बागमती प्रदेश उद्योगमन्त्री विन्दु श्रेष्ठले आगामी आर्थिक वर्षभित्र प्रदेशका सबै उद्योग तथा वाणिज्य कार्यालयलाई एकल विन्दु सेवा केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताइन् ।
काठमाडौँ — उद्योग तथा वाणिज्य कार्यालय रामेछापलाई सोमबारदेखि एकल विन्दु सेवा केन्द्र (नमुना कार्यालय) का रूपमा सञ्चालनमा ल्याइएको छ ।
बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयअन्तर्गत सञ्चालनमा आएको यो सेवा शुभारम्भसँगै रामेछाप यस्तो सेवा लागू गर्ने प्रदेशको तेस्रो जिल्ला बनेको छ । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री विन्दु श्रेष्ठले कार्यालयको औपचारिक उद्घाटन गर्दै उद्योगसम्बन्धी सेवा प्रवाहलाई सहज, छिटो र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले एकल विन्दु सेवा केन्द्रको अवधारणा कार्यान्वयनमा ल्याइएको बताइन् ।
अब उद्योग दर्ता, नवीकरण, नाम दर्ता, सिफारिसलगायत प्रशासनिक सेवा एउटै कार्यालयबाट उपलब्ध हुनेछन्। यससँगै डिजिटल सेवा प्रणाली, पारदर्शी र समन्वयात्मक सेवा, सेवाग्राहीमैत्री वातावरण, गुनासो व्यवस्थापन, समयमै सेवा प्रवाह, सुशासन तथा उद्यम प्रवद्र्धनलाई प्राथमिकतामा राखिने कार्यालयले जनाएको छ।
उद्घाटन कार्यक्रममा मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षभित्र बागमती प्रदेशका सबै उद्योग तथा वाणिज्य कार्यालयलाई एकल विन्दु सेवा केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताइन् । रामेछाप तेस्रो जिल्लाका रूपमा सूचीकृत भएको उल्लेख गर्दै उनले नमुना कार्यालय घोषणा हुनु मात्र उपलब्धि नभई त्यसअनुसारको सेवा निरन्तर र प्रभावकारी रूपमा प्रवाह गर्नु नै मुख्य चुनौती भएको बताइन्। बागमती प्रदेश सरकारले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यले उद्योग तथा वाणिज्य कार्यालयहरूलाई क्रमशः एकल विन्दु सेवा केन्द्रका रूपमा रूपान्तरण गर्ने नीति अघि बढाएको छ।
'नमुना कार्यालय बन्नु ठूलो कुरा होइन, त्यसअनुसारको सेवा निरन्तर दिन सक्नु ठूलो कुरा हो,' उनले भनिन् । सेवाको गुणस्तर कायम राख्न र सेवाग्राहीको विश्वास जित्ने गरी काम गर्न उनले कार्यालयलाई निर्देशन दिइन्।
मन्त्रालयका सचिव जीवलाल भुसालले उद्योगसम्बन्धी सबै सेवा एउटै स्थानबाट उपलब्ध गराई सेवाग्राहीको समय र लागत घटाउने उद्देश्यले एकल विन्दु सेवा केन्द्र स्थापना गरिएको बताए। उनले सेवाको गुणस्तर, प्रभावकारिता र निरन्तरतामा विशेष ध्यान दिन कार्यालयलाई आग्रह गरे।
उद्योग तथा वाणिज्य कार्यालय रामेछापका प्रमुख खेमराज घिमिरेले नमुना कार्यालय सञ्चालनका लागि आवश्यक भौतिक तथा प्रशासनिक संरचना तयार गरिएको जानकारी दिए। छिटो, सरल र डिजिटल सेवामार्फत सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने गरी कार्यालयलाई व्यवस्थित गरिएको उल्लेख गर्दै उनले गुणस्तरीय सेवा प्रवाहलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
