१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बालबालिकालाई सामाजिक सञ्जालमा 'जोकर’ नबनाऔँ

जब दुईवर्षे बच्चा कुनै सामान्य विषयलाई लिएर रुन्छ, तब अभिभावकले के गर्नुपर्छ ? प्रायः सबैको मनमा आउने पहिलो कुरा– ‘फोटो खिच्ने, रमाइलो क्याप्सन राख्ने र इन्स्टा वा फेसबुकमा अपलोड गर्ने ।’ सार्वजनिक रूपमा आफ्नो बच्चाको तनावलाई हाँसोको विषय बनाउने कुरा सबैले आत्मसात मात्रै गरेका छैनन्, यसलाई उत्तिकै प्रोत्साहित पनि गरेका छन् ।

बालबालिकालाई सामाजिक सञ्जालमा 'जोकर’ नबनाऔँ

विभिन्न वेबसाइटले ‘बेस्ट अफ कम्पाइलेसन’ भनेर शीर्षक नै छुट्याएका हुन्छन् । त्यस्ता फोटो वा भिडियोको अगाडि लेखिएको हुन्छ– ‘मेटालिका ह्याज न्यु लिड सिंगर ।’

मनोवैज्ञानिक र एउटा अभिभावकको हिसाबमा हामी सबै बच्चाले देखाउने स–साना व्यवहारमा हाँस्छौं र त्यो क्षणलाई सबैको साझा बनाइहाल्छौं । तर के त्यो सही हो त ?

सामान्यतया हँसिमजाकले एउटा उद्देश्य परिपूर्ति गर्छ– त्यसले नकारात्मक भावना जस्तै– लाज वा तनावबाट मनोवैज्ञानिक रूपमा टाढा राख्छ । कुनै एउटा कलेज जहाँ १०५ जना ह्विलचेयर प्रयोगकर्ता विद्यार्थी अध्ययन गर्थे, तिनीहरूमा गरिएको अध्ययन अनुसार पिसाब वा दिसा सम्बन्धी ठट्टाले उनीहरूको तनावलाई केही हदसम्म भए पनि कम गर्न मद्दत गर्छ । एकजना सहभागीले भने, ‘हामी आफैंलाई ठट्टाको पात्र बनाउँछौं, किनभने त्यसले हाम्रो जीवनलाई केही सहज बनाउँछ ।’

बच्चाको रुवाइ सुनेसँगै अभिभावकहरू दौडादौड गर्न थाल्छन् । प्रकृतिले नै त्यो प्रोग्राम सेट गरेको छ– रक्तचाप बढ्छ । त्यो रुवाइ अरु नै बच्चाको किन नहोस् । तर बच्चालाई हानि हुने कुनै पनि कार्य भइरहेको छैन भनेर तपाईंले जब थाहा पाउनुहुन्छ, आफ्नै दिमागलाई शान्त बनाउन तपाईं मजाक गर्न थाल्नुहुन्छ ।

आफ्नो समस्याबारे एकअर्कासँग भलाकुसारी गर्दैगर्दा एउटा समूह नै निर्माण हुन्छ । एउटा पुरानो प्रयोगका अनुसार शोधकर्ताहरूले अस्पतालको एउटै वार्डमा रहेका दुई बिरामी आफ्ना समस्याबारे एकअर्कासँग धेरै ठट्टा गर्छन् । त्यो अस्पताल बसाइको डर वा आफ्नो दुःख कम गर्न हेतु हुनसक्छ । अभिभावकहरूले भने अरुको बच्चा कुनै सपिङ मलको लाइनमा छुकछुक गरेको देखेर केही सान्त्वना प्राप्त गर्छन् । उनीहरूलाई लाग्छ, बच्चाका कारण दुःख पाउने उनीहरू एक्ला व्यक्ति होइनन् ।

अर्को एउटा अस्पतालमा गरिएको अध्ययन अनुसार ठट्टा गर्दा जहिले पनि आफ्नो तहको ख्याल राख्नुपर्छ । जस्तै– अस्पतालमा वरिष्ठ चिकित्सकले आफ्नो रेसिडेन्टलाई मजाकको पात्र बनाउँछन् र रेसिडेन्टले नर्सलाई । तर यसको ठिक उल्टो भयो भने त्यो पाच्य हुँदैन ।

