नगरपालिकाले सार्वजनिक गरेको बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, युवा उद्यमशीलता र पूर्वाधार विकासलाई समेट्दै समावेशी र दिगो विकासको लक्ष्य लिएको छ।
What you should know
रामेछाप — मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ३ करोड २० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
नगरपालिकाले गत आर्थिक वर्षको तुलनामा १ करोड ४५ लाख ६४ हजार रुपैयाँ कम बजेट ल्याएको हो। गत वर्ष नगरपालिकाले १ अर्ब ४ करोड ६५ लाख ६४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो।
सोमबार सम्पन्न नगर सभामा उपप्रमुख ईश्वरी बस्नेतले बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्यम विकास र पूर्वाधार निर्माणलाई आगामी वर्षका प्रमुख प्राथमिकताका रूपमा अघि सारिएको जानकारी दिइन्।
नगरपालिकाले आन्तरिक आम्दानी र सञ्चित कोषसमेत गरी करिब ९ करोड ७० लाख रुपैयाँ आन्तरिक स्रोत परिचालन हुने अनुमान गरेको छ। नगरपालिकाका अनुसार बजेटले आधारभूत सेवा विस्तार, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा समावेशी विकासलाई मुख्य लक्ष्य बनाएको छ।
नगर सभामा चालु आर्थिक वर्ष २०८२/०८३ को प्रगति विवरण प्रस्तुत गर्दै उपप्रमुख बस्नेतले १ अर्ब ४ करोड ६५ लाख रुपैयाँको बजेटमध्ये जेठसम्म ५९ करोड ७ लाख रुपैयाँ खर्च भएको जानकारी दिइन्।
उनका अनुसार चालुतर्फ ४७ करोड ९३ लाख रुपैयाँ र पुँजीगततर्फ ११ करोड १३ लाख रुपैयाँ खर्च भएको छ, जुन कुल बजेटको करिब ६० प्रतिशत हो। आर्थिक वर्षको अन्त्यसम्म खर्च ८८ प्रतिशत पुग्ने अनुमान गरिएको छ।
नगरप्रमुख लव श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण, युवा उद्यमशीलता र पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राखिएको छ। कक्षा ८ तथा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत गर्ने व्यवस्था गरिएको छ।
स्वास्थ्य क्षेत्रतर्फ ‘घरदैलोमा स्वास्थ्यकर्मी’ अभियान सञ्चालन गरिने भएको छ। योग शिक्षासहितको नागरिक आरोग्य कार्यक्रमलाई थप प्रभावकारी बनाइने तथा नगरपालिकाका सबै १४ वटै वडामा एक–एक योग केन्द्र स्थापना गरिने योजना बजेटमा समेटिएको छ।
कृषि क्षेत्रको उत्पादन वृद्धि र रैथाने बाली संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ। किसान परिचयपत्र वितरण सुरु गरिने, स्थानीय कृषि उपजको काठमाडौंसम्म बजारीकरणको व्यवस्था मिलाइने तथा दूध उत्पादक कृषकलाई दिँदै आएको अनुदानलाई निरन्तरता दिइने भएको छ।
युवा उद्यमशीलता प्रवर्द्धनका लागि लघु तथा घरेलु उद्योगमा ५० प्रतिशत लागत साझेदारी कार्यक्रम सञ्चालन गरिनेछ। स्वरोजगारका अवसर विस्तार गर्दै युवा उद्यमीलाई प्रोत्साहन गर्ने योजनासमेत बजेटमा समावेश गरिएको छ।
पर्यटन क्षेत्रतर्फ प्रमुख पर्यटकीय गन्तव्य तथा स्थानीय कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सहयोग गरिने भएको छ। पर्यटकीय परामर्श कक्ष स्थापना गर्ने, निर्माणाधीन फोहोर व्यवस्थापन केन्द्रको कामलाई निरन्तरता दिने तथा तामाकोशी नदीमा सञ्चालन भइरहेको मोटर बोट सेवाको प्रवर्द्धनमा सहयोग गर्ने नीति नगरपालिकाले लिएको छ।
खानेपानी, सडक तथा अन्य भौतिक पूर्वाधार विकासका योजनालाई समेत प्राथमिकतामा राखिएको नगरप्रमुख श्रेष्ठले बताए। सार्वजनिक गरिएको बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र उद्यम विकासमार्फत दिगो तथा समावेशी विकासको आधार निर्माण गर्ने लक्ष्य लिएको नगरपालिकाको दाबी छ।
