काभ्रेका ८ पालिकाको बजेट बढ्यो, ५ पालिकाले घटाए

अघिल्लो आर्थिक वर्ष २०८२/०८३ को तुलनामा जिल्लाका ८ स्थानीय तहले बजेटको आकार बढाएका छन् भने ५ स्थानीय तहले बजेट घटाएका छन् ।

असार ११, २०८३

ज्योती श्रेष्ठ

Budgets of 8 municipalities in Kavre increased, 5 municipalities reduced

What you should know

काभ्रे —  

काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट सार्वजनिक गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०८२/०८३ को तुलनामा जिल्लाका ८ स्थानीय तहले बजेटको आकार बढाएका छन् भने ५ स्थानीय तहले बजेट घटाएका छन् । 

जिल्लामै सबैभन्दा ठूलो बजेट वृद्धि पनौती नगरपालिकाले गरेको छ । पनौतीले अघिल्लो वर्षको १ अर्ब ६१ करोड ११ लाख ११ हजार रुपैयाँको तुलनामा आगामी वर्ष १ अर्ब ९६ करोड ९५ लाख ७५ हजार रुपैयाँको बजेट ल्याएको छ । यो करिब ३५ करोड बढी रकम हो । 

मण्डनदेउपुर नगरपालिकाले पनि बजेटमा उल्लेख्य वृद्धि गरेको छ । पालिकाले गतवर्ष ल्याएको १ अर्ब १० करोड ७५ लाख रुपैयाँबाट १ अर्ब ३१ करोड ६५ लाख रुपैयाँ पुर्‍याएको छ । यो करिब २० करोड ९० लाख रुपैयाँको वृद्धि हो ।

पाँचखाल नगरपालिकाले ८२ करोड ५१ लाख ८४ हजार ८ सय २ रुपैयाँबाट बजेट बढाएर ९६ करोड ६१ लाख ९० हजार रुपैयाँ पुर्‍याएको छ । नमोबुद्ध नगरपालिकाले पनि ८० करोड ६३ लाख २३ हजार १ सय ६० रुपैयाँबाट ९१ करोड ३६ लाख ८३ हजार ९ सय १८ रुपैयाँ पुर्‍याएको छ । धुलिखेल नगरपालिकाले अघिल्लो वर्षको १ अर्ब १८ करोड रुपैयाँबाट यस वर्षको लागि १ अर्ब २३ करोड २६ लाख ५४ हजार रुपैयाँको बजेट ल्याएको छ । 

यस्तै, रोशी गाउँपालिकाले ७२ करोड ४ लाख ३७ हजार रुपैयाँबाट ७२ करोड ९९ लाख ४२ हजार रुपैयाँमा सामान्य वृद्धि गरेको छ । महाभारत गाउँपालिकाले ६० करोड १३ लाख रुपैयाँबाट ६६ करोड ८९ लाख रुपैयाँ पुर्‍याएको छ । तेमाल गाउँपालिकाले ५३ करोड १२ लाख ६४ हजार ६ सय ४० रुपैयाँबाट यसवर्षको लागि ५३ करोड २७ लाख ९९ हजार रुपैयाँको बजेट ल्याएको छ ।  

यता, बनेपा नगरपालिकाको बजेट भने घटेको छ । अघिल्लो वर्ष १ अर्ब २४ करोड ६५ लाख रुपैयाँको बजेट ल्याएकोमा यस वर्षको लागि १ अर्ब २१ करोड ३ लाख ४६ हजार ३ सय ८५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । त्यस्तै, चौरीदेउराली गाउँपालिकाले अघिल्लो वर्ष ६९ करोड ५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेकोमा यस आर्थिक वर्षको लागि ५६ करोड ७३ लाख ८२ हजार १८० रुपैयाँ सार्वजनिक गरेको छ । 

त्यस्तै खानीखोला गाउँपालिकाको गतवर्षको बजेट ५२ करोड २३ लाख रुपैयाँबाट घटेर ५० करोड ५ लाख ५५ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, भुम्लु गाउँपालिकाको गतवर्षको बजेट ६२ करोड ५१ लाख रुपैयाँ सार्वजनिक गरेकोमा यस आर्थिक वर्षका लागि ६१ करोड २९ लाख १६ हजार ५९८ रुपैयाँ सार्वजनिक गरेको छ । बेथानचोक गाउँपालिकाले अघिल्लो वर्ष ६४ करोड ७३ लाख ५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकोमा यस आर्थिक वर्षको लागि ६४ करोड ३५ लाख ६९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully