चापाखर्कका सुनिल मोक्तानले काभ्रेबाट ल्याएर करिब १५ वर्षअघि .बुद्धचित्तको बिरुवा आफ्नो बारीमा रोपेको बताए । विगत केही वर्षदेखि उक्त रूखमा दाना लाग्न थालेका थिए ।
What you should know
हेटौंडा — मकवानपुरको दुर्गम गाउँ चापाखर्कमा रूखबाटै बुद्धचित्तका दाना चोरी भएको छ । कैलाश गाउँपालिका–१ चापाखर्कका सुनिल मोक्तानले आफ्नै घरछेउमा लगाएको बुद्धचित्तको रूखबाट दाना चोरी भएको हो ।
मोक्तानले आफ्नो बारीमा लगाएको बुद्धचित्तको रूखका दानाबापत व्यापारीसँग बैना लिएको अवस्थामा रूखबाटै दाना चोरी गरिएको बताए । असार १५ गते घरमा सबै सुतिरहेको अवस्थामा बुद्धचित्तका दाना चोरेर लगिएको मोक्तानले बताए । ‘राति १२ बजेसम्म सुतेका थिएनौं,’ उनले भने, ‘हामी सुत्ने बित्तिकै रूखका हाँगासमेत भाँचेर दानाजति सबै टिपेर लगेछन् ।’
सोमबार बिहान बारीमा गएर हेर्दा दाना रहेका हाँगा सबै लछारपछार गरी भाँचेर लगिएको अवस्थामा देखिएको उनले सुनाए । मोक्तानको घरबाट वुद्धचित्तको रूख करिब ५० मिटरको दूरीमा छ । एक साताअघिमात्र मोक्तानले बैनास्वरूप पाँच लाख रुपैयाँ व्यापारीसँग लिएको बताए ।
काभ्रे तेमालका व्यापारीलाई उनले १२ लाख रुपैयाँमा रूखका सबै दाना बिक्री गरेका थिए । ‘१२ लाख रुपैयाँमा कुरा टुंग्याएर ५ लाख बैना लिएको थिएँ,’ उनले दुखेसो पोख्दै भने, ‘७ लाख रुपैयाँभन्दा बढीका दाना चोरेर लगियो ।’ अब व्यापारीलाई के दिने होला भन्ने चिन्ता रहेको उनले सुनाए । गत वर्ष मोक्तानले बुद्धचित्तका दाना बिक्री गरेर आठ लाख रुपैयाँ कमाइ गरेका थिए । ‘अहिलेको वर्ष पोहरको भन्दा धरै फलेको थियो,’ उनले थपे ।
मोक्तानले काभ्रेबाट ल्याएर करिब १५ वर्षअघि .बुद्धचित्तको बिरुवा आफ्नो बारीमा रोपेको बताए । विगत केही वर्षदेखि उक्त रूखमा बुद्धचित्तका दाना लाग्न थालेका थिए । बिक्री हुन्छ भन्ने कुरा थाहा नपाएर लामाहरूलाई सित्तैँमा दिने गरेका थिए । विगत दुई वर्षदेखि मात्र बिक्री गर्न थालेका हुन् । मोक्तानको बारीमा अहिले २२ वटा बुद्धचित्तका रूख छन् । २१ वटा बुद्धचित्तका विरुवा तीन वर्षअघि ल्याएर रोपेका हुन् ।
पहिले यसको मूल्य र बजारबारे जानकारी नभएकाले लामा गुरुलाई निःशुल्क दिने गरेको र पछि व्यापारी आएपछि बिक्री सुरु गरेको उनले बताए । मोक्तानले बुद्धचित्तका दाना चोरी भएपछि कैलाश गाउँपालिका–१ स्थित डाँडाखर्क प्रहरी चौकीमा उजुरी गरेका छन् । करिब सात लाख रुपैयाँ बराबरको दाना चोरी भएको भन्दै दोषीलाई खोजी गरी कारबाही गर्न उजुरी दिएको उनले बताए ।
मकवानपुरको कैलाश, मकवानपुरगढी, राक्सिराङ र थाहा नगरपालिकाका केही कृषकले बुद्धचित्तका विरुवा आफ्नो पाखोबारीमा रोपेका छन् ।
