७२ वर्षमा नागरिकता पाउँदा फुलमाया चेपाङले भनिन्–‘अब बृद्धभत्ता पाइने भो’

फुलमाया चेपाङले नागरिकता नपाउँदा सामाजिक सुरक्षा सुविधाबाट बञ्चित हुनु परेको थियो, पाँच वर्षको प्रयासपछि अन्ततः नागरिकता पाइन्।

असार २०, २०८३

प्रताप विष्ट

Upon receiving citizenship at the age of 72, Phulmaya Chepang said, ”Now I will get old-age allowance.”

What you should know

हेटौंडा — कपाल सेतै फुलेको छ, गाला चाउरी परिसकेका छन्। शुक्रबार ७२ वर्षीया फुलमाया चेपाङले पहिलो पटक नेपाली नागरिकताको प्रमाणपत्र हात पारिन्।

नागरिकता हातमा परेलगत्तै उनको अनुहार उज्यालियो। मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले नागरिकता थमाएपछि उनले वडाध्यक्ष उदास ब्लोनतर्फ हेर्दै चेपाङ भाषामा भनिन्, ‘ड्याह् बुढा भत्ता वाङना’ (अब बृद्धभत्ता पाइने भो)।' नागरिकता नभएकै कारण उनले अहिलेसम्म सामाजिक सुरक्षा भत्ता पाएकी थिइनन्।

कैलाश गाउँपालिका–७ खानीडाँडाकी फुलमाया जीवनमै पहिलो पटक हेटौंडा आएकी थिइन्। नाङ्गै खुट्टा प्रशासन कार्यालय पुगेकी उनका पैताला चर्किएका थिए। नेपाली भाषा नबुझ्ने उनी सहायक प्रजिअको कार्यकक्षमा पस्नसमेत डराइन्।

वडाध्यक्ष ब्लोनले हात समातेर भित्र लगेपछि मात्रै उनी सहज भइन्। नागरिकता पाएपछि भने उनको अनुहारमा मुस्कान फर्किएको थियो। साथमा आएका नातिसँग उनले छिट्टै घर फर्किन चेपाङ भाषामै आग्रह गरिरहेकी थिइन्।

सात छोराछोरीकी आमा र २३ नातिनातिनाकी हजुरआमा फुलमायाले पाँच वर्षअघि नागरिकताको सिफारिसका लागि वडा कार्यालय पुगेकी थिइन्। तर आवश्यक कागजात जुटाउन नसक्दा प्रक्रिया अघि बढ्न सकेन। एक दशकअघि श्रीमान् ठुले चेपाङको मृत्यु भइसकेको थियो। माइतीतर्फका बाबुआमा र दाजुभाइ पनि नरहेकाले आवश्यक प्रमाण जुटाउन उनले सकेकी थिइनन्।

फुलमायाले नागरिकता नपाएको विषयमा समाचार प्रकाशित भएपछि वडाध्यक्ष ब्लोन आफैं सक्रिय भए। आवश्यक कागजात जुटाएर सिफारिस गरेपछि शुक्रबार उनलाई जिल्ला प्रशासन कार्यालय ल्याई नागरिकता बनाइदिएका हुन्। उनका तीन छोरा र चार छोरीले धेरैअघि नै नागरिकता लिइसकेका थिए।

Upon receiving citizenship at the age of 72, Phulmaya Chepang said, ”Now I will get old-age allowance.”

गत फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा गाउँ पुगेका उम्मेदवारहरूसँग पनि उनले नागरिकता नपाएको पीडा सुनाएकी थिइन्। अहिले उनी कान्छा छोराको घरमा बस्छिन्। छोरा रोजगारीका लागि चितवनमा छन् भने बुहारीले दैनिक ज्यालादारी गरेर कमाएको पैसाले मकैको पिठो किनेर घर चलाउने गरेको उनले बताइन्।

फुलमायासँगै कैलाश गाउँपालिका–७ कै ५३ वर्षीया ठूलीमाया चेपाङले पनि शुक्रबार नागरिकता प्राप्त गरिन्।नेपाल चेपाङ संघका अध्यक्ष गोविन्दराम चेपाङका अनुसार मकवानपुरको कैलाश र राक्सिराङ गाउँपालिकामा मात्रै करिब ३५ प्रतिशत चेपाङ समुदाय अझै नागरिकताविहीन छन्। विशेषगरी ६० वर्षभन्दा माथिका धेरै चेपाङले नागरिकता नबनाएकाले सामाजिक सुरक्षा भत्तासमेत पाउन सकेका छैनन्।

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार चेपाङ समुदायका धेरैजसोले अतिआवश्यक नपरेसम्म नागरिकता बनाउन चासो दिँदैनन् । 'दुर्गम बस्तीमा पुगेर घुम्ती शिविर सञ्चालन गरियो भने धेरै नागरिकले नागरिकता पाउनेछन्,' उनले भने।

चेपाङ समुदाय नागरिकतामात्र होइन, लालपुर्जाविहीन समस्यासमेत भोगिरहेको छ। यो समुदायमा साक्षरता दर करिब ३० प्रतिशत मात्र रहेको छ। २०७८ सालको जनगणनाअनुसार नेपालमा ८४ हजार ३६४ चेपाङ छन्। तीमध्ये २३ हजार ६५० मकवानपुर र ३५ हजार ६३७ चितवनमा बसोबास गर्छन्। देशका २६ जिल्लामा चेपाङ समुदायको बसोबास रहेको पाइएको छ।  

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully