कान्ति लोकपथमा दुई राति गाडी चलाउन रोक

देशभर मनसुनी वर्षा सक्रिय भई भारी वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन आग्रह गर्दै मंगलबार र बुधबार बेलुका ५ देखि बिहान ५ बजेसम्म कान्ति लोकपथमा सवारी चलाउन रोक लगाएको हो ।

असार १६, २०८३

प्रताप विष्ट

Driving banned on Kanti Lokpath for two nights

हेटौंडा — हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथमा मंगलबार र बुधबार रातिको समयमा यात्रा गर्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले देशभर मनसुनी वर्षा सक्रिय भई भारी वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन आग्रह गर्दै मंगलबार र बुधबार बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म कान्ति लोकपथमा सवारी चलाउन रोक लगाएको हो । 

कार्यालयले जारी गरेको सूचना अनुसार असार १६ र १७ गते अति आवश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरेको छ भने ताल, नदी, खोला तथा अन्य जलाशयमा माछा मार्ने, पौडी खेल्ने, डुंगा चलाउने वा नदी तर्ने जस्ता जोखिमयुक्त गतिविधि नगर्न आग्रह गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीद्वारा जारी सूचनामा वर्षा र जोखिमको अवस्था हेरी सुरक्षाकर्मीले जिल्लाभित्रका कुनै पनि सडकमा निश्चित समयका लागि आवागमन रोक्न सक्ने भएकाले उक्त कार्यमा सहयोग गर्न अनुरोध गरिएको छ । 

गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त भारी वर्षाको चेतावनीलाई मध्यनजर गर्दै सम्भावित मानवीय तथा भौतिक क्षति कम गर्न प्रशासनले उक्त निर्देशन जारी गरेको प्रजिअ अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ ।

पहिरो, बाढी र डुबानको जोखिम रहेका क्षेत्र, नदी किनार तथा भिरालो स्थानमा अनावश्यक आवतजावत नगर्न र विशेष सतर्कता अपनाउन प्रशासनले सूचनामार्फत सूचित गरिएको छ । मौसम र सडकको अवस्थाबारे आधिकारिक सूचना र सुरक्षा निकायको निर्देशन पूर्णरुपमा पालना गर्न र सुरक्षित भएपछि मात्र यात्रा गर्न प्रशासन कार्यालयले निर्देशन गरेको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully