हेटौंडाको बजेटमा जेनजीलाई उत्पादनमा जोड्नेदेखि मिनी चिडियाखाना बनाउनेसम्म

हेटौंडाको बजेटमा डिजिटल सेवा, ड्रागन खेती, पशुपालन, अनुसन्धान र मिनी चिडियाखाना जस्ता नयाँ कार्यक्रम प्राथमिकतामा छन्।

असार ९, २०८३

प्रताप विष्ट

From connecting Genji to production to building a mini zoo in Hetauda's budget

What you should know

हेटौंडा — हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखि भवन निर्माण ईजाजत प्रक्रिया छिटो छरितो ढंगबाट सम्पादन गर्नका लागि विधुतीय भवन ईजाजत प्रणाली संचालनमा ल्याउने भएको छ । 

हेटौंडा उपमहानगरपालिकाको १९ औं नगरसभामा आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्ने उद्देश्यले २ सय विगाहा क्षेत्रफलमा ड्रागन तथा मेवा खेतीका लगानी विस्तार गर्ने जनाएको छ ।

जेनजीलाई उत्पादन तथा आयआर्जनमा जोड्नका लागि युवा लक्षित कृषि कार्यक्रममार्फत युवालाई कृषिमा आकर्षित गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ । रैथाने बीउ संरक्षण तथा सम्वर्धनका लागि दिदीबहिनी बीउ बैंक कार्यक्रम संचालन गर्ने जनाएको छ । मेयर मीनाकुमारी लामाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सीमान्तकृत किसानलाई खेती प्रणालीमा सहजीकरणका लागि हल गोरु पालन प्रोत्साहन कार्यक्रम उल्लेख छ । प्रस्तुत कार्यक्रममा संघीय र प्रदेश सरकारको समन्वयमा उपमहानगरपालिकाभित्र मिनि चिडियाखाना स्थापना गर्ने जनाएको छ । 

हेटौंडा उपमहानगरपालिकाले आगामी आवदेखि मेयरसँग जनता स्वास्थ्य कार्यक्रम संचालन गर्ने योजना बनाएको छ । उपमहानगरपालिकाभित्रका विभिन्न विषयमा अध्ययन, अनुसन्धान गर्ने अनुसन्धानकर्ता व्यक्ति वा संस्थालाई मेयर्स फेलोसिप कार्यक्रम संचालन गर्ने भएको छ । 

उपमहानगरपालिकाले २०८३/०८४ का लागि २ अर्ब ८५ करोड ५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक वर्षको तुलनामा ५ करोड बजेट घटाएर आगामी आर्थिक वर्षको लागि बजेट प्रस्ताव गरेको हो । चालु आर्थिक वर्षका लागि २ अर्ब ९० करोडको बजेट विनियोजन गरेको थियो । 

नगरसभामा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बजेटमा पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य र सुशासनलाई मुख्य प्राथमिकता दिइएको छ ।

उपमहानगरपालिकाले कुल विनियोजित बजेटमध्ये आन्तरिक स्रोतबाट ५७ करोड ३६ लाख ८० हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ भने राजस्व बाँडफाँटबाट ९९ करोड २० लाख ४८ हजार, प्रदेश सरकारको विभिन्न अनुदानबाट १० करोड १ लाख ७२ हजार र संघीय सरकारको अनुदानबाट १ अर्ब १८ करोड ४६ लाख रुपैया व्यहोरिने उल्लेख गरिएको छ ।

उपमहानगरपालिकाको बजेटमा पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै आगामी आर्थिक वर्षका योजना कार्यान्वयनका लागि ६७ करोड १९ लाख ८१ हजार रुपैयाँ विनियोजन गरिएको छ । वडा तहका योजना तथा कार्यक्रमका लागि मात्रै ४८ करोड ४० लाख ६२ हजार रुपैयाँ छुट्याइएको छ ।

सडक बोर्ड अन्तर्गतका योजनाका लागि १ करोड ५० लाख, सडक सुरक्षा र उज्यालो सहर कार्यक्रमका लागि ९५ लाख र सिसीटिभी क्यामेरा जडानका लागि ५३ लाख रुपैयाँ खर्च गरिनेछ उल्लेख छ । हेटाैंडा खानेपानी व्यवस्थापन बोर्डसँगको साझेदारीमा खानेपानी योजनाका लागि १ करोड ९० लाख विनियोजन गरिएको छ ।

परियोजना बैंकका लागि ५० लाख, आकस्मिक पूर्वाधार मर्मतका लागि २ करोड, एकीकृत बसपार्क तथा टर्मिनल भवनका लागि ४ रकोड ६० लाख, सहरी विकास तथा पूर्वाधार विकास कार्यक्रमका लागि २६ करोड ४९ लाख रुपैया बजेट विनियोजन गरिएको छ ।

शिक्षा क्षेत्रमा गुणस्तर सुधार, प्राविधिक शिक्षा र पूर्वाधार विकासका विद्यालयको भौतिक सुदृढीकरण र पहुँच विस्तारमा उपमहानगरपालिकाले प्राथमिकता दिइएको छ । स्वास्थ्यतर्फ मेयरसँग जनता स्वास्थ्य कार्यक्रम, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि घरदैलो स्वास्थ्य सेवा र मातृ–शिशु स्वास्थ्यलाई महत्वका साथ अघि बढाइएको छ । 

आर्थिक विकासतर्फ प्रदेश र संघीय सशर्तका कृषि क्षेत्रको सुधारका कार्यक्रम संचालन गर्न ४ करोड १६ लाख, पशु विकासका लागि ३ करोड २४ लाख र उद्योग तथा सहकारीका लागि १ करोड १९ लाख रुपैयाा विनियोजन गरिएको छ । यस्तै, खेलकुद क्षेत्रको विकासका लागि मेयर कप, उपमेयर कप र अन्य प्रतियोगिता सञ्चालन गर्न १ करोड ४० लाख रुपैया छुट्याइएको छ ।

नगरको सरसफाई र फोहरमैला व्यवस्थापनका लागि कुल १ करोड रुपैयाँ विनियोजन गरिएको छ । दमकल सञ्चालन, मर्मत र अग्नी नियन्त्रकका लागि २ करोड १० लाख तथा वातावरण संरक्षण र विपद् व्यवस्थापनका लागि ३ करोड ५५ लाख रुपैयाँ खर्च गरिने बजेट वक्तव्यमा उल्लेख छ । कार्यालय सञ्चालन र प्रशासनिक खर्चका लागि ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ भने संस्थागत क्षमता विकास, सुशासन प्रवर्द्धन र सूचना प्रविधिको प्रयोगका लागि थप २ करोड ६५ लाख विनियोजन गरिएको छ । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully