कस्तो खसी किन्ने ?

आश्विन २८, २०७५

डा. मनोजकुमार शाही

काठमाडौँ — चाडपर्व आगमनसँगै मासुको खपत तथा उपभोग बढ्दै जान्छ  । त्यसो त मासुको उपभोग चाडबाडमा मात्र नभएर घरमा पाहुना आउँदा होस् वा विवाह, ब्रतबन्ध, पास्नी जस्ता भोजभतेरमा मासु नभई नहुने परिकार बनेको छ  ।

मासु पोषण तथा स्वादका कारणले राम्रो छ । तर अस्वस्थ पशु बध गरी उपभोग गरिने मासुले धेरै घाटा हुन्छ । त्यसैले मासुका लागि स्वस्थ पशु प्रयोगमा ध्यान दिनुपर्छ । पशु स्वस्थ हो कि रोगी भन्ने चिनेर त्यसको मासु खाइयो भने मासुबाट मानिसमा सर्ने धेरै रोगबाट बच्न सकिन्छ । मासुका लागि स्वस्थ खसीबोका वा अन्य पशुलाई निम्न तरिकाले चिन्न सकिन्छ :–

१) असामान्य रूपमा सास फेरिरहेको वा जिङरिङ्ग भएको : सामान्यतया पशुले जीवाणु/विषाणु वा अन्य रोगले सङ्क्रमित भइरहेका बेला सास छिटो फेर्छन् । ज्वरो आएर रौं ठाडो पार्ने हुनाले ती जिङरिङ्ग देखिन्छन् ।

२) असामान्य व्यवहार देखाउने : प्राय: पशु केही रोगका कारण टाउको पर्खालमा ठोक्ने, आफ्नो पुच्छर वा पेटमा हेरी वृत्त आकारमा घुम्ने गर्छन् । तिनले विभिन्न वस्तु वा मानिस, जनावरलाई आक्रमण गर्न खोज्ने जस्ता व्यवहार देखाउँछन् । त्यस्ता पशुको मासु खानाले विभिन्न रोग सर्न सक्छ ।

३) असामान्य हिँडाइ : खुट्टा वा शरीरको कुनै भागमा चोटपटक लागेको भए पशुको हिँडाइ असामान्य देखिन्छ । सामान्यतया १२ घन्टा अघिदेखि बाहिरी वा भित्री रूपमा चोटयुक्त छ भने त्यो समयमा पशुको शरीरले विभिन्न किसिमका हर्मोन (रसायन) उत्पादन गर्न थाल्छ । त्यस्ता हर्मोनले मासुको स्वाद र गुणस्तर बिग्रन्छ । त्यस्तो मासु मानव शरीरका लागि पनि राम्रो मानिँदैन ।

४) असामान्य हाउभाउ : आँखा निद्रा लागे जस्तो वा लट्ठिएको अथवा चिन्ताजनक अवस्था जस्तो देखिए पशु किन्नु हुँदैन । पेट फुलेको, टाउको र खुट्टा तन्काएर सहजै उठ्न वा बस्न नसक्ने पशु पनि रोगी हुन्छन् ।

५) असामान्य शारीरिक बनोट : जोर्नी बढेको वा सुन्निएको, हावा भरिएर सुन्निएको जस्तो देखिने पेट र कल्चौडो भएका, बंगारा सुन्निएका पशु अस्वस्थ हुन्छन् । ती मासुका लागि उपयुक्त मानिँदैनन् ।

६) नाक, कानमा फोहोर : नाककान, गुद्वार र योनीबाट असामान्य किसिमको फोहोर निस्केको वा
पखाला लागेको पशुको मासु मानव स्वास्थ्यका लागि प्रतिकूल हुन्छ ।

७) सिङमा रङ : काठमाडौं उपत्यकामा खसी बजार वा पशु हाटबजारमा पशु सेवा विभागबाट खटिएका पशु चिकित्सकले स्वस्थ पशुलाई उपभोक्ताले चिन्न सहज होस् भनी सिङमा हरियो रङ लगाउने गरेका छन् । त्यसैले उपत्यकामा पशु किन्ने हो भने हरियो रङ लगाएको पशु मात्र किन्नु होला । सिङमा रातो रङ लगाइएको पशु बिरामी वा अस्वस्थ हो । त्यसको मासु खान योग्य हुँदैन । सामान्यतया सबै पशु हाटबजार र खसी बजारमा पशु सेवा विभाग वा अन्तर्गतका कार्यालयबाट नियमित अनुगमन हुन्छ । त्यस्ता बजारमा पाइने पशु स्वस्थ हुन्छन् । त्यसैले नजिकको हाटबजार वा खसी बजारबाट मात्र किन्न उपयुक्त हुन्छ ।

- डा. मनोजकुमार शाही

लेखक पशु चिकित्सक हुन् ।

डा.

Link copied successfully