कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

पहाडतर्फ लम्कँदै लहरे वनमारा

भरतबाबु श्रेष्ठ

लहरे वनमारा द्रुतगतिमा फैलन सक्ने अत्यन्त हानिकारक मिचाहा वनस्पति हो । छिटो फैलन सक्ने र उच्च वृद्धिदर भएकोले नै यस वनस्पतिलाई अंग्रेजीमा माइल्स अ मिनेट नामले चिनिन्छ । यस्ता वनस्पतिहरूको प्रचुरता आफ्नो प्राकृतिक वासस्थान रहेको भौगोलिक क्षेत्रहरूमा भने तुलनात्मक रूपमा कम हुन्छ ।

पहाडतर्फ लम्कँदै लहरे वनमारा

ती क्षेत्रहरूमा यस्ता वनस्पतिहरूको शत्रुहरू जस्तै– पात खाने किराहरू, रोग लगाउने ढुसीहरू एवं अन्य सूक्ष्म जीवहरू पनि हुने भएकाले ती वनस्पतिहरूको वृद्धि तथा फैलावट पनि कम हुन्छ । तर मानिसका विभिन्न क्रियाकलापहरू जस्तै– कृषि तथा औद्योगिक उत्पादनहरूको अन्तरदेशीय व्यापार र ठूलो संख्यामा पर्यटकहरूको आवागमनको कारण यस प्रकारका वनस्पति आफ्नो प्राकृतिक वासस्थान भन्दा बाहिरको भौगोलिक क्षेत्रमा पुग्छन् ।


धेरै वनस्पति प्रजातिहरू त कृषिबालीको रूपमा, घाँसको लागि एवं घर र बगैँचामा सजाउनका लागि तिनीहरूको प्राकृतिक भौगोलिक क्षेत्रभन्दा बाहिर खेती गर्न लागिएको छ । आफ्नो भौगोलिक क्षेत्रभन्दा बाहिर जाँदा वनस्पतिहरूको नयाँ ठाउँमा शत्रु नहुने वा कम हुने भएकोले कतिपयको वृद्धि एवं फैलावट अत्यन्त द्रुतगतिमा भई रैथाने वनस्पतिहरू पारिस्थितिकीय चक्र र अन्य वातावरणीय पक्षहरूलाई नकारात्मक असर पार्छ । यस्ता गैररैथाने हानिकारक वनस्पतिहरूलाई मिचाहा प्रजाति भनिन्छ ।


बढ्दो विश्वव्यापारीकरण र मानिसहरूको आवत–जावत एवं भूउपयोग र जलवायुमा आइरहेको परिवर्तनका कारण मिचाहा वनस्पति एवं जन्तु प्रजातिहरूका संख्या र तिनीहरूका हानिकारक असरहरू दिनानुदिन बढिरहेका छन् । यस्ता वनस्पतिमध्ये विश्वमै अत्यन्त हानिकारक मानिएको एक मिचाहा प्रजाति हो, लहरे वनमारा ।


मध्ये तथा दक्षिण अमेरिकाको उष्ण जलवायु भएको भौगोलिक क्षेत्रको यस रैथाने वनस्पति अष्ट्रेलिया एवं एसियाका केही राष्ट्रमा भूक्षय नियन्त्रण एवं नाङ्गो माटो ढाक्न भित्र्याइएको थियो । ती राष्ट्रहरूबाट मानव क्रियाकलाप एवं प्राकृतिक माध्यमबाट छिमेकी राष्ट्रहरूमा यो लहरे वनमारा फैलने क्रम जारी छ । यो वनस्पति चियाको बेर्नासँगै भारतको सिक्किम/दार्जिलिङ क्षेत्रबाट नेपालको पूर्वी भागमा पहिलोपटक सन् १९६० को दशकमा भित्रिएको अनुमान गरिएको छ ।


सुरुका दिनहरूमा पूर्वी नेपालमा मात्र फैलिएको यस वनस्पति करिब पाँच दशकमा मध्यभाग हुँदै पश्चिमको लुम्बिनी क्षेत्र र दाङ उपत्यकासम्म फैलिइसकेको छ । पूर्वको कोशीटापु वन्यजन्तु आरक्षणमध्ये नेपालको चितवन राष्ट्रिय निकुञ्जमा लहरे वनमाराले रैथाने वनस्पति, वन्यजन्तु र पारिस्थितिकीय चक्रमा पारेको नकारात्मक असरबारे थुप्रै अनुसन्धान भइसकेका छन् ।


मुख्यतया चितवन राष्ट्रिय निकुञ्जको घाँसे मैदान एवं सिमसार क्षेत्रमा फैलिएको लहरे वनमाराले संकटापन्न एकसिंगे गैंडाको वासस्थान क्षयीकरण गरेको अनुसन्धानले देखाएको छ । अत्यन्त छिटो वृद्धि हुने र लहरा बनी जमिनको घाँस एवं साना रुखहरूलाई पूरै ढाक्ने भएकाले लहरे वनमाराको असर अन्य वनस्पतिहरूमा अत्यन्त बढी हुन्छ ।


लहरे वनमाराद्वारा ढाकिएका अन्य वनस्पतिहरूले आवश्यक मात्रामा सूर्यको प्रकाश नपाउने भएकाले प्रकाश संश्लेषणको दर कम भई धेरै वनस्पति मर्ने गर्छन् । यसबाट घाँसे मैदानमा घाँसको उत्पादन न्यून हुने भएकाले अन्य वन्यजन्तुहरूलाई प्रत्यक्ष असर गर्छ । साथै रुखहरूको बिउको अंकुरणमा ह्रास आउने र साना बेर्नाहरू मर्ने भएकाले रुखहरूको पुनः उत्पादनमा पनि उल्लेख्य कमी ल्याइरहेको छ ।


केही वर्ष अघिसम्म मुख्यतया तराई र भित्री मधेस क्षेत्रमा मात्र पाइने लहरे वनमारा पछिल्लो समयमा मध्यपहाडी क्षेत्रमा पनि फैलिन थालेको छ । पूर्वमा धनकुटा बजारको क्षेत्र आसपासमा यस वनस्पति पाउन सकिन्छ । नेपालको मध्यभागमा पृथ्वीराज मार्ग अन्तर्गत मर्स्याङ्दी जलविद्युतको जलाशय र विद्युतगृह वरिपरिको क्षेत्र र धादिङ जिल्लाको सिम्ले र बैरेनी क्षेत्रमा लहरे वनमारा झार पाइएको छ ।


साथै पृथ्वीराजमार्गको बेनीघाटबाट बूढीगण्डकीको किनारै किनार आरुघाट जाने कच्ची बाटोको वरिपरि (गण्डकी गाउँपालिका–८ को बेसेरी भन्ने ठाउँ र फुजेलको ठूलो फाँट) पनि यो वनस्पति पाइएको छ । धादिङ बेँसी नजिकैको ससाहा भन्ने ठाउँमा पनि यो बिरुवा फैलिइसकेको छ ।


गण्डकी प्रदेशको राजधानी पोखरा (पोखरा लेखनाथ–१४ मा रहेको फोहोर संकलन नजिक) मा पनि लहरे वनमारा पुगिसकेको छ । यिनीहरू त केही प्रतिनिधि स्थानहरू मात्र हुनसक्छन् । सूक्ष्म रूपमा सर्वेक्षण गर्ने हो भने पूर्व र मध्य नेपालको मध्यपहाडी क्षेत्रमा धेरै ठाउँमा यो वनस्पति फैलिएको सम्भावना छ । यसबाट के देखिन्छ भने मिचाहा वनमारा दक्षिणमा अवस्थित तराई मधेसबाट उत्तरतर्फको हिमाली क्षेत्रतर्फ फैलिँदै गइरहेको छ ।


मुख्यतया सामान ओसार–पसार गर्दा सडकको सञ्जालमार्फत मध्यपहाडी क्षेत्रमा फैलिएको देखिन्छ । हालसम्म मध्यपहाडको केही क्षेत्रको सीमित ठाउँमा मात्र फैलिएको यो लहरे निकट भविष्यमै ठूलो क्षेत्रमा झांगिन सक्ने सम्भावना छ । यस वनस्पतिको लागि नदी र खोला वरिपरिको चिस्यान क्षेत्र बढी उपयुक्त हुने र हावाले यसको बिउ टाढा–टाढासम्म उडाएर लैजाने भएकोले सडक नपुगेका विकट ठाउँहरूमा पनि यो वनस्पति फैलन सक्छ ।


हिमाली क्षेत्रको उच्च भूभागमा हुने न्यून तापक्रमका कारण यो वनस्पति झांगिन नसक्ला, तर नदि किनार र अन्य तल्लो उचाइको भूभागमा फैलन सक्छ । जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भइरहेकोले पनि पहाडी र हिमाली क्षेत्रका तल्लो उचाइका भूभागहरू लहरे वनमाराको लागि अनुकूल हुने सम्भावना छ । भौगोलिक विकटताका कारण समथर भूभागमा भन्दा पहाडी र हिमाली क्षेत्रमा यस्ता मिचाह वनस्पतिहरूका व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण हुन्छ । तसर्थ पहाडी क्षेत्रमा फैलने क्रममा रहेको यस प्रारम्भिक अवस्थामा नै लहरे वनमाराको नियन्त्रण गर्नु अत्यावश्यक छ ।


लहरे वनमारा एवं अन्य मिचाहा प्रजातिहरूको नियन्त्रणका लागि मुख्यतया भौतिक (यान्त्रिक), रासायनिक र जैविक नियन्त्रण विधिहरू अपनाइन्छ । कुनै पनि मिचाहा प्रजातिको जैविक नियन्त्रणका लागि त्यसको प्राकृतिक रैथाने वासस्थान नभएको भौगोलिक क्षेत्रमा पाइने शत्रुहरू मध्येबाट सावधानीपूर्वक केहीलाई छानेर भित्र्याउने गरिन्छ ।


यसका लागि लामो अनुसन्धान र जटिल प्रशासनिक (क्वारेन्टाइन) प्रक्रियाहरू पूरा गर्नुपर्ने हुन्छ, जुन लहरे वनमाराको लागि तत्काल सम्भव देखिँदैन । रासायनिक विधिमा झार मार्ने विषादी प्रयोग गर्नुपर्ने हुन्छ, जसले अन्य वनस्पतिलाई पनि असर गर्ने र वातावरण प्रदूषित गर्ने भएकाले प्राकृतिक वातावरणमा यो विधि त्यति उपयुक्त मानिँदैन । लहरे वनमाराको मध्यपहाडी क्षेत्रमामाथि उल्लेख गरिएको अवस्थामा भौतिक विधि नै बढी उपयुक्त देखिन्छ । यस अन्तर्गत लहरे वनमारा नियन्त्रणका लागि निम्न क्रियाकलापहरू गर्न सकिन्छ :


१. लहरे वनमारा फैलिएको क्षेत्रको सर्वेक्षण गरी उक्त वनस्पति पाइने सबै स्थल पहिचान एवं नक्साङ्कन गर्ने ।

२. लहरे वनमारा पाइएको स्थान आसपासका समुदायहरूलाई यसको फैलावटबाट भविष्यमा हुनसक्ने हानिबारे जानकारी गराउने ।

३. स्थानीय समुदाय र विद्यालय एवं विश्वविद्यालयका विद्यार्थीहरूलाई स्वयं सेवकका रूपमा सहभागी गराई प्रत्येक स्थानमा सम्पूर्ण रूपले लहरे वनमारा फूल फुल्नु अगावै उखेलेर सोही ठाउँमा गहिरो खाडल खनी पुर्ने वा राम्ररी सुकाएर जलाइदिने । लहरे वनमारा बिउ र काण्ड दुवैबाट फैलने भएकाले बिरुवाका ती भागहरू अन्यत्र छरिनबाट बचाउन विशेष ध्यान दिनुपर्ने हुन्छ ।


माथि उल्लेखित तेस्रो क्रियाकलाप सम्पन्न गरेपश्चात पनि सोही ठाउँमा लहरे वनमारा फेरि उत्तिकै उम्रने र फैलिएको देख्न सकिन्छ । माटोमा धेरै बिउहरू जम्मा भएको हुनसक्ने र डाँठका (काण्ड) टुक्राटुक्रीबाट पुनः उत्पादन हुनसक्छ । तर उखाल्ने, कुहाउने र जलाउने कार्यलाई निरन्तरता दिनसकेमा क्रमशः यस झारको प्रचुरता घट्दै जान्छ । र अन्ततः ४–५ वर्षमा उक्त ठाउँबाट यसलाई सम्पूर्ण रूपमा निर्मूल पार्न सकिन्छ । फैलिएको क्षेत्र ठूलो छ भने निर्मूल पार्न धेरै वर्ष लाग्न सक्छ ।


विभिन्न मुलुकको अनुभव नेपालकै तराई तथा मधेस क्षेत्रमा लहरे वनमाराले पारेको असर र पहाडी तथा हिमाली क्षेत्रमा भविष्यमा पार्न सक्ने असरहरूलाई मूल्याङ्कन गर्दा यस झारको नियन्त्रण तत्काल थाल्नुपर्ने देखिन्छ । साथै पश्चिमतर्फको फैलावटलाई रोक्न पनि माथिका क्रियाकलाप आवश्यक छन् । तत्कालै लहरे वनमाराको व्यवस्थापन नगरिएमा केही दशकमा नै यो समस्या नियन्त्रणभन्दा बाहिर जानेछ र हामीले दीर्घकालीन रूपमा जैविक विविधता एवं वातावरणीय सन्तुलनको क्षेत्रमा अपूरणीय क्षति व्यहोर्नु पर्नेछ ।


लेखक त्रिभुवन विश्वविद्यालय, वनस्पतिशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक हुन् ।

प्रकाशित : भाद्र २८, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?