२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

हिन्दु र बौद्धको संगमस्थल- काँक्रे विहार

डा. नारायण मरासिनी

काँक्रे विहार सुर्खेत उपत्यकाको सानो पहाडको थुम्कोमा अवस्थित हिन्दु-बौद्ध मन्दिर हो । यस मन्दिरको आकार काँक्राको बीउजस्तो भएकाले काँक्रे विहार नाम रहन गएको भन्ने भनाइ भेटिन्छ । यो मन्दिर कुँदेको ढुङ्गा प्रयोग गरेर १२ औं शताब्दीमा निर्माण गरिएको मानिन्छ ।

हिन्दु र बौद्धको संगमस्थल- काँक्रे विहार

जसले उक्त समयमा यस क्षेत्रका मानिसले हिन्दु धर्मको साथमा बौद्ध धर्मको अभ्यास गरेको देखाउँछ । कुँदिएका ढुङ्गा र काँसका मूर्तिहरूमा बुद्घका साथै सरस्वती र गणेश लगायत थुप्रै हिन्दु देवीदेवताको प्रतिमा छन् । यो मन्दिर भत्किएर लामो समयसम्म भग्नावशेषको रूपमा रह्यो । भर्खरै पुरातत्त्व विभागले मन्दिरलाई मौलिक आकारमै पुनर्निर्माण गरेको छ । यो मन्दिर कसरी भत्कियो भन्नेमा विभिन्न मत छन् ।


काँक्रे विहार सिन्जा राज्य (वर्तमान जुम्ला क्षेत्र) का राजा अशोक चालियाको शासनकालमा लगभग सन् १२६८ मा निर्माण भएको ऐतिहासिक दस्तावेजमा उल्लेख भएको पाइन्छ । राजा अशोक चालियाले सन् १२५५-१२७८ सम्म सिन्जा राज्यमा शासन गरेका थिए । उनी ‘क्रा चालिया’ का छोरा थिए जसको अर्को छोरा राजा जितारी चालियाले ‘मल्ल’ थर ग्रहण गरे । त्यसपछि ‘चाल’ राजवंश नेपालको इतिहासमा ‘मल्ल’ भनेर चिनियो ।


राजा अशोक महायान बुद्धिजमका अनुयायी थिए र यो विहार उनको भगवान बुद्धप्रति भक्तिको प्रतीक हो । उक्त समयमा सिन्जा राज्य पूर्वमा त्रिशूली नदी, पश्चिममा सतलज नदी गढवाल-लद्दाख, उत्तरमा तिब्बतको खारी क्षेत्र र दक्षिणमा तराईसम्म फैलिएको थियो । त्यतिबेला यो राज्यले विशाल नेपाल (जो पूर्वमा सिक्किम र पश्चिममा गढवाल) को करिब आधा हिस्सा ओगटेको थियो । केही शैलवर्णनमा उल्लेख भए अनुसार उनको राजनीतिक प्रभाव भारतको बोधगयासम्म फैलिएको थियो ।


काँक्रे विहार मन्दिरको निर्माणमा प्रयोग भएका कुँदिएका विशाल ढुङ्गाहरू देख्दा यी ढुङ्गाहरू कहाँबाट ल्याइए होलान् भन्ने जिज्ञासा हरेकको मनमा उठ्छ । अझै स्थानीयसँग बुझ्दा ३०-४० किमि वरिपरि यस्ता ढुङ्गाहरू नरहेको बताउँछन् । बाटोघाटो र ढुवानीको सुविधा नभएको त्यो समयमा यत्रा अजङ्गका ढुङ्गाहरू कसरी यो थुम्कोमा पुर्‍याइए होलान् ? कति मानिसको श्रम, पसिना लाग्यो होला ? यत्रो अदम्य आँट तत्कालीन राजामा कसरी आयो होला ? सुन्दर मन्दिर भत्किएर त्यत्रा ठूला कुँदिएका ढुङ्गाहरू मन्दिरको मुख्य स्थानबाट ४००-५०० मिटरसम्म कसरी छरपस्ट हुनपुग्यो होला भन्ने प्रश्न जोकोहीको मनमा आउँछ । अहिले मन्दिरको मुख्य पुनर्निर्माण लगभग सकिएको छ ।


काँक्रे विहार मन्दिर कसरी र कहिले भत्कियो भन्ने सवालमा दुई मुख्य विचार सुन्न र विभिन्न अध्ययन, अनुसन्धानका दस्तावेजमा पढ्न पाइन्छ । पुरातत्त्वविदहरूका भनाइमा सोह्रौं शताब्दीतिर शंकराचार्यका अनुयायीहरूले बौद्ध धर्मको फैलँदो प्रभावलाई रोक्न यो मन्दिर भत्काए भन्नेछ । तर यो कुनै प्रमाणको आधारमा भन्दा पनि फगत अनुमान हो ।


पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यातले मन्दिरको हाताभित्र खडा गरेको अभिलेखमा यो विहार वि.सं. १८९० को ठूलो भुइँचालोको कारणले भत्केको उल्लेख गरेका छन् । तर यी दुवै तर्कमा प्रश्न गर्ने आधार छन् । पहिलो तर्क सर्वथा अनुमानको भरमा भनिएको र अरु यस्तै थुप्रै मन्दिर उक्त क्षेत्र लगायत तराईमा रहेको तर यो मन्दिरमात्र भत्काउन शंकराचार्यका अनुयायी त्यहाँसम्म कसरी पुगे अनि भत्काउँदा पनि कसरी मन्दिरमा प्रयोग भएका कुँदिएका त्यत्रा ढुङ्गाहरू ४००-५०० मिटर परसम्म फैलिए भन्ने कुराले यो अनुमानमा विश्वास गर्न गाह्रो हुन्छ ।


