हेटौंडा अस्पतालमा १६ डायलाइसिस मेसिन थपिए, प्रतीक्षारत बिरामीलाई नियमित सेवामा समावेश

हेटौंडा अस्पतालले थप १६ डायलाइसिस मेसिनसहित सेवा विस्तार गरेसँगै प्रतीक्षामा रहेका सबै बिरामीलाई नियमित उपचार सुरु गरिएको छ।

असार १२, २०८३

प्रताप विष्ट

16 dialysis machines added to Hetauda Hospital, waiting patients included in regular service

What you should know

हेटौंडा — हेटौंडा अस्पतालले हेमोडायलाइसिस सेवा थप विस्तार गरेको छ । डायलाइसिस सेवाको प्रतिक्षामा रहेका बिरामीले पनि अब उपचार पाउने भएका छन् । हालसम्म प्रतीक्षामा रहेका सबै बिरामीलाई नियमित सेवामा समावेश गरेको छ।  

हेमोडायलाइसिस सेवाका लागि प्रतीक्षा सूचीमा रहेका सबै बिरामीलाई सेवा दिने गरी थप सेवा विस्तार गरी सञ्चालनमा ल्याइएको हो । यसअघि अस्पतालमा नियमित डायलाइसिस सेवा लिँदै आइरहेका १ सय २ जनासहित बुधबारदेखि डाइलायसिसको प्रतीक्षा सूचीमा रहेका १ सय १० जना बिरामीलाई नै समावेश गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एव हेटौंडा अस्पतालका अध्यक्ष भीमसागर गुरागाईंले बताए । 

यसअघि डाइलायसिस मेसिनको अभावमा दैनिक ३५ देखि ४० जना बिरामीलाईमात्र सेवा दिँदै आएकोमा अब दैनिक ६० जनालाई सेवा प्रदान सकिने उनले बताए । प्रतीक्षा सूचीमा रहेका बिरामीको उपचार तालिका निर्माण गरेपछि बुधबारबाटै सेवा सुरु गरिएको र हालसम्म आएका बिरामीमध्ये कसैले पनि पालो कुर्नु नपर्ने उनले बताए । 

अस्पतालमा रहेका १४ वटा हेमोडाइलायसिस मेसिनमध्ये ५ वटा नियमित नचल्ने कारणले अधिकांश दिनमा जम्मा ९ वटा मेसिनमात्र प्रयोग हुँदै आएको थियो । प्रतिष्ठानले थप १६ वटा मेसिन खरिद गरेपछि सेवा पर्याप्त गर्न सम्भव भएको हो ।

प्रतिष्ठानको २ करोड र बागमती प्रदेश सरकारको २ करोड गरी कुल ४ करोड लगानीमा १६ वटा मेसिन थप गरेको हो । अब २० वटा मेसिन नियमित चल्ने, २ वटा आकस्मिक डायलायसिस, २ वटा आइसीयू, २ वटा एचआइभी तथा हेपाटाइटिस संक्रमितका लागि चल्नेछन् भने ४ वटा मेसिन बाँकी रहने रजिष्ट्रार गुरागाईंले जानकारी दिए । हाल यस विभागमा २५ भन्दा बढी कर्मचारी कार्यरत रहेका छन् । पत्नीको हेमोडाइलायसिस गराउन आएका हेटौंडा–११ का चन्द्रलाल तामाङले हेटौंडा अस्पतालको सेवाबाट खुसी हुँदै भने,‘स्वास्थ्यकर्मीको पारिवारिक व्यवहार र सेवा विस्तारले आफूहरुलाई सहज भएको छ ।’

हेटौंडा अस्पतालले तीन वर्षदेखि डायलाइसिस सेवा दिँदै आएको छ । डायलाइसिस मेसिनको अभावले गर्दा यस क्षेत्रका सबै मिर्गौलाका बिरामीले सेवा प्राप्त गर्न सकेका थिएनन् । ‘अब डायलाइसिस मेसिन पर्याप्त भएकाले बिरामीले कुर्नु पर्दैन,’ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता उत्सव चौलागाईले भने । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully