नयाँ राहदानी प्रणाली लागू हुँदा केही प्राविधिक समस्या देखिए पनि रामेछापमा सेवा सामान्य अवस्थामा फर्किएको र आवेदन सहज रूपमा दर्ता भइरहेको छ।
What you should know
रामेछाप — राहदानी विभागले नयाँ राहदानी प्रणाली लागू गरेपछि देशका विभिन्न जिल्लामा राहदानी आवेदन (फर्म) नै सबमिट हुन नसक्ने लगायतका समस्या देखिएको गुनासो बढेको छ। तर रामेछापमा भने अहिले सेवा सहज रूपमा सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकीय अधिकृत चूडामणि अर्यालका अनुसार नयाँ प्रणाली कार्यान्वयनको प्रारम्भिक चरणमा केही प्राविधिक समस्या देखिए पनि गत सोमबारदेखि राहदानी सेवा सामान्य अवस्थामा फर्किएको छ।
'नयाँ राहदानी प्रणाली लागू भएपछि केही दिन समस्या आएको थियो,' उनले भने, 'पहिले एउटै भेन्डरको प्रणाली करिब १२–१४ वर्षसम्म प्रयोगमा थियो। अहिले सुरक्षा प्रणाली (सेक्युरिटी फिचर) थप सुदृढ बनाइएको छ। राष्ट्रिय परिचयपत्रसँग विवरण भिडान, बायोमेट्रिक तथा नन–बायोमेट्रिक विवरणको प्रमाणीकरण, राहदानीको सुरक्षा प्रणाली स्तरोन्नति लगायतका कारण प्रारम्भिक समस्या देखिएको हो। गत सोमबारदेखि भने त्यस्तो समस्या पनि छैन।'
राहदानी विभागको नयाँ प्रणाली कार्यान्वयनको तयारीस्वरूप जिल्ला प्रशासन कार्यालय रामेछापले प्रणाली स्तरोन्नतिका लागि असार २४ देखि २६ गतेसम्म राहदानी सेवा स्थगित गरेको थियो। प्रशासकीय अधिकृत अर्यालका अनुसार हाल जिल्ला प्रशासन कार्यालयमा दैनिक २० देखि ४० जनासम्म सेवाग्राही राहदानी बनाउन आउने गरेका छन्। नयाँ प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएसँगै राहदानी सेवा नियमित र सहज रूपमा प्रवाह भइरहेको उनले बताए।
सेवाग्राही उमाकुण्ड गाउँपालिका–१ का मिलन विकले नयाँ राहदानी प्रणाली लागू भएपछि सेवा प्रवाहमा सामान्य ढिलाइ भए पनि ठूलो समस्या नभएको बताए। उनका अनुसार राहदानी बनाउन पहिलेको तुलनामा केही समय बढी लागेको अनुभव भए पनि आवेदन नै सबमिट नहुने वा सेवा पूर्ण रूपमा अवरुद्ध हुनेजस्ता समस्या रामेछापमा देखिएका छैनन्।
'भर्खरै नयाँ राहदानी प्रणाली लागू भएकाले सुरुआती चरणमा केही प्राविधिक समस्या आउनु स्वाभाविक हो,' उनले भने, 'तर यहाँ आवेदन नै दर्ता हुन नसक्ने जस्तो समस्या देखिएन। केही समय बढी लागे पनि सेवा सहज रूपमा प्राप्त भयो।'
