कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

नेपालीमा बढ्दो पुस्तान्तरण

जगन कार्की

बेलायत — बाउ-बाजे २० रुपैयाँ जोगाउन २० मिनेट हिड्थे, आज छोरा–नातीमा २० मिनेट जोगाउन २० रुपियाँ खर्च गर्ने परिपाटी छ । समय अनुसार दुवै पुस्ता सही नै होलान् | चिया पसलमा, पाटी–पौवामा, सामुदायिक क्रियाकलापहरुमा बसेर सामाजिक सञ्जाल बिस्तार गर्ने बाजे–बुवा पुस्ता आज नाति पुस्ता सामाजिक सञ्जालमा स्मार्ट फोनबाट जताततै पुगेको देखेर अचम्मित छन् ।

नेपालीमा बढ्दो पुस्तान्तरण

बाउ-बाजे २० रुपैयाँ जोगाउन २० मिनेट हिड्थे, आज छोरानाती २० मिनेट जोगाउन २० रुपियाँ खर्च गर्ने परिपाटी छ । समय अनुसार दुवै पुस्ता सही नै होलान् | चिया पसलमा, पाटी–पौवामा, सामुदायिक क्रियाकलापहरुमा बसेर सामाजिक सञ्जाल बिस्तार गर्ने बाजे–बुवा पुस्ता आज नाति पुस्ता सामाजिक सञ्जालमा स्मार्ट फोनबाट जताततै पुगेको देखेर अचम्मित छन् । प्रबिधिले सुबिधा त दियो तर समाजिक संरचनामा परिवर्तन आएको छ, मान्छेहरु एकोहोरिने, सामाजिक प्राणी कोठे प्राणीमा परिणत हुने, मानवीय संवेदना नै देखावटी रुपमा मात्र झल्काउने प्रवृतिहरु बढ्नु, नयाँ पुस्ता पुरानो पुस्तासंग चाल-चलन नमिलेर टाढिने र पुस्तान्तरको खतरा बढेको छ ।


के हो पुस्तान्तर ?


छुट्टै पुस्ताका व्यक्तिहरुको क्रियाकलाप, विश्वास, सौख, भनाई, गराई र चाखहरुमा फरकपन हुनुलाई सामान्यरुपमा पुस्तान्तर भनिन्छ । जब एउटा पुस्ताले गरेको कुरा अर्को पुस्ताले चाख लिंदैन र बुझ्दैन भने त्यो पुस्तान्तर हो । दुई पुस्ताहरु बीच हुने बिबिध सम्वादहरुमा देखिने जटिलता द्वन्द्व वा सम्वादहीनतालाई पुस्तान्तरको रुपमा चित्रण गरिने गरेको पाइन्छ । युवाहरु र प्रौढहरुबीचको संवादहीनताले एक अर्काप्रतिको संस्कार र परम्परालाई बुझ्ने र जान्ने अवसरबाट बञ्चित गराउने गरेको पाइन्छ । यस्तो समस्या आजको बदलिँदो सामाजिक परिवेसमा देखिएको छ जसले गर्दा असमान दुरीमा रहेका सबै पुस्तालाई आफ्नो आफ्नैपन र संस्कारमा बाँच्न र हुर्किंन सिकाउने गर्दछ । फलस्वरुप एकले अर्को पुस्ताको मर्म र भावना नबुझ्ने हुन्छ ।


पुस्तान्तरका कारणहरु :


–प्रबिधि र आधुनिकताको प्रभाव संगै तिब्र रुपमा हुँदै गएको समाजको परिबर्तन :

