प्रतिकूल मौसमले हेलिकप्टर नउड्दा खानीखोलाबाट गर्भवतीको पैदलै उद्धार

हेलिकप्टरमार्फत उद्धारका लागि निरन्तर प्रयास गरे पनि खराब मौसमका कारण उडान हुन नसकेपछि अन्ततः पैदलमार्गबाटै अस्पताल लगिएको हो।

असार २८, २०८३

ज्योती श्रेष्ठ

काभ्रे — प्रतिकूल मौसमका कारण हेलिकप्टरमार्फत उद्धार सम्भव नभएपछि काभ्रेको विकट पालिका खानीखोला गाउँपालिका ६ की गर्भवती सानीमाया लोप्चनलाई पैदलमार्गबाट अस्पतालतर्फ लगिइएको छ।

स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, नेपाल सरकार तथा गृहमन्त्रालयले शनिबार साझदेखि हेलिकप्टरमार्फत उद्धारका लागि निरन्तर प्रयास गरे पनि खराब मौसमका कारण उडान हुन नसकेपछि अन्ततः पैदलमार्गबाटै अस्पताल लगिएको हो।

उनलाई आइतबार बिहान ८ बजेको समयमा स्थानीयले स्ट्रेचरमा राखेर पैदल बाटो हुँदै जिल्ला अस्पताल ल्याइएको खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ्ले जानकारी दिए ।

शनिबार साझ र आइतबार बिहानदेखि निरन्तर प्रयास गरे पनि मौसम खराबका कारण हवाई उद्धार हुन नसकेपछि स्थानीयले स्ट्रेचरमा बोकेर पैदल अस्पताल ल्याउँदै गरेको उनले बताए ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully