रामेछापमा निर्माण सुरु भएको ७ वर्षपछि शीत भण्डार सञ्चालन

मुख्य संरचना निर्माण सम्पन्न भएको तीन वर्षपछि अन्य पूर्वाधार तयार भएसँगै मंगलबारदेखि शीत भण्डार परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको हो।

असार ३०, २०८३

नवराज श्रेष्ठ

Cold storage facility operational in Ramechhap 7 years after construction began

रामेछाप — मन्थली नगरपालिका–१ सानीमदौमा वर्षौँदेखि अलपत्र परेको शीत भण्डार सञ्चालनमा आएको छ। मुख्य संरचना निर्माण सम्पन्न भएको तीन वर्षपछि आवश्यक पूर्वाधार तयार भएसँगै मंगलबारदेखि भण्डारगृह परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको हो।

बाग्मती प्रदेश सरकार र मन्थली नगरपालिकाको ७०/३० प्रतिशत लागत साझेदारीमा सात करोड रुपैयाँभन्दा बढी खर्चेर निर्माण गरिएको ५०० मेट्रिक टन क्षमताको शीत भण्डारगृह स्थानीय किसानका उत्पादन सुरक्षित भण्डारण गर्ने उद्देश्यले निर्माण गरिएको हो। तर मुख्य संरचना तयार भए पनि घेरबार, कर्मचारी आवास, शौचालयलगायतका सहायक पूर्वाधार नबन्दा लामो समयदेखि सञ्चालनमा आउन सकेको थिएन।

आर्थिक वर्ष २०७५/७६ मा निर्माण सुरु भएको परियोजनाको ठेक्का काठमाडौँस्थित इजी इन्फ्रा प्रालिले आर्थिक वर्ष २०७७/७८ भित्र सम्पन्न गर्ने गरी लिएको थियो। तर निर्माण कम्पनीले सम्झौताअनुसार काम सम्पन्न नगर्दा मुख्य संरचना मात्रै २०८० साउनमा निर्माण सकिएको थियो।

भण्डारगृह औपचारिक रूपमा नगरपालिकालाई हस्तान्तरण हुन नसकेपछि नगरपालिकाले पटक–पटक ताकेता गर्दै बाँकी संरचना निर्माणका लागि पहल गरेको थियो। त्यसपछि चालु आर्थिक वर्ष २०८२/८३ मा वाग्मती प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेपछि घेरबार, कर्मचारी आवास, शौचालयलगायतका आवश्यक संरचना निर्माण सम्पन्न भएको हो। बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले मंगलबार शीत भण्डार गृहको परीक्षण सञ्चालनको शुभारम्भ गरे।

मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठका अनुसार भण्डार गृहको मुख्य संरचना निर्माणमा वाग्मती प्रदेश सरकारले पाँच करोड रुपैयाँ र नगरपालिकाले २ करोड १० लाख रुपैयाँ लगानी गरेका छन्। भण्डारगृह सञ्चालनका लागि आवश्यक विद्युत् लाइन विस्तार तथा टीओडी मिटर जडानसमेत नगरपालिकाकै लगानीमा गरिएको उनले बताए।

  1. नगरप्रमुख श्रेष्ठका अनुसार अहिले परीक्षण सञ्चालन सुरु गरिएको भण्डार गृहको व्यवस्थापन तथा सञ्चालनलाई व्यवस्थित बनाउन बाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि थप ३० लाख रुपैयाँ विनियोजन गरेको छ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully