पहिरोका कारण अवरुद्ध नेपाल–चीन सीमा जोड्ने तातोपानी नाका तीन दिनपछि बिहिबारदेखि सञ्चालनमा आएको भोलिपल्टै शुक्रबार बिहानदेखि फेरि ठप्प भएको हो।
सिन्धुपाल्चोक — पहिरोका कारण अवरुद्ध नेपाल–चीन सीमा जोड्ने तातोपानी नाका तीन दिनपछि बिहिबारदेखि सञ्चालनमा आएको भोलिपल्टै शुक्रबार बिहान पुनः ठप्प भएको छ।
सोमबार लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै इको र डाक्लाङ क्षेत्रमा सडक भासिएपछि अवरुद्ध बनेको कोदारी सडकखण्ड मर्मत गरी बिहीबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको थियो। सडक खुलेसँगै सीमापार कन्टेनर आवतजावत पनि सुरु भएको थियो।
तर बिहिबार रातभरको अविरल वर्षापछि इको क्षेत्रमा माथिबाट बग्ने खोल्साको पानीले सडक बगाएपछि नाका फेरि बन्द भएको नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यसमिति सदस्य राजेश भण्डारीले बताए। 'बिहीबार साँझदेखि नाका सञ्चालनमा आएको थियो। तर रातिको वर्षाले इको क्षेत्रमा खोल्साको पानी सडकमै पसेर बाटो बगायो। त्यसपछि नाका पुनः बन्द भएको छ,' उनले भने।
भण्डारीका अनुसार लिपिङ, डाक्लाङ र इको क्षेत्रमा सडक एकतर्फी सञ्चालनमा आएपछि चीनबाट कन्टेनर भित्रिन थालेका थिए। सडक अवरुद्ध हुँदा चीनतर्फबाट स्याउ, सुन्तला, अदुवा, रेडिमेड सामग्री तथा विभिन्न उपकरण बोकेका करिब १ सय ५० कन्टेनर कोदारी नाका पार गर्ने प्रतीक्षामा थिए। जसमा २० वटा कन्टेनर मात्रै पार भएका छन् र अधिकांश पहिरो पारि छन् । न्यालमलगायत चीनका विभिन्न स्थानमा करोडौं रुपैयाँ बराबरका सामग्री लोड गरिएका ४५ भन्दा बढी कन्टेनर पनि रोकिएका थिए।
यता सडक बन्द भएपछि आउन लागेका कन्टेनर बाटोमै थन्किएका छन् । बिहीबार साँझ सडक खुलेपछि ती कन्टेनर नेपाल भित्रिन थालेका थिए। तर शुक्रबार बिहानै सडक पुनः अवरुद्ध भएपछि ढुवानी फेरि रोकिएको छ।
बारम्बारको अवरोधले व्यवसायी थप निराश बनेका छन्। इको पहिरोमाथि करिब १ सय ७५ घरधुरी रहेको र तलतिर भोटेकोशी नदीले निरन्तर कटान गरिरहेकाले दीर्घकालीन समाधान चुनौतीपूर्ण बनेको स्थानीयको भनाइ छ । हिमालय सीमापार वाणिज्य संघका कार्यकारिणी सदस्य शारदाप्रसाद पराजुलीले वर्षेनी सडक अवरुद्ध हुने समस्या दोहोरिने भएकाले स्याउ बोकेका धेरै कन्टेनर केरुङ नाकातर्फ मोड्नुपरेको बताए । 'विगत वर्षमा झै कन्टेनरमै फलफुल कुहिएर फाल्नुपर्ने बाध्यता होला भनेर हामि तनावमा छौ, हाम्रो यो दु:ख सरकारले कहिले देख्छ ?,' उनले भने ।
