खेताला खोज्न निस्किएका वृद्ध चार दिनदेखि बेपत्ता

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ पुरानछाप निवासी ६३ वर्षीय यमबहादुर भण्डारी साउन १ गते धान रोपाइँका लागि खेताला खोज्न हिँडेपछि सम्पर्कमा छैनन् ।

श्रावण ४, २०८३

अनिश तिवारी

Elderly man who went out to look for farmer missing for four days

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ पुरानछाप निवासी ६३ वर्षीय यमबहादुर भण्डारी तीन दिनदेखि सम्पर्कविहीन भएका छन्।

भण्डारीका छोरा राजुका अनुसार साउन १ गते उनी धान रोपाइँका लागि खेताला खोज्न भन्दै घरबाट निस्किएका थिए। त्यसअघि गोठमा घाँस हाल्न गएका उनी सम्पर्कमा आएका छैनन् ।

'साउन २ गते कोटे क्षेत्रमा बुबालाई देखिएको भन्ने सूचना प्राप्त भएको थियो। त्यसयता उहाँको अवस्थाबारे कुनै जानकारी छैन,'राजुले भने। आफन्त, छिमेकी तथा सम्भावित स्थानमा खोजी गर्दा पनि फेला नपरेपछि परिवारले सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ। परिवारले सामाजिक सञ्जालमार्फत समेत खोजीको सूचना सार्वजनिक गरेको छ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक कृष्ण खड्काले परिवार तथा प्रत्यक्षदर्शीसँग समन्वय गरेर खोजी कार्य जारी रहेको बताए। 'यमबहादुरलाई कतै देखेमा वा उहाँबारे कुनै जानकारी भए नजिकको प्रहरी कार्यालय वा परिवारलाई तत्काल जानकारी गराइदिन अनुरोध गरेका छौं। प्रहरीले पनि विभिन्न कोणबाट सोधपुछ र खोजी गरिरहेको छ,'उनले भने। 

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully