सशस्त्र प्रहरीको विपद् व्यवस्थापन खुर्काेटबाट खटिएका ९ जनाको गोताखोर टोली र स्थानीयले एक्स्काभेटर सहायताले जेटबोट निकालेका हुन् ।
दोलखा — रामेछाप सदरमुकाम मन्थलीस्थित तामाकोशी नदीमा शुक्रबार बिहान आकस्मिक रूपमा बढेको नदीको बहावले बगाएको तामाकोसी मरिण एड्भेन्चर प्रालिको जेटबोट करिब १२ घण्टापछि नदीबाट निकालिएको छ।
कम्पनीले नदी किनारमा राखेको जेटबोट शुक्रबार बिहान करिब ५ बजे एक्कासि बढेको बहावसँगै बगेको थियो। खोजीका क्रममा उक्त जेटबोट ८ किलोमिटर तल खाँडादेवी गाउँपालिका–४ रजगाउँभन्दा तल नदीमा दबिएको अवस्थामा फेला परेको थियो। दिनभरको प्रयासपछि शुक्रबार साँझ सशस्त्र प्रहरीको विपद् व्यवस्थापन खुर्काेटबाट खटिएका ९ जनाको गोताखोर टोली र स्थानीयले एक्स्काभेटर सहायताले जेटबोट नदीबाट निकालेर किनारमा ल्याइएको हो।
कम्पनीका सञ्चालक सागरहरि अधिकारीका अनुसार बिहान नदीको बहाव अप्रत्याशित रूपमा बढेपछि सुरक्षित रूपमा राखिएको जेटबोट नै बगाएको थियो। तामाकोसी मरिण एड्भेञ्चर प्रालिले करिब एक वर्षदेखि तामाकोशी नदीमा पर्यटकीय जेटबोट सेवा सञ्चालन गर्दै आएको छ।
