बोटे समुदायले मनाए नयाँ वर्षः राप्ती किनारमा सामूहिक पूजा

चितवनका बोटे समुदायले साउन संक्रान्तिमा जल, जमिन र जंगलको पूजा गर्दै नयाँ वर्षको शुभकामना आदानप्रदान गरे।

श्रावण १, २०८३

रमेशकुमार पौडेल

Bote community celebrates New Year: Mass worship on the banks of the Rapti

What you should know

चितवन — साउन १ लाई आदिवासी बोटे समुदायले नयाँ वर्ष र मुख्य पर्वका रुपमा मनाउँछन् । चितवनका बोटे समुदायले शुक्रबार पटिहानी छितामाई राप्ती नदी किनारमा भेला भएर सामूहिक रुपमा पूजा सम्पन्न गर्नुका साथै नयाँ वर्षको शुभकामना ‘लेलाहार देलाहार’ कार्यक्रम गरेका छन् । लिनेदिनेलाई बोटे भाषामा लेलाहार देलाहार भनिन्छ । 

भरतपुर महानगरपालिका–२२ पटिहानी घटगाइँका रामराज बोटे बिहानै राप्ती किनार पुगेका थिए । उनी संक्रान्ति पूजाका ‘गुरुवा’ अर्थात पूजा गराउने मूल कर्ता हुन् । धमिलो नदीभित्र घडियाल गोहीको चहलपहल थियो । केहीबेरमा चितवन र तनहुँ देवघाटबाट पुगेका बोटे समुदायका महिला पुरुष, र बालबालिका जम्मा भए। ‘गुरुवा’ रामराजले पहिला जल, जमिन र जंगलको विधिपूर्वक पूजा गरे ।

Bote community celebrates New Year: Mass worship on the banks of the Rapti

पटिहनीका बिना बोटेले साथीहरुसँग मिलेर पूजाका लागि आवश्यक सामग्री जुटाएकी थिइन् । जंगलको कुरिलो, भोर्लाको पात, थाकल पूजा स्थलमा आइपुगेको थियो । बोटे समुदायको परम्रागत पेशा डुंगा चलाउने, माछा मार्ने र कही कतै नदी र खेला किनारको बालुवा चालेर सुन निकाल्ने पनि हो । खोलामा डुङ्गाहरु तैरिरहेका थिए । ती डुङ्गाको पनि पूजा गरिएको थियो ।

त्यहाँ डुङ्गाको सानो नमुना, माछा राख्ने ढडिया, माछा मार्ने जाल, बालुवामा सुन चाल्दा उपयोग हुने डुँड, बालुवा बटुल्ने सोहर्ना, चिनौटा जस्ता सामग्री पनि पूजा स्थलमा थिए । ‘बोटेहरु कि खोलामा कि जंगलमा आश्रित छन्। साउनको भेलमा जलको पूजा गरे आपत पर्दैन । हरियाली बढेका बेलामा जंगलको पूजा गरे प्रकृतिले हामीलाई रक्षा गर्छ भन्ने विश्वास हो,’ बिना बोटेले भनिन् ।

Bote community celebrates New Year: Mass worship on the banks of the Rapti

नेपाल बोटे समाज जिल्ला कार्यसमिति चितवनले कार्यक्रम आयोजना गरेको हो । ‘हाम्रो आफ्नै चाडपर्वमा साउने संक्रान्ति मुख्य पर्व हो । प्रकृतिको पूजा गर्दै मिठो पकाएर खाने दिन हो । यसलाई नयाँ पुस्ताले पनि निरन्तरता दिन आवश्यक छ भनेर सामूहिक रुपमा पूजा गर्ने र शुभकामना आदनप्रदान गर्न सुरु गरेका छौं,’ नेपाल बोटे समाज चितवनका कार्यवाहक अध्यक्ष विश्व बोटेले भने । 

चितवनमा राप्ती, रिउ र नारायणी नदी किनार क्षेत्रमा बोटे समुदायको बसोबास छ । २०७८ को जनगणना अनुसार जिल्लाको कुल जनसंख्या ७ लाख १९ हजार ८५१ छ । बोटे समुदायको जनसंख्या ३ हजार १४४ रहेको नेपाल बोटे समाज चितवनका अध्यक्ष सन्तोष बोटेले बताए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully