सोमबार दिउँसो काठमाडौंबाट हेटौंडातर्फ आउने क्रममा कुलेखानी ड्याममुनि सिमखोलामा आएको बाढीले स्कुटरसहित उनलाई बगाएको थियो ।
हेटौंडा — मकवानपुरको इन्द्रसरोवरस्थित सिमखोलाले चार दिनअघि स्कुटरसहित बगेर बेपत्ता भएका चालक मृत अवस्थामा फेला परेका छन । उनी सर्लाही ढुग्रेबासका ३० वर्षीय महेश कार्की रहेको प्रहरीको भनाइ छ ।
सिमखोलाको बाढीले बगाएको स्कुटर भने मंगलबार फेला परेको थियो । खोलाको बहाव कम भएपछि बुधवार अपराह्नदेखि डोजर लगाएर खोलाको बालुवा खोतल्ने काम गरिएको थियो । सो क्रममा कज-वेबाट करिब २ सय मिटर तल बालुवाले पुरेको अवस्थामा शव फेला परेको खानीखेतस्थित सशस्त्र प्रहरी बलका एक प्रहरी अधिकृतले बताए ।
सोमबार दिउँसो काठमाडौंबाट हेटौंडातर्फ आउने क्रममा कुलेखानी ड्याममुनि सिमखोलामा आएको बाढीले बा.प्र. ०२–०३२ च ८०५४ नम्बरको स्कुटरसहित चालक बगाएको थियो । सडकबाट करिब सय मिटरमुनि खोलामा मंगलबार स्कुटर र ब्लुबुक फेला परेपछि स्कुटर धनीको नाम खुलेको थियो ।
चालक कार्की काठमाडौंमा राइड सेयरिङका चालक थिए । सोमबार घरतर्फ जाने क्रममा उक्त घटना भएको हो ।
