कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नक्कली किताबको बिगबिगी

डेभिड स्ट्रेटफेल्ड

विख्यात लेखक जर्ज अर्वेलले लेखेका ‘१९८४’ अंग्रेजी साहित्यको अद्वितीय किताबलाई धेरैपटक पुनर्लेखन गरिएको छ र हरेकपटक त्यसको भाषा चलाइएको छ । त्यो सुन्दर कृतिको भाषा अकल्पनीय रूपमा ध्वस्त बनाइएको छ ।

नक्कली किताबको बिगबिगी

अहिले केही लेखकका आफ्नै शब्द पनि विश्वको सबैभन्दा ठूलो ‘भर्चुअल’ किताब पसल एम्याजोनमा भेटिने नक्कली किताबमा जथाभावी चलाउन थालिएको भेटिन्छ । त्यो स्थानमा सर्वाधिकार कानुनको खासै महत्त्व छैन जस्तै देखिन्छ । अर्वेलको इज्जत त सुरक्षित होला, तर उनका वाक्य असुरक्षित छन् ।


केही सातायता मैले एम्याजोनबाट अर्वेलका केही दर्जन नक्कली तथा अवैधानिक किताबहरू किनेंँ । त्यसमध्ये केही भारतमा प्रकाशित थिए । लेखकले भारतमा बसेर लेखेको किताब अमेरिकामा बेचिंँदै थियो, जहाँ लेखक सर्वाधिकार सम्पन्न छ । अन्य केही भने सम्पूर्ण रूपमा नक्कली थिए । जस्तो कि उनको आत्मकथा ‘डाउन एन्ड आउट इन पेरिस एन्ड लन्डन’ । यो किताब उच्च माध्यमिक तहका विद्यार्थीका लागि सम्पादन गरिएको थियो । उनका किताब रेखदेख गर्ने सम्पूर्ण जिम्मेवारी पाएको संस्थाले यसबारे कुनै जानकारी नभएको र त्यसो गर्न अनुमति नदिइएको बतायो । किताब भने एम्याजोनकै भगिनी संस्थाले प्रकाशित गरेको हो । केही नक्कली किताब प्रकाशकहरू त अर्वेलको ‘क्लासिक’लाई आफ्नै सम्पत्ति भन्दै सर्वाधिकार पनि आफ्नै नाममा रहेको दाबी गर्छन् ।


यी र यस्ता सबै किताब बीचको समानता के हो भने– यी कुनैले पनि लेखकलाई एक सुको दिँदैनन् । यसै कारण उनीहरू अर्वेलको सक्कली प्रकाशनभन्दा निकै कम मूल्यमा उपलब्ध हुन्छन् । आखिर ‘एनिमल फार्म’ वा ‘१९८४’ विद्यालयका लागि चाहियो भने कसले प्रकाशन गर्‍यो भनेर कसले पो सोच्छ ? किनभने ‘१९८४’ को सबै संस्करणहरू एकै त हुन्, हैन र ? सधैं त्यस्तो नहुन सक्छ । एम्याजोनमा त त्यस्तो हुँदैन ।


एकजना पाठक ‘१९८४’ को आफ्नो नयाँ किताब पढेर अचम्ममा परे । त्यसका केही खण्डहरू फरक थिए । अर्कोले तस्बिर नै खिचेर प्रमाण पेस गरिन्— किताब पूरा अस्पष्ट थियो । तेस्रोले भन्यो— मेरो किताबमा त ‘फेसेस’ (अनुहारहरू) भन्ने शब्दलाई ‘फिसिस’ (आची) शब्दले प्रतिस्थापित गरिएको छ । अर्विलको किताब किन्दा केही पेज नहुनु भनेको सामान्य नै भइसक्यो ।


केहीमा त शीर्षक नै परिवर्तन गरिएको हुन्छ । ‘एनिमल फार्म : ए फेरी स्टोरी’को एउटा संस्करणको ब्याक कभरमा लेखिएको थियो, ‘एनिमल्स फार्म : ए फेयर स्टोरी’ । भूमिकाले अर्वेलको अर्को चर्चित किताब ‘होमेज टु क्याट्यालोनिया’लाई ‘होमपेज टु क्याट्यालोनिया’ उल्लेख गरिएको छ ।


नक्कली किताबको बढ्दो संख्याका बारे केही लेखेपछि मैले एम्याजोनमा अर्वेलका कति किताब छन् भनेर खोज्न थालेँं । नक्कली किताबको बिगबिगी बढेपछि एम्याजोनले प्रकाशकहरूलाई सक्कली किताबको विज्ञापन गर्न प्रोत्साहित गरेको पाएँ । कम्पनीको एक ब्लग पोस्टमा नक्कली सामग्रीलाई प्रतिबन्ध गरिएको र नक्कली सामग्रीलाई रोक्न व्यक्तिगत र प्राविधिक रूपमा पनि धेरै मिहेनत गरेको उल्लेख थियो ।


तर केही साता अगाडि एम्याजोनले विज्ञप्ति प्रकाशित गर्दै हरेक देशमा हरेक किताबको सर्वाधिकारको स्थिति वा स्रोत परीक्षण गर्न नसकिने हुँदा प्रकाशक र लेखकलाई नै साइटमा हेरेर रिपोर्ट गर्न भनेको थियो । ‘यो सबै खुद्रा व्यापारीका लागि गाह्रो विषय हो,’ विज्ञप्तिमा भनिएको थियो । कम्पनीका अनुसार यस सन्दर्भमा ‘मेसिन लर्निङ’ तथा प्रविधिको प्रयोग निष्प्रभावी देखिएको छ । किनभने सत्य के हो भनेर केलाई आधार मान्ने भन्ने स्रोत नै छैन ।

किताब बेच्नु भनेको एतिहासिक र जटिल पेसा हो । र नक्कली सामग्री कुनै पनि बेला आफ्नो दराजमा देखिन सक्छ । तर एम्याजोन भनेको विश्वकै सबैभन्दा ठूलो किताब पसल हो र त्यसले राखेको मानकले सबैलाई असर गर्छ ।

एम्याजोनले विशेष गरेर अर्वेलका किताबलाई कसरी व्यवहार गर्छ भन्ने धेरै हदसम्म अर्थ राख्छ । सन् २००९ मा एम्याजोनले ‘१९८४’ र ‘एनिमल फार्म’को सम्पूर्ण नक्कली संस्करण ग्राहकहरूको किन्डलबाट हटाइदियो । जसका कारण पाठकहरूलाई आफ्नो अनलाइन पाठशाला आफ्नो नियन्त्रणमा नभएको पहिलोपटक भान लाग्यो ।


मैले अनलाइनमा फेला पारेका अर्वेलका किताबहरूमा धेरै त्रुटि छन् । एम्याजोनले उनका ११ वटा किताब नयाँ भनेर बेचिरहेको छ र ती सबै एम्याजोनको गोदामबाट नै वितरण गरिएका छन् । तेस्रो पक्षले बिक्री गरिरहेको एउटा किताबको मूल्य ३ डलरदेखि २३ डलरसम्म पर्छ ।


नक्कली त्यसमा पनि आयातित किताबको मूल्य निकै न्यून हुन्छ । र त्यो खरिद गर्ने मान्छेलाई दोष दिनु पनि बेकार छ । ७.९९ डलर पर्ने ‘१९८४’ को वैधानिक संस्करण एम्याजोनमा ७२ नम्बरमा पर्छ । र भारतबाट आयात गरिएको फर्जी किताब भने ९७० नम्बरमा पर्छ । यसले नक्कली भए पनि किताब बिक्री भइरहेको छ भन्ने देखाउँछ ।


प्राय: नक्कली किताबमा शब्दहरू बेवास्ताका कारण बिग्रिएका हुन्छन्, तर विरोधाभाष के भने उनीहरूले सकेसम्म अर्वेलका किताबलाई सुदृढ बनाउन खोज्छन् । उनको १९३३ को आत्मकथाको ‘उच्च माध्यमिक संस्करण’ त्यस्तै छ । त्यसको सम्पादकका रूपमा मोइरा प्रोप्रियटको नाम उल्लेख छ । तर उनी वास्तविक हुन् कि काल्पनिक पत्ता लगाउनै कठिन छ ।


अर्वेलको भाषामा प्रोप्रियटले आफूले आफैंलाई सम्पादक घोषणा गरेर मिठास भर्न खोजेकी छिन् । तर त्यो निकै ध्वस्त छ । उदाहरणका लागि चार्ली भन्ने बलात्कारी पात्रले एक युवतीलाई आफ्नो चङ्गुलमा पार्नका लागि भन्छ–

‘कम हेयर माई चिकेन,’ आई कल्ड हर ।


(‘यता आऊ मेरी प्यारी,’ मैले उसलाई भनें ।)

प्रोप्रियटको संस्करण :

‘कम हेयर,’ आई कल्ड हर ।

(‘यता आऊ,’ मैले उसलाई भनेँ ।)

अंग्रेजी वाक्य गठनमा महारथ हासिल गरेका अर्वेललाई यस्तो सम्पादन सायदै पच्थ्यो होला । यस्तै किताबमा सबै फ्रेन्च शब्दलाई ठूलो अक्षर बनाइएको छ । जसको अर्थ लेखक पाठकलाई चिच्याइ–चिच्याइ सुनाइरहेका छन् भन्ने लाग्छ । त्यो पनि सही होइन ।

अहिलेसम्म अर्वेलका कृतिहरूको सुदृढीकरणका लागि राम्रो व्यापारिक योजना थिएन । तर एम्याजोनले त्यो बन्द ढोका अगाडि बारुद नै पड्काइदियो । अब बजार निर्धारणको निर्णय गर्ने अधिकार प्रकाशक, किताब पसले वा समीक्षकहरूको हातबाट गुमिसकेको छ । अब त ठिकठाकका किताब पनि सबैका लागि सबैतिर उपलब्ध हुन्छन् ।

एम्याजोनले ढोका भत्काइदिएसँगै कस्तो गुणस्तरको किताब बेच्ने भन्ने सरोकार नै नभएकाहरूका लागि सहज भएको छ ।


‘हप्तैपिच्छे एउटा नक्कली किताब भेटिन्छ,’ अर्वेल इस्टेटका एजेन्ट बिल ह्यामिल्टनले भने, ‘कहिले एम्याजोनजस्तो ठूलो कम्पनीले यसको जिम्मा लिएर आफैंले वितरण गरिरहेको वस्तु सही छ या गलत भनेर ध्यान दिने ?’

यदि एम्याजोनले आफूकहाँ सूचीकृत हरेक किताब पल्टाएर हेर्न थाल्ने हो भने त्यसका लागि सयौं जनशक्ति आवश्यक पर्छ । त्यसले मूल्य बढाउँछ र नाफा घटाउँछ । मैले आफ्नो एम्याजोन एकाउन्ट खोलेर उनीहरूले मलाई नक्कली किताब बेचिरहेको बताउँदा त्यहाँबाट ‘रिपोर्ट गर्नुहोस्’ भन्ने सन्देश जवाफमा आयो ।


लेखकहरूको सञ्जालका अनुसार दुई वर्षयता नक्कली किताबहरूलाई लिएर उनीहरूको कानुनी विभागमा उजुरी दिनेको संख्या दस गुणाले बढेको छ । नक्कली संस्करण किताबका लेखक वा प्रकाशकका लागि ठूलो धक्का हो र साथै यसले गलत सूचना प्रवाहलाई पनि बढावा दिन्छ ।


मैले खरिद गरेको ग्रेपभाइन इन्डियाद्वारा प्रकाशित भनिएको अर्वेलको ‘एनिमल फार्म’को सर्वाधिकार उल्लेख भएको पृष्ठमा लेखिएको छ, ‘लेखक सबै व्यक्ति, संस्था र समुदायको आदर गर्छन् र यो उपन्यासको माध्यमबाट कुनै पनि व्यक्ति, संस्था वा समुदायको भावनामा चोट पुर्‍याउन चाहँदैनन् ।’


अर्वेलले त्यस्ता केही पनि कुरा कहिल्यै उल्लेख नगरेको उनको संस्थाले स्पष्ट पारेको छ । १९४५ मा लेखिएको उपन्यासमा २०१९ को भावना घुसाइयो भन्ने यसैबाट स्पष्ट हुन्छ । तर एनिमल फार्मको यो संस्करणमा लेखक र उनको इतिहासको कुनै उपस्थिति नै छैन । त्यहाँ १९४५ को कुनै कुरा उल्लेखै छैन ।

‘पोलिटिक्स एन्ड इङ्लिस ल्याङ्वेज’मा अर्वेलले लेखेका छन्, ‘हाम्रो भाषाको भद्रगोलताले हामीलाई बेकारको कुरा सोच्न सजिलो बनाएको छ ।’ उनको यो अभिव्यक्ति ‘एनिमल फार्म’को अर्को संस्करण प्रकाशन गर्ने भारतीय संस्था आदर्श बुकले सही ठहर्‍याउँछ । एउटा परिचयात्मक खण्डमा यस्तो लेखिएको छ— ‘जब जनावरहरू, जो उपन्यासका पात्र पनि हुन्, उनीहरूले शब्दहरू विभिन्न तरिकाले पढ्न खोज्छन्, त्यसले पाठकलाई अनायासै खुसी तुल्याइदिन्छ ।’


ग्रेपभाइन र आदर्शले यी किताब भारतमा त प्रकाशित गर्न पाउलान् । तर के ती अमेरिकामा पनि बेच्न पाइन्छ भनेर मैले एम्याजोनलाई सोधेंँ । उनीहरूले अमेरिकामा बेच्न नमिल्ने बनाए । उनीहरूले मैले उल्लेख गरेका अन्य नक्कली किताब पनि हटाए ।


अहिले पुन: ठूला प्रकाशकहरू एम्याजोनको इ–रिडिङ विरुद्ध जाग्न थालेका छन् । उनीहरूको आवाजले स्थान पनि पाउन थालेको छ । उनीहरूको संस्था अमेरिकी प्रकाशक एसोसियसनले संघीय व्यापार आयोगमा निकै धेरै अनुसन्धान गरेर तयार पारेको खोजमूलक विश्लेषण बुझाएको छ । किताबहरू परिवर्तन हुँदैछन् । र पाठकहरू पनि जाग्दैछन् ।


स्ट्रेफेल्डले प्रविधि र त्यसले २० वर्षसम्म पार्ने असर सम्बन्धी विषयमा लेखेका छन् ।

उनी २०१३ को पुलिट्जर पुरस्कार प्राप्त गर्ने समूहका एक सदस्य हुन् ।

(द न्युयोर्क टाइम्सबाट अनुदित)


प्रकाशित : भाद्र १४, २०७६ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?