असार १५ मा धान दिवस मनाइए पनि रामेछापका किसान वर्षाको प्रतीक्षामा चिन्तित छन्, रोपाइँ सुस्त भएपछि उत्पादनमा असर पर्ने देखिएको छ।
What you should know
रामेछाप — मानो रोपेर मुरी फलाउने विश्वाससँग जोडिएको असार १५ मा ददेशभर धान दिवसका रूपमा मनाइन्छ। खेतमा हिलो खेल्ने, धान रोप्ने, दही–चिउरा खाएर मनाइने उत्सवको रौनकबीच जिल्लाका अधिकांश किसान भने अझै पानीको प्रतीक्षामै छन्।
२३ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित जिल्लाका सबै स्थानीय तहले परम्परागत शैलीमा धान रोपाइँ, हिलो खेल, सांस्कृतिक कार्यक्रम र दही–चिउरा खाने कार्यक्रम गरी मनाएका छन् ।
कृषि विकास कार्यालय रामेछापले पनि औपचारिक रूपमा धान दिवस मनायो। तर किसानको खेतमा रोपाइँको अवस्था भने अपेक्षाभन्दा निकै सुस्त देखिएको छ ।
कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोदप्रसाद दाहालका अनुसार असार १५ सम्म जिल्लाभर करिब २० प्रतिशत क्षेत्रफलमा मात्रै धान रोपाइँ भएको छ। 'सिँचाइ सुविधा भएका क्षेत्रमा रोपाइँ भइरहेको छ,' उनले भने, 'तर आकाशे पानीमा निर्भर अधिकांश पाखो खेतमा अझै रोपाइँ हुन सकेको छैन। अब राम्रो वर्षा भए रोपाइँले गति लिने अपेक्षा गरेका छौं ।'
कार्यालयका अनुसार रामेछापमा ७ हजार ८८९ हेक्टर क्षेत्रफलमा धान खेती हुनुपर्ने हो । तर पर्याप्त वर्षा नहुँदा अधिकांश खेत बाँझै छन्। गत वर्ष यही अवधिसम्म २२ प्रतिशत रोपाइँ सकिएको थियो। यस वर्ष त्योभन्दा पनि कम प्रगति भएको कार्यालयको तथ्याङ्कले देखाउँछ।
रामेछापको कृषि प्रणालीमा ठूलो क्षेत्र आकाशे पानीमा निर्भर छ। सिँचाइ सुविधा पुगेका बेंसीका खेतमा किसान रोपाइँमा व्यस्त भए पनि पाखो बारीका किसान आकाशतिर हेरेर पानीको प्रतीक्षा गरिरहेका छन् ।
मन्थली नगरपालिका–९ का किसान राज श्रेष्ठका अनुसार यस वर्ष असार लागेपछि पानी नै परेको छैन। 'हाम्रातिर साउनको अन्तिमसम्म पनि रोपाइँ हुने गर्छ,' उनले भने, 'अहिले सबै किसान पानी पर्ला र रोपाइँ गरौँला भनेर कुरिरहेका छन्।'
मध्य जेठसम्म पानी परेको भए पनि असार लागेपछि छुटफुट वर्षाबाहेक पानी नपरेको उनको भनाइ छ । असारको मध्यसम्म खडेरी पर्दा धानको उत्पादनमा प्रत्यक्ष असर परेको भन्दै रामेछापका किसान चिन्तामा छन् । ढिलो रोपाइँ हुँदा उत्पादन घट्ने, रोग–कीराको जोखिम बढ्ने र बाली पाक्ने समय पनि पछाडि धकेलिने किसानहरूको गुनासो छ । कृषि विकास कार्यालयका अनुसार रामेछापमा धानको औसत उत्पादकत्व अहिले प्रतिहेक्टर २.१७ मेट्रिक टन रहेको छ ।
