रामेछापका पालिका बजेट प्राथमिकतामा शिक्षा, स्वास्थ्य, सेवा सुधार र पूर्वाधार

मन्थली नगरले ‘घरदैलोमा स्वास्थ्यकर्मी’ अभियानदेखि पालिकाका सबै वडामा एक–एक योग केन्द्र बनाउने; रामेछाप नगरको मुख्य प्राथमिकतामा सामाजिक समावेशीकरण, विपद् व्यवस्थापन, खेलकुद विकास

असार ११, २०८३

नवराज श्रेष्ठ

Ramechhap's municipal budget priorities include education, health, service improvement, and infrastructure

What you should know

रामेछाप — रामेछापका २ नगर र ६ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । अधिकांश स्थानीय तहले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेका छन् । 

मन्थली नगरपालिकाले भने ८ असारमा तथा खाँडादेवी गाउँपालिकाले ९ असारमा नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिसकेका थिए । १ नगरपालिका र ५ गाउँपालिकाले बुधबार आगामी आर्थिक वर्षका लागि नीति तथा बजेट सार्वजनिक गरेका हुन् । 

Ramechhap's municipal budget priorities include education, health, service improvement, and infrastructure

१४ वटा वडा रहेको मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ३ करोड २० लाख रुपैयाँको बजेट ल्याएको छ । गत सोमबार सम्पन्न नगर सभामा उपप्रमुख ईश्वरी बस्नेतले बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्यम विकास र पूर्वाधारलाई प्राथमिकतामा राखिएको बताइन् । 

नगरपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक आम्दानी र सञ्चित कोषसमेत गरी करिब ९ करोड ७० लाख रुपैयाँ आन्तरिक स्रोत परिचालन हुने अनुमान गरेको छ। बजेटले आधारभूत सेवा विस्तार, उत्पादन वृद्धि, रोजगारी सिर्जना र समावेशी विकासलाई मुख्य लक्ष्य बनाएको छ।

नगर सभामा चालु आर्थिक वर्ष २०८२/०८३ को प्रगति विवरण प्रस्तुत गर्दै उपप्रमुख बस्नेतले १ अर्ब ४ करोड ६५ लाख रुपैयाँको बजेटमध्ये जेठ मसान्तसम्म ५९ करोड ७ लाख रुपैयाँ खर्च भएको जानकारी दिइन् । उनले चालुतर्फ ४७ करोड ९३ लाख र पुँजीगततर्फ ११ करोड १३ लाख रुपैयाँ खर्च भएको बताइन्। जून कुल बजेटको करिब ६० प्रतिशत रहेको र आर्थिक वर्षको अन्त्यसम्म खर्च ८८ प्रतिशत पुग्ने अनुमान गरिएको छ। 

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख लव श्रेष्ठले गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण, युवा उद्यमशीलता र पर्यटन प्रवर्द्धनलाई आगामी वर्षका लागि प्रमुख प्राथमिकताका रूपमा अघि सारेका छन् । 

स्वास्थ्य क्षेत्रमा ‘घरदैलोमा स्वास्थ्यकर्मी’ अभियान सञ्चालन गरिने भएको छ। योग शिक्षासहितको नागरिक आरोग्य कार्यक्रमलाई थप प्रभावकारी बनाइने तथा नगरपालिकाका सबै १४ वटै वडामा एक–एक योग केन्द्र स्थापना गर्ने योजना पनि बजेटमा समेटिएको छ।

कृषि क्षेत्रको उत्पादन वृद्धि र रैथाने बाली संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ। किसान परिचयपत्र वितरण सुरु गरिने, स्थानीय कृषि उपजलाई काठमाडौँसम्म बजारीकरण गर्ने व्यवस्था मिलाइने तथा दूध उत्पादक कृषकलाई दिँदै आएको अनुदानलाई निरन्तरता दिइने भएको छ।

Ramechhap's municipal budget priorities include education, health, service improvement, and infrastructure

रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८० करोड ८६ लाख ५० हजार ४ सय ४६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधवार सम्पन्न नगर सभाको १९औँ अधिवेशनमा उपप्रमुख बालकुमारी कार्की थापाले बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक, पर्यटन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताइन्। 

प्रस्तुत बजेटमध्ये चालुतर्फ ५१ करोड ४ लाख २० हजार रुपैयाँ र पुँजीगततर्फ २९ करोड ८२ लाख ३० हजार ४ सय ४६ रुपैयाँ विनियोजन गरिएको छ। नगरपालिकाले आगामी आर्थिक वर्षमा १ करोड २३ लाख ६३ हजार ४ सय ३५ रुपैयाँ आन्तरिक आम्दानी हुने प्रक्षेपण गरेको छ।

नगर प्रमुख लव श्री न्यौपानेले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, ज्येष्ठ नागरिक सम्मान, सामाजिक समावेशीकरण, विपद् व्यवस्थापन, खेलकुद विकास तथा पूर्वाधार विस्तारलाई मुख्य प्राथमिकतामा राखिएको छ। नगरपालिकाले स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत रोजगारी सिर्जना गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ। 

नीति तथा कार्यक्रम अनुसार न्यायिक समितिको कामलाई प्रविधिमैत्री बनाइने, सडकमा पक्की नाला निर्माण गरिने तथा संघ र प्रदेश सरकारसँगको समन्वयमा ठुला पूर्वाधार आयोजना अघि बढाइनेछ। विपद् व्यवस्थापन कोषलाई व्यवस्थित बनाउने, नगरको समग्र तथ्याङ्क समेटिएको ‘नगर प्रोफाइल’ तयार गर्ने तथा बेरुजु फर्छ्योटका लागि कार्यदल गठन गरी तोकिएको समयभित्र काम सम्पन्न गर्ने योजना पनि समावेश गरिएको छ। 

Ramechhap's municipal budget priorities include education, health, service improvement, and infrastructure

उमाकुण्ड गाउँपालिकाले ६३ करोड ५१ लाख ९६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधवार सम्पन्न गाउँसभाको २० औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन, घरेलु तथा लघु उद्यम विकास, पर्यटन प्रवर्द्धन, सामाजिक तथा आर्थिक समानता कायम गर्ने तथा गाउँपालिकालाई बालमैत्री स्थानीय तहका रूपमा प्रभावकारी कार्यान्वयन गर्ने लक्ष्यसहित बजेट विनियोजन गरिएको जानकारी दिइन्।

गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण, युवा उद्यमशीलता विकास, पूर्वाधार निर्माण तथा पर्यटन प्रवर्द्धनलाई प्रमुख प्राथमिकतामा राखिएको छ। स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै रोजगारी सिर्जना र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित कार्यक्रम अघि सारिएको अध्यक्ष सुनुवारले बताए। 

नीति तथा कार्यक्रमअनुसार खेलकुद क्षेत्रको विकासका लागि आधुनिक कभर्डहल निर्माण गरिने, उदयमान खेलाडीलाई सम्मान गरिने तथा युवालाई खेलकुदमा आकर्षित गर्ने कार्यक्रम सञ्चालन गरिनेछ। यस्तै, व्यवहारिक तथा जीवनोपयोगी शिक्षा कार्यक्रम सञ्चालन, सबै माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम तथा उद्यमशीलता विकास तालिम सञ्चालन गरिने उल्लेख छ।

त्यस्तै, वैदेशिक रोजगारीबाट फर्किएका युवालाई लक्षित गरी रोजगारी सिर्जना तथा स्वरोजगारका कार्यक्रम सञ्चालन गरिने नीति लिइएको छ। स्वास्थ्य क्षेत्रतर्फ सबै नागरिकलाई टोल–टोलमै स्वास्थ्य सेवा उपलब्ध गराउने, अस्पताल तथा स्वास्थ्य संस्थाको सेवा थप प्रभावकारी बनाउँदै गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने तथा योग–ध्यान कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्ने योजना समेटिएको छ। 

Ramechhap's municipal budget priorities include education, health, service improvement, and infrastructure

गोकुलगंगा गाउँपालिकाले ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधवार सम्पन्न गाउँसभाको अधिवेशनमा गाउँपालिका उपाध्यक्ष उषादेवी कार्कीले बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै ग्रामीण पूर्वाधार विकास, अधुरा योजनाको निरन्तरता, खानेपानी तथा सरसफाइ, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, सूचना तथा डिजिटल प्रविधि विकास, उद्यमशीलता प्रवर्द्धन, सामाजिक समावेशीकरण तथा निजी क्षेत्रसँगको सहकार्यलाई प्रमुख प्राथमिकतामा राखिएको जानकारी दिइन्। 

अधिवेशनमा चालु आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गर्दै उपाध्यक्ष कार्कीले हालसम्म प्राप्त ५२ करोड ९७ लाख १३ हजार ९ सय १७ रुपैयाँ बजेटमध्ये ५७ प्रतिशत अर्थात् ३२ करोड ७६ लाख ५३ हजार २ सय ९४ रुपैयाँ खर्च भएको बताइन् । उनका अनुसार चालुतर्फ विनियोजित ३९ करोड ११ लाख ७४ हजार १७ रुपैयाँमध्ये हालसम्म ६३ प्रतिशत अर्थात् २४ करोड ५३ लाख ९१ हजार ४ सय ८३ रुपैयाँ खर्च भएको छ। 

यस्तै, पुँजीगततर्फ विनियोजित १८ करोड १२ लाख ६० हजार रुपैयाँमध्ये ४५ प्रतिशत अर्थात् ८ करोड २२ लाख ६१ हजार ८ सय ११ रुपैयाँ खर्च भएको जनाइएको छ । गाउँपालिका अध्यक्ष काजीबहादुर खड्काले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण, युवा उद्यमशीलता विकास, खानेपानी विस्तार, ग्रामीण पूर्वाधार निर्माण तथा पर्यटन प्रवर्द्धनलाई विशेष प्राथमिकता दिइएको छ। 

गाउँपालिकाले आगामी वर्ष उत्पादन र रोजगारी वृद्धि, आधारभूत सेवाको पहुँच विस्तार तथा दिगो विकासका लक्ष्यलाई केन्द्रमा राखेर बजेट तथा कार्यक्रम तर्जुमा गरेको खड्काले बताए ।  आगामी वर्ष गाउँपालिकाले अधुरा आयोजनाहरूलाई प्राथमिकतामा राखेको उनले बताए । 

खाँडादेवी गाउँपालिकाले ६० करोड ५७ लाख २१ हजार २ सय ३५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न गाउँ सभामा उपाध्यक्ष रमा घिसिङले बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन, उद्यम विकास तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताइन्। गाउँपालिकाले निर्माणाधीन खाँडादेवी अस्पतालका लागि ५५ लाख रुपैयाँ विनियोजन गरेको छ। 

त्यसैगरी लिफ्ट खानेपानी आयोजनाको विद्युत् अनुदानका लागि २५ लाख, १ सय वटा बाख्राको खोर निर्माणका लागि २० लाख, एम्बुलेन्स सेवाका लागि ४ लाख तथा पानी भण्डारणका लागि ट्याङ्की वितरण कार्यक्रममा २० लाख रुपैयाँ छुट्टाइएको छ।

धार्मिक तथा पर्यटन पूर्वाधारतर्फ खाँडादेवी मन्दिरसम्म पुग्ने सडक निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। निर्माणाधीन गुम्बाका लागि पनि ५० लाख रुपैयाँ बजेट छुट्टाइएको गाउँपालिकाले जनाएको छ। यस्तै आवधिक योजना निर्माणका लागि ५ लाख र वडा २ को कार्यालय भवन निर्माणका लागि ७० लाख रुपैयाँ विनियोजन गरिएको छ। 

गाउँ सभामा चालु आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गर्दै उपाध्यक्ष घिसिङले ५९ करोड ८८ लाख २० हजार ८ सय ४० रुपैयाँको कुल बजेटमध्ये जेठ मसान्तसम्म चालुतर्फ ६०.९८ प्रतिशत र पुँजीगततर्फ २६.३८ प्रतिशत खर्च भएको जानकारी दिइन् ।

हालसम्म गाउँपालिकाको समग्र वित्तीय प्रगति ४९.०३ प्रतिशत रहेको घिसिङले बताइन्। गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण, युवा उद्यमशीलता विकास, खानेपानी विस्तार, पूर्वाधार निर्माण तथा पर्यटन प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राखिएको छ। अध्यक्ष श्रेष्ठले स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै रोजगारी सिर्जना र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको बताए।

दोरम्बा शैलुङ गाउँपालिकाले ६० करोड १४ लाख ८३ हजार ५ सय ५० रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका उपाध्यक्ष खमला थापामगरले बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्यम विकास, पूर्वाधार निर्माण, विपद् व्यवस्थापन, क्षमता विकास तथा प्रविधिमैत्री सेवा विस्तारलाई प्राथमिकतामा राखिएको बताइन्। 

प्रस्तुत बजेटमध्ये चालुतर्फ ३४ करोड ७२ लाख ४० हजार र पुँजीगततर्फ २५ करोड ४२ लाख ४३ हजार ५ सय ५० रुपैयाँ विनियोजन गरिएको छ। आगामी आर्थिक वर्षमा गाउँपालिकाको आन्तरिक आम्दानी १ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको उपाध्यक्ष थापामगरले जानकारी दिइन्।

गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानले स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर नीति, कार्यक्रम तथा बजेट तयार गरिएको बताए। उनले सडक पूर्वाधारको स्तरोन्नति, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा सुधार, कृषि उत्पादन वृद्धि तथा पर्यटन प्रवद्र्धनलाई विशेष प्राथमिकता दिइएको उल्लेख गरे। अध्यक्ष मोक्तानका अनुसार गाउँपालिकाले आगामी वर्ष विकास निर्माणका कामलाई थप प्रभावकारी बनाउँदै सेवा प्रवाहलाई प्रविधिमैत्री र नागरिकमैत्री बनाउने लक्ष्य लिएको छ। 

Ramechhap's municipal budget priorities include education, health, service improvement, and infrastructure

यस्तै, सुनापति गाउँपालिकाले ५४ करोड ७० लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँ सभाको २०औँ अधिवेशनमा उपाध्यक्ष गीता विष्टले चालुतर्फ ३८ करोड ६६ लाख ४१ हजार र पुँजीगततर्फ १५ करोड ८५ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको बजेट प्रस्तुत गरिन्।

उपाध्यक्ष विष्टका अनुसार चालु आर्थिक वर्षमा गाउँपालिकाको कुल बजेट ६१ करोड ७९ लाख ३२ हजार रुपैयाँ रहेकोमा हालसम्म ४८ करोड ६० लाख ४९ हजार रुपैयाँ आम्दानी भएको छ। त्यसमध्ये ३३ करोड १५ हजार रुपैयाँ खर्च भइसकेको छ, जुन कुल बजेटको ६७.८९ प्रतिशत हो।

गाउँपालिका अध्यक्ष ठुलो कान्छा तामाङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुशासन, पूर्वाधार विकास, विपद् व्यवस्थापन, स्वास्थ्य सेवा विस्तार तथा स्थानीय आवश्यकतामा आधारित विकास गतिविधिलाई प्राथमिकतामा राखिएको छ। आगामी वर्ष विकासका कार्यक्रमहरूलाई प्रभावकारी कार्यान्वयन गर्दै सेवा प्रवाहलाई थप नागरिकमैत्री बनाइने नीति कार्यक्रममा उल्लेख छ। 

अध्यक्ष तामाङले चालु आर्थिक वर्षमा सडक तथा स्वास्थ्य पूर्वाधारलाई प्राथमिकतामा राखेर संघ र प्रदेश सरकारबाट प्राप्त बजेट तथा साझेदारी कार्यक्रममार्फत अधिकांश योजना कार्यान्वयन गरिएको बताए।

नीति कार्यक्रममा गाउँपालिकाको भौगोलिक संवेदनशीलता र बर्सेनि दोहोरिने बाढी–पहिरोका कारण विपद् जोखिम बढ्दै गएको विषयलाई विशेष रूपमा उठाइएको छ। विशेष गरी वडा ३ को साउने–केउरेनी बस्तीका ७७ घरधुरी उच्च पहिरो जोखिममा रहेको र बस्तीलाई नै सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको जनाइएको छ।

विपद्बाट प्रभावित परिवारलाई राहत तथा अस्थायी आवास व्यवस्थापनका लागि गाउँपालिकाले ६५ घरपरिवारलाई प्रतिपरिवार १५ हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराएको जनाएको छ।

यस्तै, लिखुतामाकोशी गाउँपालिकाले ७० करोड ६४ लाख २८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन, रोजगार तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै बजेट तथा कार्यक्रम ल्याएको हो। गाउँ सभाको १७औँ अधिवेशनमा उपाध्यक्ष दिपा पाख्रिनले बजेट प्रस्तुत गर्दै पूर्वाधार विकास क्षेत्रमा सबैभन्दा बढी १७ करोड ३८ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन्। 

पाख्रिनका अनुसार आर्थिक विकासतर्फ १ करोड २५ लाख ५० हजार रुपैयाँ, सामाजिक विकासतर्फ ४ करोड ५३ लाख ९८ हजार रुपैयाँ, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५२ लाख रुपैयाँ तथा सुशासन तथा संस्थागत विकासतर्फ १ करोड २६ लाख रुपैयाँ विनियोजन गरिएको छ।

गाउँपालिका अध्यक्ष केशव महतले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा विस्तार, कृषि क्षेत्रको आधुनिकीकरण, सुरक्षित खानेपानी, पर्यटन प्रवद्र्धन, स्थानीय रोजगारी सिर्जना तथा पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको छ। पालिकाले आगामी वर्ष उत्पादन र रोजगारमुखी कार्यक्रममार्फत स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने, आधारभूत सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा विकास निर्माणका योजनालाई तीव्रता दिने लक्ष्य लिएको अध्यक्ष महतले बताए ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully