खाँडादेवी गाउँपालिका–४ रजगाउँभन्दा तल नदीमा दबिएको अवस्थामा फेला परेको जेटबोट निकाल्न गोताखोरसहितको टोली परिचालन गर्ने तयारी भइरहेको छ।
रामेछाप — रामेछाप सदरमुकाम मन्थलीस्थित तामाकोशी नदीमा शुक्रबार बिहान बढेको बहावले तामाकोसी मरिण एड्भेञ्चर प्रालिको जेटबोट बगाएको छ। नदी किनारमा बाँधेर राखिएको जेटबोट बिहान करिब ५ बजे बाढीसँगै बगेको हो।
कम्पनीका सञ्चालक सागरहरि अधिकारीका अनुसार खोजीका क्रममा जेटबोट खाँडादेवी गाउँपालिका–४ रजगाउँभन्दा तल नदीमा दबिएको अवस्थामा फेला परेको छ। जेटबोट निकाल्न गोताखोरसहितको उद्धार टोली परिचालन गर्ने तयारी भइरहेको उनले बताए।
'बिहान एक्कासि नदीको बहाव बढ्दा बाँधेर राखिएको जेटबोट बग्यो। खोजी गर्दा रजगाउँभन्दा मुनि नदीमा दबिएको अवस्थामा भेटिएको छ। अहिले गोताखोरसहितको टोली आउँदै छ,' अधिकारीले भने।
उनका अनुसार जेटबोटमा ६० लाख रुपैयाँभन्दा बढी लगानी गरिएको थियो। बाढीका कारण जेटबोटमा पुगेको क्षति, नदीको बहावले पुर्याएको असर तथा प्राविधिक अवस्थाबारे उद्धार कार्य सम्पन्न भएपछि मात्रै यकिन विवरण थाहा हुने उनले जानकारी दिए।
स्थानीयवासीका अनुसार शुक्रबार बिहान अचानक नदीको बहाव बढेपछि जेटबोट बग्दै गएको देखिएको थियो। केही स्थानीयले उक्त दृश्य भिडियोमा कैद गरी सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
तामाकोसी मरिण एड्भेञ्चर प्रालिले एक वर्षदेखि तामाकोशी नदीमा पर्यटकीय जेटबोट सेवा सञ्चालन गर्दै आएको थियो। २०८३ बाट कम्पनीले जेटबोटसँगै र्याफ्टिङ सेवा पनि सुरु गरेको थियो।
