ट्यांकीमा डुबेर २७ बाँदरको मृत्यु

त्रिपुरासुन्दरी गाउँपालिका-६ का अध्यक्ष रमेश बोहराअनुसार टेकान्पुर-६ भन्ज्याङस्थित सिंचाइ ट्यांकीमा हामफालेका बाँदरहरुको मृत्यु भएको हो ।

श्रावण ९, २०८३

अनिश तिवारी

27 monkeys die after drowning in a tank

What you should know

सिन्धुपाल्चोक — यहाँको एक सिंचाइ ट्यांकीमा शनिबार २७ वटा बाँदर डुबेर मरेका छन् । त्रिपुरासुन्दरी गाउँपालिका-६ का अध्यक्ष रमेश बोहराअनुसार टेकान्पुर-६ भन्ज्याङस्थित सिंचाइ ट्यांकीमा हामफालेका बाँदरहरुको मृत्यु भएको हो ।

बाँदरको हुल सदाभन्दा अस्वाभाविक तरिकाले चिच्याइरहेको सुनेर हेर्न जाँदा केही मरेर तैरिएका र केही छटपटाइरहेको देखेको स्थानीय जनक बोहराले बताए । ‘बिहान-बेलुका म सँधै पानी खोल्न र बन्द गर्न जाने गर्छु, बिहान यस्तो दुखद् दृश्य देखेँ,’ उनले भने, ‘सधैंभन्दा अलि फरक तरिकाले बाँदरहरू चिच्याएको सुनेर ट्यांकीमा हेर्न पुगेँ, यस्तो देखेपछि सबैलाई खबर गरेँ ।’ 

डुबेकालाई बचाउने शैलीमा बाँदरहरू लगालग पानीमा हामफाल्न थालेपछि होहल्ला गरेर गाउँले बोलाएको उनले बताए । उनका अनुसार गाउँलेले पोखरीमा हामफाल्न ठिक्क परेका बाँदरको हुल धपाएका थिए । डुबेर छटपटाइरहेकालाई बाहिर निकाले ।‘यो के अनर्थ हुन लागेको भनेर सुरुमा त हामी अचम्ममा पर्‍यौं,’ विश्व बोहराले भने, ‘एक/दुई वटालाई बचाउन सकियो । २७  वटा मरेछन् । अरुलाई धपाउन पनि गाह्रै भयो ।’ 

मृत बाँदरलाई जमिनमा गाडिदिएको उनले बताए । जनकले खबर गरेलगत्तै प्रहरी र वनका प्रतिनिधिलाई खबर गरेर डुबेको बाँदर उद्धारमा लागेको त्रिपुरासुन्दरी गाउँपालिका-६ का अध्यक्ष बोहराले बताए ।‘हामी पुग्दा मृत बाँदर तैरिरहेका थिए, प्रहरी र गाउँले मिलेर बाँसले बाँदर निकालेका हौं,’ उनले भने, ‘ट्यांकी पोखरी बर्खाले आधाआधी भरिएको छ ।’

आफ्नै छायाँ देखेर डुबेको बाँदर बचाउने भन्दै बाँदर हामफालेको या अग्रज बाँदरको अभिनय गरेको हुनसक्ने अनुमान छ । ‘जे पनि हुन सक्छ तर घटना एक प्रकारले रहस्यमय बनेको छ,’ त्रिपुरासुन्दरी गापाका अध्यक्ष भक्तध्वज बोहराले भने ।  

यसअघि ०७६ सालमा चौतारा–साँगाचोकगढी नगरपालिका–१३ को महाकालेश्वर मन्दिर छेउको पोखरीमा डुबेर १६ वटा बाँदर मरेका थिए ।

बाँदर विशेषज्ञ मुकेश चालिसे भने यसरी बाँदरले छायाँ देखेर हामफालेको हुने कुरा लगभग असम्भव रहेको बताए । ‘बाँदर पानीमा मज्जाले पौडन सक्छ । पोखरीमा कुनै खानेकुरा लिने होडमा यो भएको हुनसक्छ,’ उनले भने, ‘या पोखरीमा करेन्ट लगाइएको हुनसक्छ । त्यत्तिकै बाँदरले हाम फाल्दैनन् ।’

बाँदरले सामूहिक रुपमा हामफालेको कुरा पहिलोपटक सुनेको उनले बताए । ‘अनुसन्धान गर्न जरुरी छ,’ उनले भने ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully