महिलाको प्रगतिमा पूर्वाग्रही पुरुष सोच

दुर्गा पंगेनी

काठमाडौँ — विहानै एकजना भलाद्मी पुरुषले समाचार प्रति प्रतिकृया दिए, ‘राम्री रैछन चियावाली’ चियाले मात्र घर त पक्कै ठडिएन होला । समोसा पनि बिक्यो की ! उनको द्विअर्थी ब्यंग्य ति महिलाको चरित्रमाथि प्रश्न उठाउने खालको मात्र थिएन, अत्यन्तै घिनलाग्दो खालको समेत थियो ।

महिलाको प्रगतिमा पूर्वाग्रही पुरुष सोच

उदाहरण १ - फुटपाथमा गरेको चिया पसलबाट आकाशीएकी एकजना महिलाको जिन्दगीको बारेमा पत्रिकाले छाप्यो । साँच्चै उनको मेहनत कदर योग्य थियो, त्यो । लगातारको परिश्रम र धैर्यताले उनले काठमाडौमा घर घडेरी जोडेकी थिईन र बालबच्चालाई राम्रो स्कुलमा पढाएकी थिईन ।


जसमा पुरुषवादी सोचको कुहिएको दुर्गन्ध आइरहेको थियो । यदी त्यहाँ चिया वेच्ने अनुहार कुनै पुरुषको हुन्थ्यो भने उसको चरित्रमाथि शंका गर्थ्यो कुनै पुरुषले? अहं गर्थेन पक्कै ।


उदाहरण २- एकजना युवती जो निजी औद्योगिक क्षेत्रमा राम्रो पोष्टमा काम गर्छिन् । उनले साधारण एकाउण्टेन्टबाट जागिर सुरु गरेकी थिइन् । उनको कार्य कुशलता र लगनशिलतालाई मुल्यांकन गर्दै दुई वर्ष भित्रमा कम्पनीले उनलाई दुई पटक प्रमोसन गर्यो । उनको वास्तविक खुवी जे थियो त्यो पदमा उनी पुगिन् । उनको कमाई बढ्यो र जीवनस्तर पनि ।


अहीले समाजमा उनको जागिरको बारेमा कानेखुसी हुन्छ । उनको प्रमोसनको बारेमा चर्चा हुन्छ र उनको जीवनस्तरको बारेमा चोक र चौतारोमा कटाक्ष हुन्छ । उनको नाम उनको कार्यालयको हाकिम, कम्पनीको मालिक या सहकर्मीहरुसंग समेत जोडेर कुरा काटिन्छ । त्यही स्थानमा यदी त्यसरी नै कुनै पुरुषले प्रगति गरेको भए ति पुरुषको चरित्रप्रति शंका गर्थ्यो समाजले? अहं गर्थेन, पटक्कै गर्थेन ।


उदाहरण ३ - एकजना महिला छन् ईजरायलमा काम गर्छिन्, रुपले राम्री र रोजगारीको हिसावले राम्रो कमाई भएकी । उनले काठमाडौंको राम्रो बस्तीमा घर किनेकी छन्, डेढ करोडमा । छोराछोरी पढाउछिन्, राम्रो बोर्डिङ् स्कुलमा । उनलाई चिनेको एकजना भलाद्मीले एकदिन कुरा गरे । उमेर छ, बैंश छ र पैसा बटुल्ने ठाउँ छ । काठमाडौंमा घर त कति ठुलो कुरा भयो र ! ति भलादमीको सोच कस्तो थियो भने मानौं ईजरायल पैसा बटुल्ने थलो हो र महिलाका रुप, बैंश ईत्यादी पैसा सोहोर्ने साधन हुन् ।


मैले उनलाई सम्झाउने प्रयत्न गरें, ईजरायलमा केयर गिभरको रुपमा कार्यरत नेपाली महिलाहरुले साधारणतया डेढ लाख रुपैयाँ न्युनतम् कमाउँछन् । त्यसमाथि आफुले हेर्नुपर्ने विमारी अलि तगडा पर्यो र उसलाई चौबिसै घण्टा कुरेर बस्न परेन भने उनीहरुले आफु बसेको घर आसपास पार्ट टाईम काम गर्न पनि पाउँछन् । त्यस्तो काम भनेको सरसफाईको हो ।


पार्ट टाईम गर्दाको आम्दानी घण्टाको हिसावले नगद नै बुझ्ने चलन हुन्छ । त्यसरी काम गर्न पाउने महिलाको हकमा मासिक तीन हजार डलर कमाउनु ठुलो कुरो होईन । आरामसंग कमाउँछन्, तीन हजार डलर । मासिक तीन लाख नेपाली बार्षिक छत्तीस लाख रुपैयाँ हुन्छ ।


वार्षिक छत्तीस लाख कमाउने महिलाले चार पाँच वर्षमा डेढ करोड लगानी गरेर आफ्नो बासस्थान बनाउदा त्यो पैसामाथि प्रश्न चिन्ह खडा गर्छ समाज । महिलाको रुप, बैंश र काम गर्ने स्थान हेरेर कमाइको तरिका अड्कल गर्छन्, पुरुष नजरले । जव की त्यही देशमा काम गर्ने कुनै पुरुषले वार्षिक रुपमै डेढ-दुई करोडको पुँजी जोडेपनि त्यो कमाई शंकाको घेरामा पर्दैन । महिनामै करोड कमाएपनि कुनै पुरुषको कमाईलाई उसको चरित्रसंग दाँजेर हेर्छ त समाजले ? अहँ पटक्कै हेर्दैन ।


उदाहरण ४ - एकजना कलाकार छन् गायिका । सामाजिक सञ्जालमा खासै तामझाम छैन, उनको । गीत राम्रा छन् । उनी स्टेज पर्फर्मेन्सको लागि देश विदेश घुमिरहन्छिन् । भित्र भित्रै ब्यस्त छन् ।


उनले एयरपोर्टबाट कतै जाँदै गरेको फोटो पोष्ट गरिन् । त्यो पोष्ट आउने वित्तिकै अनामनगरको कुनै चोकमा घाम ताप्दै गरेको एकजना बेरोजगार (उ पनि कलाकार-पुरुष) ले पोष्ट मुनी कमेन्ट गर्छ - जे छ हजुरसंगै छ ! हजुरकै छन् दिन ! घुम्नुस मोज गर्नुस् ।


यो कमेन्ट पढ्दा त्यो “जे छ हजुरसंगै छ” भन्ने वाक्य कति घिनलाग्दो र द्विअर्थी देखिन्छ भने त्यसमा त्यो कमेन्ट गर्नेको नियत प्रष्ट झल्किरहेको देखिन्छ । उनी महिला भएकै कारण कार्यक्रममा जान पाएको र आफु पुरुष भएकै कारण कसैले नबोलाएको जस्तो गरेर ति पुरुष आफ्नो हिनताबोध कमेन्टमा पोख्छन् । के स्त्री योनी धारण गर्नु र कामकाजी हुनु अपराध नै हो त ? म भित्रभित्रै गम खाएर सोच्छु यदि कुनै पुरुष कलाकार कुनै कार्यक्रमको लागि कतैं जाँदै गर्दा यस्तो किसिमको शंका गर्छ समाजले? अहँ गर्दैन, पटक्कै गर्दैन ।


उदाहरण ५ – कुनै दुरदराजको गाउँबाट संगै स्कुल पास गरेका युवक र युवती संगै जस्तो काठमाडौं आउँछन् । यौटै ब्याचमा । केहि समय बित्छ । दुवैले काठमाडौमा उस्तै प्रगति गर्छन् । छुट्टीमा गाउँ फर्कन्छन् । दुबैको उमेर पुगेको छ, त्यसैले बिहेको कुरा पनि चलिरहेको छ ।


युवकको बारेमा हाम्रो समाज भन्छ – बाउ किसान हो । दुखसुख छोरालाई पढायो र काठमाडौ पठायो । केटाले पनि मेहनत गरेर पढ्यो, जागिर खायो, पैसा कमायो र अहिले आफ्नै कमाइको मोटरसाइकल चढेर घर फर्केको छ । केटो पौरखी छ, घर कुरेर बसेन, बाउको भर परेन, जे गर्यो आफ्नो मेहनतले गर्यो, केटो पौरखी छ यत्तिको केटालाई छोरी दिन हुन्छ । सुखसंग पाल्छ ।


त्यहि समाजले उस्तै मेहनत गरेर गाउँ फर्केकी युवतीको बारेमा भन्छ – बाउ किसान हो । स्कुल पास गराए पछि उसको पढाउने कुनै क्षमता थिएन । फेरिपनि यो केटीले बाउले भनेको मान्दै मानिन । काठमाडौ जाने जिद्दी गरि र बाउले काठमाडौ लगेर राख्यो । खै कसरी पढी ? घरबाट पैसा पठाउने खुबी त्यसका बाउको थिएन । केटी मान्छे जागिर कस्तो पाई होलि, कति कमाइ होलि र स्कुटी चढेर दुनियाँलाई रमिता देखाएकी होलि !


के गरेर कमाई पैसा ? कसरि किन्न सकी स्कुटी ? काम गर्ने ठाउँमा कस्ता मान्छेको संगत गरेकी होलि ? त्यसै आउछ यत्रो पैसा ? यसको चरित्र गतिलो छैन जस्तो छ । यस्ती केटीलाई बिहे गरेर खै कसरी घरबार होला र ! बाहिर हिड्न बानी परेकी केटीलाई घरमा बानी पार्न गाह्रो हुन्छ ।


यी माथि उल्लेखित सोचहरु हाम्रो समाजका प्रतिनिधि सोच हुन् । पुरुष प्रधान समाजले महिलाहरुको बारेमा युगौं अगाडिदेखि बनाएका यस्ता सोचहरु हाम्रो समाजका हरेक पुरुषको मस्तिष्कमा शिलालेख जस्तै भएर बसेको छ, अमिट भएर ।


महिलाहरुले गरेको प्रगति र उनीहरुले जिन्दगीमा चढेका सिंढीहरु मेहनत गरेर पसिना बगाएर प्राप्त गरेको उपलब्धि हो भनेर यो समाज मान्न तयार छँदै छैन । महिलाहरुसंग त्यस्तो तत्व छ जसको प्रयोगले उनीहरुले सजिलै पद पैसा र प्रतिष्ठा प्राप्त गर्न सक्दछन् भन्ने सोचमा पुरुषहरु दिन प्रतिदिन ग्रस्त हुदै गईरहेका छन् । आफु महिला नभएर पुरुष हुन परेको र त्यही कारणले आफुले प्रगति गर्न नसकेको हीनताबोधले त्यस्ता पुरुषहरु कामकाजी महिलाहरुप्रति आक्रामक हुँदै गईरहेको देख्न सकिन्छ ।


ब्युटी पार्लर, होटल या फेन्सी पसल जस्तो सुकै ब्यवसाय गर्ने महिलाहरुलाई पार्लरवाली, होटलवाली या यस्तै अन्य ब्यवसायसंग जोडिएका उपनामहरुले सम्बोधन गर्ने र होच्याउने परम्परा ब्याप्त छ समाजमा । कुन सम्बोधन गर्दा कामकाजी महिलाको बढी भन्दा बढी अपमान हुन्छ त्यसको लागि नयाँ नयाँ सम्बोधनका शब्दहरु पत्ता लगाउन निरन्तर खोज गरिरहेको हुन्छ समाजले ।


बिदेशमा कार्यरत महिलाहरुको हकमा भने समाजको दोहोरो मापदण्ड स्थापित भएको देख्न सकिन्छ । हिन्दु धर्मले समाजलाई वर्णमा विभाजित गरे जस्तै समाजले कामकाजी महिलाले कमाएको पैसालाईसमेत उनीहरु कार्यरत रहेको मुलुकको आधारमा सम्मान गर्ने या अपमान गर्ने गरेको पाईन्छ ।


हाम्रो गाउँ या शहरबाट कुनै युवती युरोप, अमेरिका या जापान जस्ता देश जाने भईन भने उनको बिदाइको लागि घर परिवार आफन्त नातेदार सबै सकेसम्म धेरै मान्छे विमानस्थलमा बिदाइको लागि भेला हुने प्रचलन छ । त्यसको बिपरित कुनै चेली खाडी मुलुक जाने अवस्था आयो भने लुकेर कसैलाई थाहा नदिईकन हवाई जहाज चढ्नु पर्ने अवस्था विद्यमान छ । आखिर जाने त बेहत्तर भविष्यको खोजीमै हो, फेरी स्थान बिशेष हेरेर यो विभेद किन?


आखिर किन फरक सोच राख्छ समाजले महिलाले गर्ने कामप्रति, महिलाले आर्जन गर्ने धनप्रति र महिलाले काम गर्ने ठाउँप्रति ?


अब समाज बदलिनु पर्छ, अब समाजको सोच बदलिनु पर्छ । महिलाले गरेका कामहरुलाई यथोचित सम्मान गरिनु पर्छ र कामकाजी महिलाहरुको सम्मान हुनु पर्दछ । तर के बदलिएला त समाज ? समाज सतहमा बदलिए जस्तो देखिए पनि के बदलिएला त समाजको पुरुष प्रधान सोच? यो प्रश्न भने अनुत्तरित नै रहेको छ ।




प्रकाशित : वैशाख २७, २०७५ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?