साइकल सहरको सपना

साइकल मैत्री सहर बनाउन  चाहिन्छ– सुरक्षित र सहज सञ्जाल । मानवोन्मुख नीति, दिगो योजना, सुरक्षित सवारी कक्षा, ‘राइड टु वर्क’ अभियान र ‘कार फ्रि डे’ जस्ता कार्यक्रम ।

मंसिर ८, २०७५

सोमराज राना

काठमाडौँ — बढ्दो प्रदूषण र ट्राफिक जाम कम गर्न साइकल उपयोगी छ । विश्वका विभिन्न सहर यस सम्बन्धी रणनीति बनाएर अगाडि बढिरहेका छन् । स्वास्थ्य समस्या कम गर्न र सहरिया जीवनको आनन्द लिन साइकल चढिन्छ । कम खर्चिलो पनि छ ।

कति सरकारले महत्त्व बुझेका छन्, दिन–प्रतिदिन नागरिकलाई साइकल चढ्न प्रेरित गरिरहेका छन् । कहीँ सामान्य संरचना र नीति नहुँदा साइकल प्रयोगकर्ता दिनहुँ घट्दैछन् । 


साइकलको महत्त्व नबुझ्नेमा काठमाडौं पनि एक हो । यति सानो सहर, लगभग समथर भूगोल, सहज मौसम र औसत यात्रा दूरी ५ कि.मि.भन्दा कम । तैपनि यसको प्रयोग घट्दैछ । सन् १९९१ मा साइकल प्रयोगकर्ता ६.६ बाट सन् २०११ मा आएर १.५ प्रतिशतमा झर्नुको प्रमुख कारण मोटरगाडी उन्मुख संरचना हो । वर्षेनि ८० हजार मोटरगाडी आयात गरेर, भाषणमा भनेजस्तो प्रदूषणरहित सहर बन्दैन । 


अठोटपूर्ण निर्णय

सर्वप्रथम सोच र नियत बदल्नुपर्छ । मेयर र सम्बन्धित अधिकारीले क्रान्तिकारी अठोट लिनुपर्छ । ठूला बाटामा साइकललाई पनि ठाउँ दिनुपर्छ । पैदल यात्रीको संख्या अध्ययन गरेर फुटपाथ बढाउनुपर्छ । ठाउँ हेरेर गाडी निषेधगरी हिँड्न प्रोत्साहन गर्नुपर्छ । कुन सडकमा कति साइकलमा यात्रा गर्छन्, कति पैदल ? त्यस अनुसार निर्माण किन हुँदैन ?


सन् १९७० तिर दक्षिण अमेरिकी मुलुक कोलम्बियाको राजधानी बोगोटा अहिलेको काठमाडौँजस्तै थियो । कारैकार मात्र । जति पनि सडक बन्थे, गाडीका लागिमात्र । सन् १९९६ मा मेयर एन्तनस मोकसले क्रान्तिकारी परियोजना सुरु गरे । लगत्तै १९९८ मा मेयर एनरिक पेनालोसाले दिगो विकासको योजना सुरु गरे, जसले साइकललाई यातायातको अभिन्न अंगको रूपमा स्थापित गराए । भित्री क्षेत्रमा कार निषेध गरी साइकलसंँगै बस रेपिड ट्रान्जिट र पैदलमैत्री संरचना विकास गरे । 


साइकल र पैदल यात्रालाई कसरी सार्वजनिक यातायातसंँग एकीकृत गर्न सकिन्छ भनेर बोगोटाबाट सिक्न सकिन्छ । सन् २००० भित्रै त्यहाँ १८० कि.मि. साइकल लेन बन्यो, अहिलेसम्म ३३७ कि.मि. । यो बृहत र एकीकृत साइकल सञ्जाल भएको सहरमध्ये एक हो । २००७ मा मात्र यहाँ लगभग ६४४९ टन कार्बनडाइ अक्साइड विसर्जन कम भएको छ । सार्वजनिक स्थल, खोला किनारा र सिमसार क्षेत्र संरक्षण र सम्बर्द्धन भएको छ ।


अहिले हाम्रो समाजमा मोटरगाडी र मोटरसाइकलका लागि सडक घटाउने र साइकलजस्तो सस्तो 

माध्यमलाई ठाउँ दिने निर्णय लिन सक्ने कोही मेयर वा महानिर्देशक छन् ?


नरम र गरम उपाय

साइकल मैत्री सहर बनाउन यसका संरचनासँगै प्रयोगकर्तालाई उत्प्रेरित गर्नुपर्छ । साइकल सञ्जाल सुरक्षित र सहज हुनुपर्छ । मानव उन्मुख नीति, दिगो गुरुयोजना, सुरक्षित सवारी क्लास, ‘राइड टु वर्क’ अभियान, ‘कार फ्रि डे’जस्ता कार्यक्रम ल्याइनुपर्छ ।


हामीकहाँ बिभिन्न सन्दर्भमा साइकल र्‍याली धेरै हुन्छन् । अब यसलाई मनोरञ्जनको मात्र होइन, दैनिक प्रयोजनको साधन बनाउन जरुरी छ ।


२०१७ को वार्षिक ‘साइकल रिपोर्ट’ अनुसार कोपनहेगन मा ४१ प्रतिशतले कलेज र कार्यालय जान साइकल यात्रा गर्छन् । यही कारण पनि हो, उक्त सहर संसारकै बस्नलायक भएको । 


वर्तमान बुझाइ 

अपूर्ण बुझाइ छ– यसै पनि जाम हुने सडकमा साइकललाई पनि ठाउँ दिँदा झन् धेरै जाम पर्दैन ? सडक झन् साँघुरो हुँदैन ? 


पहिला त सबै सडकमा साइकल लेन चाहिन्छ भन्ने होइन । जुन ठूला छन्, जहाँ मोटरगाडी धेरै गुड्छन्, त्यहाँ अलग साइकल लेन आवश्यक पर्छ । यसले साइकल प्रयोगकर्तालाई सुरक्षा प्रदान गर्छ । अरू नागरिकलाई पनि साइकल चलाउन आकर्षित गर्छ ।


अर्को, त्यस साइकल लेनमा हुइँकिनेहरू कोही नयाँ नभएर त्यही बाटोमा मोटरसाइकल र कार चढ्नेहरू नै हुन् । हाम्रो नीतिले यातायातको साधन परिवर्तन गर्न मद्दत गर्नुपर्छ । १० वर्गमिटर क्षेत्र ओगट्ने मोटरगाडी चलाउने १ वर्गमिटर ओगट्ने साइकल चलाउँदा मोटर बाटो कसरी साँघुरो हुन्छ ? जब कोही गाडी र मोटरसाइकल घरमै राखेर सार्वजनिक बसमा यात्रा गर्छन्, तब बाटो कसरी साँघुरो हुन्छ ? जब धेरैभन्दा धेरै मानिस छोटो दूरी रुखको शीतलमा पैदलमा यात्रा गर्छन्, अनि बाटोमा कसरी जाम हुन्छ ? सरकारको दृष्टि पो चाहिन्छ । 


नयाँ बनिरहेको त्रिपुरेश्वर–कलंकी ६ लेन सडक २२ मिटर चौडाइको हो । सबै सडक अधिकार मोटरगाडीलाई दिइएको छ । रोकी–रोकी मोटरगाडी पछि–पछि ज्यान जोगाउँदै साइकल चलाउनुको विकल्प छैन । यस्तो स्तिथिमा कतिजना साइकल चढ्लान् ? फुटपाथ त यति सानो छ कि सडकमा नझरी कोही हिँड्नै सक्दैनन् ।


२२ मिटर सडक अधिकार सबै मोटरगाडीलाई दिनुभन्दा ४ लेनमा प्रभावकारी पब्लिक बस–स्टप र निजी मोटरगाडी, १.५ मिटरको दुईतर्फी साइकल लेन र १.८ मिटरको दुबैपट्टि फुटपाथ सडक डिजाइनले लगभग दोब्बर ट्राफिक समायोजित गर्न सक्छ । वायु प्रदूषण र सडक दुर्घटना धेरै मात्रा कम गराउँछ । ट्राफिक कम हुने साना सडकमा ‘सेयर’ गर्न सक्छ वा वा एकतर्फी साइकल लेन बनाउन । 


महानगर र स्थानीय प्रशासनले त्यस्ता सडकको लेगलाइज गर्न सक्नुपर्छ । त्यसो गर्दा लाखौंको कार हाँक्ने, हजारौंको साइकल चलाउने, २०–३० रुपैयाँ तिरेर बस चढ्ने र पैदलयात्रीको बाटोमा समान अधिकार स्थापित हुन्छ । 


अबको सोच 

सहरमा सडक बनाउँदा होस् या विस्तार गर्दा, गाडीसंँगै साइकल गुड्छन् र पैदलयात्री हिँड्छन् भनेर ख्याल गर्नुपर्छ । सबैलाई ठाउँ दिन सकिँदैन भने कसलाई प्राथमिकता दिने भन्ने ज्ञान चाहिन्छ ।


महानगरको यातायात गुरुयोजना बन्छ, तर साइकलको नामनिसाना देखिँदैन । पैदल यात्रीको त पर जाओस् । त्यस्तो गुरुयोजनाको के काम ? त्यसले कसलाई प्रोत्साहन गर्छ ? अनि धुवाँ, धुलो बढ्यो भयो भनेर २,३ वटा ब्रुमर किन्दैमा सहर सफा हुन्छ ? 


अहिलेको आवश्यकता भनेको काठमाडौँका लागि विस्तृत साइकल सञ्जाल गुरुयोजना बनाइनुपर्छ । साइकल लेन, साइकल पार्किङ, साइकल सेयरिङ प्रोग्राम, साइन पोस्ट, जानकारी बोर्ड र सान्दर्भिक साइकल नीति निर्माण गर्नुपर्छ । चरणबद्ध लगानी गरिनुपर्छ । यसका लागि केले छेकेको छ ? सरकारमा मनोबल र हुटहुटी खोइ ?


लेखक अर्बन डिजाइनर हुन् ।

सोमराज

Link copied successfully