण तथा मेलमिलाप आयोग बनाउने र त्यसमार्फत द्वन्द्वका बाँकी मुद्दा सम्बोधन गर्ने कामबारे छलफल चलिरहेको थियो । अहिलेसम्म नसुल्झिएको सो विषय त्यस बेला झन् बढी पेचिलो थियो । त्यही सिलसिलामा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले समेत साउथ एसिया ट्रस्टसम्बद्ध पत्रकार एवं बुद्धिजीवीलाई इंगित गर्दै ‘डलरवादी’ विशेषणको प्रयोग गरेका थिए ।


माओवादी मात्रले उच्चारण गर्दा ‘डलरवादी’ ले व्यापकता पाएको थिएन, तर कांग्रेस नेताले समेत अनपेक्षित रूपमा त्यसैको सिको गर्दै द्वन्द्वका मुद्दालाई धेरै नउछाल्न चेतावनी दिएपछि सो शब्द लोकप्रिय बन्यो । गालीस्वरूप सो शब्दको प्रयोग बढेपछि तिनताक ‘नेपाल’ साप्ताहिकको आफ्नो स्तम्भमा मैले डलरवादको सैद्धान्तिक व्याख्या गर्नुपर्ने आवश्यकता औंल्याएको थिएँ । २०१४ को मेमा प्रकाशित सो लेखको एउटा पंक्ति उद्धृत गर्नु सान्दर्भिक हुन्छ— ‘डलर ल्याएर गरिएका सबै काम खराब छैनन् । सबै मानिस डलरवादमा फसेका पनि छैनन् । त्यसैले पनि डलरवादको सैद्धान्तिक परख गर्नुपर्ने आवश्यकता छ । ताकि ठोस काम गरेर योगदान पुर्‍याएका संस्था, मानिस र दाताहरू डलरवादमा लेश मात्र पनि छैनन् भनेर देखाउन मिलोस् ।’


मार्क्सवादी अर्थशास्त्र जस्ता सैद्धान्तिक विमर्शमा अत्यन्त ठूलो चाख राखेर मोटा किताबसम्म लेखिसकेका बुद्धिजीवीबाट यस्ता सैद्धान्तिक व्याख्याको अपेक्षा गर्न सकिन्थ्यो । सामान्य फरक मतसम्म पचाउन नसक्ने बनिसकेका दलीय बुद्धिजीवीले डलरवाद जस्तो शब्दलाई अत्यन्त हलुका ढंगले प्रयोग गर्ने प्रवृत्ति भने सामान्य बन्यो । नेकपासम्बद्ध अर्थशास्त्री डा. विजय पौडेलले फरक मत राख्नेलाई निषेध गर्ने मनसुबा राखेर ‘डलरवादी महिला’ जस्ता शब्दावलीको प्रयोग गरे । महिला खेलाडी कुनै खेलमा विजयी बनेको विषय समाचार वा फिचर बनाउँदा नेपाली पत्रकारले ती खेलाडीलाई सामान्य खेलाडी नभनी ‘नेपाली चेली’ भनेर चिनाउने गरेकोबारे ट्वीटरमा विमर्श चलिरहेको थियो । सँगैमा पुरुष खेलाडी सफल हुँदा ‘नेपाली ठिटो’ जस्ता शब्दावलीको प्रयोग गरिँदैन, ‘नेपाली खेलाडी’ मात्र भनिन्छ । केहीले गम्भीरतापूर्वक र केहीले हलुका ठट्यौलो बनाएर यी विषयमा धारणा राखिरहेका थिए । ‘चेली’ जस्ता शब्दको प्रयोगमा लैंगिक असमानता एवं पितृसत्तावादको प्रभाव देखिने तर्क गरिएको थियो । सो शब्दको प्रयोगले ‘पेट्रोनाइज’ गरेको अर्थात् कृपाभाव राखेको बुझाइ व्यक्त गर्ने धारणा राख्नेहरूमा लेखक, पत्रकार एवं बुद्धिजीवीहरू थिए । खेलाडीलाई खेलाडी भनेर चिनाउँदा उनीहरूको सम्मान हुने मत जाहेर गरिएको थियो ।


छापामा ‘चेली’ शब्दको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने मत राख्ने महिलाहरूलाई इंगित गर्दै डा. पौडेलले ट्वीटरमै टिप्पणी गरे, ‘कुन दिन यी डलरवादी महिलाहरूले आमा शब्दले महिलाहरूको अपमान गर्‍यो, यसको साटो मम्मी वा मम मात्र भन्नुपर्छ भन्नेछन् । यिनीहरू असल नेपाली संस्कार सिद्ध्याउन लागेका छन् । सावधान, यी नेपाली भेषका विदेशी दलालबाट Û’ शब्दको चयन र प्रयोग सधैं बहसयोग्य विषय हो । आमवृत्तमा लेख्ने र बोल्ने मानिसले प्रयोग गर्ने शब्दबारे विमर्श हुनु स्वागतयोग्य काम हो । हिजो सहजतापूर्वक प्रयोग गरिने खास शब्दबाट एउटा ठूलो समुदायले आफू हेपिएको महसुस भएको बताएपछि, आज सम्मानपूर्वक ‘मधेसी’ भन्न थालिएको छ । बहसको यस्ता पक्षलाई पूर्णतया अनदेखा गरेर विमर्शमा सहभागी भएका सबैलाई एकमुस्ट गाली गर्न उद्यत हुने डा. पौडेलको ट्वीटमार्फत उनकै असंवेदनशीलता छताछुल्ल भएको छ । उनले सार्वजनिक विमर्शको कस्तो चरित्रलाई संवर्द्धन गर्न खोजेका छन् भन्ने पनि उजागर भएको छ ।


अर्को प्रश्न पनि उत्तिकै सान्दर्भिक छ । पौडेलले बुझेको डलरवाद के हो ? एउटा ट्वीटमा सबै आशय नखुले पनि सामान्य अन्दाज गर्न सकिन्छ । विदेशी सहयोग पाउने संघ–संस्थामा जागिर खाने वा त्यस्ता सहयोगका आडमा आफ्नै नेतृत्वमा कुनै संस्था चलाउने मानिसहरू डलरवादी हुने उनको आशय हो । त्यस्ता संस्थामा काम गर्ने मान्छेले नेपालका मौलिक भाषा, संस्कृति एवं रीतिरिवाजको सम्मान गर्दैनन् भनेर बुझेका छन् उनले । उनका अनुसार, त्यस्ता मान्छे मौलिक संस्कृति र भाषाको साटो विदेशी भाषा–संस्कृतिको संवर्द्धनमा काम गर्छन् । उनको बुझाइमा, त्यसो गरेबापत पनि उनीहरूले ‘डलर’ नै कमाउँछन् ।


पौडेलले आरोप लगाएकामध्ये एक लेखक आन्विका गिरी पनि हुन् । के पौडेलजस्ता विद्वान्ले आन्विकाहरूलाई पढेका छन् ? काफी सन्देह गर्ने ठाउँ रह्यो । नेपाली साहित्य र पत्रकारिता क्षेत्रमा स्थापित नाम हो— आन्विका । उनको ‘कम्युनिष्ट’ शीर्षक कथासंग्रहमा समेटिएका सिर्जना पढेको जोकसैले भन्न सक्छ, आन्विका नेपाली भाषा र साहित्यलाई सम्मान गर्दै सो भाषाको विस्तार एवं विकासमा दत्तचित्त भएर लागिपरेकी स्रष्टा हुन् । सामाजिक एवं राजनीतिक रूपमा सचेत भएर साहित्य साधना गर्ने आन्विकाको ‘मान्छेको रंग’ उपन्यास पढ्दा सशस्त्र द्वन्द्वको चपेटामा परेका युवा र सामान्य मानिसप्रति उनी कति संवेदनशील छन् भन्ने सहजै बुझिन्छ । त्यति मात्रै होइन, पछिल्लो समय उनले बालबालिकाका लागि नेपाली भाषामा साहित्य लेखेकी छन् । हाम्रा सन्तानलाई नेपाली भाषामार्फत जीवन र समाज चिनाउन, भाषाको महिमा र सामर्थ्य बुझाउन एवं तिनलाई असल मान्छेका रूपमा हुर्काउन सहयोग पुग्ने ती कृतिको महत्ता बुझ्न कतिको सक्षम छन् डा. पौडेल ? कम्तीमा, उनको यो ट्वीटले त्यति सामर्थ्यको संकेत गर्दैन ।


तुलनै गर्ने हो भने सहजै भन्न सकिन्छ, नेपाली भाषा, साहित्य एवं चिन्तनका क्षेत्रमा डा. पौडेलभन्दा बढी योगदान गर्ने स्रष्टा हुन्— आन्विका । आफ्नो समृद्ध चेतनाकै आडमा उनले नेपाली छापालाई सचेत गराउन विद्युतीय सञ्जालको ‘चेली बहस’ मा सहभागी हुने जाँगर देखाएकी थिइन् । डा. पौडेलको असंवेदनशीलताले आन्विका गिरीहरूको असम्मान गरेको छ । पौडेल जस्ताका भद्दा गालीले एउटा जरुरी बहसलाई मोड्ने कोसिस मात्र गरेको छैन, जरुरी विमर्शमा उद्यत रहने आन्विका जस्ता सर्जकलाई निरुत्साहित गर्ने प्रयास पनि गरेको छ । आन्विकाहरूलाई निरुत्साहित गर्न पौडेलसँगै रामकुमारी झाँक्रीहरू पनि सहभागी हुनुलाई भयानक विडम्बना मान्नुपर्छ ।


डलरवादकै सवाल उठाउने हो भने, डा. पौडेलका लागि आफ्नै दल एवं आफ्नै कमरेडहरूतर्फ फर्कनु बढ्ता मनासिब हुन्छ । मजदुरको हकहितका नाममा दलीय संगठनमा असंख्य स्रोतबाट आएका वैदेशिक सहयोगको हिसाबकिताब कसले राखेको छ ? मानव अधिकार एवं भौतिक विकासका नाममा पौडेलसम्बद्ध दलनिकट मानिसले ल्याएका विदेशी मुद्राले उनीहरूको निजी सम्पत्तिमा कतिको वृद्धि गरेको छ ? तिनै मानिसहरू यो मुलुकको सबैभन्दा ठूलो ओहदामा बस्ने जनप्रतिनिधिलाई सल्लाह दिनेदेखि विकासका योजना बनाउनेसम्मका काममा खटिएका छन् । तिनैमध्येका कोही ठूला पश्चिमा मुलुकका राजदूत पदमा आसीन छन् । डा. पौडेललाई आफ्ना दलनिकट त्यस्ता मानिसदेखि कत्तिको भय छ ? आफ्नै कमरेडहरूबाट नेपाली राष्ट्रियता एवं मौलिक संस्कृतिमाथि हुन सक्ने प्रहारबारे कत्तिको हेक्का छ ? प्रकाशित : मंसिर २०, २०७६ ०८:०५

प्रतिक्रिया
पठाउनुहोस्

राजधानीका सडकभरि भिखारी

प्रधानमन्त्रीले पटकपटक ‘अब कुनै नेपालीले सडकमा मागेर बस्न पर्दैन’ भने पनि राजधानीका सडकमा माग्नेहरू घटेका छैनन् 
फातिमा बानु, सीमा तामाङ

काठमाडौँ — २०७५ चैत २८ मा नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारणसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘अब कुनै पनि नेपालीले सडकमा बसेर माग्न पर्दैन ।’ कसैले सडकमा मागिरहेको देखेमा सरकारलाई खबर गर्नसमेत आग्रह गर्दै उनले थपेका थिए, ‘सरकारले माग्नै नपर्ने वातावरण बनाउँछ, त्यसैले अब कसैले पनि माग्न पाउँदैन ।’

  • सात महिनाअघि राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा त्यही कुरा दोहोर्‍याउँदै उनले भने, ‘कोही व्यक्ति सडकमा मागेर हिँडेको देखेमा तुरुन्त फोन गर्नुस् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सरकारले जिम्मेवारी लिन्छ ।’
  • गत असोज १३ गते देशलाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रममा उनले फेरि भने, ‘अब नेपाललाई छिट्टै सडकमानवमुक्त, भिखारीमुक्त देश घोषणा गर्नेछौं ।’ प्रधानमन्त्रीले पटकपटक यस्ता ‘घोषणा’ गरे पनि राजधानीका सडकमा जताततै हात थापिरहेका मगन्ते देख्न सकिन्छ । तिनको दयनीय अवस्थाले प्रधानमन्त्रीकै भनाइलाई गिज्याइरहेको छ ।

सर्लाही मलंगवाका ४७ वर्षीय किशोर साह ह्वीलचियरमा बसेर पैदलयात्रुसँग पैसा माग्न हात थापिरहेका थिए । कोही उनलाई पैसा दिन्थे, केही भने वास्तै नगरी अघि बढ्थे । पैसा लिँदा उनको हात थरथर काँपिरहेको थियो ।

वीर अस्पतालवरिपरि माग्न बस्ने उनी मंगलबार भने न्युरोडको भूगोलपार्कमा देखिए । ‘पहिले त गाउँमा काम गरेर खान्थेँ । बस दुर्घटनामा परेर दुवै खुट्टा नचल्ने भयो,’ उनले भने, ‘आमाबुवा सानैमा बित्नुभएको थियो । घरमा दाजुभाउजूले हेला गरेर टिक्न नदिएपछि मागेर खानुपर्ने भएँ ।’
टेकुमा कोठा लिएर पढ्न बसेका भदाले उनलाई बास दिएका छन् । मागेरै उनी दैनिक तीन सय रुपैयाँसम्म भेला पार्छन् । जति रकम हुन्छ, भदालाई नै राख्न दिन्छन् । ‘मलाई उसैले पकाएर खुवाउँछ । कहिलेकाहीँ त माग्न बसेको ठाउँमै खाना ल्याइदिन्छ,’ उनले भने, ‘गाह्रो पर्दा अस्पताल लगिदिन्छ । मागेको आधा पैसा उपचार खर्चमै सकिन्छ ।’

सिन्धुपाल्चोककी ८० वर्षीया कान्छी तामाङ पनि वसन्तपुर क्षेत्रमा तीन दशकदेखि मागेरै गुजारा गरिरहेकी छन् । मागेरै उनले छोरी हुर्काइन्, पढाइन् । ‘३० वर्षअघि श्रीमान् बितेपछि छोरा–बुहारीसँगै बसेकी थिएँ, काम गर्न नसक्ने भनेर नराम्रो व्यवहार गर्न थालेपछि छोरी लिएर निस्किएँ,’ उनले सम्झिइन्, ‘धेरै वर्ष त अर्काको घरको चिसो छिँडीमा छोरी लिएर सुतेँ ।’ अहिले उनकी छोरी नै कमाएर कोठाभाडा तिर्ने भइसकेकी छन् । उनी भने बिहान १० बजेदेखि अँध्यारो नभएसम्म माग्न बस्छिन् । पैसा त दिनमा एक सय पनि हुँदैन । एक छाक पुग्ने चामलसम्म दिन्छन्,’ उनले भनिन् ।

न्युरोड र वसन्तपुरमात्र होइन रत्नपार्क, जमल, सुन्धारा, भोटाहिटी, कान्तिपथलगायत राजधानीका कुनै सडक यस्ता छैनन्, जहाँ माग्नेहरू नभेटियून् । यसरी बस्नेहरू कसैले हातखुट्टामा चोट लागेको देखाउन पट्टी बाँधेका हुन्छन् । कोही भने गम्भीर रोगले थलिएको भन्दै माइक बजाएर बस्ने हुन्छन् । कसैले ससाना बच्चा च्यापेका हुन्छन् । अझ दृष्टिविहीनहरू त गीत गाएरै सहयोग मागिरहेका भेटिन्छन् ।

नेपालको संविधानले आफ्नो हेरचाह आफैं गर्न नसक्ने नागरिकलाई सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ । आर्थिक वर्ष ०७५/७६ को बजेट वक्तव्यले समेत ‘कोही भोकै पर्दैन, कोही भोकै मर्दैन’ भन्ने नारा तय गर्दै अशक्त, असहायले सडकमा रहनुपर्ने अवस्थाको अन्त्य गर्ने विश्वास दिलाएको थियो । तर सडकमा माग्न बस्नेहरू न कम भएका छन्, न त तिनका लागि राज्यले केही गरेकै छ । तमाम प्रतिबद्धता उनीहरूका लागि नमिठो ठट्टा बनेका छन् ।

सडकमा माग्न बस्नेहरूका आफ्नै बाध्यता छन् । दोलखा चरिकोटका कमल क्षेत्री असन वरपर रिक्सा चलाएर परिवार पाल्थे । दुई वर्षअघि उनलाई मोटरसाइकलले ठक्कर दिएर अशक्त बनायो । ‘श्रीमती मानसिक बिरामी छिन् । छोराछोरी छैनन्,’ उनले भने, ‘कमाउने मै एउटा पनि घाइते भएपछि बिहान–बेलुकाको छाक टार्न मुस्किल भयो । माग्नुको विकल्प नै भएन । घाइते भएको दिनदेखि मैले कोठाभाडा तिरेको छैन ।’ अहिले उनी श्रीमती लिएरै असन क्षेत्रको गल्लीमा माग्न बसेका छन् । बाटो हिँड्नेले पैसा दिएको दिन उनको कोठामा खाना पाक्छ, नत्र भोकै पर्छन् ।

काभ्रेकी सानु तामाङले वसन्तपुर क्षेत्रमा मागेरै गुजारा चलाएको नौ वर्ष पुग्यो । ४५ वर्षीया उनका श्रीमान् भारी बोक्ने काम गर्थे । एक वर्षअघि खुट्टा भाँचिएपछि उनी पनि श्रीमतीमै आश्रित छन् । ‘छोरीहरू बिहे गरेर गइसके,’ उनले भनिन्, ‘कहिलेकाहीँ देख्छु, तर उनीहरू नदेखेजस्तो गर्छन् ।’ मागेकै पैसाले श्रीमान्लाई औषधिसमेत जुटाउने गरेको उनले बताइन् ।

सडकमा माग्नेहरूको कथा बुझ्न जाँदा कतिपयले भने हामीलाई शंकाको नजरले हेरे । कुन संस्थाबाट आएको ? हामीलाई पाल्न लैजाने हो ? भन्दै उल्टै प्रश्न गरे । बुझ्दै जाँदा थाहा भयो, माग्ने ‘धन्दा’ चलाउनेहरू पनि काठमाडौंका सडकमा कम रहेनछन् ।

सरिता नेपालीले दुई छोरीलाई महांकाल मन्दिरअगाडि माग्नकै लागि राखेकी रहिछन् । ठूली छोरीसहित उनी तिनको निगरानी गरिरहन्छिन् । माग्न बसेकी माइली छोरीले भनिन्, ‘बुबा सातदोबाटोमा लुगा सिलाउनुहुन्छ । कोठा पनि त्यहीँ छ ।’ आफ्नो उमेर भने उनले बताइनन् । उनीसँग कुरा गर्दागर्दै जेठी दिदी आइन् र बहिनीले भनेको कुरा पत्रिकामा नलेख्न अनुरोध गर्न थालिन् । त्यति नै बेला आमा पनि टुप्लुक्क आइपुगिन् । उनले भनिन्, ‘हामी सडकमा बस्छौं । सडकमै खान्छौं । श्रीमान् पनि यस्तै काम गर्नुहुन्छ । बच्चाको कुरा नपत्याउनु है ।’

मुलुकी अपराध संहिता २०७४ ले सडक, गल्ली, पार्क, सवारी बिसौनीस्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर र सार्वजनिक सवारीसाधनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने व्यवस्था गरेको छ । यसरी माग्नेलाई दुई महिनासम्म कैद र दुई हजारसम्म जरिवाना तथा माग्न लगाउनेलाई तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने कानुनी प्रावधान छ । तर, संविधान र कानुनका व्यवस्था आजका मितिसम्म कागजबाट ओर्लेर माग्नेहरूसम्म आइपुगेका छैनन् ।

अब माग्ने देख्नु पर्दैन : मेयर शाक्य
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सडकमा माग्नेको व्यवस्थापन गर्न अभियान नै चलाउन लागेको बताए । मंसिर २९ मा हुने २५औं महानगर दिवसमा महानगरलाई ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषणा गर्ने निर्णयसँगै सडकमा माग्नुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ छ । ‘सडकमा माग्नेलाई व्यवस्थापन गर्ने निर्णय भइसकेको छ,’ उनले भने, ‘सबैलाई सुरक्षित बसोबासको व्यवस्था गर्नेछौं ।’ कोही व्यक्ति भोकै नपरून्, भोकै नमरून् भन्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको शाक्यले बताए ।

‘सडकमा मागिरहेको मैले पनि देखेको छु । विगतको जस्तो जताततै नभएपछि अहिले कम भएको छ,’ उनले भने, ‘नमाग्दा भोकै हुने अवस्था आउनेलाई खाना र बस्ने व्यवस्था गर्दै छौं,’ उनले भने, ‘बिरामी हुनेलाई उपचार गर्छौं । परिवारबाट एक्लिएकालाई मिलन गराउँछौं ।’

गणेश मन्दिर मगन्तेरहित
भक्तपुर (कास)– सूर्यविनायक गणेश मन्दिर प्रबन्ध समितिले मन्दिर परिसरलाई मगन्तेरहित क्षेत्र घोषणा गरेको छ । मन्दिर क्षेत्रमा मगन्तेले धर्मावलम्बी र पर्यटकलाई मागेर दुःख दिने, अभद्र व्यवहार गर्ने गरेको गुनासो बढेपछि समितिले उनीहरूलाई हटाएको हो । मगन्ते व्यवस्थापनका लागि सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापाको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको थियो ।

‘मन्दिरमा मागेको पैसा मिटर ब्याजमा लगाएको पाइएपछि उनीहरूलाई हटाएका हौं,’ अध्यक्ष थापाले भने । बेवारिसे, अशक्त र मागेर गुजारा चलाउनेलाई मानव कल्याण सेवाघर पठाइएको छ ।

प्रकाशित : मंसिर २०, २०७६ ०८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×