नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काका अनुसार, गोदावरी क्षेत्र मनसुनजन्य विपद्को उच्च जोखिममा रहेकाले सम्भावित जनधनको क्षति न्यूनीकरण र पूर्वसतर्कताका लागि यो कडा निर्णय लिएको हो ।
ललितपुर — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौँ उपत्यका भित्रका विभिन्न सडक पूर्वाधार निर्माण लगायतका मुख्य आयोजनाहरूमा ढुङ्गा, गिट्टी, र बालुवा आपूर्ति गर्ने प्रमुख खानीजन्य क्षेत्रको रूपमा रहेको ललितपुरको गोदावरी नगरपालिकाले मनसुन अवधिभरका लागि हेभी इक्विपमेन्ट प्रयोग र उत्खनन कार्यमा पूर्ण रोक लगाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काका अनुसार, गोदावरी क्षेत्र मनसुनजन्य विपद्को उच्च जोखिममा रहेकाले सम्भावित जनधनको क्षति न्यूनीकरण र पूर्वसतर्कताका लागि यो कडा निर्णय लिएको हो । वर्षायाममा जमीन कमजोर हुने र तीव्र उत्खननले पहिरो तथा बाढीको रूप लिने भएकाले वातावरणीय सुरक्षालाई प्राथमिकता दिइएको उनले बताए ।
'यसवर्ष मनसुनजन्य गतिविधि चाँडै सुरु भइसकेको संकेतहरू देखिएका छन् । गोदावरी क्षेत्र प्राकृतिक रूपमै विपद्को उच्च जोखिममा रहेकाले आगामी असार १६ गतेदेखि नै लागू हुने गरी यो वर्षको मनसुन पूर्ण रूपमा स्थगित (समाप्त) नभएसम्मका लागि हेभी इक्विपमेन्ट प्रयोग गरी जग्गा सम्याउने, उत्खनन गर्ने तथा यस्ता प्रकृतिका अन्य सम्पूर्ण कार्यहरूमा रोक लगाइएको छ', प्रमुख प्रशासकीय अधिकृत खड्काले कान्तिपुरसँग भने ।
प्रचुर मात्रामा खानी र प्राकृतिक स्रोत साधन भएको गोदावरी नगरपालिका काठमाडौँ उपत्यकाको समग्र निर्माण सामग्री आपूर्तिको मुख्य मेरुदण्ड मानिन्छ । विशेष गरी उपत्यकाका रणनीतिक सडक सञ्जाल विस्तार, मर्मत तथा काठमाडौँ विमानस्थलको धावनमार्ग र अन्य पूर्वाधार विकासमा यहाँका खानीहरूबाट उत्पादित निर्माण सामग्री आपूर्ति हुँदै आएको छ । तर, मनसुनको समयमा गरिने अव्यवस्थित खानी उत्खननले ठूलो विपद् निम्त्याउन सक्नेतर्फ सरोकारवालाहरूले चिन्ता व्यक्त गर्दै साताअघि छलफल पनि आयोजना भएको थियो ।
नगरपालिकाद्वारा नगरपालिकास्तरीय तथा वडास्तरीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिहरू, साझेदार संघ-संस्थाहरू एवं सम्पूर्ण नगरवासीहरूलाई पूर्वतयारीमा जुट्न भनिएको छ।
सम्भावित बाढी र पहिरो जस्ता मनसुनजन्य विपद्बाट हुन सक्ने मानवीय र भौतिक क्षति कम गर्न सबै क्षेत्रबाट आवश्यक सहयोग र समन्वयका लागिसमेत प्रमुख प्रशासकीय अधिकृत खड्काले अनुरोध गरेका छन् ।
नगरपालिकाले तय गरेको नियम विपरीत कसैले रोक लगाइएको अवधिमा उत्खनन गरेमा वा हेभी इक्विपमेन्ट प्रयोग गरेको पाइएमा कानुन बमोजिम कडा कानुनी कारबाही गरिने चेतावनीसमेत नगरपालिकाले दिएको छ।
