मञ्जुरी विना हुने अनलाइन हिंसा- विविधा - कान्तिपुर समाचार

मञ्जुरी विना हुने अनलाइन हिंसा

रीताश्री बरामु

हामीकहाँ सम्बन्धमा ‘कन्सेन्ट’ अर्थात् सहमति र मञ्जुरीका कुरा त्यति बहसमा आउने गर्दैन । प्रेम सम्बन्धलाई त्यति खुला रूपमा नस्वीकार्ने र यौनलाई अश्लील मानिने हुँदा यस्ता विषयको बहस घोषित/अघोषित रूपमा सतहमा आउन पाएको छैन । त्यसो त व्यक्ति–व्यक्तिबीच असमान शक्ति सम्बन्ध भएको हाम्रो समाजमा सहमतिको नियमलाई पालन गरी आफूमा निहित शक्ति बाँड्न को तयार होस् र मञ्जुरीका कुराले सम्बन्धमा स्थान पाउन् ?

त्यसमा पनि अनलाइनमार्फत निर्वाह गरिने सम्बन्धमा मञ्जुरीका कुरा उठ्नु त अझ परको विषय हो । तर सोच्दा सानो लागे पनि यी विषय महत्त्वपूर्ण छन् र सबैले यसको ख्याल गरेमा इन्टरनेट सबैका लागि सहज र सुरक्षित स्थान बन्न सक्छ ।


अनलाइनमा मञ्जुरीका कुरा गर्दा केही उदाहरण हेरौं । जस्तो– हामी इन्टरनेटको दुनियाँमा दैनिक सयर गरिरहेका हुन्छौं । कोही काम विशेषले, कोही मनोरञ्जन वा कोही ज्ञानगुनका कुरा सिक्न । यस्तो बेला साथीहरूले हामीलाई हत्त न पत्त अनलाइन देखेर अडियो वा भिडियो कल गर्छन् ।


उनीहरू आफूले सम्पर्क गर्न चाहेको व्यक्ति के गर्दैछ ? कुन हालतमा हुन सक्ला ? त्यतिबेला उसलाई कुरा गर्ने इच्छा हुन सक्ला वा नसक्ला ? वा ती व्यक्ति अडियो/भिडियोमा सहज छ वा छैन आदि केही कुराको ख्याल गर्दैनन् । त्यस्तै कोही व्यक्ति तपाईंसँग भर्खर फेसबुक वा भाइवरमा जोडिएको छ । तपाईंलाई उसको इच्छा बमोजिम जतिबेला मन लाग्यो कल गर्छ । तपाईंलाई त्यो व्यक्ति मनपर्छ वा काम लाग्न पनि हुनसक्छ । तर उसका व्यवहारले तपाई हैरान हुनुभएको छ । अब के गर्ने ?


केही समयअघि यस्तै भयो । साथीहरूले हाइ–हेल्लो भन्नलाई नै कल गरेका थिए । तर म आफूलाई क्यामेरा वा भ्वाइसमैत्री ठान्दिन । त्यस्ता कलहरू म अफिसियल बाहेक सकेसम्म उठाउँदै उठाउँदिन । पछि मैले आपत्ति जनाउँदै तिमीहरू किन त्यसरी अकस्मात कल गर्छौ भन्दै म्यासेज लेखेँ । उनीहरूले मेरो आपत्तिको गहिराई बुझ्दै बुझेनन् । एउटाले भने, ‘के भो त कल गर्दा ?’


अर्कोले ए, कल नगर्नु पर्नेथ्यो ? लौ अबदेखि नगरौंला नि भनेर घुर्क्यायो । मेरो मतलब त्यो थिएन । सकेसम्म त म व्यक्तिले आफ्नो सहजता अनुसार म्यासेज हेरोस् र जवाफ पठाओस् भनी टेक्सट म्यासेजमै कुरा गर्छु । अपर्झट परेका बेला फोनमा कुरा गर्ने हो भने फुर्सद छ/छैन, कुराकानी गर्न मिल्छ/मिल्दैन अनुमति लिएर मात्र गर्छु । र म आफूमाथि पनि त्यस्तै व्यवहारको अपेक्षा गर्छु । जुन विरलै मात्र भेटिन्छ । त्यसैले हरसम्भव यस्तो जबर्जस्तीबाट बच्ने उपाय लगाउने गर्छु । तर पनि आफूले केही गल्ती गरेकै जस्तो भाग्दै, लुक्दै हिँड्नुमा हैरानी त हुन्छ नै ।


यस्ता व्यवहारको सिकार साधारणतया सबै हुन सक्छन् । तर हाम्रो समाजको शक्ति संरचना र प्रचलनका कारण महिला र अल्पसंख्यकहरू बढी प्रभावित छन् । कुराकानीको सुरुवात नगर्दै अकस्मात उनीहरूको इनबक्समा आउने अप्रत्यासित पुरुष यौनाङ्गका फोटाहरू कैयौं उदाहरण मध्येको एक हो ।


दुबैको मञ्जुरीमा त्यस्ता फोटाहरू सेयर गर्ने हो भने कुनै पक्षलाई पनि आफ्नो अपमान भएको महसुस हुँदैन होला । बरु ती क्षण सुखमय बन्छन् होला । बस्, यसमा दुबैको सहमति हुनुपर्‍यो । फेरि एक पटकको सहमति पटक–पटकका लागि हुँदै होइन भन्ने पनि बुझ्नुपर्छ । सहमतिको हरेकपटक ख्याल गरिनुपर्छ । तर माथिका घटनामा दोस्रो व्यक्तिको मञ्जुरीको बेवास्ता गरिएको प्रस्टै देखिन्छ ।


कतिले इन्टरनेट भित्र (अनलाइन) र इन्टरनेट बाहिरको (अफलाइन) दुनियाँ अलग–अलग मान्ने गर्छन् । कति हिसाबमा यी दुई अलग पनि हुन् । तर मानवीय व्यवहार झल्किने क्रममा यो भिन्नता यहींनिर आएर नामेट हुन्छ । अफलाइन दुनियाँमा हामीमध्ये कति अस्तव्यस्त छौं । साथीको कपडा/व्याग/जुत्ता उसलाई नसोधीकनै प्रयोग गर्नु त साधारण हो ।


उसले आपत्ति जनायो भने ह्या कस्तो खाइदिने जस्तो गर्छ यार फिर्ता गर्दिहाल्छु नि भनेर उल्टो घुर्क्याइन्छ । कसैलाई इच्छा होस्/नहोस्, जबर्जस्ती मद्यपानका लागि कर गरिएको पनि प्रशस्तै देखिएकै हो । हामीलाई लाग्छ, साथी हो यति त चलिहाल्छ नि । साथीको लागि त्यति पनि नगरिदिने ? यही घम्साघम्सीमा कसैको व्यक्तिगत घेराभित्र पसी उसको सहमतिलाई हामी कुल्चिन पुग्छौं ।

त्यस्तै अफलाइनका व्यवहार नै अनलाइनमा झल्किने हो ।


अरुको होइन, आफ्नो अनुकूलता र इच्छा बमोजिम मात्र चल्न खोज्दा अनलाइन र अफलाइन दुबै स्थानमा हामी अनुमति वा मञ्जुरीका कुरालाई कुल्चिन्छौं । त्यसो गर्नु भनेको जानी/नजानी अरुमाथि हिंसा गर्नु हो । यसरी धेरै कारणमध्ये मञ्जुरी विना पनि अनलाइन हिंसा भइरहेका छन् । फलस्वरुप इन्टरनेटमा गलत मान्छे छन् । तिमीहरूमाथि शोषण, अपमान वा हिंसा हुनसक्छ भन्ने कारण देखाई महिला र अल्पसंख्यहरूमाथि उनीहरूका आफन्त परिवारजनबाट इन्टरनेट चलाउनमै बन्देज लाग्न सक्छ ।

इन्टरनेट आज ज्ञान र सूचनाको स्रोत हो । यो शक्तिको पनि स्रोत हो । कुनै समुदायलाई इन्टरनेटको दुनियाँबाट बञ्चित गरिनु भनेको उनीहरूलाई महत्त्वपूर्ण स्रोतबाट बञ्चित गरिनु हो । यसर्थ हामीले इन्टरनेटको दुनियाँलाई सुरक्षित र मर्यादित बनाई सबैलाई त्यसमा सहज पहुँच मिल्न सक्ने वातावरण तयार गर्नुपर्ने हुन्छ । जसको सुरुवात अनलाइनमा अरुका सहमति/ मञ्जुरीको कदर गरेर गर्न सकिन्छ ।


लेखिका जेन्डर स्टडिजमा स्नातकोत्तर गर्दैछिन् ।

प्रकाशित : श्रावण २५, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्

जस कम, जिम्मा धेरै

उपेन्द्र पौडेल

केही दिनअघि एउटा दुस्वप्न जस्तो समाचार आयो— कञ्चनपुरका लिटिलबुद्ध एकेडेमीमा कक्षा १२ मा पढ्ने सुरज लेखकले सुसाइड नोटमा प्लस टु कोअर्डिनेटर हरिलाल जोशीलाई दोषी ठहराउँदै आत्महत्या गरे । लगत्तै अर्को समाचार आयो— उक्त शिक्षक विरुद्ध विद्यार्थीका पिताले किटानी जाहेरीसमेत दर्ता गराए । 

कारण जेसुकै होस्, कसैको जीवनको अन्त्य हुनु औचित्यपूर्ण हुन सक्दैन । सुरज लेखकको परिवारलाई परेको आघात र अभावको क्षतिपूर्ति कुनै पनि कुराले दिन सक्दैन । यसका बाबजुद सुरजको आत्महत्या आत्महत्या मात्र होइन, यो हाम्रो शिक्षा प्रणाली र पद्धतिले जन्माएको एक जल्दोबल्दो ‘इस्यु’ पनि हो । हाम्रा विद्यार्थीहरू किन आत्महत्या जस्तो बाटो रोजिरहेछन् ? के शिक्षकहरू नै यसमा सम्पूर्ण दोषका भागिदार हुन् त ? अब थप छलफल आवश्यक देखिएको छ ।

हाम्रा विद्यालयहरूमा जब अभिभावक विद्यार्थी भर्ना गर्न आउँछन्, बडा प्रेमिल र विनयी भावमा भन्छन्, ‘लौ हजुर छोराछोरी तपाईको जिम्मा लगाइयो ।’ शिक्षकहरू पनि गौरवसाथ स्वीकृतिमा मुन्टो हल्लाउँछन् । त्यसपछि अधिकांश अभिभावकहरू मुस्किलले वर्षमा एक दुईपटक विद्यालय आउँछन् । आफ्नो व्यस्त दैनिकीबाट केटाकेटीका बारेमा सोधपुछ र छलफलका लागि नगन्य समयमात्रै निस्कन्छ, अभिभावकको ।

विद्यार्थी शिक्षक अनुपात यसै पनि बढिरहेको हाम्रोजस्तो मुलुकमा वैयक्तिक हेरचाह हुने कमै सम्भावना देखिन्छ । विद्यार्थी र शिक्षकबीच छलफल सहकार्य र साझेदारीमा भन्दा पनि प्रवचन वा लेक्चर विधिबाट अध्यापन हुने हाम्रा विद्यालयहरूमा शिक्षक र विद्यार्थीबीच यथेष्ट सञ्चार छैन । तर जब केही दुर्घटना हुन्छ, त्यसको सम्पूर्ण जिम्मेवारी शैक्षिक संस्थाका शिक्षकले वरण गर्नुपर्ने देखिन्छ ।

शिक्षण पेसामै २० वर्ष बिताएको अनभुवको आधारमा ‘शिक्षण जागिर होइन, जिम्मेवारी हो’ भन्ने बुझाइले हुर्किएँ । निश्चित घन्टा (डिउटी आवरसम्म) मात्रै विद्यार्थीको शैक्षिक, व्यावहारिक र अन्य क्रियाकलापको जिम्मेवारी वहन गर्ने मान्छे शिक्षक हुनै सक्दैन । यसरी त ऊ बस् सामान्य जागिरे बन्छ । विद्यार्थीको अन्य समय र क्रियाकलापमा पनि निर्देशन, निरीक्षण र चासो शिक्षण पेसाको अभिन्न कर्म हो । होइन भने विद्यालय छुट्टी भएपछि विद्यालयको गेट बाहिर अवाञ्छित क्रियाकलापमा कोही विद्यार्थी भेटिएमा वा शिक्षकको सहयोगको अपेक्षा गरेमा शिक्षकले आँखा चिम्लन कहाँ मिल्छ र ?

शिक्षकले दायित्व महसुस गरी शैक्षिक संस्थाभन्दा बाहिर भेटिएका विद्यार्थीको चासो गर्दा विद्यार्थीको व्यक्तिगत जिन्दगीलाई हस्तक्षेप गरेको भन्ने आरोप खेप्नुपर्छ । विद्यार्थीहरूको सही दिशा देखाउने क्रममा विद्यालय समयभन्दा बाहिर पनि विद्यार्थीहरूलाई सम्झाउने–बुझाउने हक शिक्षकले निश्चय नै राख्छ । तर उनीहरूको मनोभावना चोट नपुग्नेगरी सम्झाइ–बुझाइ गर्नुपर्छ भन्नेमा सचेत हुनैपर्छ ।

सामाजिक सञ्जालमा आफ्ना नानीबाबुको शैक्षिक उपलब्धिसहित बधाई पोष्ट गर्ने थुप्रै अभिभावक छन् । यसरी राखिएका अधिकांश बधाईका पोष्टमा धेरै कम अभिभावकले मात्रै आफ्ना नानीबाबुको शैक्षिक उपलब्धिमा विद्यालय र शिक्षकलाई समेत धन्यवाद भन्ने गरेको भेटिन्छ । कुरा सामान्य लाग्न सक्छ । सफलतामा जश नदिने तर उनीहरूको असफलता वा खराब उपलब्धिमा भने विद्यार्थीकै अगाडि शैक्षिक संस्था वा शिक्षकप्रति आग्नेय भएर प्रस्तुत हुने हाम्रा अभिभावकहरूको बानीले समेत शैक्षिक संस्था या अध्यापकहरूप्रति उनीहरूको धारणा स्पष्ट देखाउँछ ।

कुनै समय थियो, जहाँ छोरीको बिहे गराउनदेखि भैँसीको उपचारसम्म शिक्षककै भर पर्ने गरिन्थ्यो । शिक्षक सर्वज्ञाता भन्ने विश्वासले जरो गाडेको थियो । तर ज्ञान, विज्ञान र प्रविधिको विकाससँगै शिक्षक पनि सर्वज्ञाता हुँदैन भन्ने कुरामा अब कसैको दुईमत छैन । आफूले अध्ययन गरेको विषय बाहेक अरु कुरामा शिक्षक पनि अरुजस्तै आधारभूत ज्ञानमात्रै राख्छ । तर हामी भने एउटा शिक्षकमा सम्पूर्णता खोजिरहेछौँ ।

विषयगत रूपमा नियुक्त भएको शिक्षक आफ्नो विषयमा पारंगत हुनसक्छ । विद्यार्थीको मनोभावनाको सामान्य बुझाइ राख्न पनि सक्छ । तर विद्यार्थीको मानसिक र आवेगात्मक संवेदना बारेमा परामर्श गर्न ऊ पूर्ण मान्छे होइन । विद्यार्थीलाई सजाय दिन बन्द गर्नुपर्ने कुरामा दुईमत छैन ।

तर परम्परागत ढंगले सजाय दिन बन्द गरेपछि उनीहरूको आवेग र गल्तीलाई सही दिशामा निर्देशित गर्न बौद्धिक एवं आध्यात्मिक चिन्तक वा परामर्शदाता मार्फत सही परामर्श दिलाउने कुरामा शैक्षिक संस्थाहरूले फिटिक्कै रुचि देखाएको देखिँदैन । शिक्षक यतिबेला वास्तवमा भूपिको कविताको पैतालामात्र भएको छ । विद्यालयले उत्कृष्टता हासिल गरे अवार्ड थाप्न प्रिन्सिपल दौडन्छ । उत्कृष्ट भए बापतको छात्रवृत्ति विद्यार्थी थाप्छ ।

विद्यालयको उत्कृष्टताले विद्यार्थी धेरै भर्ना भएर हुने आम्दानी सञ्चालकको गोजीमा जान्छ । आफ्नो सही अभिभावकत्वले बाबुनानीले उत्कृष्टता हासिल गरेको गौरवबोधले पत्रिकामा बधाई छाप्छ, अभिभावक । रातोदिन खट्ने शिक्षकचाहिँ उस्तै परे एउटा स्यावासीको भागिदार बन्दैन ।

कारणवशः नतिजा राम्रो आएन वा विद्यालयमा केही दुर्घटना घटेमा त्यसको सम्पूर्ण जिम्मेवारी शिक्षकको थाप्लोमा आइपर्छ । सञ्चालक मिटिङ राखेर मास्टर थुर्छ । प्रिन्सिपल शिक्षक लापरबाह भएको आरोप लागाउँछ । अरु त अरु अभिभावकसमेत त्यसको सम्पूर्ण जिम्मेवार शिक्षकलाई ठहर्‍याउँछन् । गरेको जश नपाउने र नगरेको जिम्मा पनि लिनुपर्ने यो दोहोरो मापदण्ड कहिलेसम्म लागू हुन्छ, शिक्षकका लागि ?

चौबीस घन्टामा १८ घन्टा विद्यार्थी अभिभावको छहारीमा हुन्छ र मात्रै ६ घन्टा विद्यालयको संरक्षकत्वमा । तर पनि विद्यार्थीको सम्पूर्ण जिम्मेवारी विद्यालय र शिक्षकको ठहर्छ । घरमा आएका पाहुनालाई नमस्कार गरेन भने पनि त्यसको दोष विद्यालय र शिक्षकको थाप्लोमा पर्छ । आफ्ना छोराछोरीको साथीसंगती कस्ता छन् ? उनीहरू कुन च्यानल बढी हेर्छन् ? इन्टरनेटमा कस्ता साइटभिजिट गरिरहेछ ? कोठामा कस्ता सामान भेटिन्छन् ? घर–परिवारसँग कत्तिको घुलमिल हुन्छन् ? सामान्य संस्कार सिकेका छन् कि छैनन् ? यी र यस्ता कुरामा अभिभावकको ध्यान त्यति साह्रो पुगेको देखिँदैन ।

अभिभावक र नानीबाबुहरूको बीचमा पनि सम्बन्ध सुमधुर भएको देखिँदैन । उनीहरूलाई परेका समस्याका बारेमा अभिभावकसित निर्धक्कसँग कुरा गर्ने वातावरण अभिभावकले तयार गरेको भेटिँदैन । नानीबाबुहरू अभिभावकसँग डराएर आफ्नो समस्यासमेत खोल्न नसक्ने परिस्थितिको सिर्जनाले भित्रभित्रै पिल्सिइरहेका छन् ।

सामान्यतया कक्षा बंक गर्ने, हल्ला गर्ने, ध्यान नदिने वा अन्य अवाञ्छित क्रियाकलापमा संलग्न हुने विद्यार्थीको पारिवारिक पृष्ठभूमि केलाउँदै जाने हो भने घरपरिवारसँग केही न केही समस्या रहेको देखिन्छ । कि ऊ धेरै प्रेम र लाडप्यारले पुलपुलिएको छ वा अभिभावकको रेखदेख र समयको कमीले एक्लो महसुस गरेर ‘अटेन्सनसिकिङ’ अथवा ध्यान तान्नका लागि यस्ता क्रियाकलाप गरिरहेछ ।

सुरज लेखकको सुसाइड नोटलाई नजिकबाट केलाउने हो भने आफ्ले गरेको वा नगरेको गल्ती आफ्ना अभिभावकले थाहा पाएपछि त्यसबाट उत्पन्न हुने परिस्थितिको आँकलन गर्दै सामना गर्ने हिम्मत गुमाएपछि आत्महत्याको बाटो समाएको देखिन्छ । भनिन्छ, छोराको जुत्ता मिल्न थालेपछि ऊसँग साथीको व्यवहार गर्नुपर्छ । त्यसैले अभिभावकहरू पनि ‘रियाक्टिभ’ होइन, ‘रेस्पोन्सिभ’ हुन जरुरी देखिन्छ । आफ्ना नानीबाबुको कुरा सुनेर तत्काल प्रतिक्रिया होइन, परामर्शमा जोड दिनुपर्ने खाँचो खड्किन्छ ।

समाचार भन्छ— आत्महत्याको घटनापछि शिक्षक हरिलाल जोशीलाई विद्यालयले निष्कासन गर्‍यो । यस्ता घटनापछि विद्यालय प्रशासन शिक्षकलाई दोषी करार गर्दै निष्कासन गर्न आतुर देखिन्छ । सरकारी विद्यालयको शिक्षक हो र संघ–संगठनमा आबद्ध छ भने अलि हारगुहार पाउला, तर निजी संस्था हो भने उसको यसभन्दा अगाडि गरेको कामको सबै मूल्याङ्कन शून्यमा आइपुग्छ र ऊ तुरुन्तै बर्खास्ती वा कारबाहीमा पर्छ । शिक्षकलाई राखिराखेर किन कुनै तनाव व्यहोर्नु ? विष लागेको होस् कि नहोस्, औंला काटिदियो, समस्या चैट् ।

संस्थागत जिम्मेवारी बहन गर्ने बेलामा भएको दुर्घटनाको जिम्मेवारी संस्थाले लिने कि व्यक्तिको टाउकोमा थुपारेर विद्यालय पन्छिने ? वा अब थप दुर्घटना नहोस् भनेर शिक्षकहरूलाई बाल मानोविज्ञान आधारित तालिम, अभिमुखीकरण र छलफलमा सहभागी गराउने ? दूरगामी समाधानमा भन्दा क्षणिक कदम अपनाएर स्थितिलाई शान्त पार्न खोज्ने प्रवृत्तिले शिक्षक र विद्यार्थी दुबैलाई थप जोखिमतर्फ धकेलिरहेको छ ।

अन्त कतै गतिलो जागिर नपाएपछि शिक्षणमा छिर्छन् भन्ने मानसिकताले नेपालमा यो पेसालाई लिएर गम्भीर बहस भएन । उदाहरण दिँदा फिनल्यान्डको शिक्षा पद्घतिको दिने तर शिक्षण पेसालाई हेयको दृष्टिले हेर्ने हाम्रो सोच नै विरोधाभाषपूर्ण छ । फिनल्यान्डको शिक्षा पद्धति उत्कृष्ट हुनुमा शिक्षकको सामाजिक हैसियत उच्च हुनुलाई पनि एक कारण मानिन्छ ।

वार्केफाउन्डेसनको २०१८ मा विश्वभरिका ३५ देशमा गरेको सर्वेक्षणका आधारमा प्रकाशित ग्लोबल टिचर स्टेटस इन्डेक्सका आधारमा विश्वका उत्कृष्ट १४ पेसा व्यवसायमध्ये चिकित्सा पहिलो स्थानमा र शिक्षण सातौं स्थानमा छ । चीन, मलेसिया, ताइवानजस्ता मुलुकमा शिक्षकहरूको तलब कम भए पनि सामाजिक हैसियत उँचो छ । हाम्रोमा शिक्षणलाई आफ्नो रुचिको पेसाका रूपमा अंगीकार गर्नेहरू असाध्यै कम छन् ।

शिक्षण पेसामा रहेकामध्ये केही आफ्नो जिम्मेवारी बहन नगर्ने र शिक्षकको आचारसंहिता विपरीत व्यवहार गर्ने खराब आचरण र नियतका शिक्षक पनि छन् । बलात्कार वा अन्य यौन दुर्व्यवहार गर्ने, अंगभंग वा मरणासन्न हुनेगरी कुटपिट गरेर विद्यार्थीको ज्यान नै लिने पनि नभएका होइनन् । तर ती सीमित खराबहरूले गर्दा असलहरूसमेत आलोचित बन्नुपर्ने परिस्थिति सिर्जना हुनुचाहिँ दुःखलाग्दो हो ।

प्रकाशित : श्रावण २५, २०७६ ०८:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×