अर्को एक पुरानो प्रयोगले ठट्टामा आवेगको पनि भूमिका हुन्छ भनेर पुष्टि गरेको छ । एउटामा प्रयोगकर्ता कुनै व्यक्तिसँग झर्किएर र कसैसँग सामान्य रूपमा कुरा गर्छिन् । र पछि झुक्किएझैं गर्दै आफ्नै लुगामा चिया पोखाउँछिन् । उनको लुगामा चिया पोखिएकोमा उनीसित झर्किएर बोलेको व्यक्ति मुस्कुराउँछ या हाँस्छ ।

तसर्थ अनलाइनमा कुनै पनि ठट्टाको भिडियो वा फोटो पोस्ट गर्नुको पछाडि केही न केही छुद्र सोच त लुकेकै हुन्छ । तर सामान्य रूपमा हेर्दा त्यो हामीलाई मजाकमात्रै लाग्छ । कुनै बच्चा आफ्नो कुकुर मरेको कारण रोयो भने त्यसलाई फकाउनैपर्छ । तर उसको ‘सिप्पी कप’मा भएको पानी धेरै तरल भयो भनेर रोयो भने के नै गर्न सकिन्छ र ? यो हाँसोउठ्दो नै हुन्छ, किनभने त्यहाँ केही गलत भइरहेको हुँदैन ।

तर २ वर्षको बच्चाको दिमागमा ती दुवै कुरा उत्तिकै हिसाबमा पीडादायी हुन्छ । उसको अगाडिको मस्तिष्क पूर्णरूपमा विकसित भइसकेको हुँदैन । तसर्थ ऊ पानी भनेको तरल नै हुन्छ र त्यसले भिज्छ भन्ने ठम्याउन सक्दैन । यस्तै अब कुकुर फर्किएर आउँदैन भन्ने पनि ऊ बुझ्दैन । त्यसैले दुवै अवस्थामा ऊ आफ्नो भावनालाई नियन्त्रण गर्न सक्दैन । उसको विरोधमा कुनै दम छैन भन्दैमा उसले महसुस गरिरहेको पीडा त घट्दैन ।

अरु कुनै व्यक्तिको तनाव तपाईंको लागि फोन झिकेर रेकर्ड गरेर ‘लाइक’ पाउने माध्यम हुनुहुँदैन । यस्तो व्यवहार झनै खराब हुन्छ, जब तपाईं आफ्नो बच्चाको बालापनको तर्क वा सोचमा अन्य कुनै व्यक्तिलाई भिडियो बनाउन दिनुहुन्छ । त्यस्तो बेला त उसलाई झन् तपाईंको साथ र माया चाहिएको हुन्छ ।

हो, बालबालिकाले आफैंलाई मजाकको विषय बनाएर हाँस्न सिक्नुपर्छ, तर त्यो पहिलो आफ्नो घरको सुरक्षित वातावरणबाट सुरु हुनुपर्छ । ती सुरुवाती पाठ भने उनीहरूलाई हानि नगर्ने र उनीहरूले बुझ्ने खालको हुनुपर्छ । तर यसो भन्दैमा उनीहरूको नखरालाई प्रोत्साहित गर्नु हुँदैन ।

इन्स्टाग्रामको पोस्ट गरिएका फोटाहरू हेर्दा उनीहरूका हाँसो निर्दोष देखिन्छन् । यदि त्यसको भिडियो नै छ भने बच्चाले कहिल्यै हेर्दैन । अभिभावकहरूको पनि चाहना हुन्छ, तर त्यसलाई सन्तुष्ट पार्न आफ्नै बच्चालाई ‘जोकर’ बनाउनु भने हुँदैन । जब उनीहरूको ‘नखरा’ देखेर तपाईंलाई हाँसो उठ्छ, हाँस्नुको साटो तपाईं अरु कुनै कार्य गरेर आफ्नो शरीरले प्रतिक्रिया जनाउन दिएको संकेतलाई बन्द गर्नतिर लाग्नुपर्छ ।

आफूले बच्चा हुर्काउँदाको अनुभव अन्यसँग साट्नु गलत होइन, खालि आफ्नो अनुभव साट्ने बहानामा बच्चालाई ‘हाँसोको पात्र’ बनाउनु भएन । घरभित्र जे गरे पनि, इन्टरनेटमा भेटिने पराइले तपाईंको बच्चालाई प्रेम गर्दैन । त्यो ध्रुवसत्य हो । त्यसैले जहिले पनि बच्चासँग मिलेर हाँस्नुहोस्, बच्चाप्रति नहाँस्नुहोस् ।

लेखकहरू मनोवैज्ञानिक हुन् ।

न्युयोर्क टाइम्सबाट अनुदित ।

प्रकाशित : भाद्र २१, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?