रामेछापका चार स्थानीय तहमध्ये कुनै पनि स्थानीय तहले चालु आर्थिक वर्षमा पुँजीगत खर्च ८० प्रतिशत कटाउन सकेनन् ।
What you should know
रामेछाप — यस वर्ष पनि जिल्लाका स्थानीय तहहरुले विकास अर्थात् पुँजीगत खर्च ८० प्रतिशत कटाउन सकेनन् ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ ले आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिनअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था गरेको छ। सोही कानुनी प्रावधानअनुसार रामेछापका सबै स्थानीय तहमा असार २५ मध्यरातदेखि भुक्तानी निकासा बन्द भइसकेको छ। भुक्तानी रोकिएसँगै आर्थिक वर्ष २०८२/८३ को खर्चको अन्तिम चित्र पनि करिब स्पष्ट भएको हो।
मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा कुल स्वीकृत बजेटको ८५.०४ प्रतिशत बजेट खर्च गरेको छ। प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाका अनुसार चालुतर्फ ९० प्रतिशत र पुँजीगततर्फ ७२.०३ प्रतिशत बजेट खर्च भएको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि स्वीकृत एक अर्ब ४ करोड ६५ लाख ६४ हजार रुपैयाँ बजेटमध्ये ८९ करोड ४३ लाख ७ हजार रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताए।
नगरपालिकाले चालु आर्थिक वर्षमा ४ करोड २३ लाख ५५ हजार रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएकोमा लक्ष्यभन्दा बढी ४ करोड २८ लाख १५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्न सफल भएको जनाएको छ।
आगामी आर्थिक वर्षमा ५ करोड ५० लाख ९१ हजार रुपैयाँभन्दा बढी आन्तरिक आम्दानी गर्ने लक्ष्य राखिएको र सोहीअनुसार आवश्यक तयारी अघि बढाइने सापकोटाले जानकारी दिए। यो नगरपालिकाले गत आर्थिक वर्ष २०८१/०८२ मा कुल बजेटको ८५.८८ प्रतिशत खर्च गरेको थियो । गत वर्ष चालुतर्फ ८९.४९ प्रतिशत र पुँजीगततर्फ ७७.०९ प्रतिशत बजेट गरेको थियो ।
गोकुलगंगा गाउँपालिकाले यो वर्ष स्वीकृत कुल बजेटको ७९.५६ प्रतिशत खर्च गरेको छ। आर्थिक वर्ष २०८२/८३ का लागि संशोधनसहित स्वीकृत कुल बजेट ५७ करोड ३० लाख ७४ हजार १७ रुपैयाँमध्ये ४५ करोड ५९ लाख ६२ हजार ७ सय ३ रुपैयाँ ९१ पैसा खर्च भएको छ।
प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईका अनुसार पुँजीगततर्फ विनियोजित १८ करोड १२ लाख ६० हजार रुपैयाँमध्ये १३ करोड ८६ लाख ७६ हजार ४ रुपैयाँ ८१ पैसा अर्थात् ७६.५१ प्रतिशत खर्च भएको छ। यस्तै चालूतर्फ विनियोजित ३९ करोड १८ लाख १४ हजार १७ रुपैयाँमध्ये ३१ करोड ७२ लाख ८६ हजार ६ सय ९९ रुपैयाँ १० पैसा अर्थात् ८०.९८ प्रतिशत खर्च भएको गाउँपालिकाले जनाएको छ।
सुनापति गाउँपालिकाले कुल विनियोजित बजेटको ८४.७८ प्रतिशत खर्च गरेको छ। प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठका अनुसार संशोधनसहित यो वर्ष ५४ करोड ६३ लाख ३२ हजार ३९२ रुपैयाँ बजेट विनियोजन गरिएको थियो। त्यसमध्ये ४६ करोड ३१ लाख ९४ हजार ६३९ रुपैयाँ खर्च भएको छ।
चालुतर्फ ३४ करोड ५५ लाख ५४ हजार ३९२ रुपैयाँ विनियोजन गरिएकामा ३१ करोड १९ लाख २२ हजार ७९९ रुपैयाँ अर्थात् ९०.२६ प्रतिशत खर्च भएको गाउँपालिकाले जनाएको छ। यस्तै, पुँजीगततर्फ २० करोड ७ लाख ७८ हजार रुपैयाँ बजेट विनियोजन गरिएकामा १५ करोड १२ लाख ७१ हजार ८४० रुपैयाँ अर्थात् ७५.३४ प्रतिशत खर्च भएको छ।
यस्तै, दोरम्बा शैलुङ गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा कुल विनियोजित बजेटको ७९.३६ प्रतिशत खर्च गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुकुमार महतका अनुसार संशोधनसहित आर्थिक वर्ष २०८२/०८३ का लागि गाउँपालिकाको कुल ५९ करोड १ लाख ८० हजार ५०१ रुपैयाँ बजेट विनियोजन गरिएको थियो। त्यसमध्ये ४६ करोड ८३ लाख ९७ हजार १ सय ७३ रुपैयाँ ८० पैसा खर्च भएको छ।
चालुतर्फ ३८ करोड २० लाख ८० हजार ५०१ रुपैयाँ विनियोजन गरिएकामा ३० करोड ३७ लाख ५३ हजार २९० रुपैयाँ १६ पैसा अर्थात् ७९.५० प्रतिशत खर्च भएको छ। त्यस्तै पुँजीगततर्फ २० करोड ८१ लाख रुपैयाँ विनियोजन गरिएकोमा १६ करोड ४६ लाख ४३ हजार ८८३ रुपैयाँ ६४ पैसा अर्थात् ७९.१२ प्रतिशत खर्च भएको गाउँपालिकाले जनाएको छ।