आधुनिक प्रबिधिहरुको बिकास संगै सुगम बनेको सञ्चार र सामाजिक सञ्जालहरुको विस्तारले भेटघाट, प्रत्यक्ष कुराकानी भन्दा सामाजिक सञ्जालहरुमार्फत भावना, सूचना आदानप्रदान गर्ने गरेकोले नयाँ संस्कृति र आचारहरुको बिकास भइरहेको छ । भेटेर, जमघटमा हुने क्रियाकलापहरु प्रबिधिका माध्यमले हुने गरेका छन् । यसले सामाजिक संरचनामा क्रमस: परिबर्तन ल्याउँदै गरेको पाइन्छ ।


–आप्रवासन, बसाई सराई इत्यादी :

देशविदेशमा बसाईं सर्ने, सुगम सहरहरुमा मानिसहरुको आवतजावतले स्थिर सामाजिक संस्कारबाट नयाँ परिवेसमा पुग्दा हुने परिवर्तन र त्यहाँको हावापानीसंग मिल्नको लागि समय लाग्ने हुनाले पुस्तान्तर हुन जाने बताइछ ।


–प्राकृतिक :

मानिस प्राकृतिक प्राणी हो । एक पुस्ताले अर्को पुस्तालाई जन्म दिने हुर्काउने सिलसिलामा प्राकृतिक रुपमा नै कतिपय अवस्थाहरुमा पुस्तान्तर सिर्जना हुने विभिन्न अध्ययनहरुले बताउने गरेका छन् ।


अभिभावक र छोराछोरीहरु बीच हुने पुस्तान्तर


आमाबाबु र अभिभावकहरुसंग आफ्ना बालबालिकाहरुलाई दिने समय नहुनु : बाजे पुस्ता र नाती पुस्ता बीचको पुस्तान्तर त मुनासिव बन्ला तर बाबुआमा र बालबालिकाबीचको पुस्तान्तर महँगो हुने देखिन्छ । जब आमा बाबु र अभिभावकको भावना छोराछोरीहरुसंग मेल खाँदैन तव त्यहाँ प्रेम, सद्भाव र खुशी टाढिएर जाने विभिन्न खोज अनुसन्धानहरुले देखाएको छ ।


नानीहरुलाई धेरै कन्ट्रोल गर्न खोज्नु : जब अभिभावकले आफ्नो कुरामात्र जायज ठानेर धेरै कन्ट्रोल गर्ने आफुले भनेको कुरा मात्र बालबालिकामा लाद्न खोज्ने प्रयास हुन्छ अनि सम्वाद हिनताको अवस्था सिर्जना हुन्छ । बालबालिका आफ्नो भावनाको कदर नहुने ठान्दै कठोर भएर बाँच्न बाध्य हुने अभिभावकहरु पनि आफुले भने जस्तो नभएर कहिल्यै सन्तानसंग खुशी नरहने परिपाटी बिध्यमाना रहने बताइन्छ ।


अभिभाबक र बालबालिकाको पुस्तान्तरका अन्य बिबिध कारणहरुमा शारीरिक यातना दिने र छुट्टै धारणा राख्ने आफुले भनेको मात्र सहि ठान्ने, आफ्नो यथार्थ भावना नपोख्ने, नानीहरुलाई सधै केटाकेटीको व्यवहार गर्नु, उनीहरुलाई हुर्किएको ठुलो भएको आभास नदिनु इत्यादी ।


अध्ययनहरुले ५ प्रकारको पुस्तालाई तिनको लक्षण र चरित्र अनुसार छुट्याउने गरेको पाइन्छ :


परम्परागत जेनेरेसन : जन्म १९०० देखि १९४५ सम्मका, देश भक्त र कडा परिश्रममा विश्वास गर्ने, संस्थाहरुप्रति सम्मान र श्रद्धा राख्ने प्रकृतिको |


बेबी बुमर्स : १९४६ देखि १९६४ - नैतिक शक्ति, मै हुँ भन्ने भावना, समानता, लडाई बिरोधि, सरकार बिरोधि बिबिध प्रकृतिको ।


जेनेरेसन् एक्स : १९६५ देखि १९८० - सन्तुलित, बिबिधता, सुसंस्कृत, प्रविधिमा ग्यान राख्ने इत्यादी प्रकृतिको ।


मिलिनीयल : १९८१ देखि १९९९ सम्म जन्म भएका पुस्ता, प्रविधिमा निपुर्ण र यसमै आश्रित, परम्परागत संस्थाहरुबाट सम्बन्ध बिच्छेद भएको, खुल्ला दिमाग भएको आशावादी पुस्ता, बिबिधतामा विश्वास गर्ने, सबै चिजको सन्तुलनमा विश्वास गर्ने, औपचारिक भन्दा अनौपचारिकतामा विश्वास, सिद्धान्त भन्दा ब्यबहारिकतामा जोड दिने ।


जेनेरासन आइ : १९९९ पछिका पुस्ता प्रविधि र आधुनिक समाजसंग प्राकृतिकरुपमा अन्तरघुलन भएको पुस्ता अत्यन्त उर्जासिल र आधुनिक मानवका गुणहरु भएको ।


के पुस्तान्तर नराम्रो हो ?


पुस्तान्तर आफैमा नराम्रो हैन । यसले छुट्टै उमेर समुहका मानिसहरुका आफ्नै आफ्नै आवश्यकता र दृष्ट्रिकोणले समाजका हरेक घटना, क्रियाकलापहरुलाई हेर्न मद्दत गर्दछ । फलस्वरुप एक सौहार्दपूर्ण समाज, एकले अर्काको अस्तित्व स्वीकार्ने अवस्था पुर्याउछ र मानिसलाई एक प्रकृतिक र सामाजिक प्राणी बन्न उत्प्रेरित गर्ने गर्दछ । अर्कोतर्फ पुस्तान्तरले गर्दा एउटा पुस्ताका कुरा अर्को पुस्ताले नसुन्ने, एउटा पुस्ताले अर्कोको अस्तित्व नस्वीकार्ने र सम्वादहिनताको अवस्थाले भने पक्कै अप्ठेरो अवस्था सिर्जना गर्दछ ।


नेपालीका तीन पुस्ता


बेलायतमा रहेका नेपालीहरुको पहिलो पुस्ता गोर्खा भर्तिमा आएको पुस्ता हो, दोश्रो तिनका छोरा पुस्ता र तेस्रो नाति पुस्ता । यी ३ मुख्य पुस्ता बाहेक अध्ययन, काम र बिबिध सिलसिलामा आएका तिनै उमेर समूह पुस्ताका प्रतिनिधि पात्रहरु बेलायतमा छन् ।


पहिलो पुस्ता (१९३० - १९६४, उमेर समूह ६३ देखि ८६) : नेपालको संस्कृति, भाषा, भेषसंग हेलमेल भएको आधुनिक प्रविधि र आधुनिक मान्यताहरुदेखि अपरिचित वा परिचय भएपनि मोह नभएको पुस्ता । यसै पुस्ताले नेपालको राजनीति र मुख्य संस्थाहरु अझै हाँकीरहेको पाइन्छ ।


दोश्रो पुस्ता (१९६५-१९८०, उमेर समूह ४0 देखि ६०) : प्रविधिमा अब्बल रहेको र पहिलो र तेश्रो पुस्ता दुवैसंग संसर्गमा रहेको कारण यो पुस्ता केहि हदसम्म नेपाली संस्कृति र भाषाहरु अनुसरण गर्न सक्षम रहेको देखिन्छ । परम्परा धान्न यो बढी पहिलो पुस्तासंग भरमा रहेको कारणले तेश्रो पुस्तालाई हस्तान्तरण गर्न त्यति आत्तुर देखिन्न । प्रबिधिको बाढी, पुरानो संस्कार अनि नयाँ हुर्कंदा संस्कार र प्रबिधि पहिल्याउदा पहिल्याउदै यो पुस्ता हराएको जस्तो देखिन्छ । यो पुस्ता अझै पनि नेपालमा नेतृत्व दिन पूर्णरुपमा सफल भएको देखिन्न्न । यो पुस्ता नयाँ पुस्ताको नयाँपन र पुरानो पुस्ताको पुरानो ढर्राको चेपुवामा परेको छ । यद्यपि दुवै पुस्ताको सन्तुलन र समन्वयको सम्पूर्ण जिमेवारी यहि पुस्ताको काँधमा छ ।


तेश्रो पुस्ता (१९८१-२०००, उमेर समूह १८ देखि ३० ) : देशी-बिदेशी बिद्यालय र बिश्वबिद्यालयमा अध्ययन गरेको अन्तरास्ट्रिय संस्कृति र संस्कारसंग राम्रोसंग अन्तरघुलन भएको यो पुस्ता अंग्रेजी बोल्ने, नेपाली भाषा र संस्कृतिप्रति कम चासो राख्ने गरेको पाइन्छ । म्याक र पिजा संस्कृतिमा हुर्किएको यो पुस्ता नेपाली समुदायमा हुने कर्यक्रमहरु, नेपाली पर्वहरुमा उतिसरो चाख र उत्साहले उपस्थिति जनाउदैनन् । यसका बिबिध कारणहरुमा भाषा, शिक्षा र संस्कारसंगै पुरानो पुस्तासंगको गहिरो पुस्तान्तर रहेको जस्तो देखिन्छ । यो पुस्ताले न राजनीतिसंग चासो देखाएको छ न संस्कृति र परम्पराप्रति । १२ कक्षा पढेसंगै अमेरिका, बेलायत, अस्ट्रेलिया जाने सपना बुन्ने अधिकांशको चाह देखिन्छ । यो भयावहस्थिति बाट पार लगाउन देशको भाषा, संस्कृति र पहिचानलाई हराउन नदिन सबै जिम्मेवार पक्ष सजक हुनुपर्ने देखिन्छ ।


पुस्तान्तरका प्रकार


पुस्तान्तरको असर बिशेषगरि युवा पुस्तामा बढी हुने गरेको पाइन्छ । एक्लोपनको महसुस गर्ने, परिवार र समाजका सदस्य र अंगप्रति श्रद्धा र विश्वास कम रहने, समुहिकता भन्दा एकलकांटेपन रहने इत्यादी । परिवारमा बाबुआम आफ्ना सन्तानलाई एकथरी सिकाउने, एक खालको संस्कार दिने तर नयाँ पुस्ता आफुलाई मनपर्ने संस्कार आफै सिक्न बल गर्ने, फलस्वरुप पारिवारिक विग्रह सिर्जना भएर परम्परागत ठुलो र संयुक्त परिवार बिलिन भएर एकल परिवारमा जाने क्रम बढेको छ । पश्चात्य संस्कारमा त पुरै एकल परिवार भइसकेको अवस्था छ ।


शिक्षकहरुमा पनि त्यस्तै परिपाटी देखिएको छ । कतिपय शिक्षकहरुले आफुले जस्तो संस्कार सिकेको छ त्यहि संस्कार आफ्ना बिद्यार्थीमा दिन चाहने तर नयाँ परिवेसमा बिद्यार्थीको चाहना छुट्टै रहने गरेको छ ।


कार्यक्षेत्रमा एउटा पुरानो कर्मचारी वा हाकिम परम्परागत शैली सिको गर्न चाहन्छ तर एउटा युवा पुस्ताको कर्मचारी आधुनिक प्रबिधि र बिधि अनुसरण गर्न चाहन्छ । यस्तै समस्या राजनीतिक दलहरुमा पनि देख्न सकिन्छ । एउटा पुरानो नेता परम्परागत शैलीमा भासण, सिद्धान्तको राग, शक्तिको पुञ्ज र त्यसै अनुरुपको राजनीति गर्ने देखिन्छ भने नयाँ पुस्ता आधुनिक सिद्धान्त अझ सिद्धान्त भन्दा बिकास र जनसेवाको भावले राजनीति अगाडी बढाउन चाहन्छ ।


यस्तै किसिमको पुस्तान्तर संगीत क्षेत्र परम्परागत लोक पुस्तादेखि आधुनिक र्‍याप, हिपहप कल्चरसम्म पाउन सकिन्छ, चिकित्सा क्षेत्र, ब्यवस्थापनदेखि हरेक प्रविधिका पनि आफ्नै-आफ्नै पुस्ता र भर्सन हुने गरेको पाइन्छ । कम्पुटरको ४८६ कम्पुटर, डस चलाउने पुस्ता अहिलेको टच स्क्रिन र एप्स इन्टरफेयरदेखि अचम्मित हुन्छ ।


पुस्तान्तरका असरहरु


कुनै पनि संस्थामा पुरानो पुस्ताको बाहुल्यता रहेको खण्डमा पुरानो शैली र परम्परालाई प्राथमिकता र जोड दिने परिपाटी रहने जसले नयाँ आयाम, उद्यमशीलाता र सृजनशीलातालाई अवरुद्ध गर्ने र फलस्वरुप ति संस्थाहरुका अस्तित्व नै धरापमा पर्ने गरेको पाइन्छ । उदाहरणस्वरुप प्रसिद्ध क्यामेराको फिल्म मेकर कम्पनी कोडाकलाई लिन सकिन्छ । समय र परिस्थिति अनुसार नयाँ प्रविधिमा ढाल्न नसक्दा कम्पनी बन्द भयो । कोकाकोला कम्पनी १८९२ देखि निरन्तर समय अनुसार बजार, स्वाद, शैली परिवर्तन गर्दै हालसम्म चर्चित रहेको छ । जीवहरुमा डाइनोसर प्रजातिको पृथ्वीबाट पतन भएको परिदृष्य समय परिस्थिति अनुसार आफुलाई ढल्न नसक्नु बुझ्न सकिन्छ । नेपालका सन्दर्भमा प्रजा परिसद् भन्ने दलले समय अनुकुल आफुलाई बदल्न सकेन र अस्तित्व नै लोप भएर गयो भने कांग्रेस पार्टीले राजा, प्रजातन्त्रदेखि गणतन्त्र, संघीयता र धर्म निरपेक्षतासम्म आफुलाई परिबर्तन गर्दै लगेको कारण निरन्तर अस्तित्वमा रहेको छ ।


यसर्थ निस्कर्षमा यो भन्न सकिन्छ कि पुस्तान्तर प्राकृतिक हो । यसका आफ्नै मौलिकता र महत्व रहेका हुन्छन् । हरेक इतिहासको गर्वमा वर्तमान रहेको हुन्छ । यसर्थ दुवैलाई जोड्ने पुलको काम गर्ने संस्कारहरुको विकास र पुस्ताहरुबीचको सन्तुलनले नै सम्बृद्ध वर्तमान र भरपर्दो भबिश्य मुखी समाज निर्माणमा टेवा पुर्याउने समाजशास्त्रीहरु बताउने गर्दछन् ।


पुस्तान्तर कम गर्ने उपायहरु मध्ये खुल्ला विचार र बहसलाई स्वागत गर्ने सामाजिक संस्कार पनि एक हो । नयाँपन र सृजनशीलतालाई पुरस्कृत गर्ने, उचित स्थान दिने र नयाँ र पुरानो पुस्ताबीच निरन्तर सम्वादको संकृतिले पनि यसका नकरात्मक पक्षहरुलाई न्युनीकरण गर्दछ । त्यसगरी विभिन्न किसिमका चाड, पर्व र परम्पराहरुले एउटा पुस्ताको संस्कार अर्को पुस्ताले बुझ्ने, हेर्ने र ग्रहण गर्ने वाततावरण बन्न सक्ने मानवशास्त्रीहरुका तर्क गर्छन् ।


न्यूनीकरण गर्ने उपायहरु


बीचको पुस्ताले रणनीतिक रुपमा भाषा र संस्कृतिलाई जोड्ने विभिन्न कार्यक्रम र युवा उन्मुख कार्यक्रमहरु चलाएर समुदायसंग मिलान र अन्तर्घुलन गर्ने वातावरण सृजना गर्न सकिन्छ । गैरआवासीय नेपालीहरुको हकमा दुतावासमार्फत बर्षमा कम्तिमा २-३ पटक युवाप्रतिमात्र लक्षित कार्यक्रमहरु गरेर, तिनलाई संगठित गरेर खेलकुद तथा तिनका चाखका नीति तथा कार्यकर्महरुमार्फत मुलधारमा ल्याउन सकिन्छ ।


तिनलाई मुलधारमा आउन अप्ठेरो पार्ने बिबिध बाधा बन्धनहरुको खोजि गरेर सहजता प्रदान गर्न सकिन्छ । जस्तै, अहिलेको नेपाली समुदायमा साना नानीहरुमा देखा परेको समस्या भनेको नेपाली भाषा राम्रोसंग लेख्न, पढ्न र बोल्न नजान्नु हो | जव उनीहरु आफ्ना हजुरबुवा, आफन्तसंग सम्वाद गर्न सक्दैनन्, नेपाली भाषाका साहित्य र पुस्तक पढ्न सक्दैनन् भने उनीहरुको भाषा, संस्कृतिप्रतिको सम्वाद प्रक्रिया टुट्ने हुनाले बिस्तारै त्यसप्रति चाख घट्ने र पुस्तान्तरको मुख्य कारक बन्ने देखिन्छ ।


समाजमा अधिकांश कार्यक्रमहरु प्रौढ तथा नेपाली भाषा संस्कृतिमा बर्चास्व राख्ने समुदायलाई केन्द्रित गरेर कार्यक्रम गर्ने गरेको पाइन्छ भने युवा केन्द्रित कार्यक्रम केवल युवाको मात्र भूमिका रहेको हुन्छ । यसर्थ दुवै पुस्ताले अन्तर्घुलन हुने एक अर्कालाई बुझ्ने अवसरबाट बन्चित हुने देखिन्छ । कार्यक्रममा युवालाई मुख्य भूमिका भन्दा पनि सहयोगी भूमिका दिने गरिएको पाइन्छ ।


आजको युवाले मान-सम्मान, सामाजिक संस्थाहरुमा भूमिका जबर्जस्ती खोज्ने लज्जास्पद प्रवृतिलाई मनपराउँदैनन् । तर, यहाँको समाजमा जुनसुकै कार्यक्रमहरुमा एकै व्यक्तिहरु स्थाई रुपमा भोज भतेर खाने, रिबन काट्ने, बरिष्ठ बनिरहने, प्रमुख अथिति बनिरहने बन्ने चलन बढ्दो छ र त्यो समुदायले हरेक संस्थाको नेतृत्व हत्याएर राखेको कारण नयाँ पुस्ता सामाजिक गतिविधिमा पनि उतिसारो आकर्षित भएको देखिन्न ।


(त्रिविविबाट समाजशास्त्रमा स्नातकोत्तर कार्की बेलायतमा बजार र बितिय ब्यबस्थापनमा स्नाकोत्तर अध्ययनसंगै हाल ब्यापार प्रशासनमा बिद्याबारिधिरत छन् ।)

Twitter: @bimaljagan , email : [email protected]

प्रकाशित : पुस २०, २०७४ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अतिरिक्त भत्ता स्वत: नपाए त्रिवि ठप्प पार्ने कर्मचारीहरूको धम्कीलाई के भन्नुहुन्छ ?