सडक विभाग, पुल सेक्टर काठमाडौंका अनुसार पुलमा अहिले कुनै प्राविधिक समस्या नरहेको र सवारी आवागमनसमेत सुरु भइसकेको छ ।
What you should know
रामेछाप — निर्माणकै क्रममा स्पान भाँचिएपछि चर्चामा आएको मन्थली नगरपालिका–६ कुनौरी र वडा नम्बर ७ भटौली जोड्ने ठेडिखोलाको पक्की पुलको लोड टेस्टिङ गरिएको छ । सडक विभाग, पुल सेक्टर काठमाडौंका अनुसार पुलमा अब कुनै प्राविधिक समस्या नरहेको र सवारी आवागमनसमेत सुरु भइसकेको छ ।
सडक विभाग, पुल सेक्टर काठमाडौंकी आयोजना प्रमुख रत्न लक्ष्मी बज्राचार्यका अनुसार पुलको मुख्य संरचना निर्माण सम्पन्न र लोड टेस्टिङ पनि भइसकेको छ । अब एप्रोच सडकमा सामान्य फिनिसिङ तथा कालपत्रेको केही काम मात्रै बाँकी रहेको उनले बताइन् ।
'भाँचिएको स्पान पूर्ण रूपमा हटाएर नयाँ निर्माण गरिएको हो । त्यसपछि आवश्यक सबै परीक्षण र लोड टेस्टिङ सम्पन्न गरिएको छ । अहिलेको अवस्थामा पुलमा कुनै प्राविधिक समस्या छैन,' बज्राचार्यले भनिन् । उनका अनुसार भाँचिएको स्पान मर्मत नभइ पूर्ण रूपमा भत्काएर नयाँ निर्माण गरिएको हो । त्यसैले पुरानो संरचनासँग सम्बन्धित कुनै जोखिम बाँकी नरहेको उनको दाबी छ।
'यदि भत्किएको भागलाई बनाउने मात्र काम गरिएको भए चिन्ता हुन सक्थ्यो । तर त्यो भाग पूरै हटाएर नयाँ निर्माण गरिएको हो । त्यसैले अहिले प्राविधिक रूपमा कुनै समस्या छैन,' उनले भनिन् । पुलमा सवारी साधन सञ्चालन समेत सुरु भइसकेको आयोजना प्रमुख बज्राचार्यले बताइन् । 'गाडी त पुलबाट गुडिसकेको छ । अब फाइनल ह्यान्डओभरको प्रक्रिया बाँकी हो,' उनले भनिन् । यसअघि स्वीकृत भएको डिजाइन तथा ठेक्का सम्झौतामा कुनै परिवर्तन नभएकाले लागत पनि परिवर्तन नभएको उनले स्पष्ट पारिन् । 
गत वर्ष निर्माणकै क्रममा पुलको बीचको स्पान भाँचिएपछि उक्त आयोजना चर्चामा आएको थियो । चार वटा स्पान रहेको उक्त पुलको एउटा स्पान २६ वैशाख २०८२ मा भाँचिएको थियो ।
सडक विभागको पुल सेक्टर काठमाडौंले आर्थिक वर्ष २०७८/७९ मा ठेक्का लगाएको उक्त पुल निर्माणको जिम्मा कालिका–कल्पवृक्ष जेभीले पाएको थियो । निर्माण सम्झौताअनुसार पुलको काम भदौ मसान्त २०८२ सम्म सक्नुपर्ने भए पनि कम्पनीले असारमै सम्पन्न गर्ने लक्ष्य राखेको थियो ।
कुल २३० मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको पुल निर्माणका लागि सरकारले भ्याट र पिएस आइटमबाहेक २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । कार्यालयले पुल निर्माण सम्पन्न भएको बताए पनि औपचारिक उद्घाटन भने भएको छैन ।
यो पुल बनेसँगै रामेछाप सदरमुकाम मन्थली हुँदै क्षेत्र नम्वर २ को खाँडादेवी, दोरम्बा, शैलुङ र सुनापति गाउँपालिकासँग प्रत्यक्ष जोडिएको छ । यो पुलबाट सदरमुकाम मन्थलीबाट सिधै खाँडादेवी, सुनापति हुँदै काभ्रेपलाञ्चोक निस्किएर राजधानी काठमाडौं जान छोटो दूरी पर्नेछ ।
