हेटौंडा–६ रोएनी कोलोनीस्थित कर्रा खोला नजिक उक्त घटना भएको हो ।
मकवानपुर — मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ रोएनी कोलोनीस्थित कर्रा खोला नजिक पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा एक किशोरको डुबेर मृत्यु भएको छ।
शनिबार दिउँसो करिब १:१० बजे साथीहरूसँग पौडी खेल्ने क्रममा हेटौंडा–१७ निवासी केशव राईका १३/१४ वर्षीय छोरा युकेश राई डुबेका थिए। स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त खोजीपछि उनलाई घटनास्थलबाट उद्धार गरी हेटौंडा अस्पताल लगिएको थियो।
अस्पताल पुर्याइएपछि दिउँसो २:२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
