लिखुतामाकोशी गाउँपालिका–७ तिल्पुङस्थित दारिम बोटमा सोमबार बिहान सडकमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
रामेछाप — वर्षापछिको पहिरोका कारण रामेछापको हलेदे–धोबी–सिरिसे–ढाडे सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
लिखुतामाकोशी गाउँपालिका–७ तिल्पुङस्थित दारिम बोटमा सोमबार बिहान सडकमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
पहिरोका कारण सडकमा मोटरसाइकलसमेत सञ्चालन हुन नसक्ने अवस्था रहेको लिखुतामाकोशी गाउँपालिका–७ का वडा सदस्य सरोजकुमार आलेमगरले बताए।
उनका अनुसार सडक खुलाउन पूर्वाधार विकास कार्यालय रामेछापसँग समन्वय भइरहेको छ। 'रातिको वर्षासँगै माथिबाट ठूलो पहिरो खस्यो। सडक पूर्ण रूपमा बन्द भएको छ। मोटरसाइकलसमेत वारपार गर्न सक्ने अवस्था छैन,' उनले भने, 'पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको छ।'
सडक अवरुद्ध भएपछि लिखुतामाकोशी गाउँपालिकाका विभिन्न वडा तथा ओखलढुंगा जिल्लाबाट राजधानी काठमाडौँतर्फ हिँडेका सवारी साधन बाटोमै रोकिएका छन्। यात्रुहरू अलपत्र परेका छन्।
हलेदे–धोबी–सिरिसे–ढाडे सडक रामेछाप हुँदै ओखलढुंगाको पोकलीसम्म जोड्ने प्रमुख सडक हो। यही मार्ग हुँदै दैनिक रूपमा स्थानीय तथा लामो दूरीका सवारी सञ्चालन हुने गर्छन्।
यसैबिच सोही सडकको तिल्पुङ खण्डमा गत आर्थिक वर्षको अन्त्यतिर गरिएको कालोपत्र गुणस्तरहीन भएकाले अहिले सडक थप जोखिमपूर्ण बनेको छ । वडासदस्य आले मगरका अनुसार बागमती प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय रामेछापमार्फत गौरीशङ्कर–रूपाकाली जेभीले ४.२ किलोमिटर सडक कालोपत्र गरेको थियो।
२०८० असार १८ गतेदेखि सुरु भएको निर्माण २०८२ असारभित्र सम्पन्न भए पनि कालोपत्र एक महिनामै ठाउँ–ठाउँमा उप्किएको, सडक भाँसिएको तथा भित्तामा निर्माण गरिएका संरक्षण संरचना भत्किन थालेका थिए। उनले अहिले पनि सडकका धेरै भाग जोखिममा रहेको दाबी गरे। 'गुणस्तरहीन निर्माणका कारण सडकका धेरै स्थान जोखिममा छन्। कतिपय ठाउँमा बस्तीसमेत जोखिममा परेको छ,' उनले भने, 'निर्माण गरिएका नालाबाट पानी चुहिँदा विभिन्न स्थानमा पहिरो जाने अवस्था बनेको छ। यसबारे पटक–पटक पूर्वाधार विकास कार्यालय रामेछापलाई जानकारी गराए पनि आवश्यक चासो दिइएन।' लगातारको वर्षासँगै सडकको कमजोर संरचनाले थप क्षति निम्त्याएको उनको भनाइ छ।
