१० असारमा प्रस्तुत गर्नु पर्ने गाउँपालिकाको बजेट सोमबार प्रस्तुत गरिएको हो । गाउँपालिकाले आगामी आवको निम्ति ६५ करोड ३१ लाख ७९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।
हेटौँडा — मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले आव १२ दिन ढिलो गरेर सोमबार आगामी आवको निम्ति नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । २०औँ गाउँ सभामा पालिकाका अध्यक्ष राजकुमार मल्लले आगामीको आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने पालिकाका उपाध्यक्ष वनस्थम थिङले अनुमानित बजेट प्रस्तुत गरेका थिए ।
१० असारमा प्रस्तुत गर्नु पर्ने गाउँपालिकाको बजेट सोमबार प्रस्तुत गरिएको हो । गाउँपालिकाले आगामी आवको निम्ति ६५ करोड ३१ लाख ७९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ । आगामी वर्षको बजेटको स्रोतमा ४६ करोड ८४ लाख संघीय सरकारबाट, ८ करोड ६९ लाख प्रदेश सरकारवाट र आन्तरिकबाट ९ करोड ७० लाख रुपैयाँ रहेको छ । पालिका तहका आन्तरिक स्रोत, प्रदेश सरकार समपूरक/शर्त अनुदान र संघीय सरकारका शीर्षकहरू गरी बहुस्रोतबाट संकलन हुने गरी बजेट तर्जुमा गरिएको छ ।
आगामी वर्षका लागि चालु पुँजी ३७ करोड ८६ रकम विनियोजन गरिएको छ भने पुँजीगतर्फ २७ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ । पालिकाको वजेटले कृषि, स्वास्थ, शिक्षा र पूर्वाधारलाई उच्च प्राथमिकतामा राखेको छ ।
यातायात पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी ४ करोड ८६ लाख विनियोजन भएको छ । पर्यटन क्षेत्रको पूर्वाधारहरू निर्माण गर्न २ करोड २४ लाख विनियोजन गरिएको छ ।