१८९० को भूकम्पको केन्द्रविन्दु काठमाडौंको उत्तर-पूर्वमा रहेको र उक्त भूकम्पले काठमाडौंको भक्तपुर र ठिमी क्षेत्रमा ठूलो क्षति भएको कुरा कोलोराडो विश्वविद्यालयका भू-वैज्ञानिक प्राध्यापक रोजर विलहमद्वारा सन् १९९५ मा प्रकाशित अनुसन्धानात्मक लेखमा उल्लेख छ । पूर्व-उत्तरमा केन्द्रविन्दु भएर गएको वि.सं. १९९० सालको भन्दा कम अर्थात रेक्टर स्केलमा ७.८ को भूकम्पले कसरी काठमाडौंबाट हवाई दूरी नै करिब ४ सय कि.मि. टाढा रहेको संरचनालाई क्षति गर्न सक्छ ? यो तर्कमा पनि विश्वासिलो आधार भेटिँदैन ।


प्रश्न उठ्छ, कसरी विशाल ढुङ्गा ल्याएर मन्दिर निर्माण गर्न सम्भव भयो होला ? र के कारण मन्दिर भत्किन पुग्यो होला ? यसमा अनुसन्धान गरेर विश्वासिलो आधारसहित सत्य-तथ्य बाहिर ल्याउन ढिला भइसक्यो । सन् १५०५ मा नेपालको पश्चिम-उत्तर भूभाग वर्तमानमा शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज जुन डोल्पा र मुगु जिल्लामा फैलिएको छ, उक्त क्षेत्रमा केन्द्रविन्दु पारेर करिब ८.२ देखि ८.८ म्याग्निच्युड बीचको महाभूकम्प गएको प्राध्यापक रोजर विलहम र इम्पेरियल कलेज, लन्डनका प्राध्यापक निकोलस एमनसेयसले सन् २००५ मा करेन्ट साइन्सको मे अंकमा प्रकाशित अनुसन्धानात्मक लेखमा उल्लेख गरेका छन् ।


यो महाभूकम्पको क्षतिको विवरण भने कतै भेटिँदैन । काँक्रे विहार र यो महाभूकम्पको केन्द्रविन्दु बीचको दूरी त्यति टाढा नरहेको र पुरातत्त्वविद्हरूको भनाइमा पनि यो विहार १६ औं शताब्दीको आसपासमा भत्किएको अनुमान रहेकाले कतै सन् १५०५ को महाभूकम्पको दौरान भत्किन गएको त होइन ? यो पनि अनुमान नै भएकाले विस्तृत अध्ययन, अनुसन्धानबाट मात्र बलियो आधारसहित यसको पुष्टि हुनसक्छ ।


थोरै अनुमानको थप चर्चा गरौं । सुर्खेत उपत्यका परापूर्व कालमा ठूलो ताल रहेको अनुमान गर्न सकिन्छ । काँक्रे विहार अवस्थित स्थान त्यही तालको बीचको सानो पहाडको थुम्को हुनुपर्छ । तत्कालीन खस राज्यका राजा अशोकलाई तालको बीचमा रहेको थुम्कोको मनोरम प्राकृतिक सौन्दर्यले आकर्षित गरेर यो विहारको निर्माण गरी सयर गर्न प्रेरित गरेको हुनुपर्छ ।


सन् १५०५ को महाभूकम्पको दौरान तालको पश्चिम क्षेत्रको जमिन फाट्न गई एक्कासी तालको पानीको निकास भएको हुनुपर्छ । सामान्यतया तालको पानी एक्कासी निकास हुँदा पानीको जोडले पहाडको थुम्कोको बाहिरी सतहको कमजोर भूभाग लेदोको रूपमा बग्ने क्रममा भूकम्पले भत्काएको र विहारमा प्रयोग भएका ढुङ्गाहरू सँगै बगेर ४००-५०० मिटर परसम्म पुगेको अनुमान गर्न सकिन्छ ।

१२ औं शताब्दीमा निर्माण भएको यो विहारको पुरातत्त्व विभागले भर्खरै पुनर्निर्माण सम्पन्न गरेको छ ।


भक्तपुरबाट आठ शिल्पकर्मीलाई ल्याएर मन्दिरको पुनर्निर्माण गरिएको हो । पुनर्निर्माण गर्नुभन्दा अगाडि करिब १८ वर्षसम्म उत्खनन गरेर हिन्दु र बौद्ध धर्मसँग सम्बन्धित धेरै मूर्तिहरू र अन्य कलाकृति पत्ता लगाइएको थियो । पुरातत्त्व विभागले उत्खननको क्रममा पत्ता लगाइएका सामग्रीहरूसहित मन्दिरलाई यसको पुरानो स्वरुप नै कायम हुनेगरी पुनर्निर्माण गरेको छ । यो मन्दिरको निर्माण भारतीय कालिगढहरूले गरेको हुनुपर्छ, किनकि नेपालमा यस प्रकारको डिजाइनको मन्दिर अन्त कतै भेटिँदैन ।


(भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालमा कार्यरत मरासिनीले जमिन तरलीकरणको जोखिम पहिचान तथा न्यूनीकरणमा विद्यावारिधि गरेका छन् ।)

प्रकाशित : आश्विन ११, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